मातृत्वको गरिमा

रोजिन शाक्य

असार २६, २०७३ 

मातृत्वको सुखद् अनुभूतिले नारीलाई आफू सम्पूर्ण हुनुको अनुभूति प्रदान गर्छ । आमा बन्नु र त्यसपछि साना शिशुको हेरचाह गर्नु जति नै कठिन किन नहोस्, हरेक महिला यो अनुभूति सँगाल्न चाहन्छन् । कतिपय आधुनिक महिलाहरू भने मातृत्वलाई आफ्नो फिगर तथा करियरका लागि बाधक मान्छन् । यद्यपि वास्तविकता यही हो कि आमा बनेपछि हरेक महिलाको व्यक्तित्वले नयाँ आयाम प्राप्त गर्छ । ‘द ममी ब्रेन’ पुस्तककी लेखिका केथरिन एलिसनका अनुसार शिशु जन्मिएपछि महिलालाई आफू दुनियाँबाट टाढिएजस्तो, बाहिरी संसारमा ध्यान दिन नपाएजस्तो अनुभव हुन्छ तर यसको अर्थ व्यक्तिको दिमाग सुस्त हुन पुग्यो भन्ने पक्कै होइन । वास्तविकता के हो भने महिलाहरूले यतिबेला पहिलेभन्दा सिक्ने, बुझ्ने एवं धेरै कुरा अनुभव गर्ने अवसर प्राप्त गर्छन् । शिशुले हरेक मिनेट साक्षात्कार गराउँछ । मातृत्वले धेरै कुरा सिकाउँछ ।

प्रेम : आमाका रूपमा महिलाले स्वार्थ र सर्तरहित नि:स्वार्थ–पवित्र प्रेम गर्न सिक्छिन् । उनी आफ्ना सन्तानलाई अत्यन्त प्रेम गर्न थाल्छिन्, जसलाई जीवन प्रदान गरियो र जो उसको आफ्नो हिस्सा हो । यो प्रेम उनको जीवनको सबैभन्दा महत्वपूर्ण हुन पुग्छ । अरू सबै भावना यसका अगाडि फिक्का हुन्छन् । शिशुले जब आमालाई अँगालो हाल्छ, छुन्छ, चुम्छ तब आमालाई आफू महत्वपूर्ण हुनुको अनुभव हुन्छ । शिशु जब ठूलो हुन थाल्छ तब आमा उसका मित्रजनसित पनि प्रेम गर्न थाल्छिन् । समय आउँदा उनी यो प्रेम र करुणाको खानी अरुमाथि पनि लुटाउँछिन् ।

धैर्य : शिशुलाई दस महिना गर्भमा राखेर जन्म दिएपछि लालनपालनका बेला आमाभित्र धैर्य, संयम, सहनशीलता र अरूलाई बुझ्ने शक्तिजस्ता गुण विकसित हुन थाल्छन् । शिशु बिरामी भएर जब चिडचिडे हुन्छ वा नखरा देखाउँछ तब आमाले उसलाई धैर्यपूर्वक सम्हाल्छिन् । शिशुलाई बुझ्ने प्रयासमा आमाले आफ्नो सोचको दायरा बढाउँछिन् । शिशुको चकचकेपनमा पनि आमाले आफ्नो संयम कायम राख्छिन् ।

संवेदनशील : स्वीट्जरल्यान्डका वैज्ञानिकहरूद्वारा गरिएको एक अध्ययनमा आमा बनेका महिलाहरूको मस्तिष्क आफ्ना शिशु रोएको आवाज सुन्दा बढी सक्रिय भएको पाइयो । अर्कातिर आमा नबनेका महिलाहरूको मस्तिष्क शिशु हाँस्दा बढी उत्तेजित भएको पाइयो । यो अध्ययनबाट मातृत्वले महिलालाई बढी संवेदनशील बनाउँछ भन्ने कुरा स्पष्ट भयो । यो संवेदनशीलतापछि गएर विभिन्न परिस्थितिका बेला गरिएको उसको व्यवहारमा झल्कन्छ ।

नि:स्वार्थ : एउटी आमाका रूपमा नै महिलालाई स्वयंभन्दा बढी अरू कोही उनका लागि महत्त्वपूर्ण हुँदैन भन्ने कुराको अनुभव हुन्छ । स्वयंभन्दा पहिले उनी आफ्नो शिशुको पढाइ र करियरका बारेमा सोच्छिन् र त्यसका लागि आफ्नो सबै कुरा दाउमा लगाउन तयार हुन्छिन् । एउटी आमालाई आफ्नो सन्तानको ठूलो चिन्ता हुन्छ । उनी आफूलाई समस्यामा हालेर भए पनि शिशुलाई कुनै किसिमको समस्या आउन दिन्नन् ।

आत्मीयता : आमा आफ्नो शिशुको खुसीमा खुसी हुन्छिन् भने दु:खमा दु:खी । जब शिशु बिरामी हुन्छ तब आमा दु:खी हुन्छिन् । शिशु कुनै कुराका लागि तड्पिन्छ भने आमाको मन पहिले तड्पिन्छ । आत्मीयताको यो अनुभूति महिला मातृत्वबाटै सिक्छन् ।

क्षमाशील : शिशुले दु:ख दिए पनि, मन दुखाए पनि आमाको ह्दयले सधैं क्षमा दिन्छ । आमा बनेपछि नै महिलाले अरूलाई क्षमा गर्न र अरूको गल्तीलाई यस्तै हो भनेर छोडिदिन सिक्छन् ।

परिपक्व : न्यू जर्सीकी मनोवैज्ञानिक बारबरा होल्सनीका अनुसार मातृत्वले महिलालाई परिपक्व बनाउँछ । कसैको हेरचाह गर्ने अनुभवले व्यक्तिलाई परिपक्व बनाउँछ । आमा बनेपछि कतिपय अवसर आउँछन् जसमा तुरुन्तै निर्णय लिनुपर्ने हुन्छ वा आफ्नो विवेक प्रयोग गर्नुपर्ने हुन्छ, जुन स्थितिले व्यक्तिलाई समयसँगै परिपक्व बनाउँछ ।

आत्मविश्वास : गर्भावस्थाको तनाव सहने र शिशुको लालनपालनको दायित्व निर्वाह गर्नाले महिलामा एकप्रकारको आत्मविश्वास सिर्जना हुन्छ । उनी एकसाथ धेरै काम सम्हाल्छिन् । यसबाट जीवनमा कुनै पनि कुरा सम्हाल्न सकिन्छ भन्ने आत्मविश्वास सिर्जना हुन्छ ।

चुनौती : शिशुका लागि आमाले सुरक्षाकवचका रूपमा काम गर्छिन् । हरेक प्रकारको चुनौतीलाई उनले हाँसेर सामना गर्छिन् तर शिशुलाई दु:ख पुर्‍याउँदिनन् । कठिनभन्दा कठिन काम पनि सजिलै गर्छिन् । त्यसैले त्यो काम उनलाई आफ्नो शिशुका लागि जरुरी भएको महसुस हुन्छ । यति मात्र नभई मातृत्वले महिलालाई अझ बढी सजग, सचेत र स्ट्रङ बनाउँछ । एउटा अध्ययनअनुसार गर्भवती महिलाको हेर्ने क्षमता बढी तीक्ष्ण हुन्छ । यसैगरी उनको सुँघ्ने क्षमता पनि बढ्छ । आमा बनेसँगै महिलामा निडरता, मल्टी टास्किङ क्षमता एवं तनावविरुद्ध लड्ने कला पनि विकसित हुन्छ । यो अवस्थामा निस्कने हार्मोन अक्सिटोसिनले महिलाविरुद्ध सिक्ने र स्मरण गर्ने क्षमतालाई बढाउँछ ।

नर्सिङ : आफ्नो शिशुका लागि आमाले फुलटाइम नर्सको काम गर्छिन् । बिरामी भएको अवस्थामा रातभर जागा रहेर शिशुको सेवा गर्छिन् । हरेक क्षण शिशुको निरीक्षण गर्छिन् । अनेकौं घरेलु उपाय अपनाउँछिन् । औषधि खरिद गर्दा लेवल, एक्सपायरी डेट आदिमा विचार पुर्‍याउँछिन्, कारण आफ्नो सन्तानलाई कुनै गलत कुराको प्रभाव नपरोस् भन्ने कुरामा उनी सतर्क रहन्छिन् ।

जिउने कला : आमा बनेपछि हरेक महिलालाई जीवनको वास्तविक अर्थ थाहा हुन्छ । उनले जिउने सही अन्दाज, जीवनको उद्देश्य बुझ्छिन् । आफ्नो प्राथमिकता निर्धारण गर्न सक्छिन् । उनमा भविष्यप्रति फोकस गर्ने क्षमता आउँछ । उनले आफ्नो जीवनलाई अझ बढी गम्भीर रूपले लिन थाल्छिन् ।

टाइम म्यानेजमेन्ट : शिशुलाई सम्हाल्दा महिलामा फुर्ती सञ्चार हुन्छ । उनमा थुपै्र काम एकसाथ सम्पन्न गर्ने बानीको विकास हुन्छ । यसले गर्दा जिम्मेवारी बढ्छ र विस्तारै टाइम म्यानेजमेन्ट गर्न सकिन्छ । जुन उनलाई प्रोफेसनल लाइफमा काम लाग्छ ।

हाँसो : मातृत्वले महिलालाई हाँस्न सिकाउँछ । एउटा सानो शिशुको गतिविधिले अनायासै उनको ओठमा मुस्कान छरिन्छ । शिशुलाई हेरेर उनी आनन्दित, प्रफुल्लित हुन्छिन् । शिशु बिनाकारण मुस्कुराउँछ, हाँस्छ, उसलाई साथ दिन र अझ हँसाउन आमा पनि मुस्कुराउनुपर्छ । शिशु जहाँ गए पनि मुस्कुराएर अरूको मन जित्छ । उसको आमा भएका नाताले उनी सबै आमासित पनि हाँसेर कुरा गर्छिन् । शिशुका बारेमा कुरा गर्दा उनको मुहारमा चमक आउँछ अनि शिश’ आमाको सोसल नेटवर्किङलाई बलियो बनाउने राम्रो माध्यम पनि हुन्छ । मजबुत सोसल नेटवर्कसित जोडिएका कारण आमाको मस्तिष्क बढी स्वस्थ एवं क्रियाशील रहन्छ ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्