संकटमा घरेलु व्यवस्थापन

लक्ष्मी भण्डारी थापा

पुस १९, २०७२संकटमा घरेलु व्यवस्थापन

नेपालीहरूलाई अहिले ठूलो समस्याले सताएको छ । हरेकको घरमा असहज परिस्थिति सिर्जना भएको छ । नेपाली जनता राजनीतिक संकटका साथै बाँच्न पाउने अधिकारबाट पनि वञ्चित भएका छन् । ग्यास, मटीतेल तथा पेट्रोलियम पदार्थको अभावमा दु:ख भोगिरहेका नेपालीहरूले अब कस्तो विकल्प खोज्ने वा यस्तो अवस्थामा घरको व्यवस्थापन कसरी गर्ने ? 

सहयोगी : विमिन एक्ट, रूपान्तरणका लागि महिला ऐक्यबद्धता, टंगाल, भाटभटेनी

 

 

रजनी प्रधान, अन्तर्राष्ट्रिय महिला सह–संयोजक, गैरआवासीय नेपाली संघ

नाकाबन्दी हामी नेपालीका लागि भूकम्पभन्दा ठूलो प्रकोप हो । दोष कसलाई दिने ? सरकारलाई कति भन्ने ? हामी आफैले सोच्नुपर्ने अवस्था आइसकेको छ । हामी एकदमै परनिर्भर भयौं । हामी डायस्पोरामा बस्नेहरू सदा यहीँकै समस्याका बारेमा कुरा गर्छौं । यस्ता समस्याका बीच पनि हामीलाई जन्मभूमि नै प्यारो लाग्छ । मैले त्यहाँ जे गर्छु मुलुकका लागि हो । हरेक देशका एनआरएन हामी यतिबेला औषधिको आपूर्तिमा लागेका छौं । वैकल्पिक रूपमा बायोग्यास, सुधारिएको चुल्हो आदिमा जोड दिनुपर्‍यो । मुख्यत: मुलुकमा आइपरेका यस्ता विकराल समस्या हल गर्न सरकार नै अग्रसर हुनुपर्‍यो । हामी विदेशमा बस्नेहरू आफ्नै देशमा लगानीको सही वातावरण खोजिरहेका छौं । 

 

 

 

 

मेरिन लोप्चन राई, व्यवसायी

देशको अवस्थाले प्रत्येक घरमा नकारात्मक असर पारेको छ । सरकारलाई पनि हामीले आफ्ना समस्याका बारेमा घचघच्याउनुपर्छ । यो राष्ट्रिय समस्या भएकाले सरकारले नै समाधानमा जोड दिनुपर्छ । अहिले म इन्डक्सन प्रयोग गरिरहेकी छु । यस्तो बेला सरकारले विद्युत्मा सहुलियत दिनुपर्छ । हामीले घरमै उत्पादन गर्न सकिने अग्र्यानिक तरकारी, सोलार पावरजस्ता विषयमा सचेत हुनुपर्छ । पहिले म अनेकन परिकार पकाउँथें भने अहिले दुईथोक मात्र पकाउँछु । अहिलेको घटनाले हामीलाई परनिर्भर हुनुहुन्न भनेर पाठ सिकाएको छ । त्यसैले अब त्यस्तो कार्यक्रम अगाडि ल्याऊँ जुन महिलाका लागि संकटका बेला उपयोगी होस् । व्यक्तिगत रूपमा घरका लागि मात्र गर्न सकिन्छ तर समग्र नागरिकको ऐक्यबद्धताद्वारा सरकारलाई दबाब दिन आवाज उठाउनुपर्छ । अहिलेको घटनाले व्यवसायमा नराम्रो असर परेको छ । भारतबाट आउने मेरो सामान फर्किएर बैंकक पुगी नेपाल आयो अब ती सामान कसरी बेच्ने, कतिमा बेच्ने ? 

हेमा मानन्धर, इभेन्ट म्यानेजर

म कसैलाई गाली गर्दिन नराम्रो पनि भन्दिन । यो हाम्रो कारणले भएको होइन । हामीले आफ्नो अधिकार खोज्नुपर्छ । खान पाइँदैन भने पनि हामी झुक्दैनौं तर हामीमा पनि के समस्या छ भने हामी विकल्प राख्दैनौं । अबदेखि  सामान स्टोर गर्ने बानी बसाल्नुपर्छ । हामी हाम्रा लागि आफैं गरौं । हामी गर्न सक्छौं । अर्काको भर पर्ने बानी र संस्कार बदल्नुपर्छ । अहिले व्यावसायिक हिसाबले पनि अत्यन्तै कठिन छ । नम्र भएर धैर्यपूर्वक मुलुकलाई हेर्नुपर्ने बेला आएजस्तो लाग्छ किनभने यस्तै संक्रमणकाल पारेर अरूले हस्तक्षेप गर्न सक्छन् । कुर र हेरको अवस्थामा बस्नुपर्छ अलि दिन । यद्यपि त्यस्तो दिन आउन नदिऊँ जहाँ हामी सम्पूर्ण नेपाली आक्रामक हुनुपरोस् । 

 

 

 

रश्मिला श्रेष्ठ, सौन्दर्यविद्, रश्मिलाज फेसियल हाउस, काठमाडौं मल

घरमा इन्डक्सन चुल्हो चलाइरहेकी छु । घरमा सानो बच्चा भएकाले विद्युतीय उपकरणबाट नै पानी तताउने, खाना पकाउने आदि काम गर्नुपरेको छ । व्यवसायमा अत्यन्तै नकारात्मक असर पारेको छ । सरकारले गर्नै नसक्ने कुरामा हामीले पनि दोष दिनु भएन । त्यति ठूलो भूकम्प आउँदा त सहेर बसियो । यो घडीमा पनि केही समय धैर्य गरौं । आफूसक्दो विकल्प खोजौं । आफ्नो समाजलाई सक्दो सहयोग गरौं । यस्तो अवस्थामा सबै मिलेर समस्या समाधान गर्नेतर्फ सोचौं । सरकारले पनि सचेत भएर छिटोभन्दा छिटो मुलुकमा आइपरेको समस्या समाधानमा प्राथमिकता दियोस् । 

 

 

 

 

 

 

 

 

 

गंगा पन्त, संस्थापक अध्यक्ष, जनप्रिय महिला संघ तथा समाजसेवी

सक्नेले स्टोर गर्लान् तर मध्यम वर्ग वा निम्न वर्गले के गर्ने ? अघोषित नाकाबन्दीले हामी सबैलाई यस्तो असर पुर्‍याएको छ । ग्यासको ठाउँमा दाउरा बालेका छौं । राइस कुकरमा पानी उमालेर दाल पकाइरहेका छौं । संकटको घडीमा आफूसक्दो व्यवस्थापन गरिरहेका छौं । यसरी कति दिन गुजारा गर्ने ? यो समस्या समाधानका लागि सरकारकै भूमिका महत्वपूर्ण छ । सरकारले पनि मुलुकका लागि विकल्प राखेन । यतिबेला भारतको विकल्प भैदिएको भए यस्तो अवस्था आउने थिएन । अहिले थुप्रै महिला देशको नेतृत्वमा हुनुहुन्छ । उहाँहरूले महिलाका लागि गम्भीर भएर सोच्नैपर्छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्