पशु अधिकार

लक्ष्मी भण्डारी थापा

मंसिर २५, २०७२ पशु अधिकार

महात्मा गान्धीले भनेका थिए, ‘कुनै पनि देश कति महान् छ हेर्नलाई त्यहाँ मानिसले पशुहरूसँग गरेको  व्यवहारलाई हेनुपर्छ ।’ संविधानसभाबाट नयाा  संविधान बनाउने अभियान चलिरहेको यो बेला गान्धीको उक्त भनाइ कोट्याउनु सान्दर्भिक हुनसक्छ । सबै जातजाति, भाषाभाषी एवं लिंगका मानिस आफ्ना अधिकार सुरक्षित गर्न संघर्षरत भैरहेका बेला नारा जुलुस गरेर आफ्नो माग राख्न नसक्ने विचरा पशुतर्फ सम्भवत: कसैको ध्यान गएको छैन । भन्नलाई कृषिप्रधान मुलुक भनिए पनि ६०१ सभासदमध्ये कति कृषि विशेषज्ञ र पशुविशेषज्ञ छन् ? के संविधान बनाउँदा पशु विज्ञहरूको आवश्यकता नपर्ला ? पशुजन्य वस्तुको उपभोग चाहनाले एकातिर प्राकृतिक स्रोतमाथि अत्यधिक शोषण भैरहेको छ भने अर्कोतिर जीवहरूको निर्भीकतापूर्वक बाँच्न पाउने अधिकार खोसिएको  छ । कृषिमा आधारित यो देशमा पशुपालनको ठूलो महत्व छ ।

विवेकशील प्राणी भएका नाताले सृष्टिको संरक्षण गर्नु मानव कर्तव्य हो । पृथ्वी सबैको साझा हो । यसमा बास गर्ने सबै जीवलाई विद्यमान स्रोत समान रूपमा उपभोग गर्ने एवं निर्भर्ीकतापूर्वक प्राकृतिक जीवनयापन गर्ने अधिकार छ । आर्थिक, सामाजिक एवं वातावरणीय दृष्टिकोणबाट पशुपन्छी मानवका लागि धेरै महत्वपूर्ण छन् । वातावरणीय दृष्टिकोणबाट हेर्ने हो भने विश्वका कुनै पनि जीवजन्तुको अस्तित्व संकटमा पर्न गए मानव जीवन पनि संकटमा पर्छ । जीवजन्तु एक–अर्काप्रति निर्भर हुन्छन् । अझ पशुपन्छीको त मानवमाथि यति धेरै अनुकम्पा छ कि गास, बास, कपास तथा जीवनमा आइपर्ने आवश्यकताका अधिकतम चीज तिनैले पूरा गरेको देखिन्छ ।

पशुपन्छीमाथि गरिने निर्दयता केलाई भन्ने प्रश्न व्यक्ति, समाज र राष्ट्रपिच्छे फरक हुन सक्छ । समष्टिमा भन्नुपर्दा मानिसका जुनजुन क्रियाका कारण पशुपन्छीले दु:ख–पीडा बेहोर्नुपर्छ त्यही निर्दयता हो । अब बन्ने नयाँ संविधानमा पशुपन्छीको अधिकार सुरक्षित गर्न हाम्रो समाजमा हुने गरेको निर्दयतालाई ध्यान दिनु आवश्यक छ किनभने पशुका सन्दर्भमा समाज त्यति संवेदनशील हुन सकेको छैन ।

–संरक्षण तथा मनोरञ्जनको नाममा प्राकृतिक वासस्थानबाट ल्याई अव्यवस्थित एवं कष्टपूर्ण तवरले चिडियाखानामा राखिन्छ ।

–गाईगोरुबाट लिन सकुन्जेल फाइदा लिइन्छ जब काम दिन नसक्ने हुन्छन् तिनलाई सडकमा छाडिन्छ वा कष्ट दिएर मारिन्छ ।

–हाँस वा कुखुरालाई निर्जीव वस्तुसरह उँधोमुन्टो लगाई झुन्ड्याएर साइकलमा, मोटरसाइकलमा ओसारपसार गरिन्छ । 

–एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा राँगा–भैंसीलाई ज्यादै कष्टपूर्ण तरिकाले ट्रकमा ओसारिन्छ ।

–दूध दिन छोडेपछि बिरामी तथा बूढा भैसींलाई काटिन्छ ।

–परम्परा तथा धर्मका नाममा लाखौं जनावरलाई निर्ममतापूर्वक रेटेर मारिन्छ ।

–पशुको क्षमता र स्वास्थ्य अवस्था ध्यानमा नराखी भारी बोकाइन्छ ।

–जनावरको मासु उत्पादन बढाउन विभिन्न किसिमका हार्मोन प्रयोग गरिन्छ ।

–सौन्दर्य प्रशोधन कम्पनीले ल्याव टेस्टका नाममा पशुमाथि हानिकारक केमिकल प्रयोग गर्छन् ।

–सहर सफा र स्वच्छ राख्ने नाममा भुस्याहा कुकुर एवं छाडा पशुपन्छीलाई विष दिएर अमानवीय तरिकाले मारिन्छ ।

पश्चिमी मुलुकमा पशुसँग दुव्र्यवहार गरे मानिसलाई कडा सजाय दिइन्छ । पशु कल्याणका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरू दिनरात काम गरिरहेका हुन्छन् । हाम्रै छिमेकी भारतमा पनि पशु अधिकारका लागि धेरै काम हुन थालेका छन् । पश्चिमी मुलुकमा त आफूले पालेको पशुमाथि दुव्र्यवहार गरेको पाइएमा जेल सजाय हुने प्रचलन छ । हामीकहाँ भने सरकारी नीति–नियम कडा नभएकाले नै छाडा पशु एउटा ठूलो समस्या हुन पुगेको हो । पशु बधशालाको अभावमा अमानवीय ढंगले खुला ठाउामा पशुबध गरिन्छ । बालबालिकाका अगाडि गरिने यस्ता क्रियाकलापले बालमस्तिष्कमा हिंसात्मक छाप पर्नसक्छ । यावत् कुराहरूलाई ध्यानमा राखेर अब बन्ने नयाँ संविधानमा सम्बन्धित विज्ञहरूको सल्लाह लिएर पशुपन्छीको हकहितका लागि पनि नीति–नियम निर्माण गर्नुपर्छ तब मात्र नयाँ संविधान सबैलाई स्वीकार्य हुनेछ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्