महिलामा सामाजिक सञ्जालको प्रभाव

कार्तिक २५, २०७३ 

एक क्लिकले सिंगो संसार तपाईंको सामु आइपुग्छ जसले करोडौं कोस टाढा रहेकाहरूलाई नजिक्याइदिन्छ । लामा दूरीका खबरहरू क्षणभरमै एकैसाथ संसारभर फैलिन्छन् । कुरा हो, सामाजिक सञ्जालको । यसमा कतिका भावना पोखिएका हुन्छन् भने कतिका विचार ब्यक्त भएका हुन्छन् । कतिले प्रेम व्यक्त गरिरहेका हुन्छन् भने कतिले बिछोडमाबिरहका व्यथा पोखिरहेका हुन्छन् । कतिपयलाई यसले मनोवैज्ञानिक परामर्शको समेत काम गरिरहेको हुन्छ । कतिपयचाहिं यसैको सहयोगमा आफूलाई सफलतातर्फ उन्मुख गर्न लालायित हुन्छन् । 

 

हिजोआज युवापुस्तामाझ मात्रै नभै समग्र जनसंख्याको करिब ८० प्रतिशत मानिसलाई सामाजिक सञ्जालले छोइसकेको छ । व्यावसायिक मात्र नभएर गृहिणीसम्मको पनि फेसबुक र ट्विटर अकाउन्ट भएको गुगलले देखाउँछ । एउटी साधारण गृहिणीले समेत सरदर दैनिक १ देखि ३ घण्टा सामाजिक सञ्जालमा बिताउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ ।  यसलाई हेर्दा समाजिक सञ्जालको ज्वरोले थोरै जनसंख्यालाई मात्रै छोडेको देखिन्छ । मुख्यत: व्यावसायिक महिलाले आफ्नो करियरलाई फराकिलो पार्न, व्यापारीहरूले व्यापार बढाउन, विद्यार्थीहरूले साथीभाइसँग पढाइ तथा अन्य रमाइला कुरा गर्न एवं गृहिणीहरूले फोटो अपलोड गर्न अनि टाढा रहेका सन्तानसँग कुराकानी गर्न सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको पाइन्छ । 

सामाजिक सञ्जालभित्र फेसबुक, ट्विटर, लिंक्ड इन, टु, भाइबर, स्काईपी, हाईफाई, गुगलप्लस, जिमेल, र्‍याडिफमेल, हटमेल आदि पर्छन् । यीमध्ये सर्वाधिक प्रयोग गरिने फेसबुकले भने बिश्वब्यापी रूपमा नै तहल्का मच्चाएको छ । फेसबुकमा आज कति लाईक र कमेन्ट आयो भन्ने हुटहुटीले आजको युवापुस्ता सदा चलायमान रहन्छ भने फेसबुकमा अपलोड गरिएका आफन्त तथा साथीभाइका फोटोका गतिविधि हेर्दै गृहिणीहरू आफू त्यहाँ संलग्न हुन नपाए पनि त्यहीँ पुगेको अनुभुति गर्छन् ।

 

व्यावसायिक महिलाहरू भने यसलाई प्रयोग गरेर कसरी सफलताको उचाइसम्म पुग्ने भन्ने उद्देश्यका साथ सर्चमा व्यस्त रहन्छन् । अन्तरंग साइकोसोसियल काउन्सिलिङकी मनोवैज्ञानिक सुष्मा रेग्मी भन्छिन्– ‘सोसल मिडियाले महिलामा एक किसिमको आत्मविश्वासको विकाश गरिदिएको छ । यसका माध्यमबाट महिलाहरू आफ्नो मनमा लागेको र कसैसँग व्यक्त गर्न नसकेका भावनाहरू व्यक्त गर्न सक्छन् । त्यसमा प्राप्त हुने लाईक र कमेन्टस्ले उनीहरूमा साइकोसोसियल काउन्सिलिङको काम गर्छ । जब मनभित्र दबेर बसेका कुराहरू बाहिर निस्किन्छन् तब मानिसको मन हल्का हुन्छ ।

 

फ्रेस महसुस हुन्छ ।’ रेग्मीका अनुसार मनभित्र कुण्ठित तनावपूर्ण विचार एवं भावनाले महिलालाई मनोविषाद्जस्तो गम्भीर अवस्थासम्म पुर्‍याउनसक्छ । अन्तत: महिलाले आत्माहत्यासम्म गर्नसक्ने वातावरण सृजना हुन्छ तर अहिले धेरैको पहुंचमा रहेको सामाजिक सञ्जालले धेरैका लागी नजिकको साथीको काम गरेको छ । जससँग सहजै आफ्ना भावना पोख्न सकिन्छ । पैसा तिरेर मनोवैज्ञानिककहँं जानुको साटो अलिकति समय दिएर सामाजिक सञ्जाल प्रयोग गर्दा कमेन्ट्स मार्फत प्राप्त हुने सल्लाह–सुझावले धेरै हदसम्म तनाव कम हुने रेग्मीको धारणा छ । 

समाजशास्त्री प्रा.डा.ज्ञानु क्षेत्रीलाई सामाजिक सञ्जालको फैलिंदो महामारी देख्दा युग बद्लिएछ भन्ने लाग्छ । उनले पढेको समाजशास्त्रमा उहिले खबर आदान प्रदान गर्ने दूतका रूपमा कागको प्रयोग र गाउँलाई सूचना दिने कटुवाल कराउने प्रचलनसँग उनी अहिलेको सोसल नेटवर्कलाई दाँज्दै भन्छिन्– ‘कति जटिल थिए ती दिनहरू । एउटा कटुवालले घोक्रो फुट्ने गरी गाउँ नै थर्काएर ए...गाउंले हो आज पिपलको चौतारोमा ८ बजे खानेपानीको सभा हुँदैछ सबैजना हाजिर हुनुहोला भन्नुपर्दा उसको शक्ति कति खर्च हुन्थ्यो होला । कान नसुन्ने कतिपयले कटुवाल कराएको नसुने सभामा अनुपस्थित भए बापत हर्जाना तिर्नुपथ्र्यो । तर आज समय पूर्ण रूपमा फेरिएको छ । एउटा सूचनाको के कुरा, एक क्लिकको भरमा पूरा विश्व नै हाम्रा अगाडि उपस्थित हुन्छ ।’

 

सामाजिक परिवर्तनमा आएको यो क्रान्तिले महिलालाई धेरै हदसम्म सहज एवं सुसूचित बनाएको ज्ञानुको तर्क छ । यसकारण कि कृषि युगका महिलालाई घरबाहेक अन्यत्र जाने मौकाबाट कमै मात्रामा छुट्कारा मिल्थ्यो । यसो हुँदा उनीहरूले धेरै कुरा सिक्ने र जान्ने मौकाबाट बञ्चित हुनुपथ्र्यो । अहिलेको सञ्चारमाध्यम तथा सामाजिक सञ्जालका कारण महिलामा जागरुकता आएको छ भने उनीहरूले धेरै विषयमा धेरै कुरा सिक्ने मौका पाएका छन् । 

पूर्व मिस नेपाल तथा मिडिया पर्सनालिटी माल्भिका सुब्बालाई सामाजिक सञ्जालले धेरै कुरा सिकाएको छ । यसले आफूलाई धेरै कुरा सिकाएको, आफ्ना कुरा अरूसित सेयर गर्ने, आफ्ना आवाज उठाउने मौका प्रदान गरेको कुरा बताउंदै सुब्बा भन्छिन्– ‘बिनारोकतोक आफ्ना मनमा लागेका कुरा सार्वजनिक गर्न पाइन्छ । सहज रूपमा सूचना सम्प्रेषण गर्न पाउनु चानचुने कुरा होइन । अझ त्यसमा प्राप्त हुने कमेन्ट्सले समस्या समाधानका उपाय र जनमत पनि खडा गर्छ ।’ माल्भिकालाई यसको नकारात्मक पक्षले पनि एकपटक गांजेको रहेछ । फेसबुकमार्फत भएको यौन दुव्र्यवहारका विरुद्ध उनी लगायत उनका साथीहरूले प्रहरीमा उजुरी नै हालेका रहेछन् । पछि पत्ता लगाउँदा त्यस्तो फेक आईडी बनाएर अश्लील तस्बिर राखिदिने युवतीलाई प्रहरीले प्रक्राउ पनि गरेको उनले बताइन् । भन्छिन्– ‘यसको दुर्बल पक्ष नै फेक आईडी बनाउन मिल्नु एवं गलत प्रतिक्रिया समेत सार्वजनिक गर्न मिल्नु हो ।’ 

 

मनोवैज्ञानिक रमा कार्की सामाजिक सञ्जालले महिलाको हकमा धेरै हदसम्म न्यास्रोपन मेटाएको तर्क दिन्छिन् । रमाका अनुसार पहिले पहिलेका महिलाहरू समूहमा जम्मा हुने, वल्लो घर पल्लो घरमा गएर मनका बह पोख्ने, चाडवाड या पूजाआजामा भेला भएर नाचगान गर्ने गरेर खुसी प्राप्त गर्थे तर अहिलेका महिलालाई ती सब चिज गर्न समय छैन । व्यस्त जीवनशैली अपनाउने आजका मानिसका लागि सामाजिक सञ्जाल आफ्ना भावना व्यक्त गर्ने तथा अरूका पनि सुन्ने सहज माध्यम कहलाएको छ । कार्कीले भनिन्– तसर्थ म भन्छु सोसल मिडियाले अहिलेका मानिसका लागी सामाजिक–भावनात्मक परामर्शको काम गरेको छ ।

 

साइकोसोसियल समस्यालाई धेरै हदसम्म यसले समाधान पनि गरेको छ । यसमा प्राप्त हुने लाईक र कमेन्ट्सले सेल्फ काउन्सिलिंगको भुमिका खेलेको छ भने काउन्सिलरको अनुपश्थितीमै यसले पियर काउन्सिलिंगको काम समेत गरेको छ । जसमार्फत मानिसले रिफ्रेसमेन्ट्स प्राप्त गरिरहेका छन् । रमाको विचारमा दिनभरि एक्लै घरमा समय बिताउनुपर्ने गृहिणी महिलाका लागि यो राम्रो साथी बनेको छ । 

पाटन संयुक्त क्याम्पसकी सहप्राध्यापक तथा समाजशास्त्री मेनुका के.सी. कटवालालाई सामाजिक सञ्जालले ज्ञान प्रदान गरी समाजलाई बृहत् बनाएको छ भन्ने लाग्छ । कटवाल भन्छिन्– ‘चेतनाले समाज बनाएको हो, चेतना भनेको सञ्चार हो । परम्परागत समाजदेखि आजसम्म सञ्चारकै माध्यमबाट सामाजिक विकास हुंदै आएको छ । उहिले सञ्चारका तौरतरिका एवं माध्यम फरक थिए भने आज बदलिएका छन् ।’ मेनुकालाई लाग्छ अहिलेको सर्वव्यापी सोसल मिडियाले महिलामा जागरण ल्याएको छ । यसमा पनि सकारात्मक तथा नकारात्मक पक्ष दुबै नभएका होइनन् । यसलाई टिनएजर एवं प्रौढहरूले प्रयोग गर्ने तरिकामा अन्तर छ, टिनएजर्स मनोरञ्जनका लागि प्रयोग गर्छन् भने प्रौढहरू सूचनाका लागि । 

कान्तिपुर एफ एम. की प्रस्तोता सबिना कार्की भन्छिन्–‘सोसल मिडियाले मलाई अफ इयरमा पनि श्रोतासँग जोडिराखेको छ । मेरा कार्यक्रममा सेलिब्रेटीलाई सोध्ने प्रश्नसमेत श्रोताहरू फेसबुकमार्फत पठाउँछन् । यसको प्रभाव दर्साउन मेरै उदाहरण काफी छ । करिब ४ वर्षअघि एकजना श्रोताले खोलिदिएको फेसबुक पेजमा अहिले डेढ लाखभन्दा बढी लाइक छन् । १२ वर्षसम्म रेडियोकर्मीका रूपमा काम गरेको मेहनतको फल श्रोताहरूको माया यो ४ वर्षमा महसुस भएको छ । कार्कीका अनुसार सामाजिक सञ्जाल पर्चा, पम्प्लेट, सामाजिक अभियान, बिलबोर्ड बाहेककै प्रमोशन, संवाद तथा सञ्चारका लागि यो सजिलो माध्यम सावित भएको छ । यद्यपि तनाव एवं दुव्र्यवहारजस्ता यसका नकारात्मक पक्ष पनि छन् । 

रिना आचार्य ( व्यवसायी  तथा समाजसेवी ) 

म विदेश बसेको लामो समय भइसक्यो । नेपालमा सामाजिक सञ्जालको पहुंच नहुँदा अन्तर्राष्ट्रिय कलमा धेरै पैसा खर्च हुन्थ्यो । पहिले उता र यताको समय मिलाएर अनि आफ्नो पनि समय खर्चेर फोन कुर्नु वा गर्नुको विकल्प थिएन । अहिले नेपालमा पनि सोसल मिडियाको अत्यधिक पहुँचका कारण परिवारसँग सदा नजिक रहेको अनुभूति हुन्छ । यसले नारीहरूलाई अझै एड्भान्स बनाएको छ । करियर, फेसन, सौन्दर्यका अलावा बौद्धिकतामा प्रखर हुन चाहनेहरूका लागि वरदानसिद्ध भएको छ । महिलाहरूको सोचाइको दायरा बढाउन भूमिका खेलेको छ । मनका कुरा फेसबुकमा पोस्ट तनाव घटाउने मात्र होइन कतिपय अवस्थामा समस्या हल गर्ने उपायसम्म निक्लिन्छ । सोसल मिडियाको सही प्रयोगले कतिपय महिलाले अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रस्तुत गर्ने प्लेटफर्म समेत फेला पारेका पनि छन् । तर कहिलेकाहीँ यसमा पोस्ट र ट्याग हुने गलत सूचना तथा तस्बिरहरूले भने हैरान पार्छ । त्यसैले जो पायो त्यसैलाई साथी बनाइहाल्नु उचित हुँदैन । कतिपयले फेक आईडी बनाएर यसको दुरुपयोग पनि गर्छन् । 

रिता खनाल ( राजनीतिज्ञ )    

सामाजिक हुन तथा राजनीतिक उन्नतिका लागि जनमत बढाउन एवं अभियानलाई अझ सशक्त गराउन सामाजिक सञ्जाल उत्तम विकल्प बनेको छ । म फेसबुकमा तस्बिरलाई भन्दा पनि गहन विचार एवं भावनलाई बढी मान्यता दिने गर्छु । मेरो गृहिणी शिक्षा नामक अभियानले पनि फेसबुकबाट प्रशंसा पाइरहेको छ । त्यसैगरी समसामयिक विचार व्यक्त गर्ने उपयुक्त थलो बनेको फेसबुकले मलाई धेरै कुरा सिकाएको छ तर कहिलेकाहीँ अनावश्यक टीकाटिप्पणीले केही तनाव सृजना नगर्ने पनि होइन । यसतर्फ प्रयोगकर्ता स्वयं सतर्क हुनु जरुरी छ । 

 

सविना कार्की ( गायिका )

मलाई सामाजिक सञ्जालले ठूलो फाइदा पुर्‍याएको छ । फेसबुकबाटै कतिपयसँग व्यावसायिक डिलिङ पनि हुने गर्छ । सामाजिक सञ्जालले मलाई अझ धेरै मानिसमाझ लोकप्रिय बनाएको छ । तस्विरहरू अपलोड गर्न रुचाउने मलाई प्राप्त हुने राम्रा कमेन्ट्सले थप प्रेरणा प्रदान गर्छन् । यो मेरा लागि एकान्तको साथी बनेको छ । करिब २ वर्ष अगाडि मलाई फेसबुकको एउटा नमीठो क्षणले पिरोलेको थियो । एकजना अपरिचित मानिसले मलाई अश्लील शब्दहरू पोस्ट गर्‍यो मैले त्यसलाई सार्वजनिक रूपमै जवाफ फर्काइदिएँ । त्यसपछि ऊ कता गायब भयो थाहा छैन । त्यस बेलादेखि फेसबुकमा साथी बनाउने कुरामा एकदमै सजग हुन थालेकी छु ।

 

अहिले त फ्रेण्ड रिक्वेस्ट गर्नेहरूको म्युचल फ्रेण्ड संख्या हेरेर मात्र एसेप्ट गर्छु, चित्त नबुझे डिलिट गरिदिन्छु । म जो पायो त्यसैलाई साथी बनाउन चाहन्न । औषधी पनि ठिक्क मात्रामा खायो भने मात्रै औषधि हुन्छ भने झैं सोसल मिडिया पनि प्रयोग गर्न जाने फाइदाजनक छ ।  

 

सिवानी सिंह थारु ( लेखिका )

म फेसबुकमा समसामयिक विचार एवं खबरलाई प्राथमिकता दिन्छु । म अरूले पोस्ट गरेका चोटिला बिचारको प्रशंसक हुँ भने म आफू पनि त्यसरी नै सामाजिक सञ्जालमा प्रस्तुत हुन चाहन्छु । सोसल नेटवर्किङ समाज जागरुकता, खबरदारी, सशक्तिकरण एवं विकासका लागि प्रयोग हुनुपर्छ । महिलाहरू पनि बाहिरी संसारसँग चासो राख्ने तहमा पुग्नुपर्छ । सामाजिक संजालमा कसैको रोकावट बिना आफ्ना विचार व्यक्त गर्न पाइने अनि त्यसमा तुरुन्तै पाइने प्रतिक्रियाले बौद्धिकताको तह बढाउँछ भने अरुलाई सुन्ने र अरुका कुरा स्वीकार गर्ने बानीको विकास हुन्छ । आफ्नो स्तर एवं प्रकृति मिल्ने साथी बनाउनुपर्ने कुरामा भने विचार पुर्‍याउनुपर्छ । 

 

पुनम क्षेत्री गौतम (निर्मातृ तथा फेसन डिजाइनर )

मैले फेसबुक एकाउन्ट खोल्नुको पनि रोचक कथा छ । म तीन कक्षामा पढ्दादेखि नै आफूले मन पराएकी नायिका गौरी मल्ललाई सर्च गर्न, उनीसँग साथी बन्न अनि उनलाई भेट्न उत्सुक थिएँ । फेसबुकमा अकाउन्ट खोलेकै दिन उनलाई सर्च गरें र भेटें पनि तर मित्रताका निम्ति आग्रह गरिन । म हरेक दिन उनको प्रोफाइलमा छिर्थें, उनलाई हेर्थें, उनका भावना पढ्थें र पनि कहिल्यै फ्रेन्ड रिक्वेस्ट पठाइन् न त मैले कहिल्यै उनलाई लाईक र कमेन्ट नै गरें ।

 

मैले उनलाई जे सोचेकी थिएँ त्यसको ठ्याक्कै उल्टो पाएँ । उनी फेसबुकका पानाभरि छताछुल्ल छरिन्थिन तर निरास अनि मलिन भावमा । उनका स्ट्याटस, कविता उही लयका हुन्थे । मलाई उनीदेखि दिक्क लाग्न थाल्यो र पनि मैले उनलाई पछ्याउन छाडेकी थिइन् । एकदिन एउटा कार्यक्रमको निम्तो आयो जसमा गौरी मल्लको पनि उपस्थिति हँुदैछ भन्ने सुनें । आयोजकले फोन गरेर उनको नम्बर दिँदै दुवैको एकैसाथ समय मिलाउन भने । म अचम्मित भएं । मैले उनलाई फोन गरें एकै रिङमा उनको फोन उठ्यो । हामीले पहिलो फोनमै लामो कुराकानी गर्‍यौं र कार्यक्रमको अघिल्लै दिन भेट्ने योजना बनायौं । मैले गौरी मल्ललाई भेटेर फेसबुकको कहानी सुनाउंदै केही समयदेखि आफूले उनलाई पछ्याइरहेकी छु र पनि मैले तपाईंलाई मित्रताका निम्ति आग्रह गर्न सकेकी छैन भनें ।

 

अब भने म तपाईंलाई फ्रेण्ड स्क्विेस्ट पठाउँछु स्विस्कार्ने नस्विकार्ने तपाईंको इच्छा भनें । यसो भन्दा गौरी दिदीले भनिन्– ‘यो भगवान्को लीला हो । तिमीले मलाई महसुस गरिरहेकी थियौ र त म पहिलो फोनमै तिमीलाई भेट्न लालायित भएँ । अब त म तिम्रा हरेक रिक्वेस्ट एसेप्ट गर्छु ।’ अहिले गौरी दिदी र म अत्यन्तै निकट छौं । म आमासँग सेयर गर्न नसक्ने कुरा म दिदीसँग सेयर गर्छु । मलाई सामाजिक सञ्जालले महिलाको भावना बुझ्ने काम गरेजस्तो लाग्छ । 

 

बक्समा

सन् २०११ को अन्तर्राष्ट्रिय तथ्यांकले काठमाडौं उपत्याकाको जनसंख्या ३४ लाख ४२ हजार २ सय ७१ देखाएको छ । जुन ३० सन् २०१२ गरिएको एक सर्वेक्षणले नेपालमा २६ लाख ९० हजार १ सय ६२ इन्टरनेट प्रयोगकर्ता रहेको पुष्टि गरेको छ । तीमध्ये ९ प्रतिशत यसबाट हुने विविध किसिमका हिंसाबाट प्रभावित भएको तथ्यांक सार्वजनिक भएको छ । 

स्रोत–गुगल संसार डटकम 

एसियाका ३५ मुलुकमा भएका ३ अर्ब ९२ करोड २० लाख ६६ हजार ९ सय ८७ मानिसमध्ये इन्टरनेट प्रयोकर्ताको संख्या १ अर्ब ७ करोड ६६ लाख ८१ हजार ५९ छ । यी प्रयोगकर्ताहरू आफ्नो करिब ५० प्रतिशत समय इन्टरनेटमा फेसबुक, ट्विटर, लिंक इन, टु, गुगल प्लस, हाइफाइ तथा इमेल आदि साइटमा बिताउन चाहन्छन् । सन् २०१२ को विश्वव्यापी तथ्यांक हेर्ने हो भने माथि उल्लेखित एसियन मुलुकका इन्टरनेट प्रयोगकर्तामध्ये २७ दशमलव ५ प्रतिशतमा यसको नकारात्मक प्रभाव देखिएको छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्