पुस्तान्तरको प्रभाव

सिर्जना दुवाल श्रेष्ठ

फाल्गुन २९, २०७२हरेक घरमा जेनेरेसन ग्यापको कुरा स्पष्ट देखिन्छ । बूढाबूढीहरू आफ्ना सन्ततिहरू आफ्नै धर्म, संस्कृतिमा हिँडून्, समयमा घर आऊन् अनि सबैसँग बसेर खाना खानुका साथै कुराकानी गरून् भन्ने चाहन्छन् । यद्यपि अहिलेको पुस्ता आफ्नै स्टाइल र रुचिअनुसार हिँड्न रुचाउँछ । कसैको दबाब रुचाउँदैन, मेरै कुरा सही हो भन्ने विचार राख्छ । युवापुस्तामा पनि अहिले आएर १२–१३ वर्षका छोरीहरू भएको घरमा एक खालको समस्या देखिन्छ । उनीहरू घरका बाजेबज्यै, आमाहरूसँग त्यति धेरै बोल्न चाहँदैनन् । उनीहरू स्कुल जान्छन्, फर्केर घर छिरेपछि कोठा लक गरेर कि त पढ्मा मस्त हुन्छन् कि फोन, भाइबर वा फेसबुकमा रमाइरहेका हुन्छन् । खाजामा पनि चाउचाउ, चिप्स तथा जंकफुड रुचाउँछन् । पहिले घरमा फुपू, मामा, माइजू, अंकल आन्टीजस्ता आफन्तहरू आउँदा रमाउँदै कुराकानी गरेर बस्ने चलन थियो तर अहिलेको पुस्ता त्यसरी कुरा गरेर आफ्नो समय खर्च गर्न चाहँदैन बरु त्यो समय इन्टरनेटमा आफूलाई अपडेट गर्न तथा साथीहरूसँग बिताउन चाहन्छ । 

इमाडोलकी निस्मा महर्जन र उनकी हजुरआमाबीच धेरै कुरामा अन्तर छ । निस्माको जीवनशैलीप्रति हजुरआमालाई सधै आपत्ति हुन्छ । के लुगा लगाएको ? जूठोसुठो केही छैन ? कति साथीहरूसँग कुरा गरिराखेको ? खालि कम्युटर, ल्यापटपमा ? उता नातिनी भने हजुरआमाको कुरालाई एउटा कानले सुनेर अर्काे कानले उडाइदिन्छिन् । उनलाई घरपरिवार, आफन्तसँग समय बिताउनुभन्दा कोठामा एक्लै बसेर फेसबुक, ट्वीटरमा साथसिंगीसँग व्यस्त हुन मन लाग्छ । आफूलाई जस्तो पहिरन मनपर्छ त्यस्तै लगाउँछिन् । हजुरआमा नातिनीको क्रियाकलापले जति दिक्क छिन् त्यति नै निस्मालाई हजुरआमाको किचकिच सुनेर वाक्क लाग्छ । 

त्यस्तै पूर्वमिस नेपाल माल्भिका सुब्बा पनि आफूले पुस्तान्तरको अनुभव गरेको बताउँछिन् । उनलाई महिनाबारी हुँदा सुरुसुरुमा यता नजाऊ, यो नछोऊ भन्दा नमज्जा लाग्यो । सुब्बाका अनुसार हजुरआमाहरूका पालामा प्याड हुँदैनथ्यो, जसले गर्दा फोहोर हुने हुँदा भान्सामा नजान, खाना नपकाउन वा नछुन भनिएको हो तर अहिले त हामी आफै सचेत छौं, सफा–सुग्घर भएर बस्छौं । यस्ता कुराले पुस्तान्तरलाई झल्काउँछ । 

कवयित्री विमला तुम्खेवा पनि पहिले र अहिलेको पुस्तामा विचार, सोच्ने शैलीलगायत धेरै कुरामा फरक देख्छिन् । अहिले जीवन पद्धति नै पूर्णरूपमा फरक हुँदैछ । बाजेबज्यैहरूले इन्टरनेटको कनेक्सनबाट बाहिर रहेर परम्परालाई नै मान्दै आएका छन् । तुम्खेवाका अनुसार अहिले सहरमा विसंगतिहरू बढ्दैछन् । पढेका छोराछोरी स्वतन्त्रता खोज्छन् तर हाम्रो संस्कृतिले स्वतन्त्रता नदिएका कारण पनि युवाहरूमा विदेश जाने क्रम बढ्दो छ । अहिलेको पुस्ता सकभर अभिभावकबाट अलग्ग बस्न चाहन्छ । युवापुस्ता स्वतन्त्रता खोज्छ भने वृद्ध पुस्ता परम्परा अनि संस्कृति । तुम्खेवाको परिवारमा पनि धेरैजसो बिदेसिएका छन्, बरू पैसा पठाइदिन्छन् तर आफ्नो जीवन आफूखुसी बिताउन चाहन्छन् । स्वदेशमै बसेको युवापुस्ता पनि घरमा त्यति कुराकानी–छलफल गर्न चाहँदैन, एकदमै व्यस्त जीवन बिताइरहेको भान पर्ने गरी ग्याजेटमै व्यस्त हुन्छ । उता वृद्धवृद्धाहरूको आफ्नै समस्या छ । उनीहरूलाई छोरा–नातिहरूले केही समय आफूलाई दिए हुन्थ्यो भन्ने हुन्छ । उनीहरूलाई केही बोलिदिए पनि राहत मिल्छ । आफूलाई एक्लो महसुस गर्ने कारणले नै राम्रो घरपरिवारका वृद्धवृद्धाहरू वृद्धाश्रममा बस्न रुचाउँछन्  । कवयित्री तुम्खेवा भन्छिन्–हाम्रो संस्कृतिलाई इन्टरनेटले गाँजिसकेको छ । अहिलेसम्म त लाजकै कारणले भए पनि हामी आफ्ना आमाबुवालाई सँगै राख्छौं तर हामी वृद्ध हुँदा हाम्रो गन्तव्य सीधै वृद्धाश्रम हो ।  

मोडल एलिजा बस्नेतका अनुसार भाइबर, फेसबुक एवं ट्वीटरका कारण आमाबुवा तथा बाजेबज्यैबीच पूरै ग्याप छ । बस्नेतका अनुसार आमाबुवासँग जति नै कुरा सेयरिङ गरे पनि उनीहरू नयाँ पुस्ताको कुरा बुझ्न खोज्दैनन् । म आफू पनि मम्मीसँग प्रपोज गरेको, जिस्काएकोदेखि युट्युबमा राखेका भिडियो, फेसबुकमा अपलोड गरेका कुरा आदि भन्छु तर उहाँले ती कुरा राम्रोसँग स्वीकार गर्न सक्नुहुन्न । म भन्दा बहिनीहरूमा अझ बढी अन्तर देख्छु । उनीहरू गोप्यता खोज्छन् । फोनदेखि साँचोसम्म छुन दिँदैनन् । अहिलेको पुस्ता आफ्नो फोन लक गर्छ । सानैदेखि एक्लै बस्न खोज्नु, स्वतन्त्रता खोज्नु अहिलेको माग हो । बस्नेत भन्छिन्–हामीले अघिल्लो पुस्तासँग जतिसुकै खुलेर कुरा गरे पनि पुस्तान्तरको समस्या हटाउन धेरै समय लाग्छ । हामी पुरानो पुस्ता हुँदा पनि हाम्रा सन्ततिबीच यस्तै अन्तर हुन्छ । यद्यपि एकले अर्काको समस्या, रहर एवं विचारलाई सम्मान गर्न सकियो भने यो खाडल केही हदसम्म कम भने हुनसक्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्