नेपाल एवं भारतका देवी मन्दिरहरू

दीपक दहाल

आश्विन १९, २०७२ हिन्दू संस्कृतिले नारी जातिलाई माताका रूपमा स्थापित गरेर उनीहरूलाई वन्दनीय एवं पूजनीय शक्तिका रूपमा सम्मान गरेको छ । त्यसैले मानव धर्मशास्त्रमा जननीको गौरव गुरुभन्दा लाख गुना र पिताभन्दा हजार गुना बढी हुन्छ भनिएको छ । नारीलाई सदा अबध्या बताइएको छ, कुनै पनि वर्गकी, सम्प्रदायकी वा कुनै पनि प्रकारकी नारी सदैव पूजनीय हुन्छिन् किनभने नारीका अङ्गअङ्गमा देवताको बास हुने कुरा शास्त्रमा उल्लेख छ । यही स्वाभाविक प्राकृतिक गुणका कारण नारी शक्ति आधुनिक महिलाहरूमा पुन: आफ्नो शक्तिका साथ प्रकट हुने मार्गमा अग्रसर भैरहेको हामीले देखिरहेका छौं । सङ्कीर्ण विचारधारा त्यागेर आत्मविश्वासका साथ अघि बढेका आजका नारीहरूलाई देख्दा शक्तिका अदम्य स्रोत नारी नै हुन् भन्ने कुरा बुझ्न कत्ति पनि कठिनाइ हँुदैन किनभने आज समाजमा कुनै यस्तो क्षेत्र छैन जहाँ प्रतिस्पर्धा नहोस्, ती सबैमा नारीको दबदबा बढ्दो क्रममा छ । समाजका लगभग हरेक क्षेत्रमा नारीहरूले चुनौती प्रस्तुत गरिरहेका छन् । प्राचीन समयका त्यस्तै शौर्ययुक्त नारीहरू नै पछि देवीका रूपमा पुजिएका हुन् भन्ने कुरालाई धेरै अध्येताले पुष्टि गरिसकेका छन् ।

नेपाललाई शक्तिभूमि भनिन्छ । नेपालमा अनेकौं शक्तिस्वरूपा भगवतीका मन्दिर छन् । नेपालका प्राय: हरेक गाउँमा ग्रामदेवीका रूपमा प्रतिष्ठित विविध रूप र विशेषतायुक्त देवी मन्दिरहरू छन् । बडादसैंका अवसरमा ती सबै स्थानमा विशेष पूजा–आराधना हुन्छ । तीमध्ये पनि शक्तिपीठ मानिने पुराणमा वर्णित मन्दिरहरूलाई विशेष महत्व दिइने गरेको छ । हुन त सबै देवी मन्दिर शक्तिपीठ नै हुन् तैपनि महादेवकी अर्धाङ्गिनी सतीदेवीको अंग पतन भएर उत्पत्ति भएका मन्दिरलाई मात्र शक्तिपीठ भनिन्छ । स्कन्द पुराणअनुसार सत्ययुगमा शक्तिस्वरूपा देवी सतीको मृत्युपछि शक्तिपीठहरू उत्पन्न भएका हुन् । पिता दक्ष प्रजापतिले आयोजना गरेको यज्ञमा आफ्ना पति महादेवको निन्दा गरिएपछि त्यसलाई सहन नसकी सतीदेवीले यज्ञकुण्डमा हामफाली प्राण त्याग गरेकी थिइन् । त्यसपछि महादेवले आफ्ना गणहरूद्वारा दक्षयज्ञ विध्वंश गराई दक्षलाई पनि सजाय दिएपछि सतीदेवीको मृत शरीरलाई बोकेर यत्रतत्र हिँड्न थाले । यसरी हिँड्दा सतीदेवीका अंग बिस्तारै झर्दै जान थाले र जहाँ–जहाँ सतीदेवीका अंग पतन भए त्यहाँ त्यहाँ एक एकवटा शक्तिपीठ, महादेव र योगिनी उत्पत्ति भए । शक्तिपीठको संख्या देवी भागवतमा १०८, कालिका पुराणमा २६, शिवचरित्रमा ५१ तथा दुर्गा सप्तशती एवं तन्त्रचूडामणिमा ५२ वटा बताइएको छ । नेपाल र भारतका केही  शक्तिपीठ तथा अन्य प्रसिद्ध देवी मन्दिर :

भारतका चर्चित देवी मन्दिरहरू

कामाख्या देवी
भारतका ५१ शक्तिपीठमध्ये कामाख्या देवीको पीठ एउटा हो । यो मन्दिर आसामको पश्चिम गुवाहटीस्थित नीलाचल पर्वतमा छ । भगवान् शिवकी पत्नी सतीदेवीको पाठेघर यही ठाउँमा खसेको कुरा पुराणहरूमा उल्लेख गरिएको पाइन्छ ।
यो शक्तिपीठमा बर्सेनि प्रजनन् उत्सव पनि हुन्छ जसलाई अम्बुवासी पूजा भनिन्छ । यो समयमा देवी वार्षिक रजस्वला चक्रमा गएको विश्वास गरिन्छ । उक्त अवसरमा मन्दिर ३ दिन बन्द हुन्छ र चौथो दिन धुमधामका साथ खोलिन्छ । यतिबेला ब्रह्मपुत्र नदी पनि रातो हुने विश्वास गरिन्छ । देवी रजस्वला भएको र उनैको रगतका कारण नदी रातो भएको जनश्रुति छ । शक्तिपीठ नजिकैको नदीको रातो पानी भक्तजनलाई वितरण गरिन्छ । देवीको रजस्वलाको रगत मिसिएको उक्त पानीलाई पवित्र मानेर मानिसहरूले त्यसको स्नान तथा सेवन गर्छन् । महिलाको मासिक धर्म अर्थात् रजस्वलाको समयलाई अपवित्र मानेर रजस्वला भएको ४ दिनसम्म महिलालाई नछुने चलन भए पनि देवीको हकमा भने यो नियम लागू हुँदैन । रजस्वला भएकी देवीको पूजा गरिने यो विश्वकै एक मात्र मन्दिर हो । मन्दिर भन्नेबित्तिकै देवी–देवताका मूर्ति भएको ठाउँ बुझिन्छ तर कामाख्या देवीको मन्दिर भने केही फरक छ किनभने यो पीठमा देवीको मूर्तिको साटो देवीको योनिको नै पूजा गरिन्छ । देवीको यौनांगस्वरूपको पत्थर सधै ओसिलो रहन्छ । मन्दिरभित्र रजस्वला भएको विश्वास गरिने कामाख्या देवीको पूजा हुन्छ तर उक्त मन्दिरमा पूजा गर्न रजस्वला भएका महिलाहरूले भने प्रवेश पाउँदैनन् । यो मन्दिर तन्त्र साधनाका लागि सर्वोत्कृष्ट मानिन्छ ।

काशी विशालाक्षी मन्दिर
यो मन्दिर हिन्दू धर्मको प्रसिद्ध ५१ शक्तिपीठमध्ये एक हो । भारतकै चर्चित काशी विश्वनाथ मन्दिरबाट अलिकति टाढा मीरघाटमा अवस्थित यो मन्दिरको वर्णन देवीपुराणमा गरिएको छ । यहाँ देवी सतीको आँखा वा दाहिने कानको मणि खसेको विश्वास गरिन्छ तसर्थ उक्त स्थानलाई मणिकर्णिका घाट पनि भनिन्छ । विशालाक्षी देवीलाई अन्नपूर्णा वा भोजनदातृ देवीका रूपमा पुजिन्छ । यो शक्तिपीठलाई माता दुर्गाको शक्तिको प्रतीक मानिन्छ । नौरथामा यहाँ लाखौं श्रद्धालु देवीको दर्शनका लागि आइपुग्छन् । विशालाक्षी देवीको पूजा–आराधना गर्दा सौन्दर्य एवं सम्पत्ति प्राप्त हुने जनविश्वास छ । यो मन्दिर परिसरमा दान, जप तथा यज्ञ गर्नाले मुक्ति प्राप्त हुने विश्वास गरिन्छ ।

वैष्णोदेवी मन्दिर
यो मन्दिर दैवी शक्ति दर्साउने पवित्रतम हिन्दू मन्दिर हो । वैष्णवीकी प्रतिरूप यो मन्दिर भारतको जम्मु कश्मीरको पहाडी भागमा अवस्थित छ । उत्तर भारतमै सबैभन्दा बढी पुजिने यो मन्दिर भारतकै बैंकटेश्वरपछि सबैभन्दा बढी भक्तजनद्वारा दर्शन गरिने मन्दिर हो । भक्तका हरेक इच्छा पूरा गरिदिने देवीका रूपमा प्रतिष्ठित वैष्णोदेवीका विषयमा अनेकौं किंवदन्ती प्रचलित छन् । नौरथामा यहाँ ठूलो मेला लाग्छ । नौ दिनसम्म लाखौंको संख्यामा आउने भक्तजनका कारण कतिपय अवस्थामा दर्शनका लागि टिकट दिन नै बन्द गर्नुपर्ने स्थिति उत्पन्न हुन्छ । हरेक दिन एक लाखभन्दा बढी श्रद्धालु आउने हुँदा तिनको व्यवस्थापन गर्न मन्दिर व्यवस्थापनलाई सार्‍है गार्‍हो पर्छ ।

नैनादेवी मन्दिर
भारतको हिमाञ्चल प्रदेशस्थित शिवालिक पर्वत श्रेणीमा पर्ने यो मन्दिर ५१ शक्तिपीठमध्ये एक हो । यहाँ सतीदेवीको आँखा खसेको विश्वास गरिन्छ । ११ हजार फिटको उचाइमा अवस्थित यो मन्दिर नजिकै सुन्दर एवं पवित्र तलाउ छ । मन्दिर नजिकै एउटा गुफा छ जुन नैनादेवी गुफाका नामले प्रसिद्ध छ । यो मन्दिरको गर्भगृहमा तीनवटा मुख्य मूर्ति छन् । दायाँतर्फ माता काली, बीचमा नैनादेवी तथा बायाँतर्फ भगवान् गणेशको प्रतीक राखिएका छन् । यहाँ हरेक समय भक्तजनको भीड लाग्ने भए पनि नौरथामा भने विशाल मेला लाग्छ । यहाँ देवीलाई ५६ प्रकारका वस्तुको भोग लगाइन्छ । यहाँ साउनको अष्टमीका दिन पनि विशेष मेला लाग्छ ।

गर्जियादेवी मन्दिर
भारतको उत्तराखण्डस्थित गिरिजादेवी वा माता पार्वतीको नामबाट गर्जियादेवी नाम रहेको यो मन्दिर श्रद्धा एवं विश्वासको विशेष नमुना हो । प्रसिद्ध देवी मन्दिरहरूमा गर्जियादेवीको स्थान अद्वितीय छ । रमणीय प्राकृतिक वातावरणबीच सानो टाकुरामा अवस्थित यो मन्दिरसँग अनेकौं किंवदन्ती जोडिएका छन् । तीमध्ये एक किंवदन्तीअनुसार सन् १९४० भन्दा अघि यो क्षेत्र घना जंगलले ढाकिएको थियो । सर्वप्रथम वनविभागका तत्कालीन कर्मचारी तथा छिटपुट स्थानीय बासिन्दाद्वारा पुजिने उक्त स्थानमा भक्तहरू अनेकौं कठिनाइ सहेर पुग्थे । उक्त स्थानमा देवीको बाहन सिंहले भयंकर गर्जना गथ्र्यो । धेरैपटक उक्त मन्दिरको ढिस्कोलाई सिंहले प्रदक्षिणा गरेको समेत बताइन्छ । कोशी नदीको किनारमा अवस्थित यो मन्दिरमा माता पार्वतीको सत्वगुणी स्वरूप विराजमान भएको मानिन्छ । यहाँ जटा नरिवल, वस्त्र, धूप, दीप, नैवेद्य आदि चढाएर पूजा गरिन्छ । मनोकांक्षा पूर्ण हुने श्रद्धालुले यहाँ घण्ट वा छत्र चढाउँछन् । विशेषगरी नवविवाहित महिला तथा नि:सन्तान दम्पती सन्तान प्राप्तिको कामना लिएर त्यहाँ पुग्छन् । श्रद्धालुहरू कोशी नदीमा स्नान गरी ९० वटा सिँढी चढेर मन्दिर पुगी साढे चार फिट अग्लो देवी प्रतिमाको दर्शन गर्छन् । यहाँ विशेषगरी कार्तिक पूर्णिमा, गंगा दशहरा, शिवरात्रि तथा वसन्त पञ्चमीका अवसरमा भक्तजनको घुइँचो लाग्छ । अझ नौरथाका अवसरमा त भक्तजनको भीड थामिसक्नु हुँदैन ।
यसबाहेक पनि भारतमा थुप्रै देवी मन्दिर छन् । तीमध्ये बंगालकी काली, उत्तर प्रदेशकी कैलादेवी तथा विन्ध्यवासिनी, गढवालकी ज्वालपा देवी, मदुरईस्थित मीनाक्षीदेवी, राजस्थानकी शिलादेवी, उत्तराखण्डकी गंगोत्री तथा यमुनोत्री, काँगडाकी विद्धेश्वरी, चिन्तपूर्णी तथा ज्वालामुखी देवी, माउन्ट आबुकी अर्बुदादेवी, महाराष्ट्रकी महालक्ष्मी, कश्मीर श्रीनगरकी योगमाया, जूनागढकी अम्बादेवी, चित्तौढकी कालिका देवी आदि विशेष प्रसिद्ध छन् ।  

नेपालका देवी मन्दिरहरू

गुह्येश्वरी : सतीदेवीको गुह्य पतन भएको विश्वास गरिने गुह्येश्वरीको मन्दिर काठमाडौंको बाग्मती नदी किनारमा अवस्थित छ । यो स्थानमा सर्वप्रथम तेत्तीस कोटी देवताले आराधना गरेको बताइन्छ । बडादसैंको अवसरमा घटस्थापनाको दिनदेखि नै विशेष पूजाआजा हुने यो शक्तिपीठमा अन्य समयमा पनि भक्तजनको भीड लाग्छ । यहाँ देवीको कुनै मूर्ति छैन । सतीदेवीको गुह्य पतन भएको ठाउँमा मन्दिरको गर्भगृह छ जहाँ एउटा सानो प्वाल छ । त्यही प्वालमा श्रद्धालुहरूले भक्तिपूर्वक पूजा–आराधना गर्छन् ।
 

तलेजु भवानी : काठमाडौं उपत्यकाको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु वा तुलजा भवानीको मन्दिर यसकारण पनि प्रसिद्ध छ कि यो वर्षको एक दिन अर्थात् शारदीय नवरात्रको महानवमीका दिन मात्र खुल्छ । उपत्यकाका तीनै सहरमा अवस्थित तलेजु भवानीलाई सिम्रौनगढबाट ल्याइएको हो । मल्लकालदेखि नै राजाहरूकी इष्टदेवीका रूपमा पुजिने यी देवीलाई नेवारहरूले समेत इष्टदेवी मान्ने गरेका छन् । यी देवीसित जोडिएका अनेक किंवदन्ती प्रचलित छन् । उपत्यकाका तीन सहरबाहेक नुवाकोट, बनेपा, दोलखा, नाला आदि स्थानका साथै भारतको हैदरावाद र तिब्बतमा समेत तलेजु भवानीको मन्दिर छ ।

सखडा भगवती : सप्तरी जिल्लाको सीमावर्ती क्षेत्रमा सखडा भगवतीको मन्दिर छ । नेपालका प्रसिद्ध शक्तिपीठमध्ये सप्तरी जिल्लाको सखडामा पर्ने छिन्नमस्ता भगवती पनि एक हो । इतिहासमा सखडेश्वरी भगवतीलाई राजा शक्रसिंहकी कुलदेवीका रूपमा परिचय गराइएको छ । मन्दिरभित्र मूलदेवीका रूपमा भगवतीको कालो रंगको बुट्टेदार मूर्ति छ । मूर्तिको खुट्टातिर राँगाको काटिएको टाउको ढुंगामा कुँदिएको छ । तन्त्र शास्त्रअनुसार घाँटी छिनिएको टाउको आफ्नै हातमा लिएर घाँटीबाट निस्किएको रगत ख्वाइरहेकी देवी छिन्नमस्ता हुन् । यद्यपि यहाँ सखडेश्वरी छिन्नमस्ता भगवतीको स्वरूप महिषमर्दिनी छ । मूल मूर्तिको देब्रेतिर दक्षिणकाली, महिषमदिर्नी र दाहिनेतिर चामुण्डा भैरवी र त्यस्तै कालो रंगको अर्को प्रस्तर मूर्ति स्थापित छ । ती मूर्तिलाई पञ्चभगिनी (पाँच दिदीबहिनी) पनि भनिन्छ । पूजा समितिले वर्षका चारवटै नवरात्रमा ५६ प्रकारका परिकार बनाई मध्यरातमा पूजा गर्दै आएको छ । पूजा गर्दा केही विघ्न–बाधा उत्पन्न हुन थालेपछि भगवतीको सिंहासनमा एउटा जन्तर राखी महाअष्टमीको राति तान्त्रिक विधिद्वारा पूजा गरिँदै आएको छ । यहाँ बलि प्रदान गर्दा निस्किएको रगतमा झिंगा नबस्ने, रगत लुगामा लाग्दा पनि दाग नलाग्ने, रगत पोखरीको पानीमा मिसिँदा रातो नहुने, बलि प्रदान गर्ने नाममा राखिएका खसी–बोकालाई केही नहुने, बलिका लागि किनेका पशुलाई कुकुर र स्यालले टोकेका रहेछन् भने मन्दिर नपुग्दै मर्ने आदि भनाइ प्रचलित छन् । छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिमध्ये एक मानिएकी हुँदा यहाँ श्रद्धालु भक्तजनबाट सयौं बोका, भेडा, परेवा, हाँस तथा माछाको बलि दिइन्छ । छिन्नमस्ता भगवती इस्लाम धर्मावलम्बीहरूकी पनि आस्थाकी केन्द्र हुन् ।
दक्षिणकाली : यो मन्दिर काठमाडौं उपत्यकाबाट २१ किलोमिटर दक्षिण शेषनारायण गाविसमा छ । यो कालीदेवीको मन्दिर हो । फर्पिङको मुटुमा अवस्थित ऐतिहासिक महत्वको यो मन्दिर नदीको दोभानमा हरियालीपूर्ण वातावरणले सुशोभित छ । किंवदन्तीअनुसार नेपालका तान्त्रिकहरूले आफ्नो तन्त्रशक्तिद्वारा देवीलाई भारतबाट ल्याई उक्त स्थानमा स्थापित गरेका हुन् । हरेक समय उत्तिकै भीड लाग्ने यो मन्दिरमा शनिबार र मंगलबार विशेष घुइँचो लाग्छ । धार्मिक एवं सांस्कृतिक दृष्टिले समुन्नत यो मन्दिर नेपालकै प्रसिद्ध मन्दिर हो ।

मनकामना भगवती
मनकामना मन्दिर गोरखा जिल्लाको सदरमुकामबाट दक्षिणपूर्वी भागमा अवस्थित नेपालको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । मनले चिताएको पूरा गर्ने भगवती देवी भएकीले यो मन्दिरको नाम मनकामना रहन गएको जनविश्वास छ । सोही जनविश्वासका कारण मानिसहरू यो भगवती मन्दिरलाई सम्झी आफूले चिताएको काम पूरा होस् भनी भाकल गर्छन् र बर्सेनि विभिन्न शुभ साइत हेरी आफ्नो भाकल चढाउन उक्त मन्दिर पुग्छन् । किंवदन्तीअनुसार गोरखाका राजा राम शाह (वि.सं १६१४ देखि १६३६) की रानी लीलावती वा पुण्यवतीदेवी अवतारी थिइन् । लखन थापा लीलावतीका परम भक्त थिए । एकपल्ट राजा राम शाहले गोरखाको उपल्लो कोट दरबारमा आफ्नी रानी र लखन थापालाई आफ्नो सिंहासनमा एकैसाथ देखेछन् । त्यसपछि राजा अचानक बिरामी भएर उनको इहलीला समाप्त भयो । उनको अन्त्येष्टि मस्र्याङदी नदीको–दरौंदी दोभानमा गरियो । त्यतिबेलाको चलनअनुसार रानी लीलावती पनि राजा राम शाहसँगै सती गइन् । भक्त लखन थापा शोकाकुल भएर विलाप गर्दा रानीले तिम्रो इच्छा पूरा गर्न तिमै्र गाउँको एक छेउमा फेरि प्रकट हुनेछु भनिन् । त्यसको सात महिनापछि हाल मनकामना रहेको ठाउँमा त्यहाँका एक व्यक्तिले गोरु जोत्दा हलो अड्की त्यसबाट दूध र रगत बग्न थालेछ । दृव्यदृष्टि भएका लखन थापाले तान्त्रिक विधिद्वारा पूजा गरेपछि रगत बग्न रोकिएको र सोही थलोमा देवीको मन्दिर स्थापना गरिएको विश्वास छ । त्यही घटनापछि गोरखाका राजाले मनकामना माईको सेवा गर्न लखन थापा र उनका दरसन्तानलाई पुजारी नियुक्त गरी नित्य पूजा चलाउन जग्गा गुठी र बिर्ता लालमोहर लगाइदिएका थिए । मनकामना माईका हालका पुजारी लखन थापाका सत्रांै पुस्ताका सन्तान हुन् । यो मन्दिरमा नित्य पूजा बिहान ७ बजे र साँझ ६ बजे गरिन्छ । भित्री पूजा सकेर पुजारीले मन्दिर परिक्रमा गरिसकेपछि मात्र सर्वसाधरणको बलि र पूजा सुरु हुन्छ । यहाँ विशेष गरी अष्टमीका दिन घण्ट, परेवा, बोका, फुल आदि बलि चढाइन्छ । केबुल कार चढेर पुग्न सकिने मनकामना मन्दिरमा दसैंको नौरथाभरि थामिनसक्नु भीड हुन्छ ।
यसबाहेक पनि नेपालमा थुप्रै देवी मन्दिर छन् । तीमध्ये सुनसरीकी दन्तकाली, नेपालगञ्जकी वागेश्वरी,  सल्यानकी कमलाक्षी, खैराबाङकी छत्रेश्वरी देवी, दैलेखकी ज्वालादेवी, नुवाकोटका जालपादेवी तथा भैरवी, धादिङका त्रिपुरासुन्दरी तथा मैदीदेवी, म्याग्दीकी गलेश्वरी, काभ्रे पलाञ्चोककी चण्डेश्वरी, ताप्लेजुङकी पाथीभरा देवी, तेर्‍हथुम र पाँचथर जिल्ला सीमानाकी सिंहवाहिनी, झापाकी कन्काई माई, धनकुटाकी छिन्ताङ भगवती, सिन्धुलीकी कमला माई, सिन्धुपाल्चोककी तौथलीमाई, कास्कीका विन्ध्यवासिनी तथा तालबाराही, लमजुङकी कालिकादेवी, अर्घाखाँचीकी अर्घाकोट देवी, सुर्खेतकी देउतीबज्यै, डोल्पाकी त्रिपुरासुन्दरी, बाजुराकी बडी मालिकादेवी, अछामकी वरदादेवी, डडेलधुराकी उग्रतारा, कन्चनपुरकी महाकाली, बाराकी गढीमाई, रुकुमकी डिंग्रे भगवती, कैलालीकी नैनादेवी, काठमाडौंका शोभा भगवती, मैतीदेवी, भद्रकाली, नरदेवी, नक्साल भगवती, कालिकास्थान आदि प्रसिद्ध छन् । यी मन्दिरमा दसैंबाहेक अन्य समयमा पनि श्रद्धालुहरूको कमी हुँदैन ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्