बालबालिकाको विकासमा खेलौनाको भूमिका

नारी संवाददाता

जेष्ठ १९, २०७३ स–साना बालबालिका जसलाई पनि मन पछनर्् । हामी सबैलाई थाहा भएकै कुरा हो बालबालिकाहरू धेरै कुराबाट अनभिज्ञ हुन्छन् अर्थात् उनीहरूले धेरै कुरा बुझ्दैनन् । खेल तथा खेलानौको माध्यमबाट भने उनीहरूले धेरै कुरा सिकिरहेका हुन्छन् । खेलखेलमै बालबालिकाहरूको शारीरिक, बौद्धिक तथा सामाजिक विकास भैरहेको हुन्छ । खेलबाट नै उनीहरूले भाषाको ज्ञान हासिल गरेर आफ्नो स्वतन्त्र पहिचान बनाउँछन् । राम्रा खेलौनासँग खेल्दा विस्तारै बालबालिकाको बुझ्न सक्ने क्षमता वृद्धि हुन्छ । विस्तारै उनीहरूको अर्काप्रतिको निर्भरतामा कमी आउँछ । यो एउटा प्राकृतिक नियम हो । आमाबुवाले राम्रा खेलौना दिएर मात्र पनि उनीहरूको प्राकृतिक प्रगतिलाई गति प्रदान गर्न सक्छन् ।

बालबालिकाको प्रारम्भिक वर्ष अर्थात् बाल्यकालको महत्वलाई वेवास्ता गर्नु हुँदैन । बालबालिकाको जीवनको पहिलो पाँच वर्ष संरचनात्मक हुन्छ । यस क्रममा बालबालिकाको वृद्धि कुनै स्पन्जजस्तै हुन्छ । उनीहरू धेरै जानकारी हासिल गर्न तथा आत्मसात् गर्ने क्षमता राख्छन् । बालबालिकाको मस्तिष्कको ८५ प्रतिशत विकास प्रारम्भिक वर्षमा नै हुन्छ ।

बालबालिकाहरू आफू वरिपरिका मानिस, खेलौना, घर तथा प्रकृतिका सबै वस्तु ध्यानपूर्वक हेछर्न् र त्यससँग खेल्छन् । बालबालिकाको शारीरिक तथा बौद्धिक विकासका बारेमा थोरै मात्र जानकारी तथा बुझाइबाट आमाबुवाले आफ्ना छोराछोरीलाई सही उमेरमा सही खेलौना तथा उचित वातावरण दिएर उनीहरूको विकासलाई सही दिशा प्रदान गर्न सक्छन् ।

बालबालिका तथा खेलौनाको सम्बन्ध नङ र मासुजस्तै हुन्छ । केही वर्षअघिसम्म बालबालिकाहरू घरमा कपडा, माटो तथा कपासजस्ता वस्तुबाट बनेका खेलौनासँग खेल्थे भने आजका बालबालिकाहरू इलेक्ट्रोनिक खेलौनासँग रमाउँछन् । हिजोआज बजारमा महँगा खेलौनाहरू उपलब्ध छन् तर ती खेलौनाको महत्व तथा उपयोगिता त्यसको मूल्यमा निर्भर हुँदैन । खेलौनासँग खेल्दा बालबालिकाको बुद्धिको विकास हुन्छ, शरीर तन्दुरुस्त हुन्छ जसले गर्दा उनीहरूको योग्यता बढ्छ । राम्रो खेलौनाले बालबालिकाको कार्य–क्षमता, कार्य–कुशलता तथा रचनात्मकता बढाउँछ । त्यस्ता खेलौना जसले बालबालिकाको कल्पनाशक्तिले केही नयाँ रचना गर्न प्रोत्साहित गर्छन्, तिनीहरूका लागि उपयुक्त हुन्छ ।

 खेलौना छनौट गर्दा बालबालिकाको उमेरमा ध्यान दिनुपर्छ । कुन उमेरका बालबालिकालाई कस्ता खेलौना आवश्यक हुन्छन् ?

बालबालिकाको पहिलो वर्ष (एक वर्षको हुँदा)

पहिलो वर्ष बालबालिकाको शारीरिक तथा बौद्धिक विकास तीव्र गतिले हुन्छ । त्यसैले खेलौनाको आवश्यकता पनि छिटो–छिटो परिवर्तन हुन्छ । पहिलो वर्ष बालबालिकाको विकासका धेरै खुड्किला पार हुन्छन् । ती खुड्किलाअनुरूप नै खेलौना पनि फरक–फरक हुनु आवश्यक छ ।

जन्मदेखि तीन महिना : जन्मदेखि तीन महिनासम्मका बालबालिकाहरूका ज्ञानेन्द्रिय हेर्न तथा सुन्नसम्म मात्र सीमित हुन्छन् । यो समयमा उनीहरू धेरै समय सुतेरै बिताउँछन् । आँखा खोल्दा आफू वरिपरिका मानिसलाई हेर्छन् । उनीहरूको आँखाले टाढासम्म आफ्नो वरिपरिका सामानलाई हेरिरहन्छन् । यस्तो अवस्थामा उनीहरूलाई रंगी–बिरंगी, विभिन्न किसिमको आवाज आउने खेलौना मनपर्छ । खेलौनाको आवाज सुनेर उनीहरू उठ्छन्, टाउको घुमाएर आवाजसम्म पुग्ने प्रयास गर्छन् । जसले उनीहरूको शारीरिक अभ्यास पनि हुन्छ ।

तीनदेखि छ महिना : तीनदेखि छ महिनासम्मका बालबालिकाको दाँत निस्कने समय भएकाले उनीहरूको गिजा चिलाउने समस्या उत्पन्न हुन्छ । जसका कारण उनीहरू हातले समातेका हरेक सरसामान चपाउन खोज्छन् । यो समयमा रबर अथवा प्लास्टिकका खेलौना, जसलाई टिथर पनि भनिन्छ, बालबालिकाले इच्छानुसार चपाउन सक्छन् । त्यस्ता खेलौना वन पिस हुनु अनिवार्य छ । खेलौनाका स–साना टुक्रा भए उनीहरूले मुखमा हालेर अड्काउने डर हुन्छ ।

छदेखि नौ महिना : छदेखि नौ महिनासम्मका बाल–बालिका आफै बस्ने, बामे सर्ने हुन्छन् । उनीहरूलाई यो समयमा बेबी डल, हिँड्ने, कुद्ने खेलौना, रंगी–बिरंगी बल तथा प्लास्टिकका चक्का भएका व्हिलकल्स दिनुपर्छ जसले बालबालिकाले पछ्याएर पछि–पछि जान आकर्षित गर्छ ।

नौ महिनादेखि बार्‍ह महिना : नौ महिनादेखि बार्‍ह महिनासम्मका बालबालिकाहरू सजिलै बामे सर्न तथा कुनै पनि सामान अथवा ठाउँको सहारा लिएर उभिन खोज्छन् । यो समयमा उनीहरूलाई चार अथवा छ चक्का भएको वाकरको आवश्यकता हुन्छ । यसबाहेक यो समयमा उनीहरूको दिमागको पनि विकास हुने भएकाले विभिन्न रंग तथा आकारका खेलौना एवं ठूलो आकारका विल्डिङ ब्लक आदि दिन सकिन्छ ।

दोस्रो वर्ष

एक वर्ष नपुग्दै बालबालिकाहरू हिँड्न थाल्छन् । यो समयमा उनीहरू आफ्नो दिमागको पनि प्रयोग गर्न थाल्छन् । उनीहरू हरेक वस्तुलाई समात्ने प्रयास गर्छन् । कहिले तातो चियाको कप समात्न खोज्छन् भने कहिले खानाको थाल नै समात्छन् । यो समयमा उनीहरूको ध्यान रंगी–बिरंगी तस्बिर भएको पुस्तकमा लगाउनुपर्छ । खेलौनाका लागि नभाँचिने ठूलो आकारको क्रिएटिभ ब्लक दिनुपर्छ, जसलाई जोडेर उसले नयाँ कुरा सिर्जना गर्न सकोस् । भाँचिएका, टुक्राटाक्री खेलौनाले बालबालिकालाई हानि पुर्‍याउन सक्ने भएकाले त्यस्ता खेलौना दिनु हुँदैन । यो समयमा उनीहरूलाई स्टार्टर बुक्स जसमा रंगहरू, फलफूल, तरकारी तथा पशुपंक्षीका तस्बिर भएका पुस्तकहरू दिनुपर्छ ।

तेस्रो वर्ष

यो उमेरका बालबालिका सामान जोड्न र बिगार्न पाउँदा खुसी मान्छन् । उनीहरूलाई ब्लकलाई जोड्दा केही बन्छ भन्ने कुरासँग मतलव हुँदैन, केवल त्यसलाई जोड्न र बिगार्न पाउँदा खुसी अनुभव गर्छन् । बालबालिकाको मस्तिष्क रचनात्मक हुन्छ । उनीहरूको रचनात्मक विकासमा सघाउ पुर्‍याउन त्यस्ता खेलौना दिनुपर्छ जसलाई बालबालिकाले पटक–पटक जोड्न र तोड्न सकून् । उनीहरूलाई काठको ब्लक, पुतलीको लुगा अथवा आभूषण, प्लास्टिकको फुटबल, रेल–गाडीको सेट आदि दिनुपर्छ जुनसँग उनीहरूले बारम्बार नयाँ प्रयोग गरेर आफ्नै प्रकारको नयाँ संरचना बनाउन सकून् ।
खेलौनाले बालबालिकाको कल्पनाशीलताको विकास गर्छ र उनीहरूलाई हरेक पटक नयाँ रचना गर्न प्रोत्साहित गर्छ । त्यसको विपरीत विशेष कुरालाई ध्यान दिएर बनाइएको खेलौनाबाट बालबालिकाहरू चाँडै दिक्क मान्छन् अनि थाक्छन् ।

चौथो वर्ष

यो उमेरका बालबालिकाले मनमा लागेका कुरा बोलेर नै आफ्ना अभिभावकलाई भन्न थाल्छन् । त्यस्तै उनीहरूले अभिभावकले भनेका कुरा पनि बुझ्न थाल्छन् । यो उमेरमा बालबालिकाको चकचकेपन बढ्दै जान्छ । उनीहरू कहिले अग्लो ठाउँबाट हाम फाल्ने त कहिले अग्लो ठाउँमा चढ्ने प्रयास गर्ने क्रियाकलापमा सहभागी हुन्छन् । यस्तो अवस्थामा उनीहरूको ध्यान उफ्रने र कुद्नेबाट हटाएर समस्या समाधान गर्नुपर्ने खेलौना, काठको पजल्स, ब्लक आदिमा लगाउनुपर्छ । यसबाहेक नन टक्सिक, धुन मिल्ने क्रिआंस, मार्कर, पेन्ट ब्रस, फिंगरपेन्टका साथै ड्रइङ तथा पेन्टिङका लागि रंगी–बिरंगी सादा कागज आदि दिनुपर्छ । उनीहरूलाई आलु, गोलभेंडा आदिको चित्रमा रंग भर्न सिकाउनुपर्छ । शारीरिक व्यायामका लागि हातखुट्टाले खेल्ने साना–ठूला बलहरू दिनुपर्छ ।

पाँच वर्ष

यो उमेरका बालबालिकाहरूलाई पहिलेभन्दा बढी ध्यान दिनु आवश्यक हुन्छ । यो समयमा बालबालिकाहरूले धेरै कुरा गर्न तथा प्रश्नहरू सोध्ने प्रयास गर्छन् । उनीहरू हरेक वस्तुलाई आफ्नो इच्छाअनुरूप प्रयोग गर्न रुचाउँछन् । उनीहरू आफ्नो शारीरिक शक्ति पनि देखाउन चाहन्छन् । यो उमेरमा बालबालिका आफ्ना साथीसँग बस्न, खेल्न, कुरा गर्न तथा आफ्ना खेलौना साटेर खेल्न मन पराउँछन् । यो समयमा केही नयाँ रचना गर्ने खेलौना जस्तै ब्लक्स, स–साना कारहरू, बिल्डिङ सेट, फर्निचर, किचेन सेट, कुर्सीहरू, खाने–पिउने सामान आदिले उनीहरू घरघर वा अफिस–अफिस खेल्न सक्छन् ।

बिल्डिङ ब्लक्स, जसले धेरै प्रकारका घर निर्माण गर्न सकिन्छ, बालबालिकाका लागि उपयुक्त हुन्छ । ब्याट्रीले चल्ने इलेक्ट्रोनिक्स ट्रान्सपोर्ट खेलौना जस्तै कार, स्कुटर, मोटरसाइकल, संरचनात्मक ब्लक, बालबालिकाको फर्निचर, परिधान, पुतलीका सरसामान आदि खेलौना दिएर उनीहरूको कल्पना शक्तिको विकासमा सहयोग पुर्‍याउनुपर्छ । यीमध्ये कतिपय इलेक्ट्रिक खेलौना अभिभावकको निगरानीमा मात्र खेल्न दिनेपर्ने हुन्छ । ड्रइङ तथा पेन्टिङका सामान, संगीतका सामग्री जस्तै माउथ–आर्गन, गिटार, किबोर्ड, पढ्ने पुस्तक, सिडी, डिभिडी आदि दिन सकिन्छ ।

आउटडोर खेलौनाहरू

पछिल्ला केही वर्षमा इनडोर खेलौनाको प्रचलनमा वृद्धि भएको छ, जसको परिणामस्वरूप बालबालिकामा मोटाउने तथा त्यससँग जोडिएको रोग बढ्दै गएको छ । त्यसैले बालबालिकालाई इनडोर खेल तथा खेलौनका साथै आउटडोर खेलमा पनि सहभागी गराउनु आवश्यक छ । पाँच वर्षसम्मका बालबालिकालाई पढाइप्रति पनि बढी दबाव दिनु हुँदैन । उनीहरूलाई खेलौना दिएर पनि हरेक समय पढ्नका लागि दबाव दिएको अनुभव हुुनु हुँदैन । बालबालिकाको शारीरिक विकास तथा स्वास्थ्यका लागि घरबाहिर निस्केर खेल्न पनि आवश्यक छ । त्यसैले अभिभावकले घरभित्र खेलिने खेलौनाका साथै बाहिर खेलिने खेलौनाबीच उपयुक्त सन्तुलन मिलाउनुपर्छ । घरबाहिर खुल्ला वातावरणमा खेल्ने बानीको विकास बालबालिकामा पहिलो वर्षदेखि नै लगाउनुपर्छ । उनीहरूलाई बल, प्लास्टिक डिस्क, ब्याटबल आदिसँग खेल्न नियमित रूपमा पार्क लानुपर्छ ।

खेलौना खेल शब्दबाट बनेको हो । त्यसैले बालबालिकाका लागि कुनै पनि खेलौना किन्दा त्यो बालबालिकाको रमाइलो तथा मन बहलाउनका लागि हो भन्ने कुरा ध्यान दिनुपर्छ । खेलौना बालबालिकालाई आकर्षक तथा रुचिकर लागेपछि मात्र खेल्न र त्यसबाट केही सिक्न खोज्छन् । त्यसैले बालबालिकाको खेलौना दिक्क लाग्ने र अनाकर्षक हुनु हुँदैन । खेलौना किन्दा राम्रो ब्रान्ड तथा बढी दाम भएको भन्दा बालबालिकाको उमेर र इच्छालाई ध्यान दिनुपर्छ । यसका साथै आफ्नो भन्दा बालबालिकाको रुचिलाई ध्यान दिएर खेलौना किन्नुपर्छ ।

ध्यान दिनुपर्ने कुराहरू

–बालबालिकाको छाला अति कोमल हुन्छ, त्यसैले खेलौनाको मेटरियल पनि कोमल र हल्का हुनुपर्छ जसले कुनै हानि–नोक्सानी नपुर्‍याओस् ।
–खेलौनाको वनावट गोलो हुनुपर्छ, चुच्चो निस्किएको खेलौनाले उनीहरूलाई घोच्ने डर हुन्छ । त्यस्तै खेलौना नभाँचिने र वन पिस हुनुपर्छ । त्यसमा कुनै पनि प्रकारको जडान तथा पेच हुनु हुँदैन, जुन निकाल्न सकियोस् ।
–बालबालिकाको खेलौनाको प्लास्टिक अथवा रबरमा केमिकल हालेर त्यसलाई नरम अथवा मुलाईम बनाइन्छ । जब केमिकल निर्धारित मात्राभन्दा बढी हालिन्छ, त्यसले बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ । घरेलु उद्योगमा त त्यस्ता केमिकल नाप–तौलबिना नै हालिन्छ । त्यसैले फुटपाथका पसलहरूमा बिक्री हुने खेलौनाको साटो राम्रो ब्रान्डकै खेलौना किन्नु राम्रो हुन्छ ।
–बालबालिकाहरूमा मुखमा खेलौना हालिरहने बानी हुन्छ । त्यसका लागि ती खेलौना बारम्बार पखालिरहनुपर्छ । त्यसैले रंग नखुलिइने खेलौना मात्र किन्नुपर्छ ।
–साना शिशुहरूलाई चाँडै इन्फेक्सन हुन्छ । त्यसैले खेलौना सजिलै धुन सकिने तथा सफा हुनुपर्छ । फोहोर खेलौनाबाट बालबालिकालाई टाढै राख्नुपर्छ । बालबालिकालाई खेलौला दिँदा प्रत्येक पटक राम्रोसँग धुनु अनिवार्य छ ।

प्रिन्सीपल, कुमुद भट्ट छतकुल्ली हाइड एण्ड सिक स्कुल

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्