अविवाहित रहनु अभिशाप होइन

नारी संवाददाता

पुस ३, २०७२ हाम्रो समाजमा कतिपय गलत धारणाले पनि स्थान पाउँदै गएका छन् । समाजमा खराब विचारहरूले स्थान पाएकै हुनाले कतिपय असल कुरा विलीन हुँदैछन् । जसले गर्दा समाजका सबै व्यक्तिले खराब कुरा मात्र देख्ने अनि सुन्ने गरेका छन् । हरेक कुराका दुई पाटा हुन्छन् । सबै विषयमा नकारात्मक पक्ष र सकारात्मक पक्ष बराबर हुँदैनन् । कुनै विषयको सकारात्मक पक्ष बढी हुन्छ भने कुनै विषयको नकारात्मक । कसले के कुरालाई बढी महत्व दिएको छ भन्ने कुरामा भर पर्छ । के अविवाहित रहनु अभिशाप हो वा समाजले हेर्ने दृष्टिकोण यस्तो हो ? अविवाहित रहर हो कि बाध्यता ? यिनै विषयमा अविवाहित महिलाद्वय अमलेखगञ्ज–१ की फूलमाया तामाङ तथा अमलेखगञ्ज–४ की मञ्जु थापा:
    मेरो नाम मञ्जु थापा, म ४६ वर्षीया अविवाहित महिला हुँ । जसले जसरी व्याख्या गरे पनि अविवाहित रहनु आफैमा चुनौती हो । म आठ दाजुभाइपछिकी सबैभन्दा कान्छी छोरी हुँ । मलाई परिवारले कहिल्यै विवाह गर्नैपर्छ वा नगर भनेनन् । विवाह गर्ने कि नगर्ने आफैंमा भर पर्ने कुरा हो । अन्तत: मैले मेरा आमाबुवाको चाहना पूरा गर्नु छ, छोरी नै भए पनि छोरासरह हिम्मत–आँट गर्न सके समाजमा जे पनि गर्न सकिन्छ भन्ने दृढ विश्वास लिएर अघि बढ्ने जमर्काे गरेकी छु । धेरैले विवाहको कुरा गरे पनि मलाई खासै प्रभाव परेन । अविवाहित त्यो व्यक्ति मात्र बस्न सक्छ जसको आत्मविश्वास र आत्मबल बलियो हुन्छ । देखासिकीका आधारमा विवाह गर्दिन भनेर बस्नाले व्यक्तिको जीवन घर न घाटको हुन्छ । मनमा आँट अनि गोजीमा गाँठ भए मात्र एक्लै बाँच्न सकिन्छ । मेरी आमाले धेरै पढेर जागिर खान सके विवाह गर्नु पर्दैन भन्नुहुन्थ्यो । त्यही प्रेरणाले मैले अविवाहित बस्ने अठोट गरें । भविष्यका बारेमा सोचेर चिन्तित हुुनु हुँदैन । बितेका दिनमा के भयो विगतमा भएका कमी–कमजोरीहरूलाई सुधार्ने र वर्तमानमा रमाउन सके जीवनयापन गर्न सहज हुन्छ । हाल म अमलेखगञ्जको ल्युव आयलमा प्रशासन अधिकृतका रूपमा काम गर्दैछु र आफ्नो जीवनप्रति सन्तुष्ट छु । 


यस्तै अमलेखगञ्जकी अर्की संघर्षशील महिला छिन् । उनी श्री सूर्योदय प्राथमिक विद्यालय ढुकुवावासकी प्रधानाध्यापक पनि हुन् । अविवाहित हुनुमा उनको धारणा यस्तो छ : मेरो नाम फूलमाया तामाङ हो । हाल म ४४ वर्षकी भएँ । म अविवाहित भएकोमा कहिल्यै पछुतो भएन । समाजमा यस्ता धेरै महिला देखेकी छु जो विवाह गरेर पछुताइरहेका छन् । सबैलाई त्यस्तै हुन्छ भन्ने पनि होइन । विवाह आफ्नो इच्छामा भर पर्ने कुरा हो । एक्लै पनि जिउन सकिन्छ । विवाह बन्धनमा बाँधिनै पर्छ भन्ने छैन । अविवाहित बस्दा धेरै कुराको सामना गर्नुपर्छ तर पनि म पूर्णरूपमा सन्तुष्ट छु । साहसी महिलाहरू एक्लै पनि बाँच्न सक्छन् । अविवाहित महिला अपवादमा पर्छन् । अहिले म विद्यालयमा पढाउँछु । हिजोका दिन मेरा लागि पक्कै पनि सहज थिएनन् । हिजो छोरी रजस्वला नहुँदै कन्यादान गर्न पाए आमाबाबुले मोक्ष प्राप्त गर्छन् भन्ने संस्कार थियो । त्यो संस्कारप्रति कुनै आपत्ति नजनाई, सहज ढंगबाट पहिले पढ्नुपर्छ भन्ने सोचेर आज यहाँसम्म आइपुगियो । हामी महिलामा पुरुषमा भन्दा बढी सहनशीलता, लगनशीलता, धैर्य, इमान्दारिता एवं आत्मविश्वास हुन्छ । ढुकुवावासका स्थानीय बासिन्दाहरूले फूलमायाले नै विद्यालय सम्हाल्न सक्छे भनेर मलाई यो विद्यालयको जिम्मेवारी सुम्पिए । आज म यहाँसम्म आउनुमा मेरी आमाको ठूलो भूमिका छ । आमाले कहिल्यै विवाह गर्नुपर्छ भन्नु भएन । छोरी भए पनि पढेर स्वावलम्बी बन्न सके विवाह नगरे पनि बाँच्न सकिन्छ भन्नुहुन्थ्यो । त्यसकै परिणाम आज म यो अवस्थामा आइपुगेकी छु । अविवाहित रहँदा स्वतन्त्रता हुन्छ, सबै निर्णय आफैले गर्न पाइन्छ, स्वनिर्भर भइन्छ भने समाजप्रति जिम्मेवारीबोध पनि हुन्छ । मेरो जीवनबाट म आनन्दित छु यसमा कुनै शंका छैन ।                                                                                             
समाजमा विभिन्न आरोप–प्रत्यारोपबीच अविवाहित महिलाहरूले धेरै किसिमका लाञ्छना सहनुपर्छ । जीवन जिउन साथीको आवश्यकता पर्छ, किन एक्लै जीवन बिताउने ? भन्नेहरू पनि धेरै छन् । तर जब जिउनेलाई एक्लै जिउँछु भन्ने लाग्छ भने किन कसैको करकापमा आएर विवाह गर्नुपर्‍यो ? हाम्रो समाजमा प्रतिष्ठित अविवाहित महिलाहरू पनि नभएका होइनन् । राजनीति, कलाकारिता, पत्रकारिताजस्ता विभिन्न क्षेत्रमा रहने अविवाहित महिलाहरूलाई पक्कै पनि आफ्नो स्थान बनाउन कठिन भयो होला । दुई दिनको जिन्दगी हो, जसलाई जसरी सहज हुन्छ उसले त्यसैगरी बाँच्न पाउनुपर्छ । यद्यपि यो समाजमा अविवाहित महिलालाई हेर्ने दृष्टिकोण नै फरक छ । ती महिलाहरूमाथि समाजले अनेक प्रश्न उठाउँछ । किन विवाह नगरेको ?, तिमी एक्लै कसरी बाँच्छ्यौ ?, बुढेसकालमा के गछ्र्यौ ? भन्ने प्रश्न मञ्जु–फूलमायालाई नगरिएको होइन । त्यसलाई सहज ढंगमा लिएर समाजको यही गलत सोच परिवर्तन गर्नुपर्छ भन्दै पुरुषबिनाको एक्लो जीवन अधूरो हुन्छे भन्ने मान्यतालाई गलत साबित गर्न सफल भएका छन्–उनीहरू । 
जीवनको अविरल यात्रा एक्लै पनि पार गर्न सकिन्छ भने किन बाँधिनुपर्‍यो बन्धनमा ? जन्मिनु, विवाह गर्नु, सन्तान जन्माउनु मात्र हो जीवन ? अवश्य होइन । गाउँमा बसेर समाज सेवा गरी अन्याय एवं अराजकताविरुद्ध आवाज उठाउनेहरू कहिल्यै एक्ला हुँदैनन् । त्यसैले मञ्जु र फूलमाया पनि एक्लै नभएको दाबी गर्छन् । समाजका लागि उनीहरू सधै अघि बढिरहेका छन् । त्यसैले फूलमाया र मञ्जु पनि अविवाहित रहनु रहर हो अभिशाप होइन भन्छन् ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्