आज नागपञ्चमी पर्व मनाइँदै

अनन्तो वासुकि पद्मो महापद्मश्च तक्षक: । कुलिर: कर्कट: शंखश्चाष्टौ नागा: प्रकीर्तिता: ।। अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च । सुमन्तुर्जैमिनिश्चैव पञ्चैते बज्रवारका: ।। मुने कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् । विद्युदग्नि भयं नास्ति लिखितं गृहमण्डले ।।

दीपक दहाल

भाद्र १, २०७२प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व हिन्दू धर्मावलम्बीले आज विशेष श्रद्धापूर्वक मनाउँदै छन् । आज देशैभर हिन्दू परम्पराअनुसार घरका ढोकामा नागको चित्र टाँसी पूजाआजा गरिन्छ । बराह पुराणमा उल्लेख भएअनुसार नागराजसँग ब्रह्माको संवाद पञ्चमी तिथिमा भएकाले श्रावण शुक्ल पञ्चमी अर्थात् आजको दिन नागपूजाको लागि प्रसिद्ध रहेको छ । यस दिनमा नागका अष्टकुल अर्थात् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कट एवं शंख नागको चित्रमा दूध, दही, अक्षता, फूल, दूबोले पूजा गरी दूध र लावाको नैवैद्य चढाई घरको मूल ढोकामाथि टाँसिन्छ । नागको चित्रमा लेखिएको हुन्छ :

अनन्तो वासुकि पद्मो महापद्मश्च तक्षक: । कुलिर: कर्कट: शंखश्चाष्टौ नागा: प्रकीर्तिता: ।। 

अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च । सुमन्तुर्जैमिनिश्चैव पञ्चैते बज्रवारका: ।। 

मुने कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् । विद्युदग्नि भयं नास्ति लिखितं गृहमण्डले ।। 

यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दु:ख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक मान्यता छ । आजदेखि वर्षायाम समाप्त भई हिउँदयाम प्रारम्भ भएको मानिन्छ । हिन्दू धर्मका चाडपर्वहरू पनि नागपञ्चमीबाटै सुरु हुन्छन् । 

वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसी आएको धार्मिक विश्वास रही आएको छ । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने जनविश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिइँदै आएको छ । नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै चलिआएको छ । शिवले नागको माला लगाउने र विष्णु जलमाथि शेष नागको शय्यामा फणाको छाता ओढी शयन गर्ने भएकाले पनि नागलाई पुजिएको हो ।  रोपाइँका लागि पानी पार्न नागहरूले सहयोग गरेको र अब रोपाइँ सकिएकाले उनीहरूप्रति कृतज्ञता ज्ञापन गर्न त्यसरी पूजा गरेको भन्ने लोककथन पनि छ । नागपञ्चमीका अवसरमा काठमाडौं नक्सालको नागपोखरी, ललितपुरको धापाखेल, भक्तपुरको सिद्धपोखरी एवं काभ्रेको पनौतीसहित देशभरका नागपोखरी तथा मन्दिरमा भक्तजनको घुइँचो लाग्छ ।

नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किसिमका किंवदन्ती प्रचलित छन् । तीमध्ये एउटा प्रख्यात किंवदन्ती यस्तो छ : एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीन बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहारा खोजेर आउँदा आफ्ना सबै सन्तान मरेको देखेर क्रुद्ध भइन् । रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकाले किसानको घरमा गएर किसानकी श्रीमती एवं दुई छोरालाई पनि मारिदिइन् । संयोगले किसानकी छोरी घरबाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनय–विनय गरी मलाई नमार्नुहोस्, म तपाईंको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छाडिदिइन् । मृत्युको मुखबाट बच्न सकेकोमा प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई षोडषोपचारले पूजाआजा गरी कचौरामा दूध खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग, भनेपछि किसानकी छोरीले आफ्ना मातापिता र भाइलाई जीवनदान दिनुहोस् भनी वर मागिन् । प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानको परिवारलाई बचाइदिइन् । नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको हो । त्यस्तै गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्र बर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बोलाएपछि गुरु आएको देखी गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी बर्साएको प्रसङ्ग पनि धर्मशास्त्रहरूमा उल्लेख छ । प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि भएपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने नियम बसालेको कुरा अध्येताहरू बताउँछन् । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्