गर्भावस्था, गर्भवती र नवजात शिशुको स्वास्थ्य

नियमित परीक्षणसँगै फोलिक एसिड नामक औषधीको सेवन गर्ने, आइरन, क्याल्सियमलगायतका औषधी नियमित रुपमा सेवन गर्नुपर्छ । सुत्केरी भएको ६ हप्तासम्म नियमित सेवन गर्ने, गर्भवती भएको तीन महिना पूरा भएपछि एकपटक जुकाको औषधी पनि प्रयोग गर्ने, धनुष्टंकारविरुद्ध टिटानस टक्सोइडको इन्जेक्सन लगाउनुपर्छ ।

डा. रक्षा कोइराला

जेष्ठ २६, २०७३ 

 

गर्भावस्था विशेष अवस्था हो । यो समयमा महिलालाई अरु बेला भन्दा बढी स्याहारको आवश्यकता पर्छ । सानो हेलचेक्रयाई गरेमा आमा तथा शिशुको ज्यान जोखिममा पर्न सक्छ । गर्भवती अवस्थामा सुरक्षित बानी व्यवहार अपनाउनु, स्वस्थ सन्तुलित खाना खानु तथा पारिवारिक सहयोगको ठूलो भूमिका रहने गर्छ ।

गर्भावस्थाको पहिचान तथा ध्यान दिनुपर्ने कुरा

गर्भ रहेको लक्षण

नियमित रुपमा शारीरिक सम्पर्क हुने महिलाको नियमित महिनावारी रोकिनु, बिहान वाकवाक लाग्नु वा बान्ता आउनु, छिटो–छिटो पिसाब लाग्नु, स्तनको आकार बढ्दै जाने, स्तन दुख्ने, बढी मात्रामा अमिलो, पीरो खान मन लाग्ने । पिसाब तथा रगतमा गर्भावस्था जाँच गरेर गर्भ रहेको प्रमाणित गर्न सकिन्छ । पछिल्ला दिनमा भने अल्ट्रासाउण्डबाट पनि शिशुको अवस्था थाहा पाउन सकिन्छ ।

गर्भावस्थामा नियमित परीक्षण

गर्भवती महिलाले स्वास्थ्यको अवस्था तथा पाठेघरमा हुर्कदै गरेको शिशुको अवस्था जानकारी प्राप्त गर्नका लागि गर्भ रहेदेखि शिशु नजन्माएसम्म महिलाले कम्तिमा पनि ४ पटक नजिकको स्वास्थ्यसंस्थामा गएर स्वास्थ्य जाँच गराउनै पर्छ ।

पहिलो जाँच : गर्भवती भएको शंका लाग्नासाथ यो जाँच गराउनुपर्छ ।

दोस्रो जाँच : गर्भवती भएको ५ देखि ७ महिनामा ।

तेस्रो जाँच : गर्भवती भएको ८ महिनामा ।

अन्तिम जाँच : गर्भवती भएको ९ महिनाभित्र ।

त्यसैगरी चिकित्सकको सल्लाहमा आवश्यकता अनुसार अल्ट्रासाउण्ड परीक्षण गरेमा पाठेघरमा बढ्दै गएको शिशुको अवस्था, वृद्धि विकास, पाठेघरमा रहने पानीको अवस्थाबारे थाहा पाउन सकिन्छ ।

आवश्यकताअनुसार रगतको समूह, हेमोग्लोबिन, रगतमा चिनीको मात्रा, पिसाबको परीक्षण उच्च रक्ताचापको पनि जाँच गर्नुपर्छ ।

गर्भावस्थामा गर्नुपर्ने तयारी

नियमित परीक्षणसँगै फोलिक एसिड नामक औषधीको सेवन गर्ने, आइरन, क्याल्सियमलगायतका औषधी नियमित रुपमा सेवन गर्नुपर्छ । सुत्केरी भएको ६ हप्तासम्म नियमित सेवन गर्ने, गर्भवती भएको तीन महिना पूरा भएपछि एकपटक जुकाको औषधी पनि प्रयोग गर्ने, धनुष्टंकारविरुद्ध टिटानस टक्सोइडको इन्जेक्सन लगाउनुपर्छ । कम्तिमा पनि ४ पटक सा सोभन्दा बढी पटक स्वास्थ्य संस्थामा जचाउनुपर्छ । मुख, हातखुट्टा, नङ, गुप्तांगलगायत सम्पूर्ण शरीर सरसफाइ गर्ने, नियमित रुपमा पोषिला खानेकुरा खानुपर्छ । चुरोट, जाँडरक्सी तथा जथाभावी औषधीको सेवन नगर्ने । यो समयमा महिलाले बढी आराम गर्नुपर्छ । गह्रौ सामान बोक्नुहुदैन । सकारात्मक सोच, स्वास्थ्य संस्थाको एवं आफूलाई आइपर्ने पैसाको जोहो गर्नु आवश्यक हुन्छ ।

गर्भावस्थामा चाहिने पोषिला खानेकुरा

क्यालोरी–भात, रोटी, घिऊ, तेल सख्खर, चिनी

प्रोटिन –दाल, गेडागुडी, माछा, मासु, अन्डा, दुध

फोलेट–दाल, गेडागुडी, कलेजो, सुन्तला, पालुंगो, हरिया सागपात

आइरन– रातो मासु, गाढा हरिया सागपात, गेडागुडी ।

खानेकुराबाट मात्र आइरनको आवश्यकता पूर्ति नहुने भएकाले आइरन चक्की तथा फोलेट पनि सेवन गर्नुपर्छ )

गर्भावस्थामा हुनसक्ने सामान्य समस्याको समाधान :

यो समयमा बिहानीपख वाकवाकी लाग्छ ।  वाकवाकी घटाउनका लागि ओछ्यानबाट बिस्तारै उठेर भुटेको खानेकुरा, चुइंगम तथा चकलेट खाने । पटक–पटक थोरै खाना खाने ।कब्जियत घटाउनका लागि दिनहुँ हल्का काम गर्ने । रेशादार खानेकुरा खाने । दिनमा कम्तिमा १० गिलास पानी तथा अन्य तरल पदार्थ पिउने । दिसा लाग्नेबित्तिकै दिसा गर्ने वा दिसा लगाउने औषधी लिनुपरेमा चिकित्सकको सल्लाहमा मात्र प्रयोग गर्ने । चिल्लो तथा मसलेदार खानेकुरा नखाने । खाना खाएको एक घन्टासम्म नसुत्ने । खाना खाएको केहि समयसम्म कडा परिश्रम तथा व्यायाम गनुहुदैन ।

गर्भावस्थामा हुनसक्ने खतरा

साधारण शारीरिक तथा मानसिक परिवर्तन गर्भावस्थामा स्वभाविक हो । साधारण गर्भमा महिलाको तौल ११ किलोग्रामले बढ्छ । खतराका लक्षण देखा पर्नासाथ स्वास्थ्यसंस्थामा गई परीक्षण गराउनुपर्छ ।

यो अवस्थामा हुने खतराका केही लक्षण

आँखा तिर्मिराएर धमिलो देख्ने, हात र मुख सुन्निएमा, टाउको दुखेमा, तल्लो पेट दुखेमा, हातखुट्टा अररो भई कम्प छुटेमा, मुर्छा परेमा, योनीबाट अलिकति पनि रगत बगेमा आदि ।  

बच्चा जन्माउने बेलामा देखापर्नसक्ने खतराका लक्षणहरू

८ घण्टाभन्दा लामो सुत्केरी व्यथा लाग्ने, बच्चा जन्माउनुअघि अथवा जन्मिसकेपछि पनि धेरै रगत बग्ने, पहिले हातखुट्टा वा नाल निस्कने, हातखुट्टा अररो भई काँप छुट्ने वा मुच्र्छा पर्ने आदि ।  

सुत्केरी अवस्थामा देखिन सक्ने खतराका लक्षणहरू :

ज्वरो आउने, तल्लो पेट (पाठेघर) दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, धेरै रगत बग्ने, टाउको दुख्ने, हातखुट्टा अररो भई मुर्छा पर्ने आदि । यस्ता खतराका चिन्ह देखिनासाथ स्वास्थ्य संस्थामा गई परीक्षण गराउनुपर्छ ।

गर्भवती महिलामा हेपाटाइटिस, पोलियो, हर्पिस, इन्फ्लुएन्जा, हाँडेज्वरो, टोक्सोप्लाज्मोसिस लगायतका विभिन्न खाले संक्रमण तथा रगतजन्य विकार छ भने गर्भे शिशुको मृत्युको कारण हो । साथै गर्भवती महिलामा उच्च रक्तचाप, अनियन्त्रित मधुमेह, गम्भीर खालको रक्तअल्पता, उच्च ज्वरो, तराई क्षेत्रमा औलो, रगत समूह नमिल्दा, इन्सेफ्लाइटिसका कारण पनि गर्भे शिशुको स्वास्थ्यमा असर पर्नुका साथै मृत्यु नै हुन्छ । पाठेघरमा साल ठाउँमा नबसेर वा समय अगावै साल छुट्टिएर सुत्केरी पूर्व योनीद्वारबाट रगत बगेमा पनि गर्भमै शिशुको मृत्यु हुन सक्छ ।

गर्भे शिशुमा वंशाणुअंश (क्रोमोजोम) मा खराबी, रुबेला, साइटोमेगालो भाइरस तथा पार्वो भाइरस नामका भाइरलजन्य संक्रमणबाट अकालमा गर्भे शिशुको मृत्यु हुनसक्छ । यस बाहेक स्वास्थ्यकर्मीले पेट बाहिरबाटै पाठेघरमा गर्भे शिशुको बसाई परिवर्तन गर्न खोज्दा, बच्चा पाउनु पर्ने समय सीमा नाघ्दा र कतिपय औषधी सेवनले पनि शिशुको मृत्यु गर्भमै हुन सक्छ ।

–    गर्भे शिशुको मृत्युको मुख्य लक्षण बच्चा कम चल्नु हो । यो कुरा अल्ट्रासाउण्डबाट मात्र निक्र्योल गर्न सकिन्छ । मृत शिशु पाएपछि गर्भवती महिलालाई दोषारोपण गरेर गाली गर्नुभन्दा मानसिक मन हल्का हुने सल्लाह दिनुपर्छ । यस्तो भएपछि कम्तिमा पनि तीन महिनासम्म अर्को शिशुका लागि सोच्नुहुदैन । चिकित्सकको सल्लाह लिनुपर्छ ।

जन्म अवधि

साधारणतया अन्तिम महिनावारीको पहिलो दिनबाट ९ महिना ७ दिन जोडेर बच्चा जन्माउने दिन अड्कल गर्न सकिन्छ ।

–    ‘नेइगेली सूत्र’ अनुसार ४ प्रंतिशत जन्म त्यही दिनमा, ५० प्रतिशत जन्म भए हप्ता अगाडि वा पछाडि ८० प्रतिशत दुई हप्ता अगाडि वा पछाडि, १० प्रतिशत जन्म ४२ औं हप्तामा र ४ प्रतिशत जन्म ४३ औं हप्ता हुन सक्छ ।

नवजात स्वास्थ्य

बच्चाजन्मदाको न्यूनतम तौल २ दशमलव ५ केजी हो । जन्मनेबित्तिकै नवजात शिशुको तुरुन्तै स्याहारसुसार गर्नुपर्छ । शिशुलाई न्यानो तथा सफा राख्नुपर्छ । शिशुको जीवनको पहिलो केही घन्टामै भिटामिन के (ओरल वा आइ. एम) र पोलियो दिनुपर्छ । आमाको छालाको स्पर्शमा न्यानो बनाएर राख्ने र आमाको स्तनपान गराउनुपर्छ । आमाले पोषिलो आहार खाने, शिशुलाई ६ महिनासम्म स्तनपान गराउनुपर्छ ।

–    शिशुको नालको हेरविचार गर्नुपर्छ र हाम्रो समाजमा नालमा प्रयोग हुने परम्परागत हानिकारक पदार्थ निरुत्साहित गर्नुपर्छ ।

–    नवजात शिशुको जन्म अस्पतालमै भएको हो भने कम्तिमा २४ घन्टा आमाको प्रसव हेरविचार गर्नुपर्छ । शिशुको जन्म घरमै भएको अवस्थामा प्रसव प्रारम्भिक हेरविचार जन्म सकेसम्म २४ घन्टाभित्र हुनुपर्छ ।

–    जन्मपछि नवजात शिशुलाई परीक्षणका लागि अस्पताल ७ देखि १४ र ६ हप्ताबीच, ३ दिन लैजानुपर्छ । खोप तालिका अनुसार शिशुलाई खोप दिनु जरुरी छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्