चिकित्सक जोडी : डा. कुञ्जन तथा डा. सञ्जिता

नाक, कान, घाँटी र आँखा नजिक–नजिकका अंग भएकाले उनीहरू एकले अर्काकहाँ बिरामी रिफर गरेर सहयोग गर्छन् ।

सिर्जना दुवाल श्रेष्ठ

मंसिर ६, २०७२

महाराजगञ्ज शिक्षण अस्पतालका नाक, कान तथा घाँटी विशेषज्ञ डा. कुञ्जन आचार्य तथा तिलगंगा अस्पतालकी आँखा विशेषज्ञ डा. सञ्जिता शर्माले एक–अर्कालाई चिनेको १५ वर्ष बितिसकेको छ भने उनीहरू जीवनसाथी भएको पनि १० वर्ष पुगिसकेको छ । दुवैको घर नजिकजस्तै भए पनि उनीहरूको भेट एमबीबीएसको पढाइका सिलसिलामा नेपालगञ्ज पुगेपछि मात्र भएको हो । सञ्जिता एमबीबीएस पढ्न नेपालगञ्ज पुग्दा कुञ्जन एक वषअर्घिदेखि त्यहाँ पढ्दै थिए । एउटै कम्पाउन्डभित्र रहेको होस्टलमा बस्ने यी दुईको भेट परिचयात्मक कार्यक्रमको सिलसिलामा भएको हो । परिचयपछि दुवै नजिकिए । एक वर्ष सिनियर कुञ्जनले सञ्जिताको पढाइमा सघाउन थाले । एक वर्ष सँगै बसेर पढे पनि अर्काे वर्ष सञ्जिता अध्ययनका क्रममा कोहलपुर पुगिन् । त्यतिबेलासम्म उनीहरूबीच आत्मीय सम्बन्ध स्थापित भैसकेको थियो । हरेक दिन एक–अर्कालाई भेटेर घन्टौं कुरा गर्ने यी दुईलाई यसरी टाढा बस्नुपर्दा सजायजस्तै भयो । जुन कुराको अनुभव उनीहरू टाढा भएपछि मात्र भयो । फलत: उनीहरू नभेटी रहन सकेनन् । हप्ताको एकपटक जसरी भए पनि समय मिलाएर भेट्न थाले । सञ्जिता थोत्रो ट्याम्पोमा बसेर कुञ्जनलाई भेट्न कोहलपुरबाट नेपालगञ्ज पुग्थिन् ।

सञ्जितालाई एरेन्ज म्यारिज मन पर्दैनथ्यो । हुन त उनको परिवारमा सबैको एरेन्ज म्यारिज नै भएको हो तर उनी लभ म्यारिज नै गर्ने पक्षमा थिइन् । सञ्जिता पहिलो परिचयात्मक भेटमा नै कुञ्जनप्रति आकर्षित भएकी थिइन् । उनी कुञ्जनको ह्यान्डसम, कुल लुक्स, साधारण देखिने र कम बोल्ने व्यक्तित्वबाट प्रभावित थिइन् । कुञ्जनलाई पनि बोल्ड, नेतृत्व लिन सक्ने खुबीे देखेर सञ्जितासँग विवाह गरे जीवन सुखी हुन्छ भन्ने लाग्थ्यो ।

सञ्जिता बोलिरहने, सानो कुरामै रमाउने प्रवृत्तिकी थिइन् तर कुञ्जन भने चाहिने कुरा मात्र बोल्ने, काममा बढी फोकस र बढी महत्वाकांक्षा नराख्ने व्यक्ति हुन् । उनीहरूको अनुभवमा दम्पतीबीच फरक प्रकृति, स्वभाव भयो भने सम्बन्ध अझ सहज र सुन्दर हुन्छ । एमबीबीएसपछि विवाहका लागि दुवैले घरमा भनेपछि कुरा चल्यो । मिल्ने जात, दुवै काठमाडौंकै, दुवैले एमबीबीएस सकेका तथा उमेर पनि मिल्ने भएकाले घरपरिवारबाट नकार्ने कुनै ठाउँ थिएन । यद्यपि विवाहअघि दुईजनाको इच्छा र सोच केही समयका लागि खलनायक साबित भयो । सञ्जिताले पहिलेदेखि नै एमबीबीएस सकेर विदेश जाने सपना पालेकी थिइन् भने एक्लो छोरो भएकाले कुञ्जन नेपालमै बस्ने सोचमा थिए । दुवैको अलग सोचले केही समय दुवैलाई मानसिक तनाव भयो तर सञ्जिताले विदेश बस्ने सोच त्याग्दै कुञ्जनलाई आफ्नो बनाउन चाहिन् । आफ्नो यो निर्णयबाट उनी अहिले निकै खुसी छिन् ।

यो चिकित्सक जोडीका ५ वर्षका जुम्ल्याहा छोरा छन् । सन्तान भएपछि दुवैमा जिम्मेवारी बढेको अनुभव छ तर सासू–ससुराको राम्रो सहयोगका कारण उनीहरूको करिअरमा कुनै कष्ट अनुभव भएन । डा. सञ्जिताले छोराहरूको कुनै कुरामा टेन्सन लिनु पर्दैन । छोराहरू साना छँदा बिहान उठेर डाइपर चेन्ज गर्ने, दूध बनाउने, बोतल सफा गर्नेजस्ता सबै काम डा. कुञ्जनले नै गर्थे । अहिले पनि छोराहरूको ब्रसदेखि ख्वाउने, होमवर्क सबै उनकै जिम्मामा छ । छोराहरूको हरेक काममा रमाउने डा. कुञ्जन भान्साको काममा त्यति जानकार छैनन् । त्यसैले भान्साको काम र सरसफाइको जिम्मा सञ्जिताले सम्हालेकी छिन् । दुवै जना भिन्न स्वभावका भए पनि उनीहरूबीच खाना, ड्रेसअप  तथा घुम्ने रहर भने मिल्छ तर घुम्न जाँदा कुञ्जन फर्कन हतार गर्छन् भने सञ्जिता रिल्याक्स फिल गर्छिन् । दुवैको ड्युटी बिहान ८ बजेदेखि सुरु हुन्छ । साँझ ७ बजेसम्म प्राय: उनीहरू क्लिनिकमै व्यस्त रहन्छन् । यो जोडीले आफ्नो व्यस्त समयबाट शुक्रबार र शनिबार दुई दिन छोरा एवं परिवारका लागि समय मिलाएका छन् । ती दिनमा छोराहरूलाई लिएर सिनेमा हल, भृकुटीमण्डप, बालसंसार, चिडियाखाना आदि पुगिरहन्छन् । समय–समयमा छोराहरू लिएर पोखरा, सौराहा, मनकामना, घ्याम्पे डाँडा आदि ठाउँ गैरहन्छन् । सिनेमाका पारखी डाक्टर कुञ्जन एक्लै पनि हलमा गएर सिनेमा हेर्छन् तर सञ्जिता फुर्सदमा छोराहरू सँगै रमाउँछिन् । नाक, कान, घाँटी र आँखा नजिक–नजिकका अंग भएकाले उनीहरू एकले अर्काकहाँ बिरामी रिफर गरेर सहयोग गर्छन् । डा. कुञ्जनले सिंगापुरबाट फेलोसिप गरेका हुन् भने डा. सञ्जिताले भित्री रेटिनामा फेलोसिप गरिरहेकी छिन् । उनले १ वर्ष हेटौंडा सामुदायिक आँखा अस्पतालमा प्रमुखका रूपमा काम गरेकी थिइन् । जुन बेला उनका जुम्ल्याहा छोरा ३ वर्षका मात्र थिए । यसरी एकले–अर्कालाई सहयोग नगरे सम्बन्ध कसरी बलियो हुन्छ भन्दै डा. कुञ्जन भन्छन्–अहिलेको समयमा एक–अर्कालाई सपोर्ट, सम्मान एवं माया गर्नुपर्छ जसका लागि जस्तोसुकै सम्झौता गर्न पनि पछि पर्नु हुँदैन । यसरी नै जीवन सुन्दर र रमाइलो हुने उनको धारणा छ ।     

डा. कुञ्जनको नजरमा श्रीमती 

राम्रो पक्ष ?

आफूलाई भन्दा  छोराहरू, मेरो तथा मेरा बुवा–आमाको केयर गर्ने, माया गर्ने ।

सुधार्नुपर्ने पक्ष ?

आफ्ना सरसामान जहाँ पायो त्यहीँ छर्ने, डकुमेन्टहरू राम्रोसँग नराख्ने, म्यानेजमेन्ट पनि त्यति राम्रो छैन साथै कुराउने बानी पनि सुधार्नुपर्छ । यी कुराहरू हटाउन सके सुनमा सुगन्ध थपिन्छ ।

श्रीमतीले पकाएको मन पर्ने खाना ?

सिकर्नी, फ्रुट सलाद, कवाफ तथा भुटन ।

डा. सञ्जिताको नजरमा श्रीमान्

राम्रो पक्ष ?

कामलाई प्राथमिकता दिने, छोराहरूलाई मैले भन्दा बढी हेरचार गर्ने, चाहिने कुरा मात्र बोल्ने । पहिलेदेखि अहिलेसम्म जति काम भए पनि बिहान तिलगंगासम्म पुर्‍याइदिने, सकेसम्म लिन पनि आउने ।

सुधार्नुपर्ने पक्ष ?

एकैछिनमा झडङ्ग रिसाउने, घरमा आफ्नो काम, पढाइ, कम्प्युटर तथा मोबाइलमा बढी समय दिने, धेरै गफ नगर्ने ।

क्रसचेक

मनपर्ने रंग

डा.कुञ्जन : नीलो ।

डा. सञ्जिता : रातो र नीलो ।

मनपर्ने खाना

डा.कुञ्जन : मासुका परिकार ।

डा.सञ्जिता : मासुका परिकार ।

मनपर्ने ठाउँ

डा.कुञ्जन : ट्ेरकिङ रुटहरू ।

डा.सञ्जिता : श्रीमान्सँग जहाँ गए पनि ।

मनपर्ने चलचित्र

डा.कुञ्जन : थ्री इडियट्स ।

डा.सञ्जिता : हेराफेरी ।

मनपर्ने पुस्तक

डा.कुञ्जन : इन्टरनेटमै सर्च गरेर पढ्छु ।

डा.सञ्जिता : सेतो धर्ती ।

आइडियल

डा.कुञ्जन : यो नै भन्ने छैन ।

डा.सञ्जिता : मेरो बुवा ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्