व्यक्तित्व विकासमा आफ्नै मूल्यांकन

रोजिन शाक्य

मंसिर ११, २०७२ 

आत्ममूल्यांकन वा सेल्फ अप्रेजल प्रक्रियाले पर्फमेन्समा विशेष भूमिका निर्वाह गर्छ । त्यसैले यसलाई वर्षभरको कामको लेखाजोखा पनि भनिन्छ । तर सावधानी अपनाउनु अत्यन्त जरुरी छ । सावधानी र सजगताले सफलता प्रदान गर्ने कुरा निर्विवाद छ ।

वर्षभरिको कार्यलाई एउटा फारममा समेट्ने प्रविधि त्यति सजिलो पनि छैन । कर्पोरेट हाउसेजमा काम गर्नेहरूले यो प्रविधिबाट वर्षमा एकपटक अनिवार्य गुज्रनुपर्ने हुन्छ । आत्ममूल्यांकनको प्रक्रिया हरेक कर्मचारीको पर्फमेन्स अप्रेजलको प्रमुख हिस्सा हुन्छ । त्यसैमा उसको आगामी दिनको तलब र पद तथा जिम्मेवारी निर्भर हुन्छ । व्यक्तिले अरूको कामको विश्लेषण सहज रूपले गर्छ तर आफू स्वयंका बारेमा ऊ सोच्न बाध्य हुन्छ । आफ्नो प्रशंसा स्वयं गर्नु मपाईंत्व हुन्छ र स्वयंका लागि गरिएको कार्यको श्रेय नलिनु पनि प्रगतिको बाधक हुनसक्छ । विज्ञहरूका अनुसार सेल्फ अप्रेजल तरबारको धारमा हिँड्नु सरह हुन्छ । त्यसैले यसमा सन्तुलन कायम राख्नु अत्यन्त जरुरी छ । सेल्फ अप्रेजलका बेला केही कुरामा भने विशेष ध्यान दिनुपर्छ ।

इमान्दार रहनुपर्छ : आफ्ना उपलब्धि उल्लेख गर्दा आफू इमानदार रहनु महत्त्वपूर्ण हुन्छ । यदि कुनै उपलब्धि टिमवर्कको नतिजा हो भने त्यसमा टिमका अन्य सदस्यको महत्त्वलाई बेवास्ता गर्नुहुँदैन । विशेषज्ञहरूका अनुसार आफ्नो क्षमतालाई बढाएर विशेष रूपमा प्रस्तुत गर्ने र आफ्नो कमजोरीलाई लुकाउने काम पनि गर्नुहँुदैन । सेल्फ अप्रेजल फारममा भरसक आफ्नै धारणा राख्नुपर्छ । यस्तो फारममा अरू कसैका बारेमा राय व्यक्त गर्नु हुँदैन ।

पूर्ण तयारी राख्नुपर्छ : आमरूपमा सेल्फ अप्रेजलको समय निर्धारित हुन्छ । यदि आफ्नो सेल्फ अप्रेजलको मिटिङ कहिले हुन्छ भन्ने थाहा छ भने समयमै आफ्नो तयारी गर्नुपर्छ । वर्षभरिका आफ्ना उपलब्धिहरूको एउटा सूची बनाउनुपर्छ, जसले गर्दा त्यसलाई सम्झन सकिन्छ । यदि अफिसमा यो प्रक्रिया कुनै मिटिङमा हुन्छ भने स्वयं सबैभन्दा ठूलो हतियार हुने कुरालाई बिर्सनुहुँदैन ।

तौलेर कुरा गर्नुपर्छ : सेल्फ अप्रेजलका बेला शब्दहरूको सही प्रयोग गर्नुपर्छ । आफ्ना उपलब्धिहरूलाई उल्लेख गर्दा प्रयोग गरिने शब्दले आफ्नो उपलब्धिलाई हल्का रूपमा प्रस्तुत नगरोस् भन्ने कुरामा सचेत रहनुपर्छ । कम र सटिक शब्दमा आफ्ना कुरा राख्नुपर्छ ।

सकारात्मक रहनुपर्छ : सेल्फ अप्रेजलको प्रक्रियालाई कुनै साधारण कामका रूपमा लिने गल्ती गर्नुहुँदैन । आफूले लेखेका हरेक शब्द फाइलमा उल्लेख गरिएको हुन्छ । यो प्रक्रियामा पूर्णरूपमा सकारात्मक हुनुपर्छ । आफ्नो असफलताका सम्बन्धमा आफ्नो धारणा व्यक्त गर्न संकोच गर्नुहुँदैन । यदि आफ्नो गल्तीका कारण असफलता हात परेको छ भने त्यो गल्तीलाई भविष्यमा नदोहोर्‍याउने आश्वासन दिनुपर्छ । सेल्फ अप्रेजल गुनासो फारम होइन । कुनै पनि कुरा वा व्यक्तिप्रति नकारात्मक प्रवृत्तिबाट जोगिनुपर्छ ।

भविष्यका सम्बन्धमा प्रकाश पार्नुपर्छ : आफ्नो सफलता र असफलताका अतिरिक्त भविष्यका योजनाका विषयमा पनि कुरा गर्नुपर्छ । सेल्फ अप्रेजलमा भविष्यमा आफूले आफ्नो संस्थाका लागि के–कस्तो गर्ने चाहना राखिएको छ ? आफ्नो संस्थाको प्रगतिमा आफ्नो क्षमतालाई कुन रूपमा प्रयोग गर्ने हो स्पष्ट हुनुपर्छ । आफ्नो अल्पकालीन र दीर्घकालीन लक्ष्यका सम्बन्धमा पनि आफ्नो धारणा व्यक्त गर्नुपर्छ । मल्टिटास्किङको समयमा हरेक संस्था त्यस्ता कर्मचारीको प्रशंसा गर्छन् जो विभिन्न क्षेत्रमा उपयोगी साबित हुन सक्छ । आफ्नो उपयोगिता साबित गर्न सेल्फ अप्रेजलको अवसरलाई राम्रोसँग प्रयोग गर्न जान्नुपर्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्