सिमेन्टको सहरमा 'बोन्साइ'को हरियाली

सहर सिमेन्टको जंगल बनिसकेको वर्तमान परिप्रेक्ष्यमा हरियाली एवं स्वच्छ हावाका लागि कृत्रिमताको सहायता लिनेहरू धेरै छन् ।

सिर्जना दुवाल श्रेष्ठ

श्रावण २५, २०७३  

प्रकृतिलाई प्रेम नगर्ने मानिस बिरलै होलान् । हरिया रुख–बिरुवा, स्वच्छ हावा, सफा एवं शान्त वातावरण अनि मनै लोभ्याउने नदी र झरना प्राय: सबैलाई मनपर्छ । यद्यपि अहिले मानिसहरू प्रकृतिदेखि क्रमश: टाढिँदै गएका छन् । सहर सिमेन्टको जंगल बनिसकेको वर्तमान परिप्रेक्ष्यमा  हरियाली एवं स्वच्छ हावाका लागि कृत्रिमताको सहायता लिनेहरू धेरै छन् । त्यसैलाई मध्यनजर गरी बोन्साईप्रति नेपालीहरूको पनि रुचि बढेको देखिन्छ । बोन्साई जापानी कला हो ।  ठूलो रुखलाई सानो गमलामा हुर्काउनु नै बोन्साई हो । यो प्रविधिमा सानो गमलामा रुख रोपी आफ्नो इच्छाअनुसार त्यसलाई आकार दिँदै जानुपर्छ । आकार दिन हाँगालाई तामाको तारले बाँध्नुपर्छ । नयाँ पात चुँडाउने तथा फार्मेसिङ आफ्नो इच्छाअनुसार गर्न सकिन्छ ।

सानो गमलामा सानो सिन्काले ४–५ ठाउँमा प्वाल पारेर ती प्वालमा बोनमिल र पिना हाल्नुपर्छ । सुरुमा मल हाल्दा मधुमास र काँचो इटाको माटो मिसाउनु उपयुक्त हुन्छ । बोन्साईका लागि हरेक साँझ पानी आवश्यक हुन्छ । ६–६ महिनामा जरा काटिदिनुपर्छ । यो काम लगभग ४ वर्षसम्म निरन्तर गरिरहनुपर्छ । यसरी जरा काटिदिँदा रुख बढ्न पाउँदैन र बोन्साईले आफूले चाहेजस्तो आकार लिन्छ । बोन्साईको फिनिसिङ रूप ६–७ वर्षपछि आउँछ जुन निकै राम्रो देखिन्छ ।

बोन्साई जति पुरानो भयो उति नै यसको महत्व र मूल्य बढ्छ । जापानमा ५ सय वर्षसम्म पुरानो बोन्साई उपलब्ध छ । बोन्साई हरेक रुखको बने पनि विशेषत: म्यापल, काप्रो, सल्लो, धूपी, जुनिण्ण्फर, पाइसिया, ब्ल्याक पान, लन्डन प्यानको बोन्साई धेरैले रुचाउँछन् भने नेपालीहरूमाझ क्यानाडाको राष्ट्रिय फूल म्यापलको बोन्साई बढी मन पराइएको पाइन्छ । बोन्साईले सानै ठाउँमा पनि जंगलको अनुभव गराउँछ । हरियालीको अनुभूति दिलाउनुका साथै यो स्वास्थ्यका दृष्टिले पनि त्यत्तिकै लाभप्रद छ । नेपालमा १ हजार ५ सयदेखि ५० हजारसम्मका बोन्साई उपलब्ध छन् ।

स्मार्ट टिप्स:

१. धूपीको बोन्साईमा स्प्रे (औषधि) गर्नुपर्छ ।
२. काँचो इटाको माटोमा मधुमास मिसाइए बोन्साईमा झार पलाउँदैन ।
३. बोन्साईका लागि सेरामिक्सकै गमला छान्नुपर्छ । सेरामिक्सले पानी सोस्दैन । यो लामो समय टिक्छ र आकर्षक पनि देखिन्छ ।
 

(मीनभवनस्थित रोजडेल नर्सरीका देवप्रकाश राईको कुराकानीमा आधारित लेख)

तस्विरहरु: श्रूति श्रेष्ठ

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्