विवाहको दुई वर्षपछि मात्र बोलचाल

विवाहको दुई वर्षपछि मात्र बोलचाल
श्रावण १०, २०७२

मदनमणि दीक्षित,(साहित्यकार), रीता दीक्षित

विवाहको दुई वर्षसम्म उनीहरूबीच राम्रोसँग बोलचाल भएन । मदनमणि अध्ययनमा व्यस्त हुनाले त्यति बोलचाल नभएको अनुमान उनकी श्रीमती रीताको छ । रीता विवाहपछि घरको काममा सहयोग गर्नुका साथै नन्द तथा नोना कोइरालासँग खेल्थिन् ।

विवाहको समयमा मदनमणि १७ वर्षका थिए भने रीताको उमेर १२ वर्ष थियो । १२ वर्षे उमेरमा विवाह भएकाले रीतालाई विवाह एक किसिमको रमाइलो चाडजस्तो महसुस भएको थियो । विवाहअघि कहिल्यै भेटघाट नभएका उनीहरूको विवाहको कुरा रीताका फुपाजुमार्फत चलेको थियो । रातो पहिरनमा सजिएर, झकिझकाउ गहना लगाउन पाएकाले विवाह गर्न रमाइलो लागेको रीताको अनुभव छ ।

रीताको परिवार वीरगन्जमा तथा मदनमणिको परिवार बनारसमा बस्ने भएकाले विवाह बनारसबाटै भएको थियो । मदनमणि विवाहका बेलामा आठ कक्षामा पढ्दै थिए । विवाहको दिन दुलहाको भेषमा सजिएर दुलहीको घर जाँदा रमाइलो लागेको उनी बताउँछन् । विवाह मण्डपमा आनन्दसँग बसिरहेको अवस्थामा आफ्नो छेउमा रातो पोको ल्याएर के राखिदिएको होला जस्तो लागेको मदनमणिले सुनाए । पछि उनले त्यो रातो पोको श्रीमती भएको थाहा पाए । विवाहमा पूजाकै क्रममा श्रीमतीलाई छुनुपर्ने नियम थियो । त्यतिबेलासम्म उनले श्रीमतीलाई देखेका पनि थिएनन् । सिन्दूर हाल्ने बेलामा मात्र पहिलोपटक श्रीमतीको अनुहार देखेको मदनमणिले बताए । उनीहरूको विवाह गानाबजानाका साथ सम्पन्न भएको थियो । विवाहका प्रमुख अतिथि विष्णु शमशेर भएको मदनमणिले बताए ।

विवाहको दुई वर्षसम्म उनीहरूबीच राम्रोसँग बोलचाल भएन । मदनमणि अध्ययनमा व्यस्त हुनाले त्यति बोलचाल नभएको अनुमान उनकी श्रीमती रीताको छ । रीता विवाहपछि घरको काममा सहयोग गर्नुका साथै नन्द तथा नोना कोइरालासँग खेल्थिन् । रीता घरको काम तथा खेलमा व्यस्त हुन्थिन् भने मदनमणि पढाइमा व्यस्त हुन्थे ।  

विवाहको १३–१४ वर्षसम्म बनारस तथा त्यसपछिका ६–७ वर्ष वीरगन्ज बसेपछि मात्र उनीहरू काठमाडौं आएका थिए । त्यसबीच उनीहरूका चार छोरा तथा एक छोरीको जन्म भैसकेको थियो । काठमाडौं आएपछि उनीहरूको प्रेमले झाँगिने मौका पायो ।

उनीहरू फस्ट डे फस्ट सो सिनेमा हेर्न जान्थे । मदनमणि साहित्य तथा राजनीतिमा लागेका कारण रीताले नै सन्तान हुर्काउने, बढाउने आदि काम गरिन् । पुरुषप्रधान समाज भएकाले त्यो समयमा श्रीमान्को खुट्टाको जल नखाई केही खान नहुने चलन थियो । यी सब परम्परालाई रीताले पनि अनुशरण गरिन् । सामाजिक असमानता भएकाले यस्तो भएको मदनमणि बताउँछन् । यसैगरी श्रीमान्को जुत्ता पनि श्रीमतीले लगाइदिनुपथ्र्यो । एकदिन जुत्ता लगाइदिने बेलामा मदनमणिले कान (जुत्ताको फित्ता) समात भन्दा रीताले नबुझेर मदनमणिको कान समातेकी थिइन्, रीताले यो कुरा सुनाउँदा दुवै अतीत सम्झेर मज्जाले हाँसे ।  

आगो पनि नठोसी बल्दैन भनेझैं जीवनको ७७ वर्ष सँगै बिताएका दीक्षित दम्पतीबीच अहिले पनि बेला–बेलामा ठाकठुक परिरहन्छ । यस्तो नभए जीवनको मज्जा नहुने उनीहरूले बताए । अहिले पनि टेलिभिजनका कार्यक्रम हेर्ने कुरामा उनीहरूको झगडा पर्छ । रीतालाई टेलिभिजनमा हिन्दी चलचित्र हेर्न मन लाग्छ भने मदनमणि समाचार तथा अन्य कार्यक्रम हेर्न मन पराउँछन् ।

८९ वर्षको उमेरमा पनि उत्तिकै फुर्तिली रीता आफ्नो काम आफैं गर्छिन् । बुहारी तथा एउटी बहिनीले काममा सघाए पनि खाना आफैं पकाउँछिन् । रीता बिहान चार बजे उठेर योग एवं नित्य कर्म गर्छिन् । त्यसपछि खाना पकाउँछिन् । खानापछि दिउँसो केही समय दुवैजना आराम गर्छन् । मदनमणि पत्रपत्रिका हेर्छन् । रीताले घरपरिवार सम्हालेर छोराछोरीको पालनपोषण गरेकीले आफू सफल हुन सकेको मदनमणिको धारणा छ । दीक्षित भन्छन्–‘मेरा सुख–दु:ख तथा जिन्दगीका आरोह–अवरोहमा साथ दिने श्रीमती रीता साँच्चै नै ममताकी खानी हुन् ।’ वैवाहिक जीवनलाई सुमधुर ढंगमा अघि बढाउन श्रीमान्–श्रीमती दुवैले एक–अर्काको भावनाको कदर गर्नुका साथै आफ्नो कर्तव्य बिर्सन नहुने उनीहरूको धारणा छ ।

उपासना पाण्डे

उहाँ मलाई जग्गेमा छोडेर भाग्नुभयो

चोककुमारी र ईश्वरीप्रसाद पोखरेल

चोककुमारी उतिबेला आफ्ना श्रीमान्सँग बोल्न मात्रै पनि पहिलो सन्तान कुर्नुपरेको दिन सम्झन्छिन् । त्यो जमानामा श्रीमान्–श्रीमती आपसमा बोलेको मात्रदेखे पनि गाउँलेहरू कुरा काट्दै भन्थे–‘हेर न, फलानाका छोरा–बुहारी लाजै नमानी कसरी बोल्न सकेका ?’ १० वर्षको उमेरमै दुलही बनेर भित्रिएकी ९२ वर्षीया चोककुमारी पोखरेल आफ्नो पहिलो सन्तान जन्मिएपछि मात्र श्रीमान्सँग बोलेको बताउँछिन् । सन् १९९० सालको भूकम्प गएको ४५ दिनपछि चोककुमारीलाई दुलही बनाएर भित्र्याएका खोटाङ खार्पाका ईश्वरीप्रसाद पोखरेल आज ९८ वर्षका भए । उनीहरूको विवाहका बखत त्यतिबेलाको भूकम्पको पराकम्पन जारी थियो । विवाहको जग्गेमा बसेका ईश्वरीप्रसाद तथा सबै जन्ती र पण्डितसहित भूकम्प आयो भन्दै भागाभाग गर्न थाले तर दुलही चोककुमारी ढुक्कले जग्गेमै बसिरहिन् । श्रीमान्को नाम लिए पाप लाग्छ भन्ने चोककुमारी भन्छिन्–उहाँ मलाई जग्गेमा छोडेर भाग्नुभयो । म त डराइन । १० वर्षकी बालिका बाक्लो गुन्युचोलोले बेरिएकी हुनाले भाग्न पनि कठिन थियो भने मनले पनि भाग्न मानेन ।

३ भाइ छोरा र ४ छोरीका धनी यी वृद्ध जोडी विवाहलगत्तै कुराकानी गर्न नपाएको न्यास्रो अहिले मेटिरहेका छन् । चौबीसै घन्टा सँगै हुने यो जोडी पूर्वसचिव छोरा भोजराज पोखरेलको थापाथलीस्थित घरको बगैंचामा गफिएर बस्छ । सुख–दु:खका तीता–मीठा कुराकानीमा उनीहरूको समय बित्छ । खोटाङको खार्पाबाट सप्तरीको कञ्चनपुर बसाइ सरेका उनीहरू साना लालाबाला हुँदा बडो दु:खका दिन कटाएको सम्झन्छन् । विवाहपछि खार्पाबाट पढ्न भनेर जनकपुर हिँडेका ईश्वरीप्रसादको ३५ जनाको सगोलको परिवारलाई रिझाएर चोककुमारीले धैर्यको परिचय दिइन् जुन कुराले आजसम्म ईश्वरीप्रसादलाई भित्रैदेखि छुन्छ । त्यसपछि ईश्वरीप्रसाद पढ्नका लागि मटियानी हुँदै काठमाडौं आइपुगे र संस्कृत पाठशालामा अध्ययन गर्न थाले । उनले संस्कृत अध्ययन सिध्याएर खार्पा फर्किएपछि गाउँकै स्कुलमा पढाए ।

श्रीमान् बाहिरबाट कमाएर ल्याउने अनि श्रीमती घर व्यवहार सम्हाल्दै बालबच्चाको लालनपालन र उनीहरूको शिक्षादीक्षामा समय दिने गर्दागर्दै उनीहरूको जवानी बित्यो । ईश्वरी भन्छन्–‘यिनले मलाई कहिल्यै पढाइ र काममा रोकिनन् । घर व्यवहार म सम्हाल्छु भन्दै सधैं उत्साह दिइरहिन् तसर्थ आज हाम्रा सबै सन्तान एकसेएक छन् । हामी सन्तान सुखमा चुर्लुम्म डुबेका छौं अहिले ।’

परस्परको माया एवं समझदारीले सम्बन्ध बलियो बनाउने दुवैको तर्क छ । आजसम्म पनि यी दुईमा उत्तिकै माया र विश्वास छ । कहिलेकाहीँ साना–तिना कुरामा ठाकठुक परे पनि तुरुन्तै रिस शान्त भैहाल्ने चोककुमारी बताउँछिन् । उनीहरूलाई अब कुनै कुराको रहर र पश्चात्ताप छैन । चोककुमारी भन्छिन्–‘म भरिपूर्ण छु । भित्रैदेखि सन्तुष्ट छु । मेरा बुहारीहरू असल छन् । बरु छोराहरू लोग्नेमान्छे हुन्, कहिलेकाहीँ उनीहरूसँग झोंक चल्छ तर बुहारीहरूले हाम्रो सेवामा कुनै कसर बाँकी राखेका छैनन् ।’

लक्ष्मी भण्डारी थापा

सच्चा प्रेमी नौलखा दम्पती

भीमराज नौलखा र इन्दुदेवी नौलखा

स्वतन्त्रता सेनानी भीमराज नौलखा र इन्दुदेवी नौलखाको विवाह भएको ६८ वर्ष बितिसकेको छ । यद्यपि उनीहरूबीचको प्रेम, सद्भाव र आपसी समझदारी हेर्दा भर्खर प्रेममा परेका जोडीहरू भन्दा कम देखिँदैन । ८३ वर्षकी इन्दु ८७ वर्षका श्रीमान्लाई आफै स्याहार्छिन् । बिरामी भएका श्रीमान्लाई छोराछोरी एवं नातिहरूले स्याहारेको पनि उनलाई मन पर्दैन । उनी आफैं श्रीमान्का लागि खाना पकाउने, हिँडडुल गराउने, लुगा फेराउने तथा औषधि ख्वाउने आदि काम सम्पन्न गर्छिन् ।

हुन त, भारत राजस्थानको सम्पन्न परिवारकी छोरी इन्दुको जीवनमा कुनै कुराको कमी थिएन । त्यतिबेला नेपालमा बसोबास गरिरहेका भीमराजसँग उनको विवाह भयो । भीमराज त्यतिबेला मुक्ति  सेनाका सदस्य थिए । बीपीकी आमा दिव्याले क्रान्तिमा जान भीमराजलाई लिन आउँदा उनकी जीवनसंगिनी इन्दुदेवीले आफूसँग भएको १ सय तोला सुनसमेत दिएर श्रीमान्लाई क्रान्तिमा पठाएकी थिइन् । त्यतिबेला उनी गर्भवती थिइन् । शिशु जन्मने बेलामा यसरी सबै सुन दिएर श्रीमान्लाई आन्दोलनमा पठाउनु इन्दुको बहादुरी थियो । उनको त्यो त्याग र आँटले नै आज भीमराज नौलखालाई जिउँदो सहिदको दर्जा दिइन्छ । श्रीमान् क्रान्तिमा निस्किएकै दिन इन्दुले आफ्नो पहिलो सन्तानलाई जन्म दिइन् । नौलखा दम्पतीका ६ छोरी तथा ३ छोरालाई इन्दु आफैंले हुर्काइन् भने श्रीमान्लाई कुनै घरायसी तनाव दिइनन् । प्राय: मारवाडी परिवार पैसा कमाउनेतिर लाग्ने भए पनि कोइराला परिवारको सामीप्य एवं श्रीमतीको उदार मनकै कारण क्रान्तिमा लागेर पैसाको पछाडि कहिल्यै दौडनु नपरेको भीमराज बताउँछन् । राजनीतिमा लागेका भीमराज जैन धर्ममा पनि उत्तिकै सक्रिय छन् । उनी जैन साधुमा जाँदा श्रीमतीलाई पनि सँगै लान्थे । राजस्थानबाट जैन साधुहरूको सेवा गरी हिँड्दै विराटनगरसम्म आइपुग्थे । राजनीतिमा सामूहिक सरकारमा उनी मार्केटिङ इन्स्पेक्टर थिए भने पछि काठमाडौंमा बीपीको सुराकीका रूपमा भरत शमशेरकहाँ भाँडा माझ्नसमेत बसे । खुकुरी दलले आक्रमण गर्ने बेला बीपीलाई उनैले भगाएका थिए ।

अहिले वृद्धावस्थामा आइपुगेका नौलखा दम्पतीको जीवनमा धेरै उत्तारचढाव आए पनि भीमराज इन्दुजस्ती जीवनसंगिनी पाएर आफ्नो जीवन सार्थक भएको बताउँछन् । चाउरिएको शरीरमा उत्तिकै बल भएकी इन्दु श्रीमान्को हातमा हात राखेर नाति–पनातिहरूसँग रमाइरहेका छिन् । इन्दु राज्यका सच्चा सेवककी धर्मपत्नी हुन पाउनुलाई आफ्नो सौभाग्य मान्छिन् । कुनै लोभ, लालच एवं मोह नराख्ने नौलखा दम्पती सच्चा प्रेमका प्रतीक हुन् ।

सिर्जना दुवाल श्रेष्ठ

रोमान्टिक जोडी

राजाराम छत्कुली र कल्याणी छत्कुली

४० वर्ष एउटै छानामुनि सुख–दु:ख साटासाट गरी जीवन बिताउनु चानचुने कुरा होइन । त्यसमा पनि माया तथा आत्मसम्मान यथावत् राखेर दाम्पत्य जीवनलाई अघि बढाउन ठूलो साहस तथा धैर्य चाहिन्छ । नापी महाशाखाका पूर्वमहानिर्देशक राजाराम छत्कुली अहिले पनि आफूलाई निकै व्यस्त राख्न रुचाउँछन् ।

उनी अहिले युएनमा कार्यरत छन् । ६५ वर्षको उमेरमा पनि उनी निकै फिट देखिन्छन्  । त्यसैगरी उनकी जीवनसंगिनी कल्याणी छत्कुली उनको जीवनका हरेक पलमा साथ दिएर अघि बढिरहेकी छिन् । राजारामको जन्म धादिङमा भएको हो भने कल्याणीको जन्म दोलखामा भए पनि बाल्यकाल चितवनमा बितेको हो । श्रीमान् सदैव काममा व्यस्त हुनुपर्ने भएकाले उनले घरलाई समय दिइन् । उनीहरूका दुवै सन्तति राम्रो संस्कार पाएका कारण आ–आफ्नो क्षेत्रमा सफल छन् । चितवनमा विवाह बन्धनमा बाँधिएकी कल्याणीलाई राजारामको सादगीपनले आकर्षित गरेको थियो भने राजाराम कल्याणीको सुन्दरतामा मोहित भएका थिए । उनीहरूले भर्खर आफ्नो विवाहको ४०औं वार्षिकोत्सव पनि मनाए । कल्याणीलाई श्रीमान्को इमान्दारिता तथा लगनशीलता देखेर खुसी लाग्छ भने राजाराम कल्याणीको धैर्यको वर्णन गरेर कहिल्यै थाक्दैनन् । उनीहरू समय मिल्नेबित्तिकै विदेश घुम्न मन पराउँछन् । राजाराम आफ्नी जीवनसंगिनीलाई उपहार दिने कुनै मौका छोड्दैनन् । कल्याणीलाई मन पर्ने रंग रातो भएकाले उनी जे खरिद गरे पनि रातोलाई प्राथमिकता दिन्छन् ।

कल्याणी पनि आफ्ना श्रीमान्लाई मन पर्ने परिकार तयार पारेर ख्वाउन निकै रमाइलो महसुस गर्छिन् । शनिबार उनीहरू मन्दिर दर्शन गर्न जानुका साथै सँगसँगै किनमेल गरी बाहिर खाना खाएर समय बिताउँछन् । उनीहरू उदाहरणीय जोडीका रूमा परिचित छन् । बिहान पनि दुवै सँगै मर्निङ वाक जान्छन् । कल्याणी स्वास्थ्यप्रति निकै सजग छिन् भने राजाराम मुख बार्न सक्दैनन् । आफूलाई व्यस्त राख्न मन पराउने राजाराम फुर्सदमा गीत सुन्न मन पराउँछन् । कल्याणी भने बगैंचामा समय बिताउन रुचाउँछिन् । विवाह भएको ४० वर्ष भैसक्दा पनि दुवैलाई हिजो मात्र भेटेजस्तो अनुभव हुन्छ । आपसी सद्भाव तथा समझदारीले उनीहरूलाई सफल बनाएको छ । दाम्पत्य जीवनको मुख्य मेरुदण्ड आपसी विश्वास तथा आत्मसम्मान हो भन्ने राजाराम आफूले कहिल्यै श्रीमतीसामु आफ्नो विश्वास डगमगाउन नदिएको बताउँछन् । कल्याणी भन्छिन्–यदि श्रीमान् बुझकी र मेहनती नभएको भए जीवन अघि बढाउन निकै गार्‍हो हुन्थ्यो । श्रीमान्ले आफू तथा बालबच्चाका हरेक इच्छा पूरा गरिदिनुभएको छ ।

जीवनमा विभिन्न समस्या तथा चुनौतीको सामना गर्नुपर्छ । त्यसमा आफ्नो जीवनसाथीको साथ रहे त्यसलाई सजिलै पार लगाउन सकिने उनीहरूको अनुभव छ । जीवनलाई कसरी अघि बढाउने निर्णय आफैले गर्नुपर्ने र आफ्नो पारिवारिक जीवन सफल बनाउन समान दायित्व र कर्तव्य हुने उनीहरू बताउँछन् । त्यसो त महिलाहरूका विषयमा निकै संवेदनशील राजारामले आफ्नी श्रीमतीलाई कुनै बन्धनमा राखेनन् । उनले कल्याणीले गर्न चाहेका हरेक कुरामा सहमति जनाए । घरका हरेक ठूला निर्णयमा कल्याणीको पनि समान सहभागिता हुन्छ । कतिपय निर्णय त कल्याणी आफै गर्छिन् । कल्याणीले घरपरिवार तथा हरेक पक्षलाई राम्रोसँग सम्हालिदिएकीले आफूले स्वतन्त्र भएर काम गरेको राजाराम बताउँछन् । बाहिर जस्तोसुकै तनाव भए पनि घर पस्नेबित्तिकै कल्याणीको हँसिलो अनुहारले राजारामको हरेक दु:ख दूर हुन्छ । कहिलेकाहीँ उनीहरूबीच सामान्य विवाद पनि हुन्छ तर त्यो विवाद लामो समयसम्म रहँदैन । राजाराम आफ्नी प्रेयसीलाई सरी भनेर उपहार दिइहाल्छन् । ४० वर्ष सँगै बिताएका उनीहरूले आफ्नो दाम्पत्य जीवन सफल भएको महसुस गरेका छन् । त्यसो त अहिले पनि यो दम्पतीलाई देख्नेहरू भन्छन्–कस्तो रोमान्टिक जोडी ।

झरना नहर्की

एक–अर्काको साथमा रमाएको जोडी

कमलराज रेग्मी र विमला रेग्मी

राजनीतिज्ञ तथा साहित्यकार कमलराज रेग्मी पाल्पा घर भए पनि अध्ययनका लागि सानैदेखि काठमाडौं बस्थे । १८ वर्षको उमेरमा घरबाट केटी हेरी ठिक्क पारेर विवाहका लागि उनलाई पाल्पा बोलाइयो । त्यतिबेला केटाले केटी हेर्ने चलन थिएन । उनी छुट्टी लिएर विवाह गर्न पाल्पा पुगे । ११ वर्षकी विमलासँग उनको विवाह भयो । कमलराज काठमाडौंमा वामपन्थी राजनीति गर्थे भने उनी सुधारवादी थिए । त्यसैले विवाहमा श्रीमान्को खुट्टा धोएर पानी खाने र ढोग्ने परम्परा बहिष्कार गरे । त्यतिबेला विवाहपछि दुई वर्ष माइतीमै बसी काम सिकेर आउने चलन थियो । त्यसैले भोलिपल्टै ससुरालाई छोरीलाई पढ्न र लेख्न जानेपछि मात्र पठाइदिन चिठी लेखे । उनी दुई वर्षपछि पढ्न बनारस गए । विवाह गरेको ३ वर्षपछि मात्र उनीहरूको राम्रोसँग देखभेट भयो । माइतीमा बसेर विमलाले श्रीमान्को इच्छाबमोजिम पढ्न–लेख्न सिकिन् । पछि घरमा आएपछि श्रीमान्ले नै सिकाउन थाले ।

२००७ सालमा पाल्पामा पहिलो पटक पार्टीको झण्डा उठाएका कमलराज रेग्मीको राजनीतिप्रतिको समर्पण देखेर विमला पनि पार्टीमा लागिन् । महिला संगठन बिस्तार गरी ठाउँठाउँमा पुगेर जनजागरणका भाषण दिने विमलालाई परिवारले हेला गर्न थाल्यो । २०१५ सालको निर्वाचनमा पाल्पाबाट कमलराजले विजय प्राप्त गरे भने २०१७ सालमा ५ वर्ष जेल परे । त्यतिबेला विमलाको जीवनमा धेरै दु:ख आइपर्‍यो । उनी पाल्पाको मिसनरी हस्पिटलमा लुगा धुने काम गर्न पुगिन् । त्यहाँका अमेरिकन डाक्टरले विमलाको मेहनत देखेर नर्सिङ पढ्न सहयोग गरे । कमलराजलाई जेलमा बस्दा पेटका विभिन्न रोगका साथै अल्सरले सारै दु:ख दियो । त्यसपछि उनी सरकारलाई माफीसहितको चिठी लेखेर जेलमुक्त भए । पञ्चायतबाट चुनाव उठेर राष्ट्रिय पञ्चायत सदस्य भएपछि श्रीमती र बालबच्चा बोकेर काठमाडौं आए । डेरामा बसेर चार छोरी र एक छोरालाई हुर्काए । एउटा घर त चाहिन्छ भनेर विभिन्न ठाउँमा सापटी लिएर धोवीघाटको अहिले घर भएको जग्गा जोडे । सबै सन्तानलाई राम्रो शिक्षा दिएका उनीहरू अहिले ८९ र ८२ वर्षका भएका छन् । दुवैको शरीरमा ३–४ किसिमका अप्रेसनका घाउ छन् । तैपनि उनीहरूको मनोबल कुनै कमी देखिँदैन । जवानीमा धेरै वर्ष अलग–अलग बसेका यी दम्पती वृद्धावस्थामा एकले अर्काेलाई साथ दिँदै चौबीसै घन्टा सँगै बस्छन् । विमला सधै श्रीमान्संगै मर्न पाए हुन्थ्यो भनिरहन्छिन्, उता कमलराजलाई पनि आफू पहिले बिते श्रीमतीले दु:ख पाउँछिन् कि भन्ने डर छ । रेग्मीका अनुसार जवानीमा हुने माया र बुढेसकालको माया फरक हुन्छ, वृद्धावस्थामा विशेष माया हुन्छ ।

विवाहपछि श्रीमतीले सधैं खुट्टा ढोग्नुपर्ने पम्परालाई नमानेका कमलराजले दुवैले नुहाएर आएपछि हात जोडेर एक–अर्काको हात ढोग्ने र एकले अर्काेलाई गाला जोडेर माया गर्ने चलन चलाए जुन आजसम्म पनि यथावत् छ । विगत ७ वर्षदेखि कुनै गरगहना नलगाएकी विमलाले आफ्नो हातमा कमल र विमला लेखिएको डोरा बाँधेकी छिन् । श्रीमतीले सन्तानको जिम्मेवारी राम्रोसँग निर्वाह गरेकीले नै आफू राजनीतिमा लाग्न पाएको कमलराज बताउँछन् । विमला भने माया गर्ने, परिवारलाई प्राथमिकता दिने श्रीमान् पाएकोमा गर्व गर्छिन् । सबै सन्तान आ–आफ्ना काममा व्यस्त भएकाले दिउँसो यो जोडी एक–अर्काका साथमा रमाइरहेको हुन्छ ।

सिर्जना दुवाल श्रेष्ठ

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्