फोनको स्मार्ट प्रयोग

नारी संवाददाता

मंसिर २८, २०७२

मोबाइल, हरेकको साथी यन्त्र, यसको प्रयोग आवश्यकता र प्रतिस्पर्धाले निकै बढाएको छ हिजोआज । दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार नेपालमा प्रत्येक १ सय जनामा ६३ जनासँग मोबाइल फोनको पहुँच पुगिसकेको छ । त्यसैले स्कुल, कजेल, पुस्तकालय, मेलादेखि सार्वजनिक यातायात जहाँ विभिन्न खालका मानिस जम्मा हुन्छन् त्यहाँ मोबाइल बोक्नेहरूको संख्या उल्लेख्य हुन्छ । नेपाल टेलिकम र एनसेलका मोबाइल सजिलै पाइने भएपछि त धेरैको गोजीमा दुईवटा नेटवर्कका सीम छन् । प्रिपेड, पोस्टपेड अनि एनसेल र नेपाल टेलिकमका गरेर कम्तीमा दुईवटा मोबाइल फोन बोक्नु शान मात्र नभएर आवश्यकता पनि भैसकेको छ । नेटवर्कको गुणस्तर अनि कल शुल्कले पनि दुईवटा मोबाइल बोक्नुपर्ने अवस्था आएको हो । स्मार्ट फोनमा अनेकौं सुविधा भएपछि त मोबाइल बोक्नेहरू त्यसै स्मार्ट भएका छन् ।

ब्रान्ड अनि मूल्यले शानको विषय बन्न थालेको मोबाइल फोन बोक्दैमा स्मार्ट भइने होइन । शिष्टतापूर्वक मोबाइल प्रयोग गरियो भने मात्र स्मार्ट फोन बोक्नेहरू स्मार्ट हुन सक्छन् । त्यसैले सार्वजनिक स्थलमा मोबाइल प्रयोग गर्दा अरूलाई बाधा नपुगोस् भन्ने कुरामा पनि सावधानी अपनाउनुपर्छ । मोबाइलमा उपलब्ध सुविधाहरूसँगै त्यसलाई कसरी प्रयोग गर्ने भन्ने आइडिया भयो भने स्मार्ट फोन भएकाहरू स्मार्ट भएको मानिन्छ । वास्तवमा फोनको स्मार्ट प्रयोगकर्ता त्यो हो जसले फोनमा भएको सुविधालाई समयअनुसार प्रयोग गर्न सक्छ । मोबाइल फोन प्रयोगको शिष्टाचार स्थान र समयअनुसार फरक हुनसक्छ ।

सार्वजनिक स्थल, अस्पतालमा भाइब्रेसन मोड

सार्वजनिक स्थलमा मोबाइल फोन चर्को रिटोन बज्ने गरी राख्नुहुँदैन । सार्वजनिक स्थल भन्नाले सिनेमा हल, पुस्तकालय, नाटक घर, बैठक, सभा–सम्मेलन आदि ठाउँमा छेवैमा बसेको मानिसको चर्को रिङ टोन एवं मोबाइल वार्तालाप कसैलाई मन पर्दैन । सिनेमा तथा नाटकका महत्वपूर्ण संवाद नै नबुझिने अवस्था सिर्जना गर्छ मोबाइलले । अस्पताल जहाँ मानिस दु:ख र समस्या परेपछि मात्र जान्छन्, जहाँ बिरामीले पीडा अनुभव गरिरहेको हुन्छ भने आफन्तलाई खर्च जुटाउने समस्या । त्यस्तो स्थानमा कसैलाई पनि मोबाइल बजेको राम्रो लाग्दैन । त्यसैले सार्वजनिक स्थल र अस्पतालमा मोबाइललाई भाइब्रेसन मोडमा राख्नुपर्छ ।

सवारी चलाउँदा कुरा नगर्ने

मोबाइल फोन संकटको साथी हो । संकटमा सहयोग जुटाउन यो नै सबैभन्दा धेरै काम लाग्छ तर यसको प्रयोग सही रूपमा सही तरिकाले नगरेको खण्डमा यही नै संकट निम्त्याउने कारण पनि बन्न सक्छ । विशेष गरेर मोटरसाइकल वा गाडी चलाउँदा यसको प्रयोग गर्दा ध्यान अन्तै मोडिएर दुर्घटना हुने सम्भावना हुन्छ । मोबाइलको कुराकानीले आफू र सडकमा हिँडिरहेका अरूको ज्यान खतरामा पार्न सक्छ । त्यसैले सवारी चलाउँदा फोनमा कुराकानी गर्नुहुँदैन । महत्वपूर्ण फोन छ भने सवारीलाई छेउ लगाएर कुराकानी गर्न सकिन्छ ।

आवाज सानो गर्ने

विशेष गरेर धेरै मोबाइल फोन प्रयोगकर्ता भएको काठमाडौंमा मोबाइल कुराकानी नेटवर्ककै कारण बुझ्न नसकिने हुन्छ । त्यसैले मानिसहरू फोन आउनासाथ ठूलो स्वरमा कुरा गर्छन् तर सार्वजनिक स्थल तथा सार्वजनिक यातायातमा यसरी कुराकानी गर्नु राम्रो हुँदैन । यसले फोनमा के कुरा भैरहेको छ त्यसको गोपनीयता त रहँदैन नै आफ्नो छेउमा बसेका मानिसलाई पनि डिस्टर्ब हुन्छ । कतिपय अवस्थामा आफूले प्रयोग गरेका शब्दले आफ्नै मान–प्रतिष्ठा घट्नसक्छ । त्यसैले मोबाइलको कुराकानीमा त्यत्रो मात्र आवाज निकालौं जति आफ्नो कानमा पुग्न पर्याप्त हुन्छ । आफ्नो आवाज चर्को भएजस्तो लागे मुख र फोनलाई हातले छोप्नुपर्छ ।

मोबाइल नखेलाउने

कसैसँग भेट गर्दा कुराकानी सुरु हुनुअघि नै मोबाइललाई स्वीच अफ वा साइलेन्ट मोडमा राख्नुपर्छ । त्यसो भएन भने कुराकानीको बीचमा आउने फोनले क्रम मात्र भंग गर्दैन अशिष्ट छवि पनि देखिन्छ । कतिपयको बानी कुराकानी गर्दा मोबाइल हातमा खेलाउने हुन्छ जसले सामुन्नेको मानिसलाई कम महत्व दिएको अर्थ लाग्छ । त्यसैले कुराकानीका क्रममा हातमा मोबाइल लिनु हुँदैन । कुराकानीका क्रममा महत्वपूर्ण फोन आए कुराकानी गरिरहेको मानिसको अनुमति लिएर फोन उठाउनु भने शिष्ट नै मानिन्छ ।

धार्मिक स्थानमा नलाने

मन्दिरमा पूजा–आराधनाका लागि जाने भएकाले त्यहाँ जाँदा मोबाइल फोन लिएर जानु वा मन्दिर परिसरमा मोबाइलमा गफिएर बस्नु राम्रो होइन । मानिसहरू धार्मिक भावनाले मन्दिर पुगेका हुन्छन् । लामो लाइनमा भोकै बसेका मानिसलाई कसैको पनि मोबाइलको रिङ टोन वा कुराकानी मन पर्दैन । त्यसो त महत्वपूर्ण मन्दिरहरूमा मोबाइल लान निषेध छ । मूर्ति एवं गहनाका तस्बिर सार्वजनिक भएपछि धेरै मन्दिरमा चोरीका घटनाहरू बढेका छन् । फोटो खिच्न मिल्ने र भिडियो रेकर्ड गर्न पनि सकिने भएकाले मोबाइल मन्दिरमा सुरक्षाको प्रयोजनले पनि लान दिइँदैन । त्यसैले मन्दिर बाहिरको लकरमा राख्नुभन्दा मोबाइल फोन नै नलानु राम्रो हुन्छ । आखिर मन्दिर जाने पूजा गर्न हो भगवान्सँग मोबाइलमा कुरा गर्न होइन ।

स्कुल–कलेजमा स्वीच अफ

कतिपय कलेजमा मोबाइल फोन लिएर जान छुट छ भने कतिपयमा छैन । विश्वविद्यालयका कक्षामा पनि मोबाइल फोन चलाउन पाइँदैन । कलेजमा मोबाइल बोक्नेहरूले पढाइ भैरहेका बेला पनि एसएमएस अनि एमएमएस पठाउने र बनाउने काम गरिरहेका हुन्छन् । त्यसो त सामाजिक सञ्जालमा अपडेट पनि कक्षा चलिरहेको समयमै भैरहेको हुन्छ । स्कुल–कलेज पढ्नका लागि जाने भएकाले सबैले पढाइमा ध्यान लगाउन जरुरी छ । मोबाइल चलाउँदा त्यसले आफू र आफ्ना साथीहरूको भविष्यलाई प्रभावित गर्छ । आफूले मोबाइल फोन चलाउँदा पूरै कक्षा अवरुद्ध हुनसक्छ । त्यसैले कक्षामा मोबाइल अफ गरे न त सामाजिक सञ्जाल चलाउन मन लाग्छ न गेम खेल्न नै ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्