आमाको दूध नै किन ?

नारी संवाददाता

मंसिर २२, २०७२

आधुनिक समाजमा शिशुलाई स्तनपान गराउने कुरामा आमाको रुचि एकदम कम भएको देखिन्छ । सहरी अथवा त्यसको हावाले छोएका तथा उच्च वर्गका महिलाहरू भरसक नानीको मुख दूधको मुन्टामै पार्न नपाए हुन्थ्यो भन्छन् । आज बोतल फिडिङ (कृत्रिम दुग्धाहार) अथवा कृतिम दूधको प्रयोग बढेको छ । बजारमा पाइने कृत्रिम दूध तथा आमाको दूधमा केही फरक छैन भन्ने कुराहरू पनि सुनिन्छन् साथै कृत्रिम दूध बढी पौष्टिक तत्त्वयुक्त तथा शिशुका लागि शक्तिदायक हुन्छ भन्ने कुरा पनि प्रचार–प्रसारमा देखिन्छ, सुनिन्छ । यस्तो प्रचार–प्रसारबाट समाजलाई हानि भैरहेको छ । कृत्रिम दूध कहिल्यै आमाको दूधजस्तो सन्तुलित भोजन वा आहार हुन सक्दैन साथै त्यसमा प्रतिरक्षात्मक पदार्थको अभाव हुन्छ जुन आमाको दूधबाट शिशुमा स्थानान्तरण हुन्छ ।

स्तनपान गराउने रुचि किन हराउँदैछ ? 

आजभोलि स्तनपान गराउँदा आमाको सुन्दरता तथा फुर्ती हराउँछ र समाजले हेय दृष्टिले हेर्छ भन्ने एउटा अनौठो भावना उत्पन्न भएको छ । राम्रो ढंगबाट स्तनपान गराए त्यस्तो सम्भावना रहँदैन । बाहिर काम गर्ने आमाहरूका लागि त शिशुको हेरचाह गर्ने, स्तनपान गराउने स्थान तथा व्यवस्थाको अभाव हुन्छ किनभने स्तनपान गराउन ठाउँ व्यवस्थित नभए लज्जा तथा संकोचले गर्दा यो कार्य आफैंमा बोझ बन्छ । अर्कातिर बोतल फिडिङ आधुनिक, उच्च अथवा वैभवयुक्त वर्गका लागि प्रतिष्ठाको प्रतीक बनिसकेको छ । जसको नकारात्मक असर लामो समयसम्म स्तनपान गराउने महिलाहरूमा परेको छ, उनीहरूमा यसले हीनभावना उत्पन्न गराएको छ ।

आमाको दूध किन सर्वोत्तम ?

शिशुको शारीरिक तथा मानसिक विकासका लागि आमाको दूध नै सर्वोत्तम आहार हो । आमाको दूध ख्वाउनाले आमा तथा शिशुको भावनात्मक सम्बन्ध राम्रो हुन्छ । जुन शिशु आमाको दूधबाट वञ्चित छ ऊ साधारण चोट सहन नसकी जटिल समस्यामा पर्छ । आमाको प्रारम्भिक २–४ दिनको दूधमा कोलोन्ट्रोम भनिने एउटा गाढा पहेंलो रंगको द्रव्य हुन्छ जसमा ‘प्रोटिन’ तथा ‘खनिज पदार्थ’ बढी मात्रामा तथा कार्बोहाइड्रेड र चिल्लो पदार्थ कम मात्रामा हुन्छ । यसमा जीवाणु तथा भाइरससँग लड्ने प्रतिरक्षात्मक पदार्थ र अन्य विशिष्ट गुण भएका प्रोटिन एवं सेतो रक्तकणसमेत हुन्छ । 

तीन–चार दिनको दूधको विशेषता 

प्रोटिन : आमाको दूधमा गाईको दूधमा भन्दा डेढ गुणा कम प्रोटिन हुन्छ । केसिन, प्रोटिनको मात्रा गाईभन्दा ६–७ गुना कम हुन्छ । त्यसकारण शिशुहरूले गाईको दूधको तुलनामा यसलाई सजिलैसँग पचाउँछन् । यसले पेटमा रोग हुन दिँदैन तथा विकासका लागि आवश्यक सबै विशिष्ट एमिनो एसिडको मात्रा पर्याप्त हुन्छ ।

चिल्लो पदार्थ : यसको मात्रा पनि गाईको दूधमा भन्दा सवा गुणा कम हुन्छ । सबैभन्दा प्रमुख कुरा आमाको दूधमा पाइने चिल्लो पदार्थ अत्यन्त शक्तिशाली हुन्छ । जुन शिशुको मस्तिष्क विकासका लागि अति आवश्यक हुन्छ । यसले रक्तनलीमा कोलोन्ट्राल किपिड जम्मा हुनबाट बचाउँछ । 

कार्बोहाइड्रेड : यसमा सुगर लेक्टोज हुन्छ । आमाको दूधमा लेक्टोज डेढ गुणा बढी हुन्छ । यसले पाचन शक्ति बढाउँछ । यसबाहेक तीव्र गतिमा विकास भैरहेको मस्तिष्कलाई लेक्टोज आवश्यक हुन्छ।

लौहतत्त्व तथा अन्य खनिज पदार्थ : यो तत्त्व आमाको दूधमा कम मात्रामा हुन्छ । त्यसैले ५–६ महिना पुगेका शिशुलाई दूधबाहेक अरू चीज पनि ख्वाइन्छ । आमाको दूधमा क्याल्सियम एक तिहाइ मात्र हुन्छ तर यसको अवशोषण अन्य स्रोतद्वारा उपलब्ध क्याल्सियमको दाँजोमा २–३ गुणा बढी हुन्छ । 

भिटामिन : यसको मात्रा आमाको दूधबाट ४–६ महिनासम्म पुग्छ । यसमा भिटामिन ‘डी’ जुन कम मात्रामा हुन्छ सूर्यको ताप छालामा प्रवेश गरेर संश्लेषित हुन्छ । दूधमा भएको भिटामिन ‘सी’ तताउँदा नष्ट हुन्छ भने आमाको दूधमा सञ्चित रहन्छ । 

प्रतिरक्षात्मक पदार्थ : यसले बालबालिकाको आँत तथा श्वासनलीलाई रोगहरूबाट बचाउँछ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्