अपरिपक्व शिशुको विशेष ख्याल

अपरिपक्व शिशुको विशेष ख्याल

उपासना पाण्डे

फाल्गुन ५, २०७१

डा. उर्मिला कार्की

स्त्री तथा प्रसूति रोग विशेषज्ञ

अनामनगरकी गृहिणी शोभा केसीले गर्भवती भएको आठ महिनामै शिशुलाई जन्म दिइन् । समयभन्दा दुई महिनाअघि नै जन्मिएकाले सुरुका एक महिना शिशुलाई अस्पतालमै राखेर विशेष हेरचाह गरिएको थियो । अहिले शिशु तथा आमा दुवै स्वस्थ छन् । आखिर समयअगावै शिशुको जन्म किन हुन्छ ?

समयभन्दा अगावै प्रसव हुने धेरै कारण छन् । गर्भावस्थामा केही कुरामा ध्यान पुर्‍याएर यसबाट जोगिन सकिन्छ । प्रि-टर्म बेबी अर्थात् ३७ हप्ताभन्दा पहिले जन्मिएका शिशुको विशेष हेरचाह आवश्यक हुन्छ ।

शिशुलाई जन्म दिने प्रक्रिया जटिल हुन्छ तर आमा बन्ने खुसीले उक्त जटिलतालाई बिर्साइदिन्छ । प्रकृतिले महिलालाई मात्र यस्तो सौभाग्य प्रदान गरेको छ । कहिलेकाहीँ जटिल स्थितिमा प्रिमेच्योर बेबी अर्थात् अपरिपक्व शिशुको जन्म हुन्छ ।

कारण तथा लक्षण

३७ हप्ताभन्दा पहिले जन्म भएको शिशुलाई प्रिमेच्योर बेबी अर्थात् अपरिपक्व शिशु भनिन्छ । यसका धेरै स्तर हुन्छन् । शिशुको जन्म जति छिटो हुन्छ जोखिम उति बढी हुन्छ । २६ हप्ताभन्दा पहिले जन्मिएका बालबालिकामा त्यस्तो खतरा अझ बढी हुन्छ । स्त्री रोग विशेषज्ञ डा.उर्मिला कार्कीका अनुसार ४० हप्तापछि जन्मिएका बालबालिका फूल टर्म तथा ३७ हप्ताभन्दा पहिले जन्मिएका बालबालिकालाई प्रिमेच्योर बेबी भनिन्छ । जुन शिशु ३४ हप्ताभन्दा पहिले जन्मन्छ उसमा अनेकौं समस्या देखा पर्न सक्छन् ।

समयअघि प्रसव हुने कारण

-    गर्भवतीको संक्रमण तथा गर्भाशयमा कुनै संक्रमण

-    मल्टिपल प्रिग्नेन्सी (जुम्ल्याहा तथा तिम्ल्याहा शिशु भए)

-    आइभीएफ विधि (कृत्रिम गर्भधारण)

-    गर्भावस्थामा तनाव, दबाब तथा उच्च रक्तचाप

-    मधुमेह, धूम्रपान तथा अल्कोहलको समस्या

-    टिनएज तथा ढिलो उमेरमा गर्भधारण

-    पाठेघरमा समस्या, बिनाकारणको पीडा तथा ज्वरो

-    सालमा समस्या तथा समयअगावै गर्भ तुहिनु ।

डा.कार्कीका अनुसार समयअगावै गर्भाशयमा पीडा हुने, योनिको मुख खुल्ने तथा रगतको धब्बा देखिने, योनिबाट पानी बग्नेजस्ता समस्या भए समयअगावै प्रसव भएको मानिन्छ ।

शिशुलाई जन्डिस भए

नवजात शिशुलाई जन्डिस हुनु सामान्य हो । थोरै मात्र जन्डिस देखिए नियन्त्रण हुन्छ । सामान्य जन्डिस भएको अवस्थामा बिहानीपखको घाममा राखे रोग आफैं निको हुनसक्छ । धेरै जन्डिस देखिए शिशुलाई फोटोथेरापी तथा लाइटथेरापी दिनुपर्ने हुन्छ । यसमा सफ्ट मास्क लगाइदिएर शिशुको शरीरलाई कडा प्रकाशमा राखिन्छ । यसो गर्दा जन्डिसको केमिकल कम हुन्छ । कतिपय शिशुमा कलेजो इन्फेक्सनका कारण पनि पहेंलो रोग अर्थात् जन्डिस देखापर्छ । यसका लागि अलग उपचार आवश्यक हुन्छ ।

लाइट थेरापी दिनुअघि शिशुको रगत जाँच गराउनुपर्छ । कुनै शिशुमा जन्मको दुई हप्तासम्म पहेंलो रोगको लक्षण देखापर्छ । समयअगावै जन्मिएको शिशुमा भने तीन हप्तासम्म यस्तो समस्या देखिनसक्छ । अस्पतालबाट घर आएपछि तथा दुई हप्तापछि जन्डिसको लक्षण देखिए चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ ।

मुटुको समस्या

कतिपय अवस्थामा मुटुको समस्यासँगै शिशुको जन्म हुन्छ । चिकित्सकहरूका अनुसार कुनै शिशुमा जन्मजात नै मुटुको समस्या हुन्छ । नवजात शिशुको मुटुमा प्वाल पर्ने समस्या धेरै देखिन्छ । सानो शिशुको अप्रेसन जटिल हुन्छ । समस्या नियन्त्रणभन्दा बाहिर भए शिशुको उपचार अप्रेसनबिना नै गर्नुपर्ने हुन्छ । गम्भीर अवस्थाको मुटुको समस्या भए ओपन हर्ट सर्जरी नै गर्नुपर्ने हुन्छ ।

विशेष हेरचाह जरुरी

समयअगावै जन्मिएका शिशुको विशेष हेरचाह अस्पतालमै गर्नुपर्छ । साधारण पोस्टनेटल वार्डका अतिरिक्त स्पेसलिस्ट न्युबर्न एरियामा शिशुको हेरचाह गर्नु आवश्यक हुनसक्छ । यस्ता शिशुलाई विशेष उपचार चाहिने भएकाले नियोनेटल विभागमा राखिन्छ ।

-    ३४ हप्ताभन्दा पहिले जन्मिएको शिशुलाई तातो राख्नुपर्छ भने श्वासप्रश्वास तथा स्तनपानसम्बन्धी खास विधि अपनाउनुपर्छ ।

-    यस्ता शिशुको वजन सामान्य शिशुको भन्दा कम हुन्छ ।

-    यस्ता शिशुलाई संक्रमण हुन सक्छ ।

-    आमालाई मधुमेह तथा शिशुलाई जन्डिस हुन सक्छ ।

-    कतिपय मामिलामा भने अप्रेसन नै गर्नुपर्ने हुन्छ ।

फिडिङ

डा. उर्मिलाका अनुसार प्रि-टर्म बेबीले स्तनपान गर्न सक्दैनन् । त्यसैले सुरुमा फिडिङ ट्युबको सहायताले दूध ख्वाउनुपर्छ । आमाको दूध पर्याप्त मात्रामा आएन भने पनि यही विधिद्वारा शिशुलाई दूध ख्वाउनुपर्छ । समयअगावै जन्मिएका शिशु अस्पतालबाट डिस्चार्ज भएपछि मात्र स्तनपान गर्नसक्ने तथा बोतलको दूध चुस्न सक्ने हुन्छन् । यस्ता शिशुलाई छिट्टै संक्रमण हुनसक्ने भएकाले घर लगेपछि पनि विशेष हेरचाह गर्नुपर्छ । समयअगावै जन्मिएका शिशुलाई ट्युबद्वारा फिडिङ गराउनुपर्छ । बालबालिकाको तौल सामान्य शिशुको जस्तो नभएसम्म तथा आमाको स्तनपान गर्ने नभएसम्म ट्युब फिडिङ गराइरहनुपर्छ ।

शिशुलाई सुरक्षित राखौं

नवजात शिशुलाई तातोको आवश्यकता पर्ने भएकाले अस्पतालमा उसलाई इक्युबेटरमा राखिएको हुन्छ । घरमा आएपछि आमाको स्पर्शले शिशुलाई तातो राख्छ । शिशुलाई न्याना कपडा लगाइदिनुका साथै आमाको तातो स्पर्श पनि आवश्यक हुन्छ । शिशुलाई बोक्नुअघि राम्रोसँग हात धुनुपर्छ । जुत्ता-चप्पल कोठाबाहिर नै खोल्नुपर्छ । यस्ता शिशुलाई संक्रमण हुने सम्भावना बढी भएकाले बाहिरका मानिसलाई आवतजावत गर्न नदिनु नै वेश हुन्छ । शिशुसँग आमाले बारम्बार कुरा गरिरहनुपर्छ । यसो गर्दा शिशुले सुरक्षित महसुस गर्छ ।

जोखिमबाट बच्न

गर्भधारण गर्नुअघि श्रीमान्-श्रीमतीको पूर्णरूपमा स्वास्थ्य जाँच गराउनुपर्छ । यसैगरी गर्भावस्थामा पनि बारम्बार चिकित्सकसँग सल्लाह लिनुपर्छ । ब्लड ग्रुप जाँच, पिसाब जाँच, मधुमेह, हेमोग्लोबिन, थाइराइड, भाइरल संक्रमण आदि जाँच गराउनु आवश्यक हुन्छ । चिकित्सकको सल्लाहमा पाठेघर तथा ओभरीको अल्ट्रासाउन्ड गराउनुपर्छ । यसो गर्दा बालबालिकाको स्थिति सही भए नभएको पत्ता लाग्छ । समयपूर्वको प्रसवबाट जोगिनका लागि निम्न उपाय अपनाउन सकिन्छ-

-    स्वस्थ खानेकुरा तथा जीवनशैली

-    रक्तचाप तथा मधुमेह नियन्त्रण

-    मद्यपान तथा धूम्रपानबाट अलग

-    योनिको संक्रमण, एसटिडी तथा युटिआइको जाँच एवं उपचार

-    नियमित एन्टिनेटल अल्ट्रासाउन्ड गराउने

-    तनाव तथा दबाबबाट टाढा रहने

-    चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि नखाने । अन्तिम ट्राइमेस्टर (अन्तिम तीन महिना) मा लामो यात्रा नगर्ने ।

-    काममा सक्रिय रहने तर कठिन काम नगर्ने ।

डा.उर्मिला कार्कीका अनुसार प्रिग्नेन्सीमा डिहाइड्रेसनबाट जोगिनुपर्छ । चिकित्सकको सल्लाहमा डाइट सप्लिमेन्ट लिनुपर्छ । गर्भावस्थामा पर्याप्त आराम जरुरी हुन्छ । गर्भावस्था सुरक्षित भए मात्र प्रसव सुखद् तथा सहज हुन्छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्