पुनस्र्थापना तथा पुनर्निर्माणमा महिला तथा बालबालिका

पुनस्र्थापना तथा पुनर्निर्माणमा महिला तथा बालबालिका

लक्ष्मी भण्डारी थापा

असार ६, २०७२

वैशाख १२ गते अप्रत्यासित रूपमा आएको भूकम्पका कारण नेपालमा ठूलो क्षति भएको छ । भूकम्पमा महिला तथा बालबालिका बढी प्रभावित भएका छन् भने मृत्यु हुनेहरूमा पनि महिला तथा बालबालिकाकै संख्या बढी छ । मुलुक अहिले प्राकृतिक विपत्तिले अझ पछाडि धकेलिएको छ । यस्तो अवस्थामा अबको बाँकी जीवन कसरी बिताउने भन्ने चिन्ता सबैमा छ । शारीरिक तथा भौतिक क्षतिका कारण प्रभावित मात्र होइन अन्य महिलाहरू पनि मानसिक रूपमा विक्षिप्त अवस्थामा पुग्न थालेपछि उनीहरूको पुनर्निर्माण एवं पुनस्र्थापनामा प्रश्नचिन्ह खडा भएको छ ।

सरु जोशी श्रेष्ठ, प्रमुख,  आर्थिक सशक्तीकरण कार्यक्रम, युएन वुमन

पुनर्निर्माण र पुनस्र्थापनाका क्रममा महिला तथा बालबालिकाको विशेष आवश्यकता पहिचान नहुन सक्छ अर्थात् उनीहरू प्राथमिकतामा नपर्न सक्छन् । श्रीमान् विदेश छन् भने महिला एक्लैले बासको व्यवस्था गर्न सक्दिनन्, यस्ता संवेदनशील कुरामा ध्यान पुर्‍याउँदै पुनस्र्थापनाको काम अघि बढाउनुपर्छ । अब महिलालाई प्रभावित वा पीडितको आँखाबाट मात्र नहेरी एक्टरका रूपमा समान सहभागी गराइनुपर्छ । वि. सं. १९९० मा ८ सय जना महिलाको ज्यान गएको थियो भने अहिले पनि मृत्यु हुनेमा महिला एवं बालबालिका नै बढी छन् । प्रभावित महिलाहरू सूचना र नीति निर्माणमा सहभागी हुन चाहन्छन् । हाम्रो संस्थाले सोही कुराको पहिचान गरी बनाएको महिलाहरूको साझा मागपत्र ती महिलाहरूले गृह मन्त्रालय, योजना आयोग आदिमा पुर्‍याइसकेका छन् । हामी अहिले सरकारसँग मिलेर भूकम्प प्रभावित महिला एवं बालबालिकाका मुद्दामा गम्भीर रूपले केन्द्रित छौं ।

अमुदा श्रेष्ठ, प्राध्यापक, त्रि.वि.

यो प्राकृतिक प्रकोपले सबैलाई क्षति पुर्‍याएको छ । पुनर्निर्माण तथा पुनस्र्थापना सबै लिङ्गमा उत्तिकै हुनुपर्छ तर प्रभावितहरू महिला एवं केटाकेटी बढी देखिएकाले उनीहरूका विषयमा बढी केन्द्रित तथा संवेदनशील हुनुपर्ने अवस्था देखिएको हो । यस्तो अवस्थामा बालबच्चा, परिवार व्यवस्थापन तथा पकाएर ख्वाउने जिम्मा महिलाकै काँधमा हुने हुँदा उनीहरूका लागि विशेष आवश्यकता पहिचान गर्नु जरुरी छ । भान्सा कस्तो हुनुपर्छ, बालबालिका तथा वृद्धवृद्धाका लागि सुत्ने कोठा कति सुरक्षित हुनुपर्छ ? आदि कुरामा पनि ध्यान पुर्‍याउनुपर्छ । पुनर्निर्माण र पुनस्र्थापना इन्टिग्रेटेड रूपमै हुनुपर्छ । आयस्रोत र स्रोतव्यक्ति गुमाएका महिलालाई उनीहरूको क्षमताअनुसार सीप प्रदान गरी आयआर्जनमा लगाउन सकिन्छ । त्यसमा राजनीतिक पार्टी एवं सरकारले परिचालन गरेका स्वयंसेवकहरू सहयोगी हुनसक्छन् । महिलामा म पीडित होइन सरभाइभर हुँ भन्ने मानसिकता विकसित गरी उनीहरूलाई मूलधारमा ल्याउनुपर्छ ।

निर्मला शर्मा, सञ्चारकर्मी

रिपोर्टिङका सिलसिलामा थुप्रै प्रभावित क्षेत्रमा पुगियो । कतिपय महिलाले अहिलेसम्म आँखा खोलेर हेर्नसकेका छैनन् । कुरा गर्न खोज्दा श्रीमान्, बालबच्चा, परिवार एवं बासस्थान गुमाएको पीडामा भक्कानिन्छन् र बोल्न सक्दैनन् । मैले बुझेअनुसार उनीहरूलाई मनोवैज्ञानिक परामर्श एवं तत्काल बस्ने ठाउँको आवश्यकता छ । अहिले प्राप्त भैरहेका नगदलगायत अन्य सहयोग सरकारकै तर्फबाट वितरण गर्नुपर्ने भएकाले पनि उनीहरूको पुनस्र्थापनामा सरकारी तवरबाटै तत्काल कदम चालिनुपर्छ र तत्काल पुनर्निर्माणका कार्यक्रम अगाडि ल्याइनुपर्छ । जहाँसम्म महिलालाई सीप सिकाउने कुरा छ त्यो उनीहरू साधारण जीवनमा फर्किसकेपछिको कुरा हो । वास्तविक प्रभावितले न्याय र सहयोग पाउनुपर्छ ।

सगुन गुरुङ, नर्स, बीएस्सी नर्सिङ

भूकम्पबाट विशेषगरी स्कुल र घर भत्किएका छन् अनि महिला तथा बालबालिकाहरू बढी प्रभावित छन् । पहिलेदेखि विविध समस्याले गाँजेको हाम्रो मुलुकमा प्रकृतिले अझ विकराल समस्या निम्त्याएको छ । अहिलेको घटनाले शारीरिक एवं मानसिक विकास नभैसकेका बालबालिकाहरूको इम्युनिटी पावरमा असर पारेको छ । उनीहरूलाई आफ्नो अधिकार र आवश्यकता थाहा हुँदैन । कतिपय टुहुरा बन्न पुगेका छन् । यस्तो अवस्थामा विशेष सम्बोधन जरुरी छ । अहिले उनीहरूलाई बेवास्ता गरियो भने कालान्तरमा मुलुककै दुर्गति हुन्छ । प्रभावित महिला तथा बालबालिकाका लागि सरकारले छुट्टै नीति तय गर्नुपर्छ । महिला परिवारको आड हो परिवार व्यवस्थापनमा उनीहरूको भूमिका अहम् छ तसर्थ उनीहरूका लागि सरकार एवं सम्बन्धित निकायहरूले लङ टम रिह्याबलिटेसन पोलिसी तयार गर्नुपर्छ । साधारण जीवनमा फर्किसकेपछि महिलालाई सीपमूलक तालिम दिएर आयआर्जनमा लगाउनुपर्छ ।

सल्लु तिवारी, अधिवक्ता

नेपाल अधिराज्यको अन्तरिम संविधान २०६३ ले महिलाको हक –अधिकार सुरक्षित गरेको छ । कानुनले महिला भनेर कुनै पनि भेदभाव गर्न पाइँदैन भनेको छ । अब आउने फौजदारी र देवानी संहितामा यस्ता प्राकृतिक विपत्तिबाट प्रभावित महिला एवं बालबालिकाका लागि विशेष नीति ल्याउन सकिन्छ । अहिले भूकम्पबाट त्रसित कतिपय महिला एवं बालबालिकामा मानसिक विचलन आइरहेको छ भने पुरुषहरू लोग्ने मान्छे भएर पनि डराउँछ भन्लान् भनेर त्रासलाई भित्रभित्रै दबाएर राख्न बाध्य छन् जसले कालान्तरमा मानसिक रोगको सिकार बनाउन सक्छ तसर्थ उनीहरूका लागि विशेष परामर्श आवश्यक छ । प्रभावितहरूको पहिलो प्राथमिकता भनेको सुरक्षित बासस्थान र खाना हो । सीपमूलक कार्यक्रम दोस्रो कुरा हो ।

सलोनी सिंह, सामाजिक अर्थशास्त्री तथा अध्यक्ष दिदीबहिनी

अहिले तत्कालको राहत कार्यक्रम सम्पन्न भैसकेको छ । अब प्रभावित महिला, बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा सुत्केरीका लागि विशेष खालका कार्यक्रम ल्याइनुपर्छ । वैदेशिक रोजगारीमा पुरुषहरू बढी जाने तथा उनीहरू भागदौडमा अगाडि हुने भएकाले मृत्यु हुनेमा पनि महिला नै बढी छन् । त्यसैले पुनर्निर्माण र पुनस्र्थापनामा महिलाहरूलाई केन्द्रमा राख्नुपर्छ । पुनस्र्थापनापछि मात्र उनीहरूलाई आयआर्जनका कुरामा लगाउने कुरा आउँछ । अब महिलाहरूलाई पनि नीति निर्माणमा सहभागी गराई उनीहरूलाई आर्थिक क्षेत्रको विशेष स्तर अर्थात् मूलधारमा ल्याउनुपर्छ ।

दीपाश्री निरौला, कलाकार

भूकम्पका कारण रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, भक्तपुर, सिन्धुपाल्चोक, दोलखा, काभ्रे, गोरखा एवं काठमाडौंका महिला तथा बालबालिकाको अवस्था डरलाग्दो छ । उनीहरू कसरी बाँच्न सकिन्छ ? भन्ने कुरामा केन्द्रित छन् । पहिलो कुरा बास र गास चाहिन्छ । विभिन्न संघसंस्था एवं सामुदायिक पहल त जारी नै छ अब सरकार नै यसमा अत्यन्त गम्भीर रूपमा लाग्नुपर्ने देखिन्छ । सरकार दह्रो संयन्त्र तथा जनताका लागि शक्तिकेन्द्र र आडभरोसा हो । घर भत्किए पनि मन भत्किएको छैन भनेर अभियानमा लागेका हामी कलाकारहरूको पहलमा ठाउँठाउँमा अस्थायी आवास निर्माण हुँदैछन् । आवासपछि विस्थापित र प्रभावित महिलालाई आफूसक्दो र सुहाउँदो सीप सिकाएर आयआर्जनमा लगाउन सकिन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्