घुम्टोभित्रका हीरा

विखण्डित समाजमा हुर्किएका उनीहरूले चलिआएको संस्कारलाई सहर्ष स्वीकार गरेका छन् तर सँगै आफ्नो विकास र सशक्तीकरणमा पनि आफूलाई परिमार्जित गर्दै लगेका छन् । त्यति मात्र होइन, उनीहरू आफ्नो संस्कारको मर्मलाई मर्न नदिई आफ्नो क्षेत्रमा अघि बढिरहेका छन् । यसको उदाहरण बंगलादेशमा महिला प्रधानमन्त्रीहरूको निरन्तरता पनि हो ।

झरना नहर्की र लक्ष्मी भण्डारी थापा ढाकाबाट फर्किएर

भाद्र ६, २०७२

मुसलमान परिवेशयुक्त बंगलादेश महिलाका लागि सहज छैन । महिलाहरू हरेक क्षेत्रमा व्यावसायिक रूपमा अघि बढ्न धर्म बाधक बनेको भन्दै संसारभरबाट विरोध आइरहेका बेला यही समुदायका कतिपय महिलाले आफ्नो साहस र संघर्षलाई खुलेर अभिव्यक्त गरिरहेका छन् । विखण्डित समाजमा हुर्किएका उनीहरूले चलिआएको संस्कारलाई सहर्ष स्वीकार गरेका छन् तर सँगै आफ्नो विकास र सशक्तीकरणमा पनि आफूलाई परिमार्जित गर्दै लगेका छन् ।

त्यति मात्र होइन, उनीहरू आफ्नो संस्कारको मर्मलाई मर्न नदिई आफ्नो क्षेत्रमा अघि बढिरहेका छन् । यसको उदाहरण बंगलादेशमा महिला प्रधानमन्त्रीहरूको निरन्तरता पनि हो । एयरपोर्टबाट बाहिर निस्कँदा बुर्काभित्र रहेका महिला बढी देखिए पनि यथार्थ बुझ्दै जाँदा उनीहरू परिवारभित्र निर्णयको स्वतन्त्रता, आर्थिक स्वतन्त्रता तथा शिक्षामा अब्बल भेटिए । बंगलादेशको राजधानी ढाकाभन्दा ३ सय ८० किलोमिटर टाढा जयपुरहटन जस्तो ग्रामीण परिवेशका अभिभावकले आफ्ना दुई छोरीलाई इञ्जिनियर र डाक्टर बनाएको कुरा सुन्दा अचम्म मान्नुपर्ने हुन्छ । उद्योग मन्त्रालयमा कार्यरत माधवीलता एउटी त्यस्ती महिला हुन् जो आफ्नो अदम्य साहस र संघर्षबाट कहिल्यै थाकिनन् । पलपलमा सामाजिक कुरीतिबाट प्रताडित हुँदा पनि उनी हरेक चुनौतीको डटेर सामना गर्दै अघि बढिरहेकी छिन् । परिवारभित्र भन्दा पनि सामाजिक हिसाबले हामी बंगलादेशका महिलालाई निक्कै कठिन छ–माधवीलता भन्छिन्–‘घरबाट निस्किएपछि र अफिसबाट घर नफर्कंदासम्म मैले अनेकन शारीरिक तथा मानसिक यातना नसहेकी होइन तर त्यस्ता समस्या सामना गर्दै अघि बढ्ने प्रण गरेकी छु । यस्ता कुराबाट डराएर पछाडि हट्दै जाने हो भने हामी बंगाली नारीहरूको अस्तित्व नै समाप्त हुन्छ ।’ उनी आफ्नो अस्तित्व रक्षाका लागि जीवनको अन्तिम प्रहरसम्म लडिरहने बताउँछिन् । कार्यालयमा प्रेम प्रस्ताव राखेर मानसिक हिंसा हुने बताउँदै उनी कहिलेकाहीँ यौनहिंसाको प्रयास पनि हुने दु:ख व्यक्त गर्छिन् । माधवीलता बंगलादेश सरकारको उपल्लो ओहोदामा काम गर्ने कमै महिलामध्ये एक हुन् । कार्यालयमा उनको कामबाट सबैजना सन्तुष्ट छन् । त्यसका अतिरिक्त उनले विभिन्न विज्ञापनमा समेत अभिनय गरिसकेकी छिन् । एक छोराकी आमा माधवीलता आफ्ना आमाबुवालाई समेत आफैंसँग राखी उनीहरूको हेरविचार गरिरहेकी छिन् । बंगाली समुदाय त्यसमाथि पनि मुसलमान संस्कारमा एउटी महिलाले छोरासरहको भूमिका निर्वाह गर्न कति कठिन होला ? सहजै अनुमान गर्न सकिन्छ ।

निक्कै हँसिली, फरासिली एवं जुझारु बोबिता रानी बोरमन बंगलादेशको उत्तरी जिल्ला बोगरामा टिएमएसएसले सञ्चालन गरेको विशाल डिपार्टमेन्ट स्टोर सम्हाल्ने एक्ली महिला हुन् । उनलाई बोगरामा सबैले रोल मोडल मान्छन् । ३ दर्जनभन्दा बढी कर्मचारी रहेको उक्त डिपार्टमेन्ट स्टोरका हरेक तल्ला निक्कै व्यवस्थित र सफा देखिन्छन् जुन बोबिताको परिश्रमको नतिजा हो । सामूहिक गाडीलाई अत्यन्तै गहन तरिकाले हाँकिरहेकी बोरमनको उक्त स्टोरबाट सिजनमा दैनिक १५ लाख टाका (नेपाली २० लाख रुपैंयाँ) को कारोबार हुन्छ । 

तरंगो नामक संस्थाकी कोहिनुर यस्मिन मुलुकभरका ६४ जिल्लामा एकल तथा उत्पीडित महिलाहरूको नेतृत्व गरिरहेकी छिन् । उनीहरूलाई आफ्नो रुचि र क्षमताअनुसारको काम दिएर जीनवस्तर उकास्ने काममा वर्षौंदेखि लागिपरेकी यस्मिन फ्याँकिएका तथा काम नलाग्ने सामानलाई रिसाइकल गरी सुन्दर तथा जीवनोपयोगी सामग्री निर्माणमा दत्तचित्त छिन् । उनले मुख्यत: एकल महिलालाई ठूलो मात्रामा रोजगारी प्रदान गरेकी छिन् । ढाकाको दक्षिण भाग मिरपुर काजिपारास्थित तोरंगो थुप्रै असहाय महिलाको आश्रयस्थल हो । उनले लाखौं महिलाका घरमा चुलो बाल्न सहयोग पुर्‍याउँदै आएकी छिन् । तरंगोका उत्पादन राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत लोकप्रिय छन् । यस्मिनले बंगलादेशका ग्रामीण महिलाहरू जो यौन तथा घरेलु हिंसा, दाइजोप्रथा तथा धार्मिक उत्पीडनमा परेका छन् तिनलाई निश्चित अवधिसम्मको बसोबासका लागिसेल्टर होम पनि सञ्चालनमा ल्याएकी छिन् ।  

ढाकास्थित फाइभ स्टार होटल सेराटनमा कार्यरत जयसाइरा खान फुड एण्ड बेभरेज म्यानेजर हुन् । रातबिरात काममा खट्नुपर्ने खानलाई उनका श्रीमान् मुनवर रेजा खानले निक्कै सघाएका छन् । कामका लागि स्वतन्त्र वातावरण प्रदान गर्ने परिवार पाएकैले आफूले यस्तो चुनौतीपूर्ण काम गर्न सकेको उनको तर्क छ । विभिन्न सेमिनार बुकिङ गर्ने, खाना अर्डर डिलिङ गर्ने, कस्ता कार्यक्रमका लागि कस्तो मेनु तयार गर्ने आदि काम उनको निर्णयमा हुन्छ । जयसाइराले यो क्षेत्रमा काम गरेको एक दशकभन्दा बढी भैसकेको छ । मुस्लिम परिवारमा जन्मिएर पनि फ्रिडम अफ च्वाइस अनि फ्रिडम अफ वर्क एन्जोय गर्न पाएकोमा उनी आफूलाई भाग्यमानी मान्छिन् । जयसाइरा भन्छिन्–साना दुई छोरीलाई घरमा छोडेर रातबिरात काम गर्न सहज छैन त्यो पनि हाम्रो जस्तो कट्टर परिवेशमा, तर महिलाले आँटे भने असम्भव केही छैन । 

बंगलादेशको चौसठ्ठी जिल्लामा कार्यरत ठेंगामारा महिला सबुच समूहकी सचिव आयशा बेगम निजी तहको उच्चस्थानमा काम गर्ने कमै महिलामध्ये एक हुन् । १९ हजारभन्दा बढी कर्मचारी भएको ठेंगामारा महिला सबुच समूह (टिएमएसएस) ले मुलुकभरका विभिन्न स्थानमा बंगलादेशी महिलाको आयआर्जन बढाउने काम मात्र गर्दैन यसले आफ्नै अस्पताल, मेडिकल कलेज, नर्सिङ कलेज, महिला मार्केट, पेपर मिल, ह्यान्डिक्राफ्ट प्रोडक्सन हाउस, टेक्सटायल गार्मेन्ट, लघुवित्तीय परियोजना आदि चलाउँदै आएको छ । ती सबै शाखाको नेतृत्व गर्ने आयशा नीति निर्माण गर्ने, कार्यान्वयनमा जोड दिने अनि नयाँ कार्यक्रम सञ्चालनका लागि परियोजना बनाउने कामको निर्णय गर्छिन् । आयशा भन्छिन्–हाम्रो संस्थाले कहिल्यै दाताको सहयोग लिँदैन । हामी चार दशकदेखि आफ्नै स्रोत–साधन प्रयोग गरेर महिलाको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न लागिपरेका छौं । हाम्रो संस्थाको लघुवित्तीय योजनाले ग्रामीण तथा अत्यन्त पिछडिएका महिलालाई ऋण दिने काम गर्छ । हाम्रो संस्थासँग प्रत्यक्ष रूपमा ३ करोड जनता आबद्ध छन् । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्