पुनर्निर्माणमा पनि किन निराशा ?

पुनर्निर्माणमा पनि किन निराशा ?
असार ६, २०७२

जुनसुकै प्राकृतिक प्रकोपका कारण हुने क्षतिको न्यूनीकरण र बचावटका लागि महिलालाई प्रकोप व्यवस्थापनको प्रत्येक तहको ज्ञान र जिम्मेवारी दिनु अपरिहार्य देखिन्छ । प्रकोपको प्रभाव न्यूनीकरण र बचावटमा महिलाले पुरुषसरह भूमिका निर्वाह गरेको पाइन्छ तर अस्थायी आश्रयमा रहेका बेला यौन वा अन्य अपराधको सिकार बन्नुले महिलाले सुरक्षाको अधिकार नपाएको देखिन्छ । प्रकोप व्यवस्थापनमा महिलालाई स्वायत्त रूपले काम गर्न नदिनु उनीहरूलाई नागरिक र राजनीतिक अधिकारबाट वञ्चित गर्नु हो ।

भारती पोखरेल, वैशाख ३१, कान्तिपुर

विश्व खाद्य संगठन (एफएओ) ले भूकम्पबाट कृषि क्षेत्रमा भएको नोक्सानीको राहत तथा क्षतिपूर्तिका लागि ८० लाख डलर आवश्यक पर्ने प्रक्षेपण गरेको छ । त्यो रकम भूकम्पमा क्षति भएका कृषि औजार तथा उत्पादन सामग्रीको आपूर्ति र धान रोपाइँको तयारीका लागि मात्र हो । निजी क्षेत्रलगायत अन्तर्राष्ट्रिय दातृ निकाय तथा गैरसरकारी संस्थासँग समन्वय गरी एकद्वार प्रणालीमार्फत राहत र सहयोगका कार्यक्रम लैजान सके बढी प्रभावकारी हुनेछ । सरकारले आउने बजेटमा कृषि क्षेत्रमा राहत र क्षतिपूर्तिसहित किसान लक्षित ठोस कार्यक्रम ल्याउनुपर्छ ।

मैना धिताल, जेठ १, कान्तिपुर

सुरुका केही हप्ता किताबी ज्ञानभन्दा त्रास भुलाउने गीत, चित्रकला, खेलकुद आदिमा संलग्न गराउँदै मनोवैज्ञानिक शिक्षा दिने सरकारी निर्णय स्वागतयोग्य हो तर विद्यार्थीहरूलाई विद्यालयमा बोलाएर खुलाचौरमा राखी यस्ता क्रियाकलाप गर्न सकिएला ? सात घन्टासम्म विद्यार्थीलाई टन्टलापुर घाममा राख्दा उनीहरूको स्वास्थ्यमा कस्तो असर पर्ला ?

सरिता अर्याल, जेठ २२, नागरिक

एमेच्योर रेडियो अझै पनि आमनेपालीहरूको जानकारीको विषय होइन । देशमा एमेच्योर रेडियोको राम्रो विकास भएको अवस्थामा यसले प्राकृतिक तथा मानव सिर्जित विपद्को क्षति न्यूनीकरण र उद्धार कार्यमा ठूलो सहयोग पुर्‍याउन सक्छ । एमेच्योर रेडियोलाई चलनचल्तीको भाषामा ‘ह्याम रेडियो’ पनि भनिन्छ । एमेच्योर रेडियो अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त मनोविनोद (हबी) हो । आफ्नो देशको कानुनअनुसार परीक्षा उत्तीर्ण गरी अनुमतिपत्र प्राप्त गरेको व्यक्तिले यो मनोविनोद अपनाउन सक्छन् । नेपालमा सूचना तथा सञ्चार मन्त्रालयबाट अनुमति लिएर एमेच्योर रेडियो राख्न पाइन्छ ।

तेजस्वीता खरेल, जेठ ३, कान्तिपुर

हाम्रो समाजमा घरलाई सम्पत्ति र शानका रूपमा लिने चलन छ । त्यसैले ऋण लिएरै भए पनि ठूूला भवन निर्माण गर्ने अनि त्यही भवनलाई आयस्रोतको बलियो माध्यम बनाउने चलन छ । त्यसैले मानिसहरू धेरै रकम खर्च गरेर ठूलो घर बनाउँथे । त्यतिमात्र नभै छोरीको विवाह गर्नुपर्‍यो भने सबैभन्दा पहिले घर कत्रो र कस्तो छ भनी सोधखोज गर्ने चलन अझै समाप्त भएको छैन ।

निर्जला कक्षपति, जेठ २०, कान्तिपुर

दलीय गन्ध नआएका स्वच्छ छवि भएका समाजका ख्यातिप्राप्त व्यक्तित्वहरू संलग्न पुनर्निर्माण तथा पुनस्र्थापना प्राधिकरण गठन गरिनु आवश्यक छ । उहाँहरूमा अनुभव र क्षमताका साथै नैतिकबल, चारित्रिक शुद्धता, आध्यात्मिक चेतना, सद्विचार, सदाचार र सद्व्यवहारका मानवीय गुण प्रशस्त मात्रामा छन् । यस्तो प्राधिकरणमार्फत स्थायी पुनर्निर्माण र पुनस्र्थापनाका लागि प्रधानमन्त्री राहत कोषबाटै खर्च गर्ने व्यवस्था हुनुपर्छ ।

अंगुरबाबा जोशी, जेठ १९, कान्तिपुर

सरकारले कुहिएको चामल अनुदान दिने संस्था र व्यक्तिहरूलाई कारबाही गर्दै चामल जहाँबाट आएको छ, त्यहीँ फर्काउनुपर्ने होइन र ? सरकारले र स्थानीय उपभोक्ता मञ्चबाट यस्तो किसिमको चामल बाँड्ने प्रवृत्ति निरुत्साहित गरिएन भने भविष्यमा पनि अनुदान नाममा आउने चामल त्यस्तै नपर्ला भन्न सकिँदैन । अन्यथा म्याद नाघेका, कम गुणस्तरका चाउचाउ तथा कुहिएका चामल बारम्बार खान बाध्य हुनेछन्, नेपाली जनता ।

डा.अरुणा उप्रेती, जेठ १४, कान्तिपुर

प्रकृतिले प्रहार गरिरहेछ, हामी निर्माण गरिरहेछौं । हामी अवश्य सफल हुनेछौं, पुनर्निर्माणमा पनि किन निराशा ? समाचारहरूमा किन आइरहेका छन्, मानसिक रोगी बढेका समाचार ? किन हामीले आफ्ना बालबालिकालाई अझै सामान्य बनाउन सकेका छैनौं ? यसमा कतै हाम्रो आफ्नै संकुचित मानसिकता त जिम्मेवार छैन ?

सृष्टि राणा, जेठ १४, कान्तिपुर

सामान्य समयमा सरकार प्रभावकारी नहुँदा जनताले नियमित सेवा अलि कम पाउलान्, काम अलि ढिलो होलान्, तर प्राकृतिक विपत्तिको समयमा सरकार प्रभावकारी हुन नसक्दा नियमित सेवा बन्द हुने मात्र होइन, हजारौंको ज्यान जान्छ, लाखौं मानिस घरबारविहीन हुन्छन् । उनीहरू चाहिने उद्धार, राहत, उपचार एवं खानाबाट वञ्चित हुन्छन् । त्यसैले विपत् परेका बेला सरकारको प्रभावकारिता महत्वपूर्ण हुन्छ । यसका लागि पुरातन चिन्तन, प्रवृत्ति र व्यवहारबाट होइन, नयाँ शैलीबाट सोच्न र काम गर्न जरुरी छ ।

साधना प्रतीक्षा, जेठ १५, कान्तिपुर

भूकम्पले जीवनमा एउटा अनुभूति भएको छ–मान्छेलाई उमेरले मात्र होइन, समय, परिस्थिति र वातावरणले पनि वयस्क, ज्ञानी र महान् बनाउँदो रै’छ । मान्छेलाई उमेरले होइन, उसको कर्मले ठूलो बनाउँदो रै’ छ ।

तारा भट्टराई, जेठ ७, कान्तिपुर

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्