कति स्वच्छन्द छन् महिलाहरू ?

नारी संवाददाता

पुस १७, २०७२ जीवनका कतिपय क्षण महत्वपूर्ण हुन्छन् । जीवनको अप्ठ्यारो पलबाट हामीले केही न केही सिक्नुपर्छ । यसमध्ये केही स्मरण यथावत् रहन्छन् भने केही मेटिन्छन् । महिलाहरूको जीवनमा पनि यस्ता क्षणहरू आइरहन्छन् । आज महिलाहरूको जीवन स्वतन्त्र छ । उनीहरू स्वेच्छाले आफूले चाहेको काम तथा जीवन यापन गरिरहेका छन् । पहिले झूटो आडम्बर तथा सामाजिक कुसंस्कारमा जकडिएको हाम्रो समाजमा महिलाहरूको स्थिति मायालाग्दो थियो । उनीहरूको स्वतन्त्रताका विषयमा अनेकौं प्रश्न पनि उठाइए । त्यसलाई रोक्न अनेक प्रयास पनि भए तथा महिलाहरूले आफ्नो अस्तित्वका लागि संघर्षपूर्ण बलिदान दिनुपर्‍यो । अहिले महिलाहरू पूर्णरूपमा स्वतन्त्र छन् तर समाजले उनीहरूको स्वतन्त्रतालाई आत्मसात् गर्न सकिरहेको छैन । अहिले पनि महिलाहरूका अगाडि अनेकौं बाधा छन् तर पनि यसलाई महिलाहरूले विस्तारै हटाउँदै अदम्य साहसी बन्दै पन्छाउँदै छन् । यद्यपि अघि बढ्दै जाँदा महिलाहरूमा अनेकौं प्रश्न पनि छन् । 
के महिलाहरू स्वतन्त्र छन् ? 
के उनीहरूको स्थिति राम्रो छ ? 
छ भने महिलाहरूले स्वतन्त्रताको अनुभव कसरी गर्दैछन् ? 
नराम्रो प्रथाको कुरा गर्ने हो भने केही कम भएको छ तर थुप्रै बाँकी नै छन् । दाइजो प्रथा, घरेलु हिंसा तथा यातनाजस्ता कुरा अझै छन् । अझ पनि समाजको सोचमा पर्याप्त परिवर्तन आएको देखिँदैन । समाजमा केही खुल्ला सोच राख्ने परिवारमा मात्र यस्तो परिवर्तन आएको छ तर यतिले मात्र पुग्दैन । महिलाहरूलाई सशक्त बनाउने हो भने उनीहरूका लागि सामाजिक, सांस्कृतिक तथा आर्थिक स्वतन्त्रता आवश्यक छ । स्वतन्त्रतालाई अनावश्यक रूपमा प्रयोग गर्दा त्यसले जीवनमा अनेकौं बाधा–अड्चन ल्याएका उदाहरण पनि प्रशस्त छन् । त्यसैले महिलाहरूले सचेत रूपमा पाइला चाल्नु आवश्यक छ ।
स्वतन्त्रताको अर्थलाई राम्रोसँग नबुझ्दा जीवनमा कठिनाइ उत्पन्न हुन्छ । 
केटा मान्छे रातभरि घुम्न सक्छन् भने हामी किन सक्दैनौं ? 
उनीहरू चुरोट पिउन सक्छन् भने हामी किन सक्दैनौं ? 
उनीहरू सम्बन्धमा बेइमानी  गर्न सक्छन् भने हामी किन सक्दैनौं ? 
माथिका प्रश्नले संकीर्णता दर्शाउँछन्  । महिलाहरूको स्वतन्त्रता पुरुषहरूसँग हरेक कुरामा प्रतिस्पर्धा गर्नु होइन । यस्तो स्वतन्त्रताले कुरीति निम्त्याउँछ जसमा समाज अड्किएको छ । आफ्नो हक, सुरक्षा आफ्नो आत्मसम्मानको रक्षा एवं आफ्नो अस्तित्व संरक्षणमा पाइला चाल्नुपर्छ र यसको सुरुवात आफ्नै घरबाट गर्नुपर्छ । 
यसका लागि :
महिलाहरूलाई शरीर ढाक्नुको साटो पुरुषहरूलाई महिलाको सम्मान गर्न सिकाउनुपर्छ । पुरुषहरूका लागि महिलाहरूको सम्मान तथा रक्षा गर्ने शिक्षा आवश्यक छ । 
आफू दिदी भएकोमा ग्लानि नगरी भाइलाई माया गर्नुपर्छ । 
जुन नियम तथा कानुन छोरीलाई लगाइएको छ छोरालाई पनि त्यही नियममा बाँध्नुपर्छ । बालबालिकाहरूलाई अनुशासनमा राख्न लिङ्ग भेद आवश्यक छैन । 
छोरीको जन्ममा खुसी मनाउने तथा दाइजोको विरोधमा आवाज उठाउन आफूलाई साहसी बनाउन आवश्यक छ । 
 पछिल्लो केही समयदेखि महिलाहरूले यसका लागि साहस पनि गरिरहेका छन् । यद्यपि यस्तो काम गर्ने महिला कमै छन् । यसमा अझ व्यापक परिवर्तनको आवश्यकता छ । 
बक्समा 
नेपालमा आत्महत्या एवं हत्या दाइजोका कारण पनि हुने गरेका छन् । 
अधिकांश महिला घरेलु हिंसा तथा यौन हिंसाको सिकार भएका छन् । 
पछिल्लो केही समयदेखि घरानियाँ परिवारका घटनाहरू पनि सार्वजनिक भएका छन् । जुन कुरा पढ्दा–सुन्दा डर लाग्छ । हाम्रो समाजमा पढेलेखेका सक्षम महिलाहरू पनि घरेलु हिसांको सिकार भएका थुप्रै उदाहरण छन् । 
पढेलेखेका सक्षम महिलाहरू के कारणले यातना सहन बाध्य छन्, मनन गर्नु आवश्यक छ । 
आफ्नो दाम्पत्य जीवन टुट्ने, समाजमा बदनामीको डरले, आमा–बुबाको दबाब एवं अन्य कारणले महिलाहरू अन्यायको विरोध गर्न सक्दैनन् । 
 बाहिरबाट स्वतन्त्र देखिने महिलाहरू पनि भित्री रूपमा अत्याचारको सिकार भएका छन् । उनीहरूलाई सुरुदेखि नै अर्काको घरमा जाने जात भनेर लालन–पालन गरिन्छ । हरेक समय उनीहरूले आफूलाई बाँधेर बाँच्नुपर्छ । उनीहरूलाई सुरुदेखि नै अर्काको घरका लागि तयार गरिन्छ । एउटी युवतीलाई सासू–ससुराकी आदर्श बुहारी, कर्तव्यनिष्ठ श्रीमती तथा ममतामयी आमाको भूमिकाका लागि तयार पारिन्छ । छोरीहरूको विवाह नहुने डरले बुबाआमा छोरीहरूलाई सम्झौतामा जीवन यापन गर्न दबाब दिन्छन् । 
जुन घरमा छोरीलाई बढी स्वतन्त्रता दिइन्छ त्यसैले पछि नकारात्मक परिणाम जन्माउँछ । यस्ता थुप्रै कुराले हामीकहाँ अझै पनि महिलाहरूको असली स्वतन्त्रता के हो पत्ता लगाउन सकिएको छैन । 
मीरा ढुंगाना अधिवक्ता 
स्वतन्त्रता भनेको स्पेस हो तर यसलाई कहाँ र कसरी प्रयोग गर्ने यकिन गर्नुपर्छ । 
हाम्रो समाज परिवर्तनको संघारमा छ र यो पूर्णरूपमा परिवर्तन भएको छैन । स्वतन्त्रताको अर्थ हामीले सही रूपमा बुझ्न सकेका छैनौं । 
स्वतन्त्रताको प्रयोगका लागि शिक्षा आवश्यक छ । सही शिक्षा आमाबुबाले मात्र दिन सक्छन् । 
हरेक कुराका दुई पक्ष हुन्छन् । यसमा आफूले सही तथा गलत पहिल्याउन सक्नुपर्छ । 
मानिसहरू स्वतन्त्रता भनेको सबैका लागि स्वतन्त्र भन्ने बुझ्छन् । तर जति धेरै स्वतन्त्रता उति धेरै जिम्मेवारी हुन्छ भन्ने बुझ्नुपर्छ । 

स्वतन्त्रतालाई चार भागमा विभाजन गर्नुपर्छ । काम गर्ने स्वतन्त्रता, संस्कार, परम्परा तथा नागरिकता । यही चार चीजले हामीलाई स्वतन्त्र बनाउँछ । तर यसलाई हामी कुन हिसाबले प्रयोग गर्छौं त्यसमै भर पर्छ । 
आफ्नो स्वतन्त्रताको प्रयोग राम्रा अवसर प्राप्त गर्नका लागि हुनुपर्छ । नयाँ–नयाँ कुरा सिक्न तथा त्यसलाई अवलम्बन गर्नका लागि हुनुपर्छ । 
विस्तारै महिलाहरूले आफ्नो स्थान प्राप्त गर्दैछन् । आत्मनिर्भर बन्दै छन् । आत्मनिर्भरताको प्रयोग राम्रोसँग गर्नुपर्छ । आर्थिक तथा मानसिक आत्मनिर्भरताको प्रयोग उचित तरिकाले गर्नुपर्छ । 
हाम्रा कतिपय सामाजिक परम्परा छन् जसको कुनै तुक छैन त्यस्ता परम्परालाई निर्मूल गर्दै जानुपर्छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्