मनको सुन्दरता अनमोल

नारी संवाददाता

चैत्र १९, २०७२  

बाहिरी सुन्दरतालाई हेरेर कहिल्यै व्यक्ति पूर्णरूपमा राम्रो वा असल छ–छैन भन्ने निर्णय गर्न सकिँदैन । धेरैजसो व्यक्ति जो बाहिरबाट सुन्दर हुँदैनन्, उनीहरूका साथमा सामाजिक तथा पारिवारिक स्तरमा पनि राम्रो व्यवहार हुँदैन, त्यस्ता व्यक्ति उपेक्षाको सिकार हुन्छन् । 

पिम्पल्स, चायाँ–पोतो, कालो वर्ण, मोटो शरीर वा असामान्य तौल जोकसैमा हुन सक्छ । जब कसै–कसैमा यो कुरा धेरै देखिन थाल्छ तब ऊ प्राय: हाँसोको पात्र बन्न पुग्छ । यो स्थितिमा सक्षम व्यक्तिहरूको श्रेणीमा रहँदा–रहँदै पनि उनीहरू असहज महसुस गर्छन् । हुन त उनीहरू सपिङ, पिक्चर हेर्नु, घुमफिर गर्नु आदि सबै काम राम्रोसँग गर्छन् । उनीहरूले अरूको अपमानजनक व्यवहारको पनि सामना गर्नुपर्ने हुन्छ । ८५ प्रतिशत पिम्पल्सको समस्या किशोरावस्थामा हुन्छ । तीमध्ये २५ प्रतिशतमा डन्डिफोरको दाग बस्छ, जसले गर्दा उनीहरू हीन भावनाको सिकार हुन्छन् । त्यसैगरी सहरका बालबालिकाहरूमा मोटोपनको समस्या बढेर ५५ प्रतिशत पुगेको पाइन्छ ।
चार जनामध्ये एउटा शिशु मोटोपनका कारण मधुमेह वा ह्दयसम्बन्धी रोगको सिकार हुन्छ । तीमध्ये पनि कतिपय बालबालिका किशोरावस्थामा नपुग्दै अझ थप मोटाउन थाल्छन् र सामाजिक दृष्टिबाट असक्षम हुन्छन् । यो दृश्य संसारभरिका मुलुकमा देख्न पाइन्छ । त्यस्ता व्यक्तिसित भेदभावपूर्ण व्यवहार हुने गरेको पाइन्छ । हिजोआज अग्लो शरीर, स्लिम फिगर, आकर्षक व्यक्तित्वका मोडल, फिल्मी कलाकार वा खेलाडीले मानिसहरूलाई आकर्षित गरेको देखिन्छ । धेरैजसो मानिसमा त्यस्तै सुन्दर शरीर प्राप्त गर्ने होड पनि चलेको छ र विशेषगरी पुरुष, जो होचो छ ऊ हाँसोको पात्र बन्छ । बिहेवियर एक्सपर्टहरूका अनुसार आत्मग्लानिमा डुबेका यस्ता व्यक्तिहरू बजारमा खुल्ला रूपमा चलिरहेका ७ दिनमा गोरो हुने, महिनाभरिमा उचाइ बढ्ने, ३ दिनमा मुहारको दाग हट्ने, ४८ घन्टामा १० केजी तौल कम हुने छलकपटको जालोमा चाँडै फस्छन् ।
समाजसँगै अघि बढ्ने चाहनामा उनीहरू पैसासँगै आफ्नो आत्मसम्मानको पनि अपव्यय गर्न पुग्छन् । उनीहरूको सोचमा महँगो सौन्दर्य उत्पादन उपयोग गरे सबै कुरा ठीक हुन्छ भन्ने हुन्छ तर जब त्यसो हुँदैन तब उनीहरू अझ बढी हतास र निराश हुन्छन् । यस्ता व्यक्तिलाई भीडभाड भएको स्थान चुनौतीपूर्ण लाग्छ । त्यसैले भीडभाडमा पनि उनीहरू आफूलाई एक्लो महसुस गर्छन् । यस्तो चुनौतीपूर्ण जीवन बिताउन कठिन हुन्छ । यस्तो व्यक्तिको व्यवहारमा रुखोपन, अधीरता, निराशा र अविवेक आदि लक्षण आउन थाल्छन् र मनमा हीन भावनाले स्थान पाउँछ । यसबाट स्थिति अझ गम्भीर हुन पुग्छ । जब आफू नजिकको व्यक्ति यस प्रकारको समस्याबाट ग्रस्त छ भने उसको समस्यालाई ध्यानपूर्वक बुझ्नु जरुरी छ । हरेक व्यक्ति सर्वगुण सम्पन्न हुँदैन । कोही मानसिक रूपमा, कोही शारीरिक रूपमा, कोही आफ्नो योग्यताका कारण त कोही सोच र विचारका कारण असक्षम हुन्छन् । सानो–ठूलो कमी–कमजोरी सबैमा हुन्छ । नकारात्मक सोच पनि एउटा विकृति नै हो, आशावादी सोच सधैं लाभदायक हुन्छ । यो सोचबाट व्यक्ति प्रगतिको पथमा अग्रसर हुन्छ ।
आफू नजिकका व्यक्तिमा मुहारमा दाग, पिम्पल, चायाँ–पोतो आदि देखिएको छ भने उसलाई समयसँगै यो ठीक हुन्छ भन्ने कुरामा विश्वस्त तुल्याउनुपर्छ । मानिस कुनै प्रकारको विकारबाटयुक्त छ भने उसलाई सान्त्वना दिनुपर्छ, उसको प्रगतिमा सहायता गर्नुपर्छ र उसलाई प्रोत्साहित गर्नुपर्छ । उसको हाँसो उडाउने, ख्यालठट्टा गर्ने व्यवहारबाट ऊ अझ बढी कमजोर हुन्छ । यद्यपि सान्त्वनाको नकारात्मक प्रभाव पनि पर्न सक्ने कुरामा सचेत रहनुपर्छ । मानिस आफूलाई सान्त्वनाको विषय मानेर हारेको जीवन जिउन थाल्छ वा सान्त्वनामा शान्ति–आराम खोज्न थाल्छ । ऊ कुनै पनि काम राम्रोसँग सम्पन्न गर्न सक्दैन र विफल भएपछि सान्त्वनाको अपेक्षा गर्न थाल्छ । त्यसैले यस्ता व्यक्तिलाई हिम्मत र जोस दिनु तथा ऊभित्र जीवन जिउने उमङ्ग सिर्जना गर्नु जरुरी छ ।
प्रेम र सद्भावबाटै अरूको मन जित्न सकिन्छ, होइन भने जीवन उद्देश्यहीन लाग्न थाल्छ । हरेक व्यक्तिमा साहस र आँट हुन्छ भन्ने छैन तर प्रेरणा प्राप्त भए असम्भव पनि सम्भव हुन सक्छ ।

रोजिन शाक्य
तस्विर: नवराज वाग्ले

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्