संयुक्त परिवार

नारी संवाददाता

चैत्र १४, २०७२  

स्वतन्त्रताका पक्षधरहरूले सधैं एकात्मक परिवार रोजे । एकात्मक परिवार संयुक्त परिवारको तुलनामा शान्त हुन्छ र मानिस कुनै पनि काम गर्न स्वतन्त्र हुन्छ । विकसित देशमा एकात्मक परिवार बढी र संयुक्त परिवार कम छन् तर विकसित देशहरूमा संयुक्त परिवार बढी र एकल परिवार कम छन् । एकल परिवार राम्रो कि संयुक्त परिवार भन्ने विषयमा केही समाजशास्त्रीले लामो अध्ययन गरेका छन् । उक्त अध्ययनले एकातिर एकात्मक परिवार राम्रो भन्ने धारणालाई समाजशास्त्रीय दृष्टिकोणले गलत प्रमाणित गरेको छ भने संयुक्त परिवारको विश्लेषण पनि गरेको छ ।
–सुख–दु:ख साट्न संयुक्त परिवार निकै राम्रो मानिन्छ । एकजनालाई परेको जस्तोसुकै दु:ख पनि सजिलै पार लगाउन सकिन्छ । उदाहरणका रूपमा उक्त सर्वेक्षणमा भारतको एउटा संयुक्त परिवारको विवरण दिइएको छ । विवरणअनुसार उक्त परिवारमा ५ जना छोरा, उनीहरूका एक–एक श्रीमती, प्रत्येकका ३ देखि ५ जनासम्म छोराछोरी, जेठा छोराका केही नाति–नातिना । उक्त परिवारमा कुनै पनि सदस्यको विवाह गर्नुपर्‍यो भने प्रत्येक व्यक्तिले २० हजार निकाल्छन् र विवाह सकिन्छ । कामको बाँडफाँड गर्दा पनि कसैले बजारमा सामग्री किन्ने काम छान्छन्, कसैले आन्तरिक सजावटको जिम्मा लिन्छन् । कोही भान्सामा छिर्छन् । हरेकले एकजना सहायक राख्छन् र ती सहायक घरका केटाकेटीहरू हुन्छन् । संयुक्त परिवारको मर्म ती केटाकेटीले पनि उत्तिकै बुझेका छन् । आफूभन्दा ठूलाले भनेको मान्ने, सानाको समस्या ठूलाले बुझ्ने हुनाले कुनै पनि काम सजिलै फत्ते हुन्छ । यस्ता उदाहरण हरेक संयुक्त परिवारमा फेला पार्न सकिन्छ ।
–कतै हिँड्नुपर्‍यो भने घर बन्द गरेर हिँड्नु पर्दैन । लामो समयका लागि घर छाड्दा पनि मेरो व्यवहार बिग्रियो भन्नु पर्दैन । ठूलो तनाव र छिन्नै नसकिने समस्या आइलाग्दैन । यद्यपि यसका लागि आपसी समझदारी, विश्वास एवं प्रेम अत्यावश्यक हुन्छ । 
–यस्तो घरमा एकजना मुली हुनुपर्छ । मुली स्वार्थी, लोभी, अव्यावहारिक र एकपक्षमा लाग्ने हुनु हुँदैन । घरमुलीलाई कसैले उसका कमी–कमजोरी देखाए त्यसलाई त्याग गर्ने क्षमता हुनुपर्छ । मुलीले बोलेपछि त्यो कुरा लागू हुन्छ । अरूमा भएका कमी–कमजोरी समात्न सक्ने हुनुपर्छ । यसबाट एक प्रकारको नियम बन्छ । यही नियमअनुसार परिवार चल्ने हुँदा परिवारमा झैझगडा हुँदैन । कुनै पनि समस्या मुलीकहाँ पुगेपछि त्यसमा छलफल भएर टुंगो लाग्छ । 
–संयुक्त परिवार बूढाबूढी र केटाकेटीका लागि निकै राम्रो मानिन्छ । जवान छोरा–बुहारी पनि केटाकेटीलाई घरमा छाडेर काममा निस्कन पाउँछन् भने केटाकेटीको रेखदेख पनि राम्रो हुन्छ । अर्कातिर घरका जेठा नागरिकलाई पनि केटाकेटीसँग खेलेर समय बिताउन सजिलो हुन्छ । 
–संयुक्त परिवारमा केही अप्ठ्यारा पनि उत्पन्न हुन्छन् । यद्यपि श्रीमान्–श्रीमती मिलेर ती समस्यामाथि छलफल गर्ने हो भने सकारात्मक निष्कर्ष निकान्न सकिन्छ । आर्थिक तथा सामाजिक प्रगतिका लागि एकल भन्दा संयुक्त परिवार नै प्रभावकारी हुन्छ । त्यसका लागि संयुक्त परिवारमा हरेकले बराबर खर्च बेहोर्ने नियम बनाउनुपर्छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्