शैलु दिदी

शैलु दिदी त्यतिखेर मन्त्री हुनुहुन्थ्यो ।’ उसले शैलु दिदीसँग भएको अप्रत्याशित भेटका सम्बन्धमा बताएको थियो–‘पचपन्न सालतिरको कुरा हो ।

पेशल आचार्य

आश्विन १६, २०७३  

‘अन्तत: शैलु दिदीको मृत्यु भयो ।’ शम्भुले गहभरि आँसु पार्दै भने । मलाई (म भनेको कथाकार) शैलु दिदीको मृत्युको खबरमा एकप्रकारको नमीठो पीडा त अघिदेखि छँदै थियो फेरि शम्भुको शोकमग्न भावमुद्राले असाध्यै दु:खी बनायो । 

 शम्भु मेरो हितैषी मित्र हो । शम्भु शैलु दिदीको असामयिक निधनले निकै मर्माहत थियो । उसको सानो घरपरिवार छ । ऊ कसैको लोग्ने हो, कसैको पिता र कसैको पुत्र हो । राजधानीको रैथाने शम्भुलाई एकसरो लाउन–खान समस्या पनि छैन । उसका साथीहरू पनि प्रशस्त छन् । उनीहरू सहरमा आ–आफ्नो पेसामा रमेका छन् । ऊ पनि सहरमा रमेको थियो । उसले चाहेजति पढ्न सकेन । त्यतिबेला पनि काठमाडौंमा घरैपिछे प्लस टु र टोलैपिच्छे क्याम्पसहरू थिए । 

 


‘शिक्षालय भएर के गर्नु मानिसलाई पढ्न नआएपछि कसको के लाग्छ र ?’ शम्भुले भन्यो । उसका बा सहरमा मजदुर थिए । उसका बाले शम्भुलाई वकिल बनाउन चाहेका थिए तर शम्भुले उक्त चाहना पूरा गर्न सकेन । उसलाई आज शैलु दिदीको मृत्युको खबरले आफ्ना दिवंगत बाबुको सपनाले फेरि कलेजोमा तीखो गरी प्रहार गरिरहेछ । बाबुले उसको आँखाबाट संसार हेर्ने प्रयास गरेका थिए । ऊ शैलु दिदीको सहयोगबाट आफ्नो छोरा इन्जिनियर बन्ने सपना देखिरहेको छ तर दुवै सपनाका महलमा नराम्रो हुरी आयो र ती सिसाझैं फुटे । उसका बाका सपना त तुहिए–तुहिए, अब उसको सपनामा पनि तुषारापात भयो । 

 

शम्भुले भनेको थियो–‘उसको शैलु दिदीसँग पचपन्न सालमा मित्रपार्कनेर भेट भएको रहेछ । शैलु दिदी त्यतिखेर मन्त्री हुनुहुन्थ्यो ।’ उसले शैलु दिदीसँग भएको अप्रत्याशित भेटका सम्बन्धमा बताएको थियो–‘पचपन्न सालतिरको कुरा हो । म एकजना साथीसँग मित्रपार्कतर्फ जाँदै थिएँ । मित्रपार्कबाट एउटा झन्डावाल गाडी निस्कदै थियो । गाडीभित्रकी महिलालाई देखेर मैले साथीसँग सोधें । ‘उहाँ शैलजा आचार्य होइन ?’ उसले ‘हो’ भन्यो । मैले सोधें–‘म उहाँलाई नमस्ते गर्न सक्छु ?’ साथीले टाउको हल्लाएपछि सुरक्षाकर्मीहरूलाई पन्छाउँदै नजिकै गएर ‘मन्त्रीज्यू, नमस्कार’ भनें । उहाँले पनि ‘नमस्कार’ भन्नुभयो । त्यसबेला उहाँ उप–प्रधानमन्त्री हुनुहुन्थ्यो ।

 

पार्टीका नेता र मन्त्रीहरूले साधारण मान्छेसँग कुरै गर्दैनन्, नमस्ते नै फर्काउँदैनन् भन्ने सुनेको थिएँ तर शैलजालाई मैले सुनेभन्दा बेग्लै पाएँ । उहाँको नाम मैले रेडियो र टिभीमा धेरै पहिलेदेखि सुन्दै आएको हुँ । उहाँ कस्ती हुनुहोला भन्ने खुल्दुली पनि थियो तर त्यस दिनपछि म उहाँको प्रशंसक बनें ।’ यति भनिसक्दा पनि शम्भुका आँखाबाट आँसु झर्न खोज्दै थिए तर पनि उसले आँसुलाई बल गरेर आँखैमा दबायो । 


शम्भुले फेरि अर्को दिन बतायो–‘उप–प्रधानमन्त्रीबाट हटेपछि उहाँका ड्राइभर मेरा काकाका छोरा लक्ष्मण हुनुहुन्थ्यो । उहाँलाई दिदीले अन्तै जागिर लगाइदिनुभएछ तर मलाई थाहा थिएन । त्यतिबेला म आफ्नै ट्याक्सी चलाउँथे । मलाई आफ्नै संसारमा फुर्सद थिएन । मैले उहाँलाई बिर्सिएको थिएँ । सहरमा यस्ता मानिस कति छन् कति ? तिनीहरूसँगको भेटलाई सधैं सम्झिरहन पनि त सकिँदैन ।’ उसले फेरि बतायो–‘एकदिन लक्ष्मण दाइले मलाई बिहानै आफ्नो घर बोलाउनुभयो । म गएपछि उहाँले ‘दिदीको घरमा जाऊँ’ भन्नुभयो । दिदीलाई ड्राइभर चाहिएको रहेछ । मलाई दिदीको घर गएपछि मात्र थाहा भयो । दाइले मलाई चिनाउँदै भन्नुभयो–‘यो मेरो भाइ हो, अब यसले गाडी चलाउँछ ।’
यसरी म दिदीको घर र गाडीसम्म पुगेको थिएँ ।

 

 
मैले काम गर्न थालेकै अर्को दिन दिदीले मलाई ‘हामी बीस–पच्चीस दिनलाई बाहिर जाँदैछौं’ भन्नुभयो । मैले आफू काठमाडौं बाहिर नगएको कुरा उहाँलाई बताएँ । पछि थाहा भयो उहाँ जिल्ला भ्रमणमा जान लाग्नुभएको रहेछ । अर्कै ड्राइभरले दिदीलाई जिल्लाबाहिर लग्यो । 


कार्यक्रम सकिएपछि उहाँ राजधानी फर्कनुभयो । म बिहान सबेरै जान्थें र राति गाडीलाई थन्क्याएर घर फर्कन्थें । एकदिन दिदीले भन्नुभयो–तिमीलाई अप्ठ्यारो भए यहीँ बस ।’ पछि म दिदीको घरमै बसें । 
दिदी कम बोल्नुहुन्थ्यो । एकदिन उहाँले मलाई आफ्ना बारेमा सोध्नुभयो मैले नढाँटी भनें–‘मेरो विवाह भैसकेको छ । दुईजना छोराछोरी छन् ।’ दिदी असाध्यै हक्की र स्वाभिमानी हुनुहुँदो रहेछ । नेपालको राजनीतिमा यस्ती हक्की, स्पष्टवक्ता र निडर मानिस त्यसमा पनि महिला नेतृ मैले देखेको छैन ।

 

मेरो चुरोट खाने बानी थाहा पाएर उहाँकी आमा इन्दिराले निकै नराम्रो मान्नुभयो तर दिदीले ‘खाने भए खाऊ तर पछाडिको कोठामा ढोका लगाएर खाऊ’ भन्दा उहाँकी आमाले उहाँलाई एकपटक गाली गर्नुभयो । त्यो गालीले मलाई नराम्रो चोट पुर्‍याएपछि मैले चुरोट खान छाडिदिएँ । मलाई निकै दिनसम्म पनि मेरा लागि शैलु दिदीले गाली खाएको कताकता मन परेन । दिनहरू त्यसरी बित्दै गए । मैले दिदीको राम्रोसँग सेवा गरेको थिएँ । एकपटक दिदीकी आमा बिरामी हुनुभयो । त्यतिबेला मैले मेरी श्रीमतीलाई उहाँकी आमाको हेरचाहमा पठाइदिएँ । त्यसपछि मेरी श्रीमती पनि त्यो घरकी सदस्य भइन् । कहिलेकाहीँ मेरा छोराछोरीहरू पनि दिदीको घर जान्थे अनि उहाँ मेरा छोराछोरीसँग गफ गर्नुहुन्थ्यो । 
मेरो छोराको पढाइ राम्रो भएकाले एकपटक दिदीले नै कुरा उप्काउनुभयो–‘यसलाई राम्रोसँग एसएलसी पास गराऊ । म आफ्नै खर्चले इन्जिनियर पढाइदिन्छु ।’ त्यसो भन्दा दिदीका आँखामा मैले भरोसाको भाव देखेको थिएँ । 

 

आज उहाँ असमयमै हामीलाई चटक्क छाडेर जाँदा आफ्नै अभिभावक गुमाएजस्तै लागिरहेछ । कतिपय मानिस त उहाँको प्रगति देखेर डाह गर्थे । खासगरी आफ्नै राजनीतिक पार्टीका सहकर्मीहरूलाई उहाँको भ्रष्टाचार विरोधी प्रवृत्ति उतिसारो मन परेको थिएन । एकपटक दिदीले मलाई भन्नुभएको थियो–‘अब म सानुबाबुलाई भनेर भारतको राजदूतमा जान्छु । ‘शम्भु तिमी पनि मसँग जानुपर्छ ।’ दिदीले त्यसोभन्दा मैले कुनै प्रतिक्रिया जनाइन । पछि मैले सुस्तरी भनेको थिएँ–‘म त जान्न होला दिदी, तर हजुरको सेवा गर्न मेरी श्रीमती पठाउँछु ।’ 

 

दिदीले केही भन्नुभएन, सुनिरहनुभयो । उहाँ आफ्नो तर्कमा अडिनुहुन्थ्यो । कसैले उहाँको अन्तर्मनको आवाजलाई सुनेन भने उहाँ जस्तोसुकै निर्णय लिन पनि पछि पर्नुहुन्नथ्यो । जलस्रोत मन्त्री हुँदाको घटना रमाइलो छ । दिदी ठूला प्रोजेक्टको विरोधी हुनुहुन्थ्यो । उहाँ यस्ता विदेशी आयोजना गरिब देशले थेग्न नसक्ने भएकाले हामीले थोरै लगानीमा निर्माण गर्न सकिने साना जल विद्युत्मा लगानी गर्नुपर्छ भन्नुहुन्थ्यो । म त त्यस्ता नीतिगत कुरा बुझ्दिनथेँ तर बुझ्ने मानिसहरूले भनेको सुनेको छु । दिदीकै अडानका कारण साना जलविद्युत् नीति सरकारले बाध्य भएर पारित गराएको थियो । 


केही समयअघि उहाँ कृषि मन्त्री हुँदा पनि मलको व्यापारमा हुने घोटालाका विरुद्धमा लाग्नुभएको थियो तर सरकार नै माफियाहरूलाई संरक्षण दिने भएकाले दिदी असफल हुनुभयो रे !मुख्य कुरा त दिदी आफूलाई कसैले महिला भनेर कठैबरा भनी सान्त्वना दिएको पटक्कै मन पराउनुहुन्नथ्यो । उहाँ आफू महिला भएर कसैको माया पाउनकै लागि मोरमोलाहिजा गर्न चाहनुहुन्नथ्यो । एक दशकको मेरो सेवामा उहाँले मलाई निकै शिक्षा दिएर जानुभएको छ । आफू जुनसुकै कार्यक्रममा जाँदा पनि उहाँ पहिले हामी सवारी चालकलाई खानपानको व्यवस्था गराएर मात्र आफू खानुहुन्थ्यो । 

 


उहाँ जे हुनुहुन्थ्यो त्यो छवि बाहिर देखिँदैनथ्यो । बाहिर देखिएको व्यक्तित्व आन्तरिक रूपमा थिएन । कहिलेकाहीँ मलाई उहाँको यस्तो विरोधाभाषपूर्ण व्यक्तित्व निकै गूढ लाग्थ्यो तर मसँग त्यस्तो प्रवृत्तिको विश्लेषण गर्ने क्षमता थिएन । एकपटक म निकै बिरामी भएँ । मसँग औषधि गर्ने पैसा पनि थिएन । दिदीले नै ओम नर्सिङ होममा मेरो उपचार गराइदिनुभयो । एकप्रकारले भन्ने हो भने उहाँ हाम्रो अभिभावक हुनुहुन्थ्यो । आज उहाँ बित्नुभएको भन्ने कुरा यो मनले स्वीकार गर्नै चाहिरहेको छैन । 
हुन त कतिपय मानिस उहाँको मृत्युबाट पनि खुसी भएका होलान् । अझ खासगरी कोइराला परिवारका लागि उहाँ बाटोको काँडा नै हुनु भएको मान्थे–तिनीहरू ।

 

मेरो सोचमा दिदी त्यस्ती खालकी पटक्कै हुनुहुन्नथ्यो । आफ्नो उन्नति आफैँ गर्ने स्वभावकी र चाकरी–चाप्लुसी नगर्ने भएकैले उहाँ नेपाली राजनीतिको पछिल्लो समयमा निकै पाखा लगाइनुभयो । यो उहाँको जीवनको अर्कै पाटो हुनसक्छ । आज सबैभन्दा चिन्ता मलाई र मेरो छोरा सुयशलाई परेको छ । ऊ अहिले एसएलसी डिस्टिङ्सनमा उत्तीर्ण भएर बाह्र कक्षा पढ्दैछ । उसको एउटा इन्जिनियर हुने सपना अब कहिल्यै पूरा नहुने भएको छ । म उसलाई उसले भनेको विषय पढाउन सक्दिन । उसले त्यही कुरा बुझेकाले हिजोआज ऊ निकै स्याड मुडमा छ । 

 


दिदी मरेको दिन ऊ त्यसरी भक्कानिएर रोला भन्ने मैले सोचेकै थिइन । उसका बा–आमा हामी छँदै थियौं । उसको त त्यही सपना चुँडिएको थियो तर उसले देखाएको चिन्ता र उत्तेजनाले मलाई पनि त्यसदिन भित्रैदेखि हुँडलो मच्चाइदियो । म पनि गहभरि आँसु पारेर झोक्राइरहें । आर्यघाटमा उहाँको चिता जलिरहँदा मेरो मनमा अनेकौं भावनाले पिङ खेलिरहेका थिए । यो हाम्रो समाज कस्तो जगमा उभिएको होला ? एउटा स्वाभिमानी मानिसलाई आफ्नो अन्तरात्माको आवाज सुनेर काम गर्न पनि दिँदैन । कसरी हुन्छ यहाँको सामाजिक उन्नति ? म सामान्य चालक भए पनि उहाँको करिब एक दसकको संगतले गर्दा यस्ता कुराहरू पनि सोच्न सक्ने भैसकेको रहेछु । 

 


दिदी गम्भीरताकी धनी हुनुहुन्थ्यो । लामो यात्रामा गएका बेला वा जिल्ला भ्रमणमा उहाँ प्राय: गाडीको अगाडिको सिटमा बस्नुहुन्थ्यो । म आराम गरेरै पछाडिको सिटमा बस्न अनुरोध गर्थें तर उहाँ भन्नुहुन्थ्यो–‘अगाडिको सिटमा बस्ने मानिस निदायो भने चालकलाई पनि निद्रा लाग्छ । त्यसैले तिमीलाई ननिदाउने बनाउन म अगाडि बसेकी हुँ ।’ म दिदीको यस्तो कुरा काट्न पनि सक्दिनथें । हो, हामी चालकलाई त्यस्तो फिलिङ् हुन्छ पनि । 


‘आज मै उपर.....आसमा निचे......’ भन्ने हिन्दी गीत दिदीलाई निकै मन पथ्र्यो । त्यतिमात्र कहाँ हो र उहाँ हिन्दीका मुकेश, किशोरकुमार र मन्नाडेका उदासी भरिएका गीतलाई दोहोर्‍याई–तेहर्‍याई सुन्नुहुन्थ्यो । उहाँले आफूले सांसद हुँदा पाएको सुविधाको पैसाबाट ललितपुरको भंैसेपाटीमा चारकोठाको घर बनाउन सुरु गर्नुभएको थियो तर त्यो पूरा हुन नसकेपछि आफ्नी बहिनी मधुलिकाकी छोरीलाई नामसारी गरिदिनुभएको थियो ।


निकै अघि उहाँका भाइबुहारीले उहाँलाई आमाले दिएको अंशमा झमेला थप्न अंश मुद्दासमेत दिएका थिए । त्यसपछि दिदी ट्रेड युनियनका नेता लक्ष्मण बस्नेतले मित्रपार्कमा दिएको एउटा घरको फ्ल्याटमा बस्न थाल्नुभयो । उहाँले आमा इन्दिरालाई पाल्नुभएको थियो । बीचमा उहाँले अघोर पन्थी बाबाबाट दीक्षा लिएर पोखरामा अघोर आश्रम बनाउन थाल्नुभएको थियो । त्यो काम पनि पैसाको अभावमा त्यत्तिकै तुहियो । दिदीले आफ्ना लागि भन्दा सामान्य मान्छे र दु:खीलाई सहयोग गरेको कुरा राजनीति गर्नेहरूलाई पचेन । यसरी दिदी गुमनाम हुन पुग्नुभयो । 

 


उहाँको मृत्युको कारण उहाँको आफ्नै स्वाभिमान रहेछ । मैले चालक भएर बुझेको गुह्य यही हो । शम्भुले यसरी शैलु दिदीका व्यक्तिगत एवं सामाजिक इच्छाहरूको लामो फेहरिस्त मेरासामु प्रस्तुत गर्दा मेरा आँखाबाट आँसु रसाए ......।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्