नर्सिङ पेसामा अवसर तथा चुनौती

नारी संवाददाता

फाल्गुन ८, २०७२प्रा.डा. रामशरण मेहता

बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान

नेपालमा करिब ८६ वर्षअघि वि.सं. १९८५ मा नर्स विद्यादेवी, राधादेवी, विष्णुदेवी तथा धर्मदेवीलाई तत्कालीन प्रधानमन्त्री चन्द्रसमशेरका पालामा प्रसूति सेवासम्बन्धी डेढ वर्षे तालिमका लागि भारत पठाइएको थियो । जुन नेपालमा नर्सिङ शिक्षाको इतिहासको सुरुवात हो । यसभन्दा अगाडि नेपालमा विदेशबाट नर्स ल्याई राजपरिवार तथा विशिष्ट घरानाहरूको सेवामा लगाइन्थ्यो । वि.सं. २००९ मा उमादेवी दास तथा रुक्मनि चरण श्रेष्ठलाई भारतमा चार वर्षे नर्सिङ तालिमका लागि पठाइयो र उनीहरू फर्किएपछि नेपालमा २०१३ सालमा पहिलो पटक नर्सिङ स्कुल खोलियो । त्यसपछि बिस्तारै अन्य नर्सिङ कलेजहरू पनि खुल्न थाले । वि.सं. २०१६ मा शान्ता भवन, २०१९ मा भरतपुर, २०२२ मा विराटनगर, २०२४ मा तानसेन तथा २०३० मा नेपालगंजमा अ.न.मी. कलेज खोलियो । नेपालमा नयाँ शिक्षा योजना लागू हुँदा वि.सं. २०२९ मा सबै नर्सिङ कलेजहरूलाई त्रिभुवन विश्वविद्यालयअन्तर्गत गाभियो । त्रि.वि. अन्तर्गत २०३३ सालमा पहिलोपटक स्नातक तह तथा २०५२ सालमा स्नातकोत्तर (एम.एस्सी. नर्सिङ) तहको पढाइ सुरु भयो । नेपालमा नर्सिङ क्याम्पस खुलेको २० वर्षपछि स्नातक तह तथा ४० वर्षपछि स्नातकोत्तर तहको पढाइ संचालनमा आएको हो । 

नेपालमा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक सन् १९९६ देखि ४ वर्षे बी.एस्सी. नर्सिङको पढाइ सुरु भयो । बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सन् १९९९ देखि प्रमाणपत्र तह, सन् २००८ देखि एम.एस्सी. नर्सिङ तथा सन् २०१२ देखि बी.एन. पढाइ सुरु भएको हो । 

हाल नेपालमा नर्सिङ शिक्षा त्रिभुवन विश्वविद्यालय, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पूर्वाञ्चल विश्वविद्यालय, काडमाडौं विश्वविद्यालय तथा सी.टी.ई.भी.टी. बाट प्रदान गर्दै आएको छ । हाल नेपालमा नर्सिङ क्षेत्रमा अ.न.मी., स्टाफ नर्स (प्रमाण पत्र तह), स्नातक (बी.एन. तथा बी.एस्सी. नर्सिङ) र सन् २०१२ देखि नर्सिङ क्याम्पस महाराजगंजमा विद्यावरिधि (पी.एच.डी.) को पढाइ संचालनमा छ । 

विभिन्न विश्वविद्यालय तथा संस्थाहरूले नेपालमा नर्सिङ शिक्षा प्रदान गर्दै आएका तथा भारतलगायत अन्य मुलुकहरूबाट नर्सिङ शिक्षा प्राप्त गरी नेपालीहरू नेपालमा काम गर्न आउने भएकाले हाल शिक्षाको गुणस्तर मापन गर्न नेपाल नर्सिङ परिषद्ले लाइसेन्स परीक्षाको सुरुवात गरेको हो । नेपाल नर्सिङ परिषद्को स्थापना २०५२ (१९९६) मा भएको र २०५३–३–२ (१७–१–२००२) देखि कार्य सुरु गरेको हो । नेपाल नर्सिङ परिषद्को तथ्यांकअनुसार वि.सं. २०७० चैत्र मसान्तसम्म नेपालमा २१४०५ जना अ.न.मी., २३,३२५ जना नर्स तथा ७६६ जना विदेशी नर्स गरी जम्मा ४५,४९६ जना काउन्सिलमा दर्ता भै कार्यरत छन् । 

हाल नेपालमा करिब ५१ वटा अ.न.मी. क्याम्पस, १०४ वटा प्रमाणपत्र तह (स्टाफ नर्स) कलेज, ३९ वटा बी.एन., ४ वटामा पोस्ट वेसिक बी.एस्सी. नर्सिङ, ५ वटा एम.एस्सी. नर्सिङ तथा एउटा कलेजमा विद्यावारिधि (पी.एच.डी.) को पढाइ भैरहेको छ । इन्डियन नर्सिङ काउन्सिलको तथ्यांकअनुसार डिसेम्बर २०१३ सम्ममा भारतमा १६४२ वटा अ.न.मी. स्कुल, २६७० वटा प्रमाणपत्र तह कलेज, १५७८ वटा बी.एस्सी. नर्सिङ कलेज, ६९६ वटा पोस्ट वेसिक बी.एस्सी. नर्सिङ कलेज, ५३५ वटा एम.एस्सी. नर्सिङ तथा २५६ वटा सर्ट टर्म तालिम संचालन गर्ने कलेजहरू छन् । भारतको विहार, झारखण्ड, मध्यप्रदेश, उडिसा आदि राज्यमा हालसम्म पनि एम.एस्सी. नर्सिङको पढाइ हुन सकेको छैन, तर नेपाल जस्तो सानो देशमा अहिलेसम्म ५ वटा कलेजमा एम.एस्सी. नर्सिङको पढाइ भैरहेको छ । 

नेपालमा सन् १९५७ मा १५ वटा विद्यार्थीलाई भर्ना गरी स्कुल अफ नर्सिङको स्थापना स्वास्थ्य सेवा विभाग, स्वास्थ्य मन्त्रालयअन्तर्गत भएको हो । सन् १९७२ मा नयाँ शिक्षा योजना नेपालमा लागू भएपछि सम्पूर्ण नर्सिङ कलेजलाई त्रिभुवन विश्वविद्यालयअन्तर्गत ल्याइयो र महाबौद्धस्थित नर्सिङ कलेजलाई महाबौद्ध नर्सिङ कलेजका रूपमा १९८७ सम्म रह्यो र १९८७ मा नर्सिङ क्याम्पस महाराजगंजमा सारियो । त्रि.वि. अन्तर्गत १९७७ मा बी.एन. तथा १९७८ मा एम.बी.बी.एस. को पढाइ सुरु गरियो । नर्सिङ क्याम्पस महाराजगंजमा सन् १९५७ देखि प्रमाणपत्र तह, १९७६ देखि पोस्ट वेसिक बी.एन., १९९५ देखि एम.एन., २००५ देखि बी.एस्सी., नर्सिङ तथा २०१२ देखि विद्यावारिधि (पी.एच.डी.) को पढाइ सुरु भएको छ । 

बी.पी. कोइराला स्वा.वि. प्रतिष्ठानको स्थापना १८ जनवरी १९९३ मा भएको र २८ अक्टुवर १९९८ मा विश्वविद्यालयको मान्यता पाएको हो । उक्त प्रतिष्ठानमा सन् १९९६ देखि प्रथमपटक ४ वर्षे बी.एस्सी. नर्सिङ कोर्स सुरुवात गरेको हो । त्यसपछि प्रतिष्ठानअन्तर्गत रहेको नर्सिङ सेवालाई ८ अगस्त २००२ मा कलेज अफ नर्सिङमा परिणत गरियो र १७ अगस्त २००३ मा कलेज अफ नर्सिङअन्तर्गत ५ वटा विभाग (मेडिकल–सर्जिकल, मानसिक स्वास्थ्य, सामुदायिक स्वास्थ्य, बाल स्वास्थ्य तथा मातृस्वास्थ्य) को स्थापना गरियो, जुन नेपालकै नर्सिङ शिक्षा क्षेत्रको ठूलो उपलब्धि हो । प्रतिष्ठानमा सन् १९९६ मा बी.एस्सी. नर्सिङ, सन् १९९९ मा प्रमाण पत्र तह नर्सिङ, २००८ मा एम.एस्सी. नर्सिङ तथा २०१२ मा बी.एन. को पढाइ सुरु भएको हो । 

विश्व समुदायको स्वास्थ्यस्तर सुधार गर्न पर्याप्त तालिम प्राप्त तथा सेवाप्रति समर्पित स्वास्थ्यकर्मीको आवश्यकता पर्छ । प्रत्येक क्षेत्रमा दक्ष स्वास्थ्यकर्मीका साथै गुणस्तरीय स्वास्थ्य सेवा अपरिहार्य हुन्छ । यो लक्ष्य पूरा गर्न स्वस्थ जनशक्तिका साथै नर्सहरूको ठूलो भूमिका हुन्छ ।  गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि तालिम प्राप्त दक्ष नर्स तथा स्वास्थ्यकर्मीका साथै राम्रो काम गर्ने वातावरणको पनि त्यत्तिकै महत्व हुन्छ । स्वास्थ्य जनशक्ति तयार पार्न विश्वमा करिब वार्षिक अमेरिकी डलर १ सय विलियन खर्च हुन्छ । जुन स्वास्थ्य क्षेत्रको जम्मा खर्चको २ प्रतिशत मात्र हो । 

भारतको बेंग्लोरमा नेपाली विद्यार्थी लक्षित गरी सञ्चालित १ सयभन्दा बढी कलेजमा ३ हजारभन्दा बढी विद्यार्थी बी.एस्सी. नर्सिङ तथा ५ सयभन्दा बढी विद्यार्थी एम.एस्सी.नर्सिङ पढ्दै गरेको अनुमान छ ।

बैंग्लोरमा अन्तर्राष्ट्रिय स्तरका ख्याति प्राप्त अस्पतालहरू एपोलो, मणिपाल, फोर्टिस, कोलम्बियाईको नाम बेची विद्यार्थी भर्ना गराउने चलन पनि छ, तर विद्यार्थीले यस्ता अस्पतालको मुख पनि हेर्न पाउँदैनन् । कर्नाटक नर्सिङ काउन्सिलले ५३७ नर्सिङ कलेजलाई सम्बन्धन दिएको छ तर हाल करिब २२५ जति संचालनमा छन् । नेपाली विद्यार्थी नगए ५० भन्दा बढी कलेज बन्द हुनेछन् भने १ सय जति कलेज संकटमा पर्नेछन् । नर्सिङ अध्ययनका लागि भारतको कर्नाटक राज्यमा मात्र बर्सेनि ५ अरब नेपाली रूपैंयाँ नर्सिङ पढ्न खर्च भैरहेको छ । करिब २००० नेपाली चेली भारतमा नर्सिङ अध्ययन गर्छन् । बी.एस्सी. नर्सिङ पढ्नेहरूका लागि मुख्य गन्तव्य तथा केही मात्रामा एम.एस्सी. नर्सिङ तथा बी.एन.को गन्तव्य स्थल बैंग्लोर रहेको छ । बैंग्लोरका अधिकांश कलेज पैसाको भरले स्वीकृति लिने तर नवीकरण नगराउने गरेको पाइन्छ । बैंग्लोरको १० प्रतिशत नर्सिङ कलेजमा मात्र राम्रो पढाइ हुन्छ तर ९० प्रतिशतमा गुणस्तरहीन पढाइ हुन्छ । बैंग्लोरमा करिब २२५ नर्सिङ कलेज छन्, जसमध्ये १४४ कलेज फर्जी कार्यमा संलग्न छन्, जुन विभिन्न पत्रपत्रिकामा प्रकाशित खबर हो । कन्सल्टेन्सीमा एममुष्ट प्याकेजमा शुल्क बुझाउने गरेको तर त्यहाँ जाँदा विभिन्न बहानामा मोटो रकम असुल गर्ने चलन रहेको छ । कलेजले प्याकेजमा ६ लाख भने पनि ८ लाख उठाउँछन् । बैंग्लोरमा बी.एस्सी. नर्सिङ पढ्न ६ लाखदेखि १० लाखसम्मको प्याकेज शुल्क नेपालमै दलालहरूले विभिन्न कन्सल्टेन्सीमार्फत उठाउँछन् । 

नेपालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत ९ वटा, काठमाडौं विश्वविद्यालयअन्तर्गत ८ वटा तथा बी.पी. कोइराला स्वा.वि.प्रतिष्ठान, पाटन एकेडेमी अफ हेल्थ साइन्सेज, नेसनल एकेडेमी अफ मेडिकल साइन्सअन्तर्गत एक–एक वटा मेडिकल कलेजमा करिब २५०० (दुइ हजार पाँच सय) विद्यार्थी डाक्टर पढिरहेका छन् । यसरी सरसर्ती हेर्दा नेपालमा मेडिकल शिक्षाको अवस्था नर्सिङ भन्दा धेरै स्तरीय भएको देखिँदैन ।

नेपालमा अभिभावकहरूले आफ्ना क्षमताले नभ्याएर, घर–जगा बिक्री गरी तथा ऋण लिएर छोराछोरीलाई डाक्टर पढाउने गरेको पाइएको छ । हाल नेपालमा पूर्ण छात्रवृत्तिअन्तर्गत ४ देखि ५ लाख, आंशिक शुल्कमा ३५ देखि ४० लाख तथा पूर्ण शुल्कमा ७० देखि ७५ लाख रूपैंयाँ तिरेर एम.बी.बी.एस.को पढाइमा लगानी गर्दै गरेको देखिइएको छ । त्यस्तै हाल नेपालमा बि.एस्सी. नर्सिङका लागि १२ लाखसम्म खर्च गरेको देखिन्छ ।

कुनै पनि स्वास्थ्य संस्थामा नर्सिङ सेवा एउटा बृहत् र महत्वपूर्ण सेवाका रूपमा रहेको हुन्छ ।

नर्सिङ सेवामा बौद्धिक क्षमता, दक्षता, ज्ञान तथा सीपको प्रयोग गरेर मानवीय पीडा कम गर्न सहयोग गर्छन् र उक्त पीडाबाट बचाउन मद्दत गर्छन् । नर्सहरूले सर्वप्रथम सेवाग्राहीको समस्या पहिचान गर्छन् । उक्त समस्याको लेखाजोखा गर्छन् । आवश्यक रननीति तयार पारी कार्यान्वयन गर्छन् र गरेको कामको परिणामको मूल्यांकन गर्छन् । नर्स भन्नाले सामान्यतया डाक्टरले अह्राएको काम गर्ने महिला स्वास्थ्यकर्मी भन्ने बुझिन्छ । तर परिवर्तित समाजमा नर्सिङले अलग्गै पहिचान बनाइसकेको छ र ठूलो फड्को मारी विभिन्न क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेको छ ।

नेपालमा हाल अ.न.मी., स्टाफ नर्स, बी.एन. र बी.एस्सी. नर्सहरूले वेडसाइड सेवा गरेको पाइन्छ । बी.एन., बी.एस्सी. नर्स र एम.एस्सी. नर्सहरू शिक्षण पेसामा आबद्ध छन् । हाल नेपालमा सी.टी.ई.भी.टी., टी.यु., पी.यु., के.यु., नेमस तथा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नर्सिङको पढाइ भैरहेको छ । यसका साथै भारतबाट पनि धेरै नर्स बी.एस्सी. अध्ययन गरी नेपालमा कार्यरत छन् । नेपालमा अ.न.मी.को दरबन्दी जिल्ला अस्पतालसम्म मात्र भएको पाइन्छ तर व्यवहारमा हेल्थपोस्टदेखि मेडिकल कलेजहरूमा समेत काम गरेको पाइएको छ । धेरै वर्षअघि अमेरिकामा रजिस्टर्ड नर्स हुनका लागि कम्तीमा ब.एस्सी. नर्सिङ गरेको हुनुपर्ने नीति पारित भएको छ । भारतमा पनि स्टाफ नर्स पढ्न कम्तीमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्छ । अधिकांश विकसित मुलुकमा नर्सहरूलाई विभिन्न क्षेत्रमा विशेषज्ञ तालिम दिई सेवामा लगाइन्छ ।

नेपालमा कति नर्सको दरबन्दी चाहिन्छ, कुन–कुन तहको दरबन्दी सिर्जना गर्नुपर्छ तथा कुन–कुन क्षेत्रमा विशेष तालिमको व्यवस्था गर्नुपर्छ सबै कुरा स्पष्ट हुनुपर्छ । मेडिकल कलेजहरू, विशेष सेवा दिने अस्पतालहरू तथा सुपर स्पेस्यालिटी सेवा प्रदान गर्ने संस्थाहरूको कुन–कुन स्तरको, कति अनुपातमा नर्स चाहिने हो सोको प्रष्ट नीति बनाई स्वास्थ्य मन्त्रालयले लागू गर्नुपर्ने देखिन्छ । नेपाल नर्सिङ परिषद्ले पनि नर्सिङ शिक्षा तथा नर्सिङ सेवाको क्षेत्रमा स्पष्ट नीति बनाई सर्वसाधारण तथा आधिकारिक व्यक्तिहरूलाई जानकारी गराई कडाइका साथ निगरानी गर्नुपर्ने देखिन्छ । नर्सिङ्ग क्षेत्र संग सम्बन्धित स्वास्थ्य मन्त्रालय, नेपाल नर्सिङ परिषद्लगायतका संस्थाहरूले ठोस नीति बनाई कडाइका साथ व्यवहारमा लागू गर्नुपर्ने नितान्त आवश्यक भैसकेको छ । ठोस स्वास्थ्य नीति तर्जुमा गर्न नेपाल नर्सिङ संघको भूमिका पनि अहम् हुन्छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्