महिलालाई रोजगारमूलक शिक्षा

चैत्र २, २०७१हाम्रो देशको शिक्षानीति एवं पद्धति रोजगारमूलक छैन । यसले गर्दा महिला स्वतन्त्रताका कुरा गफमै सीमित हुन पुगेका हुन् किनभने स्वतन्त्रता आत्मनिर्भरतासँग गाँसिएको विषय हो । सिद्धान्तमुखी शिक्षा पाएकै कारण हाम्रा स्नातकहरू खाडी मुलुक र कोरियातिर अदक्ष श्रमिकका रूपमा पलायन भैरहेका छन् जुन सार्‍है लज्जास्पद कुरा हो । महिलाहरूको स्थिति त अझ नाजुक छ । शिक्षाले काममा खासै सहयोग पुर्‍याउन नसक्दा महिलाहरू पढेका विषयभन्दा फरक क्षेत्रमा काम गर्न बाध्य छन् । केही अपवादलाई छाडेर हेर्ने हो भने अधिकांश महिला भविष्यमा जागिर खोज्नेभन्दा उपल्लो सोच राख्दैनन् । यसै त शिक्षाका दृष्टिले पुरुषभन्दा पछाडि परेको स्थितिमा शिक्षित महिलाको पनि यस्तो दुर्गति हुनु राम्रो होइन तसर्थ महिलाहरूलाई रोजगारमूलक शिक्षा प्रदान गरी आत्मनिर्भर बनाउनुलाई अहिलेको प्रमुख चुनौती मानेर त्यसैअनुसार योजना तयार पार्नु सरकारको दायित्व हो । महिलाहरू आत्मनिर्भर भए मात्र अन्य समस्या पनि समाधान हुने हुँदा महिला शिक्षालाई महत्व दिनु आवश्यक छ । आजको युगमा महिलाहरूलाई बेवास्ता गरेर राष्ट्र निर्माण हुन सक्दैन ।

सुभद्रा पण्डित, कलंकी

हिंसा रोक्न कानुनकै मात्र भर नपरौं

महिला भएकै कारणबाट महिलामाथि गरिने शारीरिक, मानसिक, सामाजिक तथा बौद्धिक शोषण, दमन, यातना तथा दुव्र्यवहारलाई महिला हिंसा भनिन्छ । बेइजिङ घोषणापत्र तथा कार्यनीति-१९९५ को प्रस्तावमा महिलाविरुद्धको हिंसा भन्नाले 'निजी वा सार्वजनिक जीवनमा मानसिक वा शारीरिक रूपमा खतरा पुर्‍याइने खालका लिङ्गमा आधारित गतिविधि बुझ्नुपर्छ जसअनुसार परिवारमा हुने मानसिक, शारीरिक वा यौन हिंसा, बालिका वा गृहिणीको यौन शोषण, दाइजोसँग सम्बन्धित हिंसा, बलात्कार, कुटपिट, यौनमा चोटपटक लगाउने कार्य एवं कुनै पनि खालका हिंसासम्बन्धी शोषण, समाजभित्र हुने शारीरिक, मानसिक र यौन हिंसा (बलात्कार, यौन शोषण, महिला बेचबिखन बहुविवाह, जबर्जस्ती, व्यापारिक यौन व्यवहार) तथा राज्यले निषेध गरेको कुनै पनि खालका शारीरिक एवं मानसिक हिंसा पर्छन् ।

नेपालमा महिलामाथि सम्बन्धविच्छेद, बहुविवाह, बालविवाह, दाइजो प्रथा, कुटपिट, गालीगलौज, अपहेलना, यातना, तिरस्कार, बोक्सीको आरोप, जबर्जस्ती करणी, वैवाहिक करणी, विधवा प्रथा, घुम्टो प्रथा, अनमेल विवाह, छाउपडी, वादी तथा देउकी प्रथा आदिका नाममा हिंसा हुने गरेका छन् । नेपाली महिलाहरू हिमाल-पहाड देखि तराई-मधेससम्म उच्च घरानियाँदेखि सुकुम्वासी झुपडीसम्म, राजनेतादेखि मतदातासम्म जहाँसुकै, जोसुकैबाट र जहिले पनि हिंसा हुन सक्ने जोखिममा बाँचिरहेका छन् । नेपाल सरकारले लिङ्गमा आधारित हिंसाविरुद्ध संवैधानिक प्रतिबद्धता व्यक्त गर्दै व्यक्तिको मौलिक हक एवं समानतालाई स्वीकार गर्दै कानुनले समान संरक्षकको हकदार बनाएको अवस्था हुँदाहुँदै पनि हिंसा कम नहुनु दुःखद् कुरा हो । मानवतामाथि हुने त्यस्ता नृशंस हिंसाले समग्र नेपाली समाजलाई मर्माहत बनाउँछ । तसर्थ महिलामाथि हुने हिंसाको मूल जड पत्ता लगाई राज्यले महिलाको शरीर, सम्पत्ति, श्रम तथा सत्तामाथिको अधिकारलाई सुनिश्चित गर्नु आवश्यक छ । त्यसैगरी सचेतना कार्यक्रम सञ्चालन गरेर विद्यमान कानुनका बारेमा आम महिलालाई जानकारी गराउनुका साथै तिनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ । महिला हिंसाका सम्बन्धमा अनुसन्धान गर्न दक्ष महिला प्रहरी, महिला कानुन व्यवसायी, गोप्य इजलास तथा महिला न्यायाधीश नहुँदासम्म महिलाले जतिसुकै आँट गरेर आफ्नो पीडा सार्वजनिक गरे पनि उल्टो थप पीडित हुनुपर्ने स्थिति छ ।

सुजिना मिश्र, बालकोट

राजधानीको सडक बर्खाअघि नै बनोस्

राजधानी काठमाडौंका सडक सार्‍है अव्यवस्थित एवं असुरक्षित छन् । सडक जताततै भत्काइएका छन् तर कहिले बन्छ भन्ने कुराको कुनै टुङ्गो छैन । नयाँबजार काठमाडौंको स्थिति त अझ नाजुक छ । सडक बिस्तारका लागि भत्काइएका स्थानमा निर्माण कार्य सार्‍है ढिलो गरी भैरहेको छ । जनताले सास्ती बेहोर्नुपरिरहेको छ । सधैंझैं बर्खा लागेपछि काम सुरु गरेर सडकलाई  अझ अव्यवस्थित बनाउने काम नहोस् । सरोकारवालाहरूले जनताको सुविधाको ख्याल गरेर छिटै नै निर्माण कार्य अघि बढाए मात्र यस्तो अवस्थाको अन्त्य हुनेछ ।

सलिना महर्जन, नयाँबजार, काठमाडौं

महिनावारी पाप होइन

महिनावारी शारीरिक प्रक्रिया कि पाप पढेपछि केही लेख्न मन लाग्यो । महिनावारी महिलामा मात्र हुने शारीरिक प्रक्रिया हो । कसैले यसलाई पाप भन्छ भने ऊ स्वयं पापी हो । पश्चिमी नेपालमा विद्यमान छाउपडी प्रथा मात्र होइन, सहर-बजारतिरै पनि आधुनिक हुँ भनेर फुइँ लगाउने अनि घरमा चाहिँ महिनावारी हुँदा छोइछिटो गर्नेहरू प्रशस्तै छन् । यो कुराका समर्थक महिला स्वयं पनि छन् । उनीहरूभित्र सदियौंदेखि गडेर रहेको कुसंस्कारको जरो जीवितै भएकाले पनि हुनसक्छ, हम्मेसी यस्ता कुरा त्याग्न सक्दैनन् । अब यस्ता कुरामा अल्झेर महिनावारी भएका बेला पुरुषलाई छोए पाप लाग्छ भन्ने अन्धविश्वास त्याग्न हिच्किचाउनु हुँदैन ।

विनीता उपाध्याय, सामाखुसी

एकल महिलाका पक्षमा मुलुकी ऐन नै पुनर्लेखन गर्नु आवश्यक छ । (सामाजिक घेराभित्रकी एकल महिला, नारी फागुन)

रुविना शर्मा, वनस्थली

नेपाली महिलाहरूमा चेतना बढाउन नारी पत्रिकाले अझ बढी योगदान दिनसक्छ ।

कविता अर्याल, गुल्मी

फागुन महिनाको नारीको आवरणमा प्रकाशित मोडल लहिमा राज्यलक्ष्मी राणाको तस्बिर निक्कै राम्रो लाग्यो । राणाको मोडलिङ करियरले गति लियोस् ।

पल्लवी भट्ट, कीर्तिपुर

यो घर निक्कै आकर्षक लाग्यो । (मौलिकताका साथ आधुनिक घर, नारी फागुन)

गौतमी मल्ल, एकान्तकुना

सुन्दर घान्द्रुकलाई महत्व दिएर उत्कृष्ट गन्तव्यका रूपमा उल्लेख गरिएकोमा नारीलाई मुरीमुरी धन्यवाद । (सुन्दर घान्द्रुक, फागुन नारी)

संगीता घले, कास्की

नारीमा प्रकाशित हुने टिप्स तथा प्रश्नोत्तरजस्ता स्तम्भ उपयोगी छन् । यसमा नयाँ विषयले स्थान पाऊन् ।

पवित्र बस्नेत, गोंगबु

नारीमा प्रकाशित डा. अपर्णा शाहको जीवनप्रतिको विश्वासले मन छोयो ।

श्रेया कार्की, रामेछाप

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्