घर नम्बर छब्बीस

नारी संवाददाता

भाद्र ४, २०७३

प्रभा बराल

चकरपथभन्दा अलिकति भित्र रहेको सभ्यता हाउजिङको ठेगाना खोज्दै फटाफट हिँडिरहेकी थिएँ । अगाडिबाट आइरहेको कारभित्रको चिरपरिचित अनुहार देखेर झसङ्ग भएँ । गोरो अनुहारमा कालो चस्मा लगाएकी महिमा ड्राइभर सीटमा बसेका ज्ञानप्रसादसँग मस्की–मस्की गफ गरिरहेकी थिइन् ।

व्यस्त सहरी इलाकामा आफ्नो करतुत लुकाउन मास्क र कालो चस्मा निकै उपयोगी मानिन्छ । ठूल्ठूला अपराध गर्नेहरूले समेत मास्क र कालो चस्माभित्र आफूलाई लुकाएर हिँड्ने गरेको तथ्य प्रहरीको अनुसन्धानले पनि बताउँछ ।

 

वास्तविकता जस्तो भए पनि आज म भने काठमाडौंको धूवाँधूलोबाट जोगिन यी साधन प्रयोग गरिरहेकी थिएँ । मास्क र कालो चस्माले मेरो अनुहार हत्तपत्त चिन्न नसकिने भएको थियो । आफ्नै सुरमा मग्न महिमाले मलाई चिन्न सकिनन् । ज्ञानप्रसादलाई त मैले मात्र चिनेकी थिएँ । हाम्रो टोलभन्दा अलि माथि बस्ने उनी अकुत सम्पत्ति कमाएबापत अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मध्यरातमा पक्राउ परी टोलभरि चर्चित भएका थिए । पछि लाखौं रुपैंयाँ धरौटी राखेर उनी छुटे । आज अचानक ज्ञानप्रसादलाई महिमासँग देख्दा भने म आश्चर्यचकित भएँ । मैले उभिएर एकछिन हेरिरहे पनि गाडी भने मलाई नाघेर अघि बढिसकेको थियो ।

 

सोचें, उनले मलाई आफ्नो घर बोलाएर आफू भने कता जाँदैछिन् ? यी कुरा सोचे पनि गोडा भने उनले दिएको गन्तव्यतर्फ सोझिए । मनभित्र अनेक कुरा खेलाउँदै म उनले दिएको  हाउजिङको गेटमा आइपुगें ।

 

हाउजिङको मूल गेटमा बसेका गार्डले मलाई रोके । कहाँ कसकोमा जाने इन्फर्मेसन मागे । ‘म घर नम्बर २६ मा आएकी, महिमाकी साथी हुँ ।’ मैले भनें ।

 

‘ए तपार्इं यहाँ आउनुहुन्छ भनेर मेडमले यो साँचो दिने भन्नुभएको छ । एउटा जरुरी काम भएकाले बाहिर गएकी मेडम आधा घन्टापछि फर्किहाल्नुहुन्छ रे ।’ भित्र गएर आराम गर्दै गर्नुहोला ।

‘ए हो र’ भन्दै मैले गार्डको हातबाट साँचो लिएँ । उति परबाट यति टाढा आइसकेपछि उनलाई नभेटी के फर्किहाल्नु भन्दै म उनको घरतिर सोझिएँ ।

 

व्यस्त बजारभन्दा दस किलोमिटर भित्र बनाइएको यो हाउजिङको परिकल्पना निकै आकर्षक लाग्यो मलाई । एकनासे चिटिक्क परेका दुई तले घरहरू । विभिन्न रंग संयोजन गरिएका घरका भित्ताहरू, उत्तिकै सुन्दर ।

 

स्वीमिङ पुल, कार पार्किङ गर्ने विशाल ठाउँ, ठाउँठाउँमा छाँट पारिएको दूबो, क्यारीभरि फुलेका फूलहरू आहा ! कति राम्रो ठाउँ । विदेशको कुनै स्थानको झझल्को दिने सुन्दरता । घर नम्बर छब्बीस । हलुका क्रिम कलर लगाइएको महिमाको घरतर्फ म सोझिएँ । गेट  ढप्काइएको मात्र रहेछ खुलिहाल्यो । सफा र सिनित्त परेको सानो आँगनका छेउछाउमा ढकमक्क फुलेका फूल सजिएका थिए । ठ्याक्कै कम्प्युटर  र टेलिभिजनमा देखाइने घरजस्तै सुन्दर थियो यो घर ।

 

म मूल ढोकाको ताल्चा खोलेर भित्र पसें ।

बंगला स्टाइलको घर तल किचन र बैठक अनि सानो बेडरुमसँगै माथि उक्लने भर्‍याङ । भित्र पनि उस्तै भव्य, उस्तै सजावट ।

म चुपचाप बैठक कोठाको सोफामा बसिरहें । बैठकका फर्निचर पनि सबै नयाँ लाग्थे । सबै वस्तुबाट नयाँ वासना छुटिरहेको थियो । नजिकै फूलचोकीको डाँडा देखिने यो ठाउँ निकै हरियो पनि रहेछ । हरिया डाँडाबाट निस्किएको चिसो बतासको झोक्का कोठाको झ्यालबाट पसेर मलाई स्पर्श गरिरहेको थियो । म यो घरकी नयाँ पाहुना भन्ने आभाष हावाको झोक्काले पनि पाइसकेको थियो । पवनको मीठो आत्मीयता पाएर म मनमनै मुसुक्क हासें अनि आनन्दित हुँदै महिमाका कोठाका वस्तुहरू नियाल्न थालें ।

कोठाका महँगा वस्तुहरूले वैभवशाली जीवनको परिचय पनि दिइरहेका थिए । साँच्चै उनका श्रीमान् के गर्छन् होला कुन्नि ? विदेशतिरबाट डलरको ओइरो नै लगाउँछन् जस्तो छ । अघि गाडीमा भेटिने ज्ञानप्रसाद को हुन् फेरि ? एउटा मामुली मानिसलाई यी सामान जोड्न त निकै गाह्रो पो हुन्छ  । यही लेदरको सोफालाई मात्र ५० हजार पर्छ होला । म मनमनै सामानको जोडघटाउ गर्छु । भित्तामा टाँसिएको उनको तस्बिरले म उनीसँगको प्रथम भेटको स्मरण गर्छु ।

 

त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागमा पढ्न जाँदा उनी मेरी साथी भएकी थिइन् । क्याम्पसको पहिलो दिन साथीहरूसँग चिनजान एवं शिक्षकहरूसँग भेटघाट गर्ने तीव्र इच्छाले म समयमै क्याम्पस पुगेकी थिएँ । स्नातक तह उत्तीर्ण भएको पाँच वर्षजति एउटा एनजीओमा काम गरेर अधूरो पढाइ पूरा गर्न म विश्वविद्यालय भर्ना भएकी थिएँ ।

 

जति उमेर ढल्किँदै गयो उति पढाइको महत्व बुझिँदो रहेछ । म पनि एम ए पढ्न नपाउँदाको लघुताभाषले खुम्चिरहेकी थिएँ । पढ्नका लागि केही पैसाको जोहो गरेपछि पूर्णरूपमा विद्यार्थी जीवनमा समर्पित हुन अदम्य उत्साह र इच्छाशक्तिले क्याम्पसमा उपस्थित भएकी थिएँ ।

सम्भवत: पहिलो दिन भएर हो कि कक्षामा त्यति विद्यार्थी थिएनन् । म एक्लै आफ्नै विभाग अगाडिको चौरमा बसेर कलेज पढ्न आएका अन्य विभागका साथीहरूलाई हेर्दै बसेकी थिएँ । रङ्गीन पहिरनमा सजिएका हँसिला विद्यार्थीहरूको जमात निकै आकर्षक थियो । तनावरहित अनुहारमा उन्मुक्त हाँसो ल्याउँदै युवायुवतीहरू मस्किदै हिँडिरहेका थिए ।

 

‘तपाईं सोसोलोजीको विद्यार्थी हो ?’ एउटी गोरी र पातली युवतीले मलाई हातले औंल्याउँदै सोधिन् ।

‘हो’ मैले भनें । ‘बसेरै कुरा गरौं न है ।’ उनले भनिन् । ‘भैहाल्छ नि ।’ आफू नजिक बस्नुस् भन्ने इशारासहित मैले उनलाई छेउमै बसाएँ । सेता मिलेका राम्रा दाँत देखाउादै उनी हाँसिन् र ‘पहिले परिचय गरौं ?’ भन्दै आफ्नो नाम ‘महिमा सिजापति घर हेटौंडा’ भनिन् । मैले पनि आफ्नो संक्षिप्त परिचय दिएँ । एकैछिनमा हामी साथी बन्यौं । गफ गर्नका लागि हामीसाग प्रशस्त विषय थिए । तैपनि म पहिलो भेटमै हत्तपत्त खुल्न रुचाउँदिन । मलाई अरूका कुरा सुन्न असाध्यै रुचि लाग्छ । बोल्ने कम र सुन्ने बानी बढी छ मेरो । महिमालाई धेरै बोल्नुपर्ने रहेछ । गलामा पोतेको एक लुम र निधारमा लगाएको सानो टीकाले उनी विवाहित भएको कुरा स्पष्ट हुन्थ्यो तर यस विषयमा प्रवेश गरिएन । हामीले पढाइकै कुरा गर्दै क्याम्पस परिसरको फन्को लगायौं ।

 

केन्द्रीय पुस्तकालयमा गएर पुस्तकै पुस्तकको संसारमा एकछिन हराएपछि मन आनन्दित भयो । पुस्तकालयबाट निस्किएपछि क्यान्टिनमा गएर खाजा पनि सँगै खायौं । अब पर्सि आइतबार भेटघाट गरौंला भन्दै छुट्टियौं हामी ।  चार दिनसम्म महिमा कलेज आइनन् । अस्ति एक–अर्काको फोन नम्बर पनि लिइएन । यत्रो दिनमा कोर्स पनि कति अघि बढिसक्यो भन्ने लाग्यो । बिहीबार भने महिमालाई बाटैमा भेटें । ‘ल, किन हिजो–अस्ति नआएकी ?’ ‘मेरो छोरो बिरामी भएकाले आउन पाइन । अहिले अलि ठीक भएर आएकी ।’ महिमाले भनिन् ।

 

क्याम्पसमा अरू साथी पनि थपिएका थिए । महिमा नियमित कलेज आउन छाडेपछि मैले अर्कै एक जना नजिकको साथी बनाएकी थिएँ तर जब महिमा क्याम्पस आउाथिन् हामी सबै सँगै हुन्थ्यांै । उनी कलेज नियमित नहुनुका थुपै्र कारण देखाउँथिन् । कहिले अफिसियल काम, कहिले घरायसी समस्या, कहिले के, एउटा न एउटा कारण बताउँथिन् सधैं । यद्यपि उनले आफ्ना श्रीमान् कहाँ छन्, के गर्छन् त्यो कुरा भने कहिल्यै बताइनन् । उनको आशय थाहा पाएपछि हामी पनि उनलाई असजिलोमा पार्दैनथ्यौं ।

 

कुरा गर्न सिपालु र निकै राम्री भएकीले उनको बाह्य सौन्दर्यले पनि हामी प्रभावित थियौं । एक छोराकी जिम्मेवार आमा समस्याहरूसँग पनि जुध्नैपर्ला । पूर्णकालीन विद्यार्थी भएर पढ्न पनि त गाह्रै छ भन्ने लाग्थ्यो । कलेजमा सेमेस्टर प्रणाली लागू भएकाले नियमित क्याम्पस आउन पनि निवार्यजस्तै थियो । सम्भवत: त्यसैले होला उनले हप्तामा दुई तीन दिन आएर भए पनि कलेजमा आफ्नो उपस्थिति जनाइरहेकी थिइन् । पढाइलाई निकै महत्व दिएको र यसपट्टि प्रगाढ रुचि भएको कुरा उनको हाउभाउले जनाउँथ्यो तर पनि नियमित पढाइमा सरिक नभएको देख्दा उनको व्यवहार भने मलाई रहस्यमय लागिरहेको थियो ।

 

जाडो महिनाको एक महिने बिदा आउन लागेको थियो । यसबीच लामै समय हुने भएकाले मिलेसम्म साथीहरूको कोठा हेरौं, मिले कतै घुम्न पनि जाऊँ भन्ने सल्लाह भयो । भेटमा एक–अर्काका सुखदु:ख पनि साट्नुपर्छ भनेर हामीले कुरा मिलाएका थियौं । बिदा भएको पन्ध्र दिन बितिसक्दा पनि हामी साथीसाथी जुट्न भने सकेका थिएनौं । उपत्यकाबाहिर घर हुनेहरू उतैतिर लागे । यहीँ भएका साथीहरूसँग पनि भेट गर्न सकिएन । हामीले योजना बनाउनु मात्र भयो । आफ्नै जीवनको व्यस्तताले छपक्कै छोप्यो हामीलाई । क्याम्पस खुल्न एक हप्ता मात्र बाँकी थियो । महिमाले फोन गरिन् ।

‘ओहो ! साथी कहाँ हराएकी ?’ भन्न नपाउँदै महिमाले मलाई आफ्नो नयाँ घर हेर्न आऊ भन्दै निमन्त्रणा गरिन् ।

 

‘कहाँ हो तिम्रो नयाँ घर ?’ मैले सोधें । ‘ललितपुरको नयाँ बस्तीमा अवस्थित सभ्यता हाउजिङ घर नम्बर २६, उनले भनिन् । बरु भोलि बिहानको खाना यतै खाने गरेर आऊ न’ उनले भनिन् ‘बिहानको समयमा धेरै व्यस्त भइन्छ । घरमै खाना खाएर एघार बजे तिम्रो घरमा आउन भ्याउँछु’ मैले भनें ।

‘ल, ल तिम्रो मर्जी .....।’ महिमाले दिएको लोकेसनलाई कागजको चिर्कटोमा सारेकी थिएँ र त्यही हेर्दै म यहाँसम्म आइपुगेकी थिएँ । काठमाडौंको भीडभाड र कोलाहलबाट मुक्त । शान्त, सुरम्य र हरियाली वातावरणबाट जोकोही आनन्दित हुन्छ । म पनि एकछिन त यहाँको सौन्दर्यमा डुबिछु । एक्लै बस्दा एकछिन टोलाइछु ।

 

सधैं झोलामा एउटा न एउटा किताब बोकेर हिँड्ने मैले आज भने कुनै पनि किताब बोकिनछु । गफ गर्नै समय पुग्दैन कहाँ किताब पढ्न भ्याइएला र भनेर झोलाको किताब पनि झिकेर टेबुलमा राखेकी थिएँ । मोबाइल निकालेर हेरँे । नेट नभएको मोबाइल के हेर्नु छ र भन्दै झोलामै हालेँ । मेरो अगाडि टेबलमा एउटा डायरी थियो । मनले नमान्दा नमान्दै पनि हातले त्यो डायरी टिप्यो । अरूको पर्सनल डायरी हेर्न हुँदैन भन्ने थाहा हुादाहुँदै पनि डायरीका पाना अनायासै पल्टिए ।

 

यस्तो थियो लेखाइ, जसरी आजैदेखि पुरानो डायरी सकिएर नयाँ डायरीमा दैनिकी लेख्न थालें । मेरो नयाँ घरको प्रसङ्गले यसमा स्थान पायो । सम्भवत: यो पनि एउटा सुखद संयोग नै होला । आखिर मैले ज्ञानप्रसादलाई फसाएरै छाडें । पचास वर्षको ज्ञानप्रसाद  मसँग यसरी मोहित भयो कि उसले मभन्दा अरू केही देखेन । लोग्ने मानिसहरू कति सजिलै तरुनीको जालमा फस्दा रहेछन् । त्यति मिलेको उसको परिवार श्रीमतीको ठाउँमा श्रीमती, छोराको ठाउँमा छोरा, छोरीको ठाउँमा छोरी, बंगला, कार, सबै थोकले भरिपूर्ण भएको मानिस पनि कति कमजोर रहेछ । एउटा बैंसालु युवती देख्नेबित्तिकै सम्पर्क बढाउन कति लालायित भएको ?

 

मेरो मुटु भने डायरी पढ्दापढ्दै महिमा आउँछे र अनपेक्षित घटना घट्ला भनेर छिटोछिटो धड्किरहेको थियो । म घरिघरि घरको गेटतिर हेर्दै छिटोछिटो पढिरहेकी थिएँ । मलाई डायरीमा लेखिएको कुराले असाध्यै तानिरहेको थियो । त्यसै पनि अरूको चियोचर्चो गर्न मानिसलाई खुब आनन्द लाग्छ । म पनि त्यो कुराबाट कसरी अछुतो रहन सक्थें र ?

 

डायरीमा लेखिएको थियो । यौनमा मैले दिनेजति सन्तुष्टि र आनन्द उसलाई कहिल्यै मिलेको थिएन रे । चरम सुख त उसलाई पहिले कहिल्यै भएको थिएन रे । ममा के त्यस्तो गुण रहेछ जो अरूमा थिएन । यही संसर्गको बेला त मैले उसलाई घर किनिदिने प्रस्ताव राखेकी थिएँ । कति सजिलै उसले मेरो घर किन्ने प्रस्ताव स्वीकार गरेको थियो । उसको पनि मसँग प्रस्ताव त थियो । मैले कहिल्यै उसको परिवार चिन्न नखोज्नु रे । उसले चाहेको बेला उसको तृष्णा मैले खुलेर मेटाइदिनुपर्ने रे । लुकीछिपी म उसकी मनकी रानी रे । उसकी अघोषित दोस्री पत्नी रे ।

 

ठीकै छ । मेरो छोराका लागि म पनि त उसलाई किन सौतेनी बाबु बनाउँछु र ? ऊ अंकलकै दर्जामा ठीक छ । अहिले मलाई सबैभन्दा अभाव खड्किएको यही घर नै त थियो काठमाडौंमा । फेरि मैले कसैलाई मेरो शक्ति र क्षमता पनि देखाउनु थियो । यो घर र बैंक ब्यालेन्स नै तीस–चालीस लाख भएपछि मलाई अब अरू के चाहियो ? अब आरामले छोरालाई पढाउँछु, मेरो अधूरो पढाइ पूरा गर्छु र ज्ञानप्रसादको इच्छा पनि पूरा गरिदिन्छु । उसले चाहेजसरी, उसले खोजेजसरी । पन्ध्र दिनअघि मेरो नाममा घर पास गर्ने दिन त ऊ अलि नभर्स भएजस्तो अनुभव गरें । रखैलका लागि खनखनी सत्तरी लाख तिर्नु चानचुने कुरा हो र ? एक प्रकारले फसेकै हो नि विचरा !

तर अर्वपति मानिसलाई केही लाख के ठूलो कुरा भयो र ? उसले मलाई घुमाउन मात्रै त बैंकक र मलेसिया लान्छ भने यति जोहो गरेर आफ्नै लागि रोमान्सको सुरक्षित गन्तव्य पनि त तयार गरेको हो उसले । न कसैले चियोचर्चो गर्ला भन्ने पीर, न कसैले जासुसी नै गर्ला भन्ने चिन्ता । जब निसले अनेक गरेर प्रशस्त धन कमाउँछन् पतनको बाटो पनि आफै खोज्दा रहेछन् । एउटा चिन्नु न जान्नुको महिलाले यौनतृष्णा मेटाएदिएकै भरमा यत्रो लाख बिछ्याइदिनु उसको पतनको बाटो होइन र ?

 

कतै उसको परिवारले यो कुरा थाहा पायो भने ! यसले मलाई के फरक पार्छ । म त बलियो भएर बसेकी छु । मेरो नाममा घर, मेरो नाममा बैंक ब्यालेन्स । डायरी पढ्दै थिएँ । गेटमा कोही आएजस्तो लाग्यो । हत्तपत्त डायरी बन्द गरेर जस्ताको तस्तै साबिकै अवस्थामा राखिदिएँ । एकछिन अघिसम्म महिमाप्रतिको मेरो सम्मान र आस्था छिनमै सिसाझैं झर्‍यामझुरुम भयो । उसले नैतिकता बन्धकी राखेर जोडेका यी भौतिक सामान कागजका जस्ता सस्ता, नक्कली  र घिनलाग्दा लागे । एकछिन अघिसम्म सम्पन्नताको प्रतीक लागेको यो घर, घर नभएर रछ्यानजस्तो लाग्यो । डायरीका शब्दसँगै आँखै अगाडि मैले पनि त उसलाई ज्ञानप्रसादसँगै देखें । ऊ मैले सोचेकी प्यारी र सुवासिनी महिमा रहिनछ । म त गलत ठाउँमा पो आइछु ।

 

ब्यागबाट मोबाइल झिकें । उताबाट कोही नबोले पनि म एकोहोरो बोलिरहें । ‘ल ल आमालाई तुरुन्त अस्पताल लानू म आइहालें ।’ ‘किन के भयो ? कहाँ जानुपर्‍यो ?’ महिमाले आउँदा–आउँदै सोधी ।

‘हेर न, मेरी आमा भर्खर भर्‍याङबाट लडेर अस्पताल लाँदै छन् रे । म पनि दौडनुपर्‍यो ।’ मैले सरासर ढनँटिदिएँ । ‘ल एकछिन पनि बोल्न पाइएन । मैले आधा घन्टा कुराएँ ।’ महिमा के–के बोल्दै थिई ।

म उसको कुरामा कुनै चासो नदिई फटाफट गेटबाट बाहिरिएँ । महिमा आउनेबित्तिकै म निस्किएको देख्दा मूल गेटमा बसेको सुरक्षा गार्ड भने ट्वाल्ल परेर मैतिर हेरिरहेको थियो ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्