सुनको हार

दीपिका प्याकुरेल खनाल

कार्तिक २३, २०७३ 

काठमाडौंको मध्यभागस्थित जुद्ध सडक । आधुनिकतामा ढल्किएका अनि दुनियाँलाई लोभ्याउने सजिसजाउ पसलहरू, जसलाई दुई किनारामा उभ्याएर लम्पसार परेको छ जुद्ध सडक, जसलाई आजभोलि न्यूरोडको नामले चिनिन्छ हजारौं पर्यटक र सर्वसाधारण मानिसले खचाखच भरिएको व्यस्त सडक त्यसमा पनि सौन्दर्यका प्रसाधन तथा गरगहनाका पसलले जोकसैलाई बोलाईरहेका हुन्छन् । एउटा व्यस्त गहना पसलमा सुन, हीरा तथा प्लाटिनमका गहनाहरू दराजमा सजिएका छन् ।

 

सुन्दर युवतीहरू ग्राहकहरूलाई गहना देखाइरहेका छन् । यस्तैमा म पनि ट्याक्सीबाट ओर्लेर पसलमा पुग्छु । मन परेका गहनाको एक सेटको मोल सोध्छु, कसरी तोला ? यसको कति ? त्यसको कति ? मेरो प्रश्नको उत्तर दिँदै साहुजी भन्छन्–यो पाँच तोलाको हो, कानको, हातको र घाँटीको । मलाई पनि त्यही सेट सार्‍है मन पर्‍यो र थपक्कै व्यागबाट पैसा निकालेर साहुजीलाई दिएँ । त्यो सुनको हार लिएर म त्यहाँबाट हिँडें ।

त्यसको २–४ दिनपछि व्रतबन्धको निमन्त्रणामा साथीको घर गएँ । जहाँ साथीको छोराको व्रतबन्ध थियो । त्यहाँ मेरो गहनाको ठूलो चर्चा भयो । जसको पनि गहनाकै कुरा, सुनको हारकै प्रशंसा, सबैबाट वाह–वाह । म खुसीले मख्ख पर्दै सबैलाई गर्वसाथ धन्यवाद, धन्यवाद भन्दै थिएँ । अकस्मात् मेरो कानमा ठूलो आवाज आयो म झसङ्ग ब्युँझिएँ, म त निद्रामा पो रहेंछु ।

 

बाहिर पानी परिरहेछ, चट्याङ परेको रहेछ, म झस्किएर आफ्नो घाँटी छाम्न पुग्छु, घाँटी त बुच्चै कस्तो मीठो सपना ? यदि त्यो साँच्चै सपना नभएर विपना भएको भए, लाग्छ त्यो हार अझै मेरो घाँटीमा छ, अझै म अरूको प्रशंसा सुनिरहेकी छु । म त्यही सपनाका कारण रातभरि निदाउन सकिन । आखिर म पनि एउटी महिला न परें, जसको मीठो खाने, राम्रो लगाउने रहर हुन्छ । आधुनिक दुनियाँमा म पनि त्यही रहर बोकेर अरूभन्दा कम हुन चाहन्नथें, आधुनिक दुनियाँमा भुल्न चाहन्थें तर....।

मध्यम वर्गीय संभ्रान्त परिवारकी बुहारी भए पनि मैले राम्रो लगाउने अनि आधुनिकतालाई आत्मसात् गर्ने इच्छा पूरा गर्न पाएकी थिइन । आफ्ना घरको अमिल्दो व्यवहार सबै ठूला सबै मुली भएर अस्तव्यस्त घर खर्च आफन्तजनको मात्र प्रवाह छ, बुहारी भनेकी अर्काकी छोरी, राय सल्लाह र इच्छा हुँदैन भन्ने मानसिकता बोकेको परिवार त्यसैले बुहारीप्रति अविश्वास छ ।

 

हुन पनि आफ्नो रहरलाई बाँध्न नसक्दा मैले फेसन र गहनामा थुप्रै पैसा खर्च गरेकी छु । ‘सुनभन्दा कम छैन, हराएमा डर छैन’ भन्ने पसलका गहनामा निकै खर्च गरें तर तिखा आँखा भएका साथीसँगी र आफन्तको सक्कली र नक्कली जाँच्न सक्ने क्षमताले ठ्याक्कै पत्ता लाउँथे र भन्थें– यो त ग्यारेन्टी हो । त्यतिबेला म छाँगाबाट खसेझंै हुन्थें । लाजले पानी–पानी हुन्थें, अनुहार रातो हुन्थ्यो र हीनताबोध महसुस हुन्थ्यो । साथीभाइहरू घाँटीमा सिक्री, मंगलसूत्र अनि चुरा र दसवटा औंठी लाएर मख्ख पर्थे, आफू पनि उनीहरूभन्दा कम नदेखिन त्यस्तै ग्यारेन्टीका गहना लगाएर अपटुडेट देखिन खोज्थें तर चोर पक्राउ परिहाल्थें । 

यस्तै कथा–व्यथा र रहरलाई कुण्ठित गर्दै कहिलेकाहीँ श्रीमान्लाई र कहिले सासू आमालाई रहरका कुरा सुनाउन लाग्दा तितौरा खाने जिब्रोलाई काजुको स्वाद लिन दिनु हुँदैन भन्ने तिखा कटु व्यंग्य सुन्नुपथ्र्यो । त्यो पनि सहनैपर्ने । श्रीमान् मनकारी हुन् । अरूलाई सहयोग गर्ने, ख्वाउने–पिउने गर्छन् तर श्रीमती जसले तातो–चिसो, दु:ख बिमारको विचार गर्छे, सुख–दु:खमा साथ दिन्छ,े माइतीको माया बिर्सेर जीवनभरि श्रीमान्को सेवा गर्छे दिए खान्छे नदिए खान्न उनैका आफन्तजन र परिवारलाई आफ्नो मान्छे । मनका कुरा श्रीमान्बाहेक अरूलाई खोल्न सक्दिन । त्यस्ती श्रीमतीलाई मान्छे नै गन्दैन, खोइ भाग्य त्यस्तो भनौं वा कर्म ? अरूसँग हाँसखेल, ठट्टा वा रमाइलो गर्छन् तर श्रीमती सधैं दबिएर बस्नुपर्ने । अर्काले उकासेर हो वा अरूका कुरा सुनेर यो त उनै जानून् वा ईश्वरले .... सासू आमाका कुरा त के गरौं यस्तै हो ।

आर्थिक हैसियत कम भएका माइतीले छोरी सम्पन्न परिवारमा परी भनेर चित्त बुझाउँछन् तर जतिसुकै शिक्षित नारीले पनि आफ्नो कतव्र्य पूरा गर्ने अर्थमा अनपढ सासू र शिक्षित श्रीमान्को घोचपोच र व्यंग्य सहनैपर्ने । त्यसैले आफन्तजन वा दाजुभाइ विदेशमा भएर पैसा पठाइ दिए सुनको हार लगाउन पाइने नत्र बुच्चै । यही रहरमा पिल्सिएर आफूलाई ५ तोलाको हार मृगतृष्णा भएको छ । अहिलेको जमानामा स्त्री वा पुरुष हरेकलाई सुन वा हीरामा सजिनैपर्ने । पत्रपत्रिकाका विज्ञापनका चर्चा परिचर्चा गर्नैपर्ने । विवाह, व्रतबन्ध र पार्टीमा लाउनैपर्ने । कम कमाएकाले पनि लाउनैपर्ने । लगाएन भने इज्जत जाने तर आफ्नो कमाइ नहुँदा १ आना वा १ रत्ती पनि किन्न नसकिने कस्तो विडम्वना ? लोग्नेको हात र सासूको शरीरभरिका गहना नै आफूले लगाएसरह सम्झनुपर्ने । गहना र रुपैंयाँ चलाउन नहुने ।

 

सासू र नन्द–आमाजूहरू भने इज्जत र शानका लागि भए पनि पहेंलपुर भएर हिँड्नुपर्ने कस्तो सोच ? कस्तो समाज ? यस्ता समस्या र इच्छा भएका कति नारी होलान् तर यी चाहना र इच्छा बुझ्ने श्रीमान्, सासू, नन्द–आमाजूको सोच कहिले बन्ला ? सुनको हार सम्झेर हरेक दसैं–तिहार, नयाँ वर्ष, तीज, विवाह, व्रतबन्धमा मेरो रहर, इच्छा तीव्र हुँदै जान्छ भन्दै साथी प्रीतिकाले गहबाट आँसु खसाल्दै भनी–म पनि उसका सपना भए पनि विपना भए पनि इच्छा र रहरलाई सम्झेर एकछिन अवाक भएर सान्त्वनाका लागि भए पनि भनें– प्रीतिका यस्तै हो जिन्दगी कुनै दिन तिम्रा पनि खुसीका क्षण आउँछन् । श्रीमान् तिमै्र हुन् ।

 

एक न एक दिन सम्झनेछन् र बुझ्नेछन् आखिर जिन्दगी चलाउने तिमीहरूले नै हौ । सधैभरि भात पकाएर र नानी स्याहारेर मात्र बस्नु पर्दैन । हामी केहीबेर गन्थन गरेर बस्यौं र एकछिनपछि आ–आफ्ना नियमित धन्दामा लाग्यौं । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्