डराउनु ठीक होइन

डराउनु ठीक होइन

रोजिन शाक्य

असार ६, २०७२

हाम्रा बालबालिका पहिलो पटक कहिले डराएका थिए ? बादलको गर्जनले, कोठामा अचानक अँध्यारो हुँदा, भूकम्प जाँदा, भीडमा अभिभावकको हात छुट्दा अथवा अचानक कुनै अपरिचित व्यक्तिलाई देख्दा । साना बालबालिका डराउनुको एउटा होइन, अनेकौं कारण हुन सक्छन् ।

किन डराउँछन् बालबालिका ?

हरेक बालबालिकाको व्यक्तित्व अरूको भन्दा अलग हुन्छ । त्यसैले उनीहरू फरक–फरक ढंगबाट आफ्नो प्रतिक्रिया व्यक्त गर्छन् र पनि धेरैजसो बालबालिकालाई ठूलो आवाज, अँध्यारो, पानीको गहिराइ, विचित्र आकृति, होलीको रंग, दीपावलीको पटाका आदिसित डर लाग्छ । आमाबुवाले सुरुदेखि नै आफ्ना बालबालिकाहरू केबाट डराउँछन् भन्ने कुराको पहिचान गरी उनीहरूलाई सहज रूपमा डरबाट मुक्ति प्रदान गर्न सक्छन् ।

प्राय: मानिसहरू डराउनु हुँदैन भन्छन् तर पनि कुनै न कुनै रूपमा डर अनुभव गरेकै हुन्छन् । वास्तवमा व्यक्तिलाई सम्भावित खतराबाट जोगाउन प्रकृतिले जन्मसँगै मानिसको मस्तिष्कमा डरको सफ्टवेयर फिट गरेको हुन्छ । बालबालिकाहरू आगो, धारिलो वस्तु आदिबाट डराएनन् भने के हुन्छ ? पक्कै पनि समस्या उत्पन्न हुन्छ । त्यस्तै नवजात शिशु पनि अचानक आउने ठूलो आवाज सुनेर डरले काँप्छ । बालबालिकाको शारीरिक तथा मानसिक विकाससँगै उसको डरको कारण र डरको अभिव्यक्तिको शैली त परिवर्तन हुन थाल्छ, तर डरलाई पूर्णरूपले समाप्त गर्न सकिंँदैन ।

डरलाई असम्भव बनाउनु हुदैन

व्यक्तिले आफ्नो सुरक्षा गर्न डरका कारण नै सिक्छ तर समस्या तब प्रारम्भ हुन्छ जब यही भावना विस्तारै उसमाथि हावी हुन थाल्छ । कुनै बालबालिका स्कुल जान डराउन थाले आमाबुवाले उनीहरूको मनमा नकारात्मक भावना बढ्दै गएको बुझ्नुपर्छ । कतिपय अभिभावक भन्छन्–बालबालिका सानो उमेरमा डराउँछन्, ठूलो हुँदै गएपछि बुझ्न थाल्छन् र तिनको डर हट्छ तर यस्तो सोचाइ गलत हो । सानो उमेरदेखि बालबालिकाको प्रत्येक व्यवहार एवं गतिविधिमा आमाबुवाले पूरा ध्यान दिनुपर्छ अन्यथा बाल्यावस्थाको डरले नै फोबियाजस्तो गम्भीर मनोवैज्ञानिक समस्याको रूप धारण गर्छ । जसमा व्यक्ति कुनै पनि कुरासँग अतार्किक ढंगले डराउँछ ।

के गर्नुपर्छ ?

    आफ्ना बालबालिकाको भावनाको सम्मान गर्नुपर्छ । उनीहरूको कुनै पनि कुरालाई हल्का सम्झेर बेवास्ता गर्नु हुँदैन । जुन कुरालाई हामी साधारण मान्छौं, बालबालिकाका लागि त्यही कुरा ठूलो हुन्छ ।

    बालबालिकाले बोल्न जान्न थालेपछि कुराकानीका माध्यमबाट उनीहरूको मनमा लुकेको डरलाई पहिचान गर्ने–बुझ्ने र तार्किक ढंगबाट त्यसलाई हटाउने प्रयास गर्नुपर्छ ।

    बालबालिकामा आमाबुवाको व्यवहार, व्यक्तित्व तथा वरपरको वातावरणको पनि गहिरो प्रभाव पर्छ । कतिपय अवस्थामा घरमा कसैलाई डराएको देखेर पनि बालबालिकाहरू डराउन सिक्छन् । त्यसैले डराउने स्थिति भए पनि बालबालिकाका सामु आफ्नो व्यवहारलाई संयमित राख्नुपर्छ । उनीहरूको डर हटाउनुपूर्व आफू स्वयं निर्भय हुनु जरुरी छ ।

    अभिभावकको एउटा प्रयास मात्रले बालबालिकाको डर क्षणभरमा हट्दैन । यसका लागि धैर्यपूर्वक लगातार प्रयास गर्नुपर्छ । बालबालिकालाई पानीदेखि डर लाग्छ भने उनीहरू पौडी सिक्न चाहँदैनन् । यस्तोमा कतिपयले उनीहरूलाई स्वीमिङ पुलमा धकेल्ने सल्लाह दिन्छन् तर यो प्रक्रियाको सदैव सकारात्मक परिणाम आउँछ भन्ने छैन । यसबाट उनीहरूलाई चोट लाग्ने सम्भावना पनि उत्तिकै रहन्छ । डर हटाउनु पहिले उनीहरूलाई बाथटवमा खेल्न दिनुपर्छ । त्यसपछि स्वीमिङ पुल नजिकै राखेर अरूले पौडी खेलेको देखाउनुपर्छ । त्यसपछि उनीहरूको डर कम गर्दै लान आफूसँगै उनीहरूलाई स्वीमिङ पुलमा लानुपर्छ । यो प्रक्रियाले निरन्तरता पाएपछि उनीहरू पानीदेखि डराउने सम्भावना कम हुन्छ ।

    बालबालिका कुनै कुराबाट डराउँछन् भने घरका अन्य सदस्यहरूबीच यसलाई कुराकानीको विषय बनाउनु हुँदैन । किनभने त्यस्तो कुरा सुनेर बालबालिका अझ बढी डराउँछन् ।

    टेलिभिजन हेर्दा बालबालिकालाई एक्लै छोड्नु हुँदैन । कुनै दृश्य देखेर बालबालिका डराए भने उनीहरूलाई तार्किक ढंगबाट टेलिभिजनमा देखाइने सबै कुरा सत्य हुँदैनन् भनेर सम्झाउनुपर्छ । बालबालिकालाई हरर फिल्म वा धारावाहिकबाट टाढै राख्नु वेश हुन्छ ।

    बालबालिकालाई सुताउन र खाना ख्वाउन कुनै खास कुराको बयान गरेर डर देखाउनुहुँदैन । उनीहरू कुनै विशेष कुराबाट डराउन थाले भने त्यो डर स्थायी रूपमा तिनका मन–मस्तिष्कमा रहन्छ र स्थिति अझ बिग्रनसक्छ । पछि गएर त्यसले उनीहरूको व्यक्तित्वमै नकारात्मक प्रभाव पार्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्