महिला स्वतन्त्रता गफ मात्र

पुस १, २०७१

नेपालमा महिला समानताको कुरा जति उठे पनि व्यवहारमा लागू हुन सकेको छैन । महिलामाथि विभिन्न बहानामा अत्याचार हुने गरेका छन् । महिलामाथि हुने हत्या, हिंसा, बलात्कार, छेडखानीजस्ता अभद्र क्रियाकलापका विरुद्ध ठोस कदम चालिएको देखिँदैन । हालैका दिनहरूमा विभिन्न स्थानका विभिन्न उमेर समूहका नारीमाथि भए-गरेका अत्याचारका कहालीलाग्दा घटनाले सभ्य समाजको खिल्ली उडाइरहेका छन् । त्यस्ता घटना हुन्जेल समानताका जतिसुकै कुरा गरे पनि महिलाहरूले समानताको अनुभूति गर्न पाउने छैनन् । महिला अधिकार, समानता एवं स्वतन्त्रतालाई सशक्त रूपले व्यवहारमा लागू गर्न महिलाहरूलाई आर्थिक रूपले समृद्ध बनाउने तथा स्वनिर्णयको अधिकार प्रयोग गर्न सक्ने बनाउनु आवश्यक छ । यसका साथै महिलामाथि हुने हिंसामा राज्यले शून्य सहनशीलताको नीति अपनाउनु पनि उत्तिकै आवश्यक छ तर यस विषयमा आजसम्म त्यति ठोस काम हुन सकेको छैन । कामभन्दा कुरा बढी भएको स्थिति छ । कुरा गरेर मात्र उपलब्धि हासिल हुन सक्दैन । त्यसैले सरोकारवालाहरू गफमा भन्दा काममा केन्दि्रत हुनु आवश्यक छ ।

विनीता कार्की, झापा

महिला सहभागितामा वृद्धि आवश्यक  

देश विकास गर्न महिला सहभागितामा वृद्धि गर्नुपर्छ । महिलाहरूलाई आर्थिक क्रियाकलापमा अग्रसर नगराएसम्म देशको अवस्थामा सुधार आउँदैन । महिलामाथि हुने हिंसाविरुद्धको अभियानमा हरेक क्षेत्रका महिलाको सहभागितामा वृद्धिको कुरा पनि उठाइनुपर्छ । महिलालाई बेवास्ता गरेर बनाइने कुनै पनि योजना अपरिपक्व एवं त्रुटिपूर्ण हुन्छन् किनभने महिलाबिना पुरुष पूर्ण हुन सक्दैनन् । त्यसैले महिलालाई समावेश गराएर बनाइएका योजनाले मात्र अपेक्षित परिणाम दिन सक्छ ।

विद्या भट्टराई, डिल्लीबजार

समयानुकूल शिक्षा आवश्यक

देशको शिक्षानीति र पद्धति उत्पादनमूलक हुन नसकेकै कारण आज हाम्रो देशका युवाहरू सस्तो श्रम बेच्न बिदेसिनुपरेको छ । सिद्धान्तमुखी शिक्षा पाएकै कारण हाम्रा स्नातकहरू खाडी मुलुक र कोरियातिर अदक्ष श्रमिकका रूपमा पलायन भैरहेका छन् जुन सार्‍है लज्जास्पद कुरा हो । हाम्रा विश्वविद्यालयहरू बेरोजगार उत्पादन गर्ने कारखाना बनिरहेका छन् । केही विषयलाई छाडेर हेर्ने हो भने अधिकांश विषयका विद्यार्थी भविष्यमा जागिर खोजेर खानेभन्दा उपल्लो सोच राख्ने हैसियतमा छैनन् । देशको परिस्थिति एवं आवश्यकताअनुरूप शिक्षा नहुन्जेल यस्ता समस्या हट्ने छैनन् । यस्तो हुन्जेल देश कदापि उँभो लाग्न सक्दैन । देश-विकासका लागि सर्वप्रथम शिक्षा नीतिमा सुधार गरी आवश्यकताअनुसारको जनशक्ति उत्पादन गर्ने शिक्षाको व्यवस्था गरिनु आवश्यक छ । खल्तीमा शैक्षिक प्रमाणपत्र बोकेर बेरोजगार बस्ने जनशक्ति तयार पार्नु राज्यका लागि दोहोरो घाटाको विषय हो ।

सुमित्रा पण्डित, धादिङ

राजधानीमा सार्कको प्रभाव

राजधानी काठमाडौंले भर्खरै सार्क सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको छ ।  यस क्रममा राजधानीका कतिपय स्थानले काँचुली फेर्ने सौभाग्य पाएका छन् । ती सीमित स्थानमा देखिएको परिवर्तनले पनि आशाको संकेत गरेका छन् भने गरे के हुँदैन भन्ने कुरा पुष्टि भएको छ । अवसरको खोजीमा देशका विभिन्न भागबाट ओइरिएका जनसंख्याको चाप धान्न गार्‍हो परिरहेको राजधानीलाई सार्कको बेलामा सिंगारिएका स्थानको सौन्दर्य यथावत् राख्ने तथा अन्य स्थानमा पनि त्यस्तै हिसाबले चिटिक्क पार्नुपर्ने चुनौती थपिएको छ । आम नागरिकमा चेतना नआएसम्म र जिम्मेवार निकायले पहल नगरेसम्म त्यसो हुनु सम्भव छैन । अब हिँडिनसक्नुको सडकमा देखिएको सकारात्मक परिवर्तनलाई दिगो बनाउनेतर्फ काम गर्नु जरुरी छ । अन्यथा उही पहिलेकै भद्रगोल स्थिति आउनेछ । यतातिर ध्यान पुर्‍याएर जनताको हितमा काम गरे अवश्य पनि राजधानीलाई सुन्दर बनाउन सकिन्छ ।

विधाता रिमाल, गल्कोपाखा

लोडसेडिङ कहिले घट्ला ?

नेपाली जनताको उज्यालोमा बस्ने सपनालाई भर्खरै सम्पन्न सार्कले केही मात्रामा भए पनि जगाइदिएको छ । सार्क देशबीच सम्पन्न ऊर्जा सम्झौता तथा नेपाल र भारतबीच भएको जलविद्युत् उत्पादनसम्बन्धी सम्झौताले त्यस्तो आशा जगाएको हो । अब नेपालको जलस्रोत सदुपयोग भै देश सम्पन्नताको मार्गमा अग्रसर हुने बाटो खुलेको छ । यो अवसरलाई उपयोग गर्नु आवश्यक छ । फेरि पनि विभिन्न बहानामा यसलाई टार्ने काम गरियो भने त्यो देशका लागि दुर्भाग्य हुनेछ ।

तीर्था पौडेल, जोरपाटी

माल्भिका र रियाजको दाम्पत्य जीवन पढ्न पाउँदा आनन्द लाग्यो । आगामी दिनमा पनि नारीले यस्तै उदाहरणीय जोडीका सम्बन्धमा जानकारी दिइरहोस् । (वास्तविक सहयात्री माल्भिका र रियाज, मंसिर नारी)

पल्लवी श्रेष्ठ, हेटौंडा

नारीमा प्रकाशित हुने टिप्स तथा प्रश्नोत्तरजस्ता स्तम्भ हाम्रा लागि सार्‍है उपयोगी छन् ।

रुक्मिणी कार्की, इमाडोल

साहित्यिक स्तम्भले पनि नारीमा नियमित स्थान पाओस् ।

सिर्जना गैरे, चितवन

महिलामाथि हुने विभेद हट्न निकै गार्‍हो छ । यो एकैपटक हट्ने कुरा होइन । उषाजीको लेख पढेपछि मलाई पनि त्यस्तै लाग्यो । (लैङ्गकि विभेदका विरोधाभासहरू, नारी मंसिर)

कल्पना भण्डारी, नवलपरासी

साहसी महिलाहरूले चाहे के नसकिने रहेछ र ? (सेभेन समिट महिला समूह, नारी मंसिर)

शिल्पा श्रेष्ठ, बालाजु

ढिलोचाँडो मात्र हो, परिवर्तन अवश्यम्भावी छ । साउदी अरबकै महिलामा आएको परिवर्तन हेरौं न । (परिवर्तनतर्फ साउदी अरबका महिला, नारी मंसिर)

नजमा खातुन, नेपालगञ्ज

विद्या श्रेष्ठको एकदिन प्रेरणादायक लाग्यो, हरेक महिलाले यसैगरी कर्ममा जुट्नु आवश्यक छ ।

सपना श्रेष्ठ, सामाखुसी

नारी आन्दोलनले सही दिशा समातोस्, नारी आन्दोलनका नाममा नारीलाई नै हानी हुने खालका कुराहरू हुन नपाऊन् । (नारी आन्दोलन कसका विरुद्ध, नारी कात्तिक)

सुधा पोखरेल, बानेश्वर

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्