धराने महिलामा आएको परिवर्तन

नारी संवाददाता

फाल्गुन १७, २०७२सवारी साधनमध्ये सबैभन्दा चलाउन सजिलो हुने स्कुटर वा मोटरसाइकल हिजोआज कामका लागि मात्र हाकिँदैन । हिजोआज स्कुटर शान देखाउनदेखि लिएर ग्याङफाइट गर्न, लागूपदार्थ ओसारपसार गर्न र प्रेमिकालाई घुमाउन पनि प्रयोग गरिन्छ ।  कहिलेकाहीँ स्कुटर रेसको आयोजना  पनि हुन्छ । साधन–स्रोतमाथि पहुँच हुँदै गएपछि के महिला के पुरुष के वृद्ध के किशोर–किशोरी सबैले त्यसको उपयोग गर्न सक्षम हुँदा रहेछन् भन्ने कुरा पनि पुष्टि भैसकेको छ । 

    विज्ञान र प्रविधिका साधन–स्रोतमाथि सर्वसाधरणको पहुँच भएपछि मानिसको जीवनशैलीमा परिवर्तन आउन धेरै समय लाग्दो रहेनछ । तीन–चार वर्षअघिसम्म धरानमा आफै सवारी हाँकेर हिँड्ने महिलाहरू देख्न पाइँदैनथ्यो । एक–दुई महिलाले आफै सवारी हाँकेर सडक, चोकतिर निस्कदा धेरैजना ट्वाल्ल परेर रमिता हेर्ने हुन्थे । अहिले धरानमा यस्तो अवस्था रहेन कुन सवारी साधन कसले हाँक्यो अब वास्ता पनि हुन छाडेको छ । भारी सवारी साधन महिलाहरूले नहाँके पनि कार र मोटरसाइकल तथा स्कुटर हाँक्ने अधबैंसे कामकाजी महिला एवं कलेज पढ्ने युवतीहरू धरानमा धेरै भेट्न सकिन्छ । महिलाहरूले आफ्नो सवारी साधन आफै हाँक्न थालेपछि महिलाहरू शारीरिक एवं मानसिक रूपमा कमजोर हुन्छन् भन्ने कुरा पूर्णरूपमा गलत साबित भएको छ । धरान–२२ बस्ने २८ वर्षीया कमला राई न्यू इमेज ब्युटिपार्लरकी सञ्चालक हुन् । उनले केही महिनाअघि वी गो नामक स्कुटर खरिद गरेकी छिन् । स्कुटर किनेपछि घरको काम भ्याएर पार्लरको काम भ्याउन निकै सहज भएको ट्याक्सी खोज्न र कुर्नु नपरेको उनी बताउँछिन् । उनले स्कुटर लिएपछि कार्यालय र घरको काम गर्नेदेखि वरपर आफन्तको भेटघाटमा जान पनि सजिलो भएको बताइन् ।

संखुवासभा चन्दपुर घर भई बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्टाफ नर्स अध्ययन गरिरहेकी २२ वर्षीया एनिसा राईले पनि केही महिनाअघि स्कुटर किनिन् । स्कुटर किनेपछि कलेज जान–आउन सजिलो हुनुका साथै अध्ययन गर्ने समय पनि बचत भएको उनी बताउँछिन् । अहिले धेरै कामकाजी महिला कार्यालय, व्यवसाय र घरको काम भ्याउन स्कुटर चलाउँछन् । नेपाली समाजको प्रचलनमा महिलाहरूले कार्यालय वा अन्य व्यवसाय गरे पनि बिहान–बेलुका खाना भान्सा एवं घरको सबै काम भ्याउनुपर्छ । त्यसैले पनि कामकाजी महिलाहरूका लागि स्कुटर निकै उपयोगी भएको छ । कार्यालय जाने, व्यवसाय गर्ने र धरानमा बसेर पत्रकारिता गर्ने आधा दर्जन महिला पत्रकारमध्ये  नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य निलिफा सुब्बा, गणतन्त्र एफएमकी प्रतीक्षा बान्तावा, दिव्य रोशनी साप्ताहिककी सम्पादक/प्रकाशक मनिता चाम्लिङ, गणतन्त्र एफएमकी रीता मोक्तान आदि पनि स्कुटर हाँकेर हिँड्न थालेका छन् । धेरै युवाले सौखका लागि मोटरसाइकल हाँके पनि युवती वा अधबंैसे महिलाहरू भने कामको आवश्यकतामा मात्र सवारी हाँक्ने गरेको पाइन्छ । काठमाडौं, पोखरा र विराटनगरपछि बढी महिलाले सवारी हाँक्ने सहर धरान नै हो । 

अहिले महिलाहरूले आफै सवारी हाँक्ने मात्र होइन सवारी साधानहरू नगन्य दुर्घटना भएको पाइन्छ । पुरुषहरू दुई पाङ्ग्रे सवारी चलाउँदा ६० देखि ८० सम्मको तीव्र गतिमा भाग्छन् भने महिलाहरूले ४५ देखि ५५ सम्मको गतिमा मात्र सवारी हाँक्ने गरेको पाइन्छ । यसरी महिलाहरूले न्यून गतिमा सवारी हाँक्नुलाई धेरै पुरुष सवारी चालकहरू आइमाईले हाँकेजस्तो भनेर गिल्ला गर्ने गरेको पनि पाइन्छ । साथै महिलाहरू मादक पदार्थ सेवन नगरी सावधानीपूर्वक सवारी चलाउने हुनाले नै पुरुषहरूको तुलनामा महिलाहरूले हाँकेका सवारी साधनहरू कम मात्र दुर्घटनामा परेको पाइन्छ । महिलाहरूभन्दा सवारी हाँक्दा पुरुषहरू नै बढी सडक दुर्घटनामा पर्ने गरेको तथ्य पनि तथ्यांकले दर्शाउँछ । तसर्थ यसरी महिलाहरूले सावधानी पूर्वक न्यून गतिमा सवारी साधन हाँक्नुलाई उनीहरूको कमजोरीको रूपमा बुझ्नु गलत हुन्छ ।    

    धरानमा मोटरबाइक शोरुम र बिक्री गर्ने पसलहरू भmन्डै दर्जनको हाराहारीमा छन् । अहिले स्थानीय बजारमै स्कुटरको मूल्य १ लाख ७० हजारसम्म पर्छ । नवदुर्गा अटो प्यालेस धरान–८ का सेल्स  म्यानेजर कृष्ण भुजेलका अनुसार बार्षिक २४ देखि ३० वटा स्कुटर आफ्नो शोरुमबाट बिक्री हुने गरेको बताउँछन् । स्कुटर खरिद गर्नेहरूमा १७ देखि ३५ वर्षसम्मका महिला ग्राहक रहेको उनले बताए ।

  त्यसैगरी धरान ८ कै यमाहा शोरुमका प्रोपाइटर गोपाल आचार्यले एक महिनामा ११ देखि १३ वटासम्म स्कुटी बिक्री गरेको बताए । शोरुमबाट बाइक, स्कुटी दुवै बराबरी बिक्री हुने उनले बताए ।  जिल्ला ट्राफिक कार्यालय धरानका अनुसार यो आर्थिक वर्ष सुरु भएयता धरानमा बाइक र स्कुटी गरी ८५ वटा दुर्घटना भएको जानकारी दिए । त्यसमा अन्य सवारीसाधन ७६ वटा दुर्घटना भएको पाइएको छ । २०७१ सालको आर्थिक वर्ष सुरु  भएदेखि जिल्ला ट्राफिक कार्यालयले मोटरसाइकल र स्कुटी गरी ७ हजार २ सय १३ वटा कारबाही गरेको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार गत वर्षको तुलनामा यो वर्ष सवारी साधन दुर्घटना बढेको छ । दिनहुँ सवारी साधनको वृद्धि हुने र सडक सानो भएको  तथा युवाहरूले द्रुत गतिमा सवारीसाधन हाँक्ने भएकाले पनि बढी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रदीपकुमार सिंहले बताए ।

सरिता पुमा राई

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्