किशोरावस्थाका क्रियाकलाप

नारी संवाददाता

वैशाख १, २०७३ 

किशोरावस्था जीवनको सबैभन्दा संवेदनशील उमेर हो । यो उमेरमा आमाको भावनात्मक सहयोगको ठूलो आवश्यकता पर्छ । यदि आफ्नी छोरी पनि किशोरावस्थामा प्रवेश गर्दैछिन् भने केही सुझाव कार्यान्वयन गर्नुपर्ने हुन्छ ।

कविता गत केही महिनादेखि छोरी नीरजा बदलिँदै गएको अनुभव गरिरहेकी थिइन् । नीरजा पहिलेको तुलनामा निकै शान्त देखिन थालेकी थिइन् । उनी पहिलेजस्तो कुरा गर्दिनथिन्, न त अरूसँग घुलमिल नै गर्थिन् । एक्लै औंला टोक्दै सोचिरहेकी भेटिन्थिन् । आमाको पारखी आँखाले छोरीको समस्या पहिल्यायो । उनले थाहा पाइन्, अब छोरी पहिलेजस्तो केटाकेटी रहिनन् । छोरीसँग अब आमाको जस्तो होइन, साथीको जस्तो व्यवहार गर्नुपर्छ । यसो गर्न सक्यो भने छोरीले आफ्नो मनका कुरा खुलेर बताउन सक्छिन् । त्यसपछि उनको समस्याको समाधान गर्न सकिन्छ ।

नभन्दै कविताले नीरजासँग गर्ने आफ्नो व्यवहार परिवर्तन गरिन् । अब उनीहरू आमाछोरी नभएर साथी–साथीजस्तो व्यवहार गर्न थाले । अहिले नीरजालाई आएको प्रेमपत्रदेखि डेटिङमा भएको कुराकानी पनि कविताले थाहा पाउन थालेकी छिन् । यसबाट नीरजाले मनका कुरा सुनाउन पाएकी छिन् भने कविताले उसले के ठीक गर्दैछे र के गल्ती गर्दैछे, त्यसको मूल्यांकन गरेर सुझाव दिन पाएकी छिन् । यसले आमा–छोरी दुवैलाई सन्तुष्टि मिलेको छ ।

यो उदाहरणले छोरीको उमेर बढ्दै गएपछि आमाले गर्नुपर्ने व्यवहारको एउटा सानो झझल्को मात्र दिन्छ । वास्तवमा नीरजा न केटाकेटी छिन््, न त वयस्क नै । उनलाई कसैले राम्रो भन्नेबित्तिकै यति खुसी लाग्छ कि संसारै आफ्नो हो जस्तो हुन्छ अनि कसैले अलिकति चित्त दुख्ने गरी भन्यो भने संसार नै अँध्यारो हुन्छ । यही उमेरमा प्रेम प्रस्ताव आउने, प्रेमीले डेटिङका लागि आग्रह गर्ने अनि मौका मिल्यो भने शारीरिक सम्बन्ध राख्ने प्रयास गर्नेसम्मको स्थिति आउँछ । यो उमेरमा कति कुरा ठीक र कति कुरा बेठीक भन्ने जानकारी हुँदैन । यस्तो बेलामा आमाले साथीजस्तो भएर छोरीलाई सही बाटो देखाउनुपर्छ ।

परिवर्तनको संघार

त्रिभुवन विश्वविद्यालयमा मनोविज्ञानकी प्राध्यापक विमला श्रेष्ठ भन्छिन्, ‘१२ देखि १८ वर्षको उमेरमा एउटी बालिकामा अनेकौं शारीरिक परिवर्तन देखा पर्छन् । यसले उनीहरूलाई मानसिक रूपमा तनावग्रस्त बनाइदिन्छ । अझ कडा आमाबुवा र गलत साथीभाइ भएकी किशोरीका लागि त यो अवस्था निल्नु न ओकल्नु हुन्छ । यही बेला उनीहरू भविष्यको स्वर्णिम कल्पनामा मस्त हुन्छन् । आफूलाई धेरै थोक जान्ने–बुझ्ने मान्छन् । यो बेला उनीहरूको मनमा अनेक प्रश्न आइहरन्छन् । आफैसँग तर्क–विर्तक गर्छन् । उनीहरू आफूलाई मन परेको कलाकार वा व्यक्तिजस्तै बन्न चाहने मात्र होइन, त्यस किसिमको व्यवहार पनि गर्न रुचाउँछन् ।’ यस्तो अवस्थामा के गर्ने त ? श्रेष्ठ भन्छिन्–‘यो उमेरका किशोरीहरूसँग बिर्सिएर पनि केटाकेटीहरूसँग गरिएजस्तो व्यवहार गर्नु हुँदैन । यदि त्यस्तो गरियो भने उनीहरू आफूलाई केटाकेटी नै भनेर अपमान गरिएको मान्छन् ।

सन्तुलनको आवश्यकता

यस्तो बेलामा आमाले कहिलेकाहीँ जिस्कने, उनका साथीभाइलाई घरमा बेलाउने, ब्यायफ्रेन्ड छ कि छैन भनेर सोध्ने जस्ता काम गर्नुपर्छ अनि बिस्तारै कुन कुरा गर्नु हुँदैन, कुन कुरा गर्दा हुन्छ भन्ने कुरा सिकाउनुपर्छ । यो उमेरका किशोरीहरूलाई जबरजस्ती कुनै काम गर्नबाट रोक्नु हुँदैन, बिस्तारै बुझाएर मात्र यो गलत काम हो भनेर सिकाउनुपर्छ । उनीहरूसँग अरूबेला भन्दा लामो समय बिताउनुपर्छ ।

–सम्झना निरौला

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्