खै त नारी हक ?

नारीको सम्मान हुन्छ त्यहाँ देवता खुसी हुन्छन् भन्थे–मनु । भगवान् जहाँतहीँ नहुन सक्छन् । त्यसैले प्रकृतिले आमा दिएकी छन् भन्छ हाम्रो शास्त्र ।

राधा भट्टराई

श्रावण १६, २०७३ 

विभिन्न प्रतिवेदन अनि समसामयिक घटनाक्रमले मलाई त्यही सिलसिलाको सम्झना गराउँछ जहाँ महिला हक र अधिकारका विषयमा चर्का कुरा त गरिन्छन् तर व्यवहार भने फोस्रो साबित हुन्छ । बेजोड भाषण गर्छौं हामी, मलाई आमा देऊ म तिमीलाई असल राष्ट्र दिन्छु भन्थे नेपोलियन ।

 

जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवता खुसी हुन्छन् भन्थे–मनु । भगवान् जहाँतहीँ नहुन सक्छन् । त्यसैले प्रकृतिले आमा दिएकी छन् भन्छ हाम्रो शास्त्र । यद्यपि कहाँ छ यहाँ आमालाई सम्मान ? एकातिर नारी हकको डम्फु फुकिरहँदा देशको मन्त्रालयको बागडोर हात लिएकाहरूको महिलामाथिको हर्कत चुपचाप हेरेर बस्नुपर्छ हामीले । अझ यो दुनियाँको रीतलाई सामना गर्न अत्याचारको ढाकछोप पनि महिलाले नै गरिदिनुपर्छ यहाँ । बिचरा नारी हक ।

ओस्कार वाइल्ड भन्थे रे–‘नारी भनेका पूजा गरिनुपर्ने अस्तित्व हुन् न कि अनुभूत गरिने । तर कहाँ छ यहाँ त्यो पूजा ? यहाँ त देखाउनु छ धेरै अरूका लागि, चाहे मनमा जेसुकै होस् । त्यसैले त दक्षिण एसियामा एकातिर छोरीको भ्रूणहत्या गरेर तिनै हर्ताकर्ताहरू घरको पूजामा कन्या खोज्न गाउँगाउँ चहार्छन् । कस्तो विडम्बना हो यो ?

साक्षरताको कुरा गर्ने हो भने अझै पनि महिला ४१ प्रतिशत साक्षरता पुरुषको ७१ प्रतिशत दाँजोमा धेरै कम छ । करिब–करिब सबै उमेर समूहमा महिलाको संख्या बढी छ । महिलाको औसत आयु (६८) समेत  पुरुष (६५) को भन्दा बढी छ । तैपनि महिला अझै दबिएर रहनुपरेको वास्तविकता छ । कहिले अस्तित्वका लागि त कहिले अस्मिताका लागि । नेपालमा मातृमृत्युदर अझ १ सय ७० (प्रतिलाख नाबालक जन्म) छ । महिलाले पर्याप्त सेवा–सुविधा तथा अधिकार नपाएसम्म हामी कसरी यो कम गर्न सक्छौं ? खै त ती अकाल मर्ने महिलालाई नारी हक ?

 

पुस्तकका पानामा समानता त कोरिएकै छ तर व्यवहार फरक छ । सहरमा लैंगिक विभेद कम भए पनि गाउँ–ठाउँमा अझै कम भएको छैन छोरीमाथिको भेदभाव र थिचोमिचो । शिक्षा, स्वास्थ्य, लालनपालन आदि सबै कुरामा उनीहरूको पहुँच कम छ । पश्चिम नेपालका कतिपय ठाउँमा छोरी भएकै कारण पूर्ण उपचारबाट पछि हट्ने प्रवृत्ति व्याप्त छ । कानुनमा समानता भए पनि बोक्सीको आरोपमा दुव्र्यवहार, विधवामाथिको सामाजिक दबाब एवं कुदृष्टि, उन्मुक्त शिक्षाको अभाव, महिला असुरक्षा हामीले देखेको कुरा हो ।

 

केही महिला सम्पन्न र समान जीवन बाँचे होलान्, केही कोठे तथ्यांकले उत्थान देखाए होलान् यद्यपि हरेक अँध्यारो कुनामा बत्ती नबालेसम्म उज्यालोको प्रत्याभूति होला र ? हाम्रा गाउँमा महिलाहरू खोप अभाव, कुपोषण, पाठेघर खस्ने आदि समस्याबाट पीडित भैरहने हो भने नारी हकका विषयमा जहाँ–जति फलाके पनि सार्थक हुँदैन ।

 

अर्कातिर अलिकति गल्ती हामी महिलामा पनि छ । कहिलेकाहीँ हामीले नै पुरुषको अत्याचारलाई बढावा दिएका हुन्छौं भने कहिले तीजको दर खाने नाममा अनुत्पादक काममा लाग्छौं र अवैधानिक नजिरलाई चिर्दै अघि बढ्न नसकेका प्रमाण भेटिन्छन् । महिलाकै तीज, स्वस्थानी आदिमा गरेका कतिपय असुहाउँदा रीति पछ्याउँदा अनि कहिले एक महिलाको उन्मुक्तिका लागि अर्को महिला जुर्मुराएर बोल्न उठ्दैनौं त्यतिबेलासम्म नारी हक निरीह हुन्छ ।

 

बेकनले  भनेथे–सुन्दर मुहार आधा योग्यता हो । नारी हक बिचरा भएको हाम्रो दुनियाँमा त्यो पनि अभिशाप हुन पुग्छ किनभने यहाँ सार्वजनिक स्थलदेखि घरको कुनासम्म नारी सम्वेदनशीलताको मूल्य छैन ।

सामाजिक दृष्टिकोण नै उचनिचको भएपछि कसरी लड्ने महिलाले बराबरीको प्रतिस्पर्धा ? सामाजिक मान्यता नै महिला अनुभूति र प्रयोजनको बिम्ब हो भन्ने भएपछि कसरी पाउँछौं हामीले आत्मसम्मानको जीवन ? मार्गरेट थ्याचरले भनेकी थिइन्–केही कुरा भनाउन हो भने रोज केटो मानिस, तर सम्पन्न हुनु छ भने रोज केटी मानिस । हो, नारीमा असिम तागत र सहनशीलता अनि शक्ति हुन्छ । बस्, आत्मविश्वास चाहिन्छ । हामी विकासोन्मुख देशका महिलामा यही आत्मविश्वास भर्नु छ । हामी शिक्षित भएर पनि बोल्न डराएका छौं र हामी उत्तिकै सामथ्र्य भएर पनि कमजोर अनुभूति गर्छौं । अन्यथा राजधानीमै तेजाब फालिँदा, दिदीबहिनी वा आमाहरूलाई हातपात गर्दा किन सन्नाटा छाउँथ्यो ?

घरमा कुनै बालिकालाई काममा लाएर नारी दिवस मनाउनुको कुनै अर्थ छैन । न त किताबका पानामा नारी हक छिरलेर मात्र महिला उत्थान सम्भव छ । यसका लागि इमान्दारिता अनि भावनामा परिवर्तन जरुरी छ । इमान्दार मानिस ईश्वरको सर्वोत्कृष्ट कृति हो र अनि अर्को हतियार हो–आवाज । अचेल आवाज खुल्दैछन् केही । यो अझ बढ्न जरुरी छ । अन्यथा ‘बडाले जे गर्‍यो काम हुन्छ त्यो सर्वसम्मत’ भनेझैं सधै नारीमाथि भैरहेका यौन शोषण, हक हनन्, श्रम शोषण, थिचिमिचोजस्ता अत्याचार युगौंयुग चलिरहनेछन् ।

महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् भने एक पाङ्ग्राले अर्को पाङ्ग्रालाई पनि आत्मसम्मानपूर्वक हिँड्ने, जिउने हक दिनुपर्छ अनि यो अर्को पाङ्ग्रो पनि आफूमाथिको विभेद अत्याचारविरुद्ध खुलेर लड्नु आवश्यक छ ।

(भट्टराई महिला बालबालिकाका लागि विकेन्द्रित कार्यक्रम, डीएसीएडब्लुमा कार्यरत छिन् ।)

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्