कर्णालीलाई नियाल्दा

रेनुका पौडेल

असार २४, २०७३

कर्णाली यात्राका क्रममा कालिकोटको सदरमुकाम मान्मा बजारमा भेटिएकी विवाहित र हेर्दा उमेर पुगेकै देखिने एक महिलालाई दिदी भनी सम्बोधन गरेर कुरा गर्दै जाँदा उमेरका हिसाबले उनी मेरी बहिनी निस्किन् । सडकमार्ग हुँदै कर्णाली अंचलको प्रवेशद्वार कालिकोट प्रवेशकै क्रममा ती बहिनीसँगको त्यो घटनाले कर्णालीको यात्रा थप कौतूहलपूर्ण र खोजीको विषय बन्न पुग्यो ।  

नेपालीहरूको सरदर औसत आयुमध्ये सबैभन्दा कम औसत आयु रहेको कर्णाली क्षेत्रमा जन्मिएर भोकमरी तथा अभावसँग पौंठेजोरी खेल्दै आफूलाई हुर्काउनु कसरी सजिलो होला र ? त्यसमाथि महिलाले त प्राकृतिक रूपमै थप समस्याहरू सामना गर्नुपर्ने हुन्छ । अझ अन्यत्रका भन्दा कर्णाली क्षेत्रका महिलाले थप भयावह जीवन बाँच्नुपरेको छ । मुस्किलले ६ कक्षासम्मको शिक्षा प्राप्त गर्ने अवसर पाएकी ती बहिनी १४ वर्षको उमेर नपुग्दै विवाह गरेर १८ वर्ष पुग्दानपुग्दै दुई सन्तानकी आमा भैसकेकी हुन् । विद्यालय तहको शिक्षा पूरा नगर्दै किशोरावस्थामा विवाह गरेर कलिलो उमेरमै सन्तान जन्माउन बाध्य उनले न राज्यले अवलम्बन गरेको शिक्षा नीति, वैवाहिक उमेरको नीति एवं प्रजनन् अधिकारको नीति नै अवलम्बन गर्न सकिन् न त कुनै पनि समयमा मानव अधिकार उपभोगको अनुभूति नै भयो उनलाई । अधिकांश छोरीको विवाह सानै उमेरमा हुने चलनले गर्दा उनीहरूको स्वास्थ्य, शिक्षा र उमेर सबै प्रभावित भएको छ ।

कर्णाली राजमार्ग । कालिकोट जुम्ला सडकखण्डअन्तर्गत पर्ने सेराबाडा बजार । बिहानको खाजा खान रोकिँदा सडकमै आपसमा कुरा गर्दै गट्टा खेलिरहेका थिए–दुई दिदीबहिनी । सामान्यतया स्कुल जाने बिहानको समय टरिसकेको थियो । उनीहरूसँग कुरा गर्दै जाँदा धेरै जिज्ञासा मतर्फ नै तेर्सिए ।

‘कहाँबाट आउनुभएको, पढ्न पाउनुभयो कि भएन, स्कुल कति टाढा थियो ?’ यस्तै प्रश्न सुनिसकेपछि उनीहरूले आफ्ना कल्पनाका कुरा बताउन थाले । धेरै पढ्ने, ठूलो मान्छे बन्ने, धेरै पैसा कमाउने, अनि सुखी जीवन बाँच्ने । उनीहरूमा सम्पन्न जीवनको कल्पना त थियो तर विडम्बना परिस्थिति फरक थियो । उनीहरूले कल्पना गरेको सम्पन्न जीवनको आधार शिक्षा थियो । यद्यपि उनीहरू त्यही शिक्षाबाट वञ्चित थिए । कारण टाढाको विद्यालय र पाठ्यपुस्तक अभाव अनि प्रतिकूल पारिवारिक अवस्था ।

यात्राकै क्रममा बेहुली लिएर फर्किएको जन्तीको एउटा टोलीसँग जम्काभेट हुन पुग्यो । बेहुली बालिका नै थिइन् । बेहुलीको दाइजोमा दिइएका भैंसी र बाख्राहरू जन्तीमध्येकै एकले डोर्‍याउँदै थिए । अब ती बालिका बेहुलीले श्रीमान्को घर पुगेपछि पढाइ–लेखाइ होइन घाँस, दाउरा, मेलापात र पशुपालन गर्नुपर्ने निश्चित थियो ।

समग्र कर्णाली क्षेत्रको शिक्षाको स्थिति सन्तोषजनक नभएका बेला त्यही शिक्षा प्रणालीभित्र पनि छोराछोरीमा विभेद छ । त्यसै त समयमा पाठ्यपुस्तक नपुग्ने उक्त क्षेत्रमा मुस्किलले स्कुल जान पाएका छोरीका लागि राम्रो विद्यालय, समयमै विद्यालय भर्ना, शैक्षिक सामग्री र पढाइको नतिजाका विषयमा  अभिभावकको चासो कम भएको पाइयो । बिहान–बेलुका घरको सबै काम सकेर बचेको समय विद्यालय जानु छोरीहरूको दैनिकी नै रहेछ ।

मुगुको यात्राका क्रममा सभ्यताको उद्गम थलो मानिएको सिंजा प्रदेशको सुन्दरतामा रमाइरहेका बेला यात्रामा सँगै रहेका दाइहरूले ‘तपाईंका पुर्खा यो क्षेत्रबाट बसाइँ नसरेका र तपाईं यतै कतै जन्मिएकी भए बुलाकी लगाएर माथि जंगलबाट दाउरा ओसारिरहेकी हुनुहुन्थ्यो होला’ भनेर जिस्काउँदा परम्परागत गहना र पहिरन लगाएका दिदीबहिनीमाथि जंगलबाट डोकोमा दाउरा बोकेर झर्दै हुनुहुँदो रहेछ ।  म झल्याँस्स बिउँझिएँ, हो म यतै जन्मिएकी भए मेरो दैनिकी पनि यस्तै हुन्थ्यो होला । म कर्णालीमा जन्मनुपरेन अथवा पाइन । समय र स्थानले मानिसको सामाजिकीकरणमा महत्वपूर्ण अर्थ राख्छ तर मेरो उमेरका धेरै दिदीबहिनीहरूको दैनिकी आज पनि त्यही छ जो चाहेर पनि त्यो स्थितिबाट उम्कन सक्ने अवस्थामा छैनन् ।

मुगुको ताल्चा विमानस्थल पुग्दा लामो समयदेखि ननुहाएका, नधोएका लुगा लगाएका महिलाहरू टाढाबाट आई दुई घन्टादेखि जहाज हेर्ने प्रतीक्षा गरिरहेका थिए । हरेकको हातमा धूम्रपानजन्य वस्तु थियो र उनीहरू धूम्रपान गरिरहेका थिए । प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा व्यक्त गरेका रेल, पानीजहाजलगायतका सपना र यी नागरिकहरूको बीचमा कुनै तादात्म्यता भेटिन मैले । जति नै कुरा गर्न खोज्दा पनि उनीहरूको आवाज सुन्न पाइएन । ‘जति नै कुरा गरे पनि आफ्नो दु:ख कतै जाँदैन र हाम्रो दु:ख बेचेर आफ्नो प्रगति गर्छन्’  भन्ने बुझाइका कारण पनि होला उनीहरू कुराकानी गर्नबाट तर्किए ।  

कर्णालीको पर्यटकीय नगरी रारामा मुगुकै उत्तरी क्षेत्र चीन सीमाका कक्षा १२ मा अध्ययनरत चार युवती पहिलोपटक रारा घुम्न आएका रहेछन् । उनीहरू मातृभाषा र चिनियाँ भाषा बोल्न सक्ने तर नेपाली भाषा सजिलै बुझ्न नसक्ने थिए, काठमाडौंभन्दा चीनसँगको सामीप्यता बढी थियो । उनीहरूसँगको भेटपछि लाग्यो नेपालका केही क्षेत्र अझै पनि मूलधारसँग जोडिन सकेका छैनन् । यस्तो स्थितिमा उनीहरूले राज्यले प्रदान गर्ने सेवा, सुविधा र अवसर कसरी उपभोग गर्न सक्लान् ? राज्यको भूमिका यहीँनेर महत्वपूर्ण हुन्छ र आवश्यक पर्छ आफ्ना सबै नागरिकलाई जोड्नका लागि तर राज्य यसमा चुकेको छ  ।

शारीरिक भिन्नताका कारण महिलाहरूले थप असहज स्थितिको सामना गर्नुपरेको छ । रजस्वला हुँदा घरबाहिर गोठमा बस्नुपर्ने संस्कारमा अझै पनि कमी आएको छैन । छाउपडी गोठमा बस्दा कतिपयले अनाहकमा ज्यान गुमाउनुपरेको छ ।

यी विविध घटनाले कर्णाली क्षेत्रका महिलाहरूको अवस्थालाई प्रतिबिम्बित गर्छ । केही सम्पन्न परिवारका महिलाको अवस्था फरक होला तर त्यहाँका अधिकांश महिलाको स्थिति निकै कमजोर देखिन्छ ।

हेर्दा–देख्दा सामान्य लाग्न सक्छ, तर त्यहाँ बसेर भोग्दा अत्यास लाग्ने पीडा छ । एक–दुई दिन घुम्नका लागि रमाइलो लाग्ने हो त्यहीँ बसेर दैनिकी चलाउनु कम कष्टकर छैन । एकदिन घुम्न जानेहरूका लागि रहर बनेका कुराहरू त्यहाँ बस्नेहरूका निम्ति बाध्यता बनेका हुन्छन् जुन काम नगरी दैनिकी नै अघि बढ्दैन । पहाडी जनजीविकामा पुरुषको तुलनामा महिलालाई अलि बढी नै कष्ट हुन्छ । टाढाको खानेपानी, घाँस, दाउरा, चुल्हो–चौको एवं मेलापात आदि अधिकांश जिम्मेवारी महिलाकै काँधमा हुन्छ । यस्तो जिम्मेवारी कर्णालीका महिलामा अलि बढी नै देखिन्थ्यो ।

२०६२–६३ को आन्दोलनपछि संविधान सभाबाट जारी गरिएको संविधानमा महिलाका थुप्रै अधिकार समेटिएको छ । अहिले ती अधिकार कार्यान्वयन गर्नुपर्ने बेलामा कर्णालीका दिदीबहिनीहरूका बीचमा संविधानका प्रावधानहरूलाई कार्यान्वयन गर्न त्यति सहज देखिँदैन । महिलाहरू घरबाट बाहिर निस्कन सक्ने वातावरण बनिनसकेको अवस्थामा सार्वजनिक जीवनमा नेतृत्वमा पुग्नु धेरै परको कुरा हो । महिलाका सम्बन्धमा व्यवस्था गरिएका प्रावधानहरूको कार्यान्वयन गर्ने कुरा राज्यका लागि ठूलो चुनौती नै हो ।

कर्णालीको अभाव र पछौटेपनलाई देखाएर राज्य तथा विभिन्न संघसंस्थाले अन्तर्राष्ट्रिय निकायबाट अनुदान लिइरहेको भए पनि कर्णालीमा बस्ने नागरिकको जनजीवनमा तात्विक आएको छैन । उनीहरूलाई पनि अरूलाई जस्तै शिक्षित, सम्पन्न र समृद्ध बन्न पाउने अधिकार छ, उनीहरूको आँखाले पनि सबैको जस्तै अभाव र भयबाट मुक्त जीवनको खोजी गरेको छ । उनीहरूले पनि आफ्नो जीवनको मीठो सपना साँचेका छन् । विकासको बहस, नीति निर्माण एवं योजना बनाउँदा ती नागरिकलाई केन्द्रबिन्दुमा राखौं । हाम्रो त्यो वास्तविक धरातललाई आत्मसात् गरांै ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्