उहाँ मलाई जग्गेमा छोडेर भाग्नुभयो

१० वर्षको उमेरमै दुलही बनेर भित्रिएकी ९२ वर्षीया चोककुमारी पोखरेल आफ्नो पहिलो सन्तान जन्मिएपछि मात्र श्रीमान्सँग बोलेको बताउँछिन् । सन् १९९० सालको भूकम्प गएको ४५ दिनपछि चोककुमारीलाई दुलही बनाएर भित्र्याएका खोटाङ खार्पाका ईश्वरीप्रसाद पोखरेल आज ९८ वर्षका भए ।

लक्ष्मी भण्डारी थापा

श्रावण २७, २०७२ 

चोककुमारी र ईश्वरीप्रसाद पोखरेल

चो.ककुमारी उतिबेला आफ्ना श्रीमान्सँग बोल्न मात्रै पनि पहिलो सन्तान कुर्नुपरेको दिन सम्झन्छिन् । त्यो जमानामा श्रीमान्–श्रीमती आपसमा बोलेको मात्रदेखे पनि गाउँलेहरू कुरा काट्दै भन्थे–‘हेर न, फलानाका छोरा–बुहारी लाजै नमानी कसरी बोल्न सकेका ?’ १० वर्षको उमेरमै दुलही बनेर भित्रिएकी ९२ वर्षीया चोककुमारी पोखरेल आफ्नो पहिलो सन्तान जन्मिएपछि मात्र श्रीमान्सँग बोलेको बताउँछिन् । सन् १९९० सालको भूकम्प गएको ४५ दिनपछि चोककुमारीलाई दुलही बनाएर भित्र्याएका खोटाङ खार्पाका ईश्वरीप्रसाद पोखरेल आज ९८ वर्षका भए । उनीहरूको विवाहका बखत त्यतिबेलाको भूकम्पको पराकम्पन जारी थियो । विवाहको जग्गेमा बसेका ईश्वरीप्रसाद तथा सबै जन्ती र पण्डितसहित भूकम्प आयो भन्दै भागाभाग गर्न थाले तर दुलही चोककुमारी ढुक्कले जग्गेमै बसिरहिन् । श्रीमान्को नाम लिए पाप लाग्छ भन्ने चोककुमारी भन्छिन्–उहाँ मलाई जग्गेमा छोडेर भाग्नुभयो । म त डराइन । १० वर्षकी बालिका बाक्लो गुन्युचोलोले बेरिएकी हुनाले भाग्न पनि कठिन थियो भने मनले पनि भाग्न मानेन ।

३ भाइ छोरा र ४ छोरीका धनी यी वृद्ध जोडी विवाहलगत्तै कुराकानी गर्न नपाएको न्यास्रो अहिले मेटिरहेका छन् । चौबीसै घन्टा सँगै हुने यो जोडी पूर्वसचिव छोरा भोजराज पोखरेलको थापाथलीस्थित घरको बगैंचामा गफिएर बस्छ । सुख–दु:खका तीता–मीठा कुराकानीमा उनीहरूको समय बित्छ । खोटाङको खार्पाबाट सप्तरीको कञ्चनपुर बसाइ सरेका उनीहरू साना लालाबाला हुँदा बडो दु:खका दिन कटाएको सम्झन्छन् । विवाहपछि खार्पाबाट पढ्न भनेर जनकपुर हिँडेका ईश्वरीप्रसादको ३५ जनाको सगोलको परिवारलाई रिझाएर चोककुमारीले धैर्यको परिचय दिइन् जुन कुराले आजसम्म ईश्वरीप्रसादलाई भित्रैदेखि छुन्छ । त्यसपछि ईश्वरीप्रसाद पढ्नका लागि मटियानी हुँदै काठमाडौं आइपुगे र संस्कृत पाठशालामा अध्ययन गर्न थाले । उनले संस्कृत अध्ययन सिध्याएर खार्पा फर्किएपछि गाउँकै 

स्कुलमा पढाए । 

श्रीमान् बाहिरबाट कमाएर ल्याउने अनि श्रीमती घर व्यवहार सम्हाल्दै बालबच्चाको लालनपालन र उनीहरूको शिक्षादीक्षामा समय दिने गर्दागर्दै उनीहरूको जवानी बित्यो । ईश्वरी भन्छन्–‘यिनले मलाई कहिल्यै पढाइ र काममा रोकिनन् । घर व्यवहार म सम्हाल्छु भन्दै सधैं उत्साह दिइरहिन् तसर्थ आज हाम्रा सबै सन्तान एकसेएक छन् । हामी सन्तान सुखमा चुर्लुम्म डुबेका छौं अहिले ।’

परस्परको माया एवं समझदारीले सम्बन्ध बलियो बनाउने दुवैको तर्क छ । आजसम्म पनि यी दुईमा उत्तिकै माया र विश्वास छ । कहिलेकाहीँ साना–तिना कुरामा ठाकठुक परे पनि तुरुन्तै रिस शान्त भैहाल्ने चोककुमारी बताउँछिन् । उनीहरूलाई अब कुनै कुराको रहर र पश्चात्ताप छैन । चोककुमारी भन्छिन्–‘म भरिपूर्ण छु । भित्रैदेखि सन्तुष्ट छु । मेरा बुहारीहरू असल छन् । बरु छोराहरू लोग्नेमान्छे हुन्, कहिलेकाहीँ उनीहरूसँग झोंक चल्छ तर बुहारीहरूले हाम्रो सेवामा कुनै कसर बाँकी राखेका छैनन् ।’

-लक्ष्मी भण्डारी थापा 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्