मनको भारी कसरी हलुका हुन्छ ?

मनको भारी कसरी हलुका हुन्छ ?
श्रावण १०, २०७२मानव शरीरभित्र यस्तो यन्त्र छ जसलाई मन भनिन्छ । मानवीय मन अति नै चञ्चल हुन्छ । हरक्षण त्यो मन हावासमान दौडिरहेको, उफ्रिरहेको हुन्छ । त्यसैले गर्दा मन अशान्त र दु:खी हुन्छ । मन भित्रभित्रै कलह भैरहेको हुन्छ । मन ह्दयमा अवस्थित छ । मन दुई प्रकारको छ–एक बहिर्मुखी अर्को अन्तर्मुखी । बहिर्मुखी मनभन्दा अन्तर्मुखी मन डरलाग्दो र भयङ्कर हुन्छ । अन्तर्मन दु:खपीडाले आकुलव्याकुल हुन्छ । विषम मनस्थितिमा उज्यालो पनि अन्धकार देखिन्छ, सेतो पनि कालै हुन्छ । यतिबेला मन भारी भै गर्‍हौंपनले मस्तिष्क बोझिलो एवं असावधान हुन्छ ।

शरीरमा लागेको चोटपटक सहन सकिन्छ परन्तु आन्तरिक वेदनाले उब्जाएको दु:ख, कष्ट र पीडाका कारणले मनमा भूकम्प नै ल्याउँछ । यो बाह्य रूपमा देख्न सकिँदैन । यतिबेला मानव मस्तिष्कमा तीतो, खल्लो अनुभूति वा शङ्का हुन्छ । तर्क र विचारका मार्गहरू विपरीत दिशामा बहन्छन् । यसले गर्दा मानसिक कष्ट आफैंमा भित्रभित्रै कुहिएर र सडेर नैराश्यको गहिरो खाडलमा जाकिन्छ । त्यतिबेला व्यक्ति न साथीसंगीका साथ बोल्छ न आफ्नो कुरा नै व्यक्त गर्छ । ऊ जति एकान्तप्रिय हुन्छ उति एक्लोपन महसुस गर्न थाल्छ । अनि एक्लै रोइकराई अश्रुधारा बगाउनुबाहेक केही गर्न सक्दैन फलस्वरूप यति सुरम्य धर्तीमा पनि कालैकालको भुमरीमा फसिन्छ । त्यतिबेला मन अति भारी भएर हतोत्साही र निराशाजनक हुन्छ । यही नै हो– मानसिक रोग ।

एक्लोपन निवारण गर्ने एउटा प्रमुख उपाय अध्ययनशील बन्नु पनि हो । धेरै ठूला विद्वान्हरू अभावै अभावले ग्रस्त भएर पनि महान् विचारक, महापुरुष भएका छन् । यी जम्मै मनकै महानताका कारण संभव भएको हो ।

मनको मैला जबसम्म स्वच्छ र निर्मल पार्न सकिँदैन तबसम्म अन्तरकुन्तरमा रहेको विषयले मनमा ठाउँ ओगट्छन् । अत: ती नकारात्मक भावनाहरूलाई टाढा फ्याँकेर आन्तरिक यन्त्रलाई जसरी हुन्छ सफा–सुग्घर गर्नु मनको भारीपन हलुका गर्नु हो । पूर्वजहरूले भनेका छन्–जसले आफ्नो मन जित्न सक्छ उसले जगत् जित्न सक्छ ।

आफ्ना दु:ख र वेदना अरूलाई सुनाएर मनको व्यथा हलुका गरिन्छ । यो पनि एकप्रकारको साधन हो ।

सीत चिकित्सा : सङ्गीत चिकित्सा मानसिक भार, तनाव कम गर्ने सरल पद्धति हो । सङ्गीतले मन र मस्तिष्कलाई एकाग्र तुल्याउन सहयोग गर्छ । सङ्गीत सारा शरीरलाई शिथिल गरेर दु:ख–पीडा बाहिर निकाल्न कारगर सिद्ध भएको छ । सङ्गीतमा ध्यान पनि गरिन्छ । ध्यानले व्यक्तिको शरीरमा अनौठो तरङ्ग उत्पन्न गर्छ । सङ्गीतको सम्बन्ध आध्यात्मिक ज्ञानसँग छ । सङ्गीतले सद्विचार उत्पन्न भएर मन प्रफुल्ल हुन्छ । यसले मानसिक स्वास्थ्यलाई बल प्रदान गर्छ ।

रोदन चिकित्सा : रोदन चिकित्साले मनोविकार हटाउँछ । मनोविकारलाई मनमा गुम्साएर राख्नुभन्दा रुनु शरीरका लागि उत्तम हुन्छ । आँखाबाट आँसु बगाउनु मानसिक स्वास्थ्यको सूचक पनि हो । रुँदा मन–मस्तिष्कलाई शान्तिको आभास हुन्छ । न रोदन न हाँसो न सङ्गीत केही पाउन नसक्नु नै जीवन अपाङ्ग बनाउनु हो ।

हास्य चिकित्सा : मनोवैज्ञानिकहरूले यसलाई शारीरिक एवं मानसिक रोगका लागि प्राकृतिक औषधीकै रूपमा विश्लेषण गरेका छन् । जब व्यक्ति दिल खोलेर हाँस्छ तब उसको शरीरका  रक्तकोषिकाहरू प्रफुल्ल हुन्छन् । मन प्रसन्न भएपछि प्रत्येक रक्तकणहरूमा नेचुरल किलर नामक रोग प्रतिरोधात्मक शक्ति वृद्धि हुन्छ । यसले इम्युन सेल्सहरूको संख्यात्मक वृद्धि मात्र गर्दैन कुनै भयानक रोग लाग्नबाट बचाउँछ ।

भौंतारिएको चित्तलाई हाँसेर नियन्त्रण गर्न सकिन्छ । हाँस्नु मन–मस्तिष्कलाई उर्वराशक्ति प्रदान गर्नु हो । हाँस्दा मनमा प्रसन्नता संचार हुन्छ । यतिबेला मस्तिष्कमा इन्डोर्फिन्स र इन्केफालिन्सजस्ता जैविक रसायनहरू सक्रिय हुन्छन् । त्यसैले हाँसो पोसिलो औषधी हो । हाँसेर दु:ख मात्र निवारण हुने होइन–हाँस्ने व्यक्तिको चित्तवृत्तिसमेत स्वच्छ र सुन्दर हुन्छ । हाँसोले मनको अनावश्यक चिन्ता हटाउँछ । यसले कार्यमा एकाग्रता प्रदान गर्न पनि उत्तिकै सहयोग गर्छ ।

हाँसो जीवनमा धन नै सबै थोक होइन । धन केही हदसम्म आवश्यक छ । धन साधन मात्र हो । धनले शरीरमा सुख ल्याउन सकेन भने त्यसले भारी बोकाउने काम मात्र गर्छ । मनोवैज्ञानिक श्रीमती एलिजावेथ सफोर्ड भन्छिन्—सय वर्ष बाँच्ने मन छ भने आफ्नो चारैतिर हँसिला मित्रहरू राख्नुहोस् ।

सिद्धार्थ गौतमको प्रसिद्ध कथन छ— निरोगी हुनु परम लाभ हो । सन्तोष परम सुख हो, विश्वास सबैभन्दा ठूलो बन्धु हो र निर्वाण परम सुख हो ।हाँस्नु सुखको प्रतीक हो । सुखले शरीरका कर्मेन्द्रिय एवं ज्ञानेन्द्रियहरू सजीव र सशक्त हुन्छन् । यसले मनको थकान हट्छ । चिन्ता, द्वेष, ईष्र्या र लोभहरू कम हुँदै जान्छन् । व्यक्तिको मुखारविन्दमा एकप्रकारको चहक पैदा हुन्छ ।

व्यस्त जीवन : जति सकिन्छ उति व्यस्त रहनुपर्छ । काममा रुचि राख्नु भनेको स्वास्थ्यका लागि महत्त्वपूर्ण सञ्जीवनी हो, जसले ‘म रोगी हुँ’ म वृद्ध हुँ’ भनेर सोची हिँड्छ उसले केही पनि गर्न सक्दैन । जो घरायसी कामदेखि आयआर्जनसम्म सक्रिय हुन्छ, उसको मनमा सन्तोष हुन्छ । प्रसन्नताले भोजनमा रुचि बढ्छ अनि राम्रो निद्रा पनि लाग्छ ।

निष्कर्ष : मानवजीवनमा मनको ठूलो महत्व छ । भनाइ नै छ– मन राम्रो भए पो मति राम्रो हुन्छ ? तर मनलाई नियन्त्रण गर्न निकै कठिन छ । मन नियन्त्रण गर्ने विभिन्न उपायमध्ये योग र व्यायाम पनि प्रमुख हुन् । शरीर र मनको तादात्म्य हुन्छ । शरीर र मनलाई एकाकार गर्नु नै योग हो । व्यायामले पनि शरीरको मैला र पसिना निकालेर व्यक्तिलाई स्वच्छ र स्वस्थ बनाउँछ ।

विद्याकुमारी बज्राचार्य

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्