फूलको संसार

गोदावरी फूलको सिजन असोज–कात्तिक महिना हो । दसैं–तिहारमा फुल्ने यो फूलका सयौं प्रकार छन् । यो फूल विशेषगरी रातो, सेतो, पहेंलो तथा गुलाफी रंगमा उपलब्ध हुन्छ । साउनमा रोपेको यो फूल असोज–कात्तिकसम्म फुलिसक्छ ।

उपासना पाण्डे

कार्तिक ८, २०७२

अहिले चाडपर्वको मौसम छ । दसैंको अन्त्य हुँदैछ । र तिहार नजिकिरहेको छ । त्यसैले सबैको घर फूलले हराभरा भएको देख्न सकिन्छ । सामान्यत: सयपत्री, मखमली, गोदावरी तिहारका फूलका रूपमा चिनिन्छन् । फूलप्रेमी पुरानो बानेश्वरकी नम्रता शर्मा चाडपर्वको आगमनसँगै फूलका बिरुवा खरिद गर्छिन् । घरका गमलामा ढकमक्क फूल फुलेको सुन्दर दृश्यले आनन्द प्रदान गर्ने उनले बताइन् । शर्माको घरका गमलामा मौसमी फूलका साथै अन्य फूल पनि कहिल्यै खाली हुँदैनन् । 

सयपत्री

यो फूल नेपालमा धेरै प्रख्यात छ । सयपत्रीलाई सरलताको प्रतीकका रूपमा लिइन्छ । बीउ छरेको ६५ देखि ७० दिनमा यो फूल फुलिसक्छ । दसैं–तिहारमा फुल्ने यो फूलले सबैको घर–आँगन ढकमक्क पारेको देख्न सकिन्छ । पहेंलो, रातो तथा सुन्तला रंगमा फुल्ने यो फूल गमला तथा जमिन दुवैमा रोप्न सकिन्छ । यो फूल रोप्दा बोनमिल, पिना तथा गाईको गोबर हाले अझ राम्रोसँग फस्टाएर ठूलो आकारको फूल फुल्छ । रोपेको एक महिनापछि पुन: मल थप्नुपर्छ । यो फूल जति ठूलो पटमा रोप्यो त्यति राम्रोसँग फुल्छ । स्थानीय फूलको तुलनामा यसको विकासे बीउले ठूलो फूल दिन्छ । यो फूलको बीउ थाइल्यान्ड तथा जापानबाट ल्याइने सञ्जय नर्सरीका प्रोप्राइटर रामबहादुर शाही बताउँछन् । स्थानीय बीउबाट पनि यो फूल रोप्न सकिन्छ । यो फूल एक सिजनका लागि मात्र हुन्छ । एकपटक फूलेपछि १५–२० दिनसम्म रहन्छ । तिहारका बेला यो फूल पूजाआजामा, ढोकामा राख्न तथा मालाका रूपमा प्रयोग गरिन्छ । 

मखमली 

तिहारमा मखमली फूलको विशेष महत्व हुन्छ । कहिल्यै नओइलाउने भएकाले भाइटीकामा दाजुभाइको दीर्घायुको कामना गर्दै यो फूलको माला लगाइदिने चलन छ । सुपारीको दानाजस्तो हुने भएकाले यसलाई सुपारी फूल पनि भनिन्छ । रोपेको दुई महिनामा फुल्ने यो फूल असोज–कात्तिक महिनामा फुल्छ । यो फूल पनि राम्रोसँग मलजल गर्न सके अलि ठूलो आकारमा तथा धेरै फुल्छ । मखमली फूल एकपटक फुलेपछि तीन महिनासम्म रहन्छ । यो फूल पनि गमलाभन्दा जमिनमै माटो खनेर रोप्दा अझ राम्रोसँग फुल्छ । यसको बोट दुई फुटसम्म अग्लो हुन्छ । स्थानीय बिरुवाका साथै थाइल्यान्ड तथा जापानबाट यसको बिरुवा आयात गरिन्छ । 

तस्बिरहरू: नवराज वाग्ले 

गोदावरी

गोदावरी फूलको सिजन असोज–कात्तिक महिना हो । दसैं–तिहारमा फुल्ने यो फूलका सयौं प्रकार छन् । यो फूल विशेषगरी रातो, सेतो, पहेंलो तथा गुलाफी रंगमा उपलब्ध हुन्छ । साउनमा रोपेको यो फूल असोज–कात्तिकसम्म फुलिसक्छ । भगवान्लाई चढाउन तथा मालाका लागि  प्रयोग गरिने यो फूललाई अन्य फूलको तुलनामा हुर्काउन भने केही गाह्रो हुन्छ । एकपटक फुलेपछि दुई–तीन महिनासम्म रहन्छ । गोदावरी फूललाई गमलामा भन्दा जमिनमै माटो खनेर रोप्नु उपयुक्त हुन्छ । हाँगा छोपेर ढकमक्क फुल्ने यो फूलले घरमा रौनक थपेर वातावरण नै रमणीय बनाउँछ । यसलाई राम्रो मल दिनुका साथै बेला–बेलामा गोडमेल गर्नुपर्छ । तिहारमा माला बनाउनुका साथै कटफ्लावर बुकेमा पनि गोदावरी फूल प्रयोग गरिन्छ । 

पारिजात 

चाडपर्वको आगमनसँगै धेरैका घर–आँगनमा पारिजातको सुवास छरिन्छ । बिहान उठ्दा शीतको थोपाजस्तो देखिने यो फूल सेतो तथा सुन्तला रंगको हुन्छ । यो फूललाई बोटबाटै टिप्नु हुँदैन भन्ने मान्यता छ । आफैं झर्ने यो सानो फूलले घर–आँगनलाई आकर्षक बनाउँछ । यो फूलको वासना १० मिटर परसम्म मगमगाउँछ । यो फूल जमिनमै रमाउँछ । यसको बोट रुखजस्तो हुन्छ । रोपेको दुईदेखि साढे दुई वर्षभित्र यो फूल फुलिसक्छ । यो फूल भगवान्लाई चढाउन प्रख्यात छ ।

कमलको फूल

प्रा.डा. वीणा पौड्यालका अनुसार हिन्दू, बौद्ध तथा जैन धर्ममा कमलको फूलको चर्चा उत्तिकै छ । भगवानले कमलको फूल हातमा लिने, कमलकै आसन बनाएर बस्ने भएकाले पनि यो फूल प्रख्यात भएको हो । विशेष रुपमा  ब्रह्मा तथा विष्णुलाई कमलको फूल चढाइन्छ । तिहारमा लक्ष्मीलाई चढाउन पनि यो फूल प्रयोग गरिन्छ । लक्ष्मीको तस्बिरमा पनि हातमा कमलको फूल पाइन्छ । लक्ष्मीलाई चढाउन प्रयोग गरिने यो फूलका धेरै प्रकार छन् । नीलो, सेतो, गुलाफी आदि रंगमा उपलब्ध हुने यो फूल सानादेखि ठूला आकारमा पाइन्छन् । पानीमा हुने भएकाले यो फूल धेरैजसो मधेसमा पाइन्छ । यो फूल पर्यावरणसँग पनि सम्बन्धित छ । लक्ष्मीको उत्पत्ति समुद्र मन्थनबाट भएकाले पनि कमलको फूल लक्ष्मीलाई चढाइन्छ । यो फूल पानीमा फुल्ने भएकाले अन्य फूलभन्दा चोखो मानिन्छ । यो फूलले जीवनको उद्देश्य पनि झल्काउँछ । कमलको फूल फुल्दा पानीको तल अँध्यारो भए पनि माथि आएर राम्रोसँग फुल्छ । त्यसैले पनि अँध्यारोपछि उज्यालो आउँछ भन्ने मान्यता छ । यसले अँध्यारोबाट उज्यालोतर्फ उन्मुख भएको संकेत दिन्छ । लक्ष्मीको आसन कमलको फूल भएकाले पनि तिहारमा यसको प्रयोग बढी हुन्छ । यो फूल फुलाउन पोखरीको आवश्यकता पर्छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्