परिवर्तनतर्फ साउदी अरबका महिला

परिवर्तनतर्फ साउदी अरबका महिला

जितेन्द्र साह

मंसिर १, २०७१

साउदी अरबका महिलाले बल्ल मतदान र उम्मेदवार बन्ने अधिकार पाउन लागेको कुरा सुन्दा अचम्म लाग्न सक्छ । सन् २०११ को निर्वाचनपछि त्यहाँ अधिकारकर्मीहरूले यो भेदभावविरुद्ध आवाज उठाएका थिए । यो विषयलाई लिएर राजा अब्दुल्लाह बिन अब्दिलाजिज अल सउदीमाथि चर्को दबाब परेको थियो । फलस्वरूप उनले उक्त परम्परागत प्रतिबन्ध फुकुवा गर्न सरकारलाई निर्देशन दिए ।  

ढिलै भए पनि त्यहाँका महिलाले आगामी वर्ष हुने नगर निर्वाचनदेखि ती दुवै अधिकार उपभोग गर्न पाउनेछन् । गत जुलाईको तेस्रो सातामा सउदी सरकारले यसको घोषणा गरेको हो । निश्चित कोटासहित महिला उम्मेदवारको मनोनयन स्वीकार गर्न निर्वाचन आयोगलाई परिपत्र भैसकेको छ । यो एउटा सानो सुरुवात भए पनि अरब मुलुकका महिलाको हकमा नि:सन्देह महत्वपूर्ण कदम हो ।

यसअघि गत मेमा पुरुषसरह महिलालाई अत्यधिक अधिकार प्रदान गर्न सरकारी छात्रा विद्यालयमा शारीरिक शिक्षा दिने कदम चालिएको थियो । रुढिवादीहरूले यो पश्चिमा शैलीले व्यभिचार र देह व्यवसायलाई बढाउने भन्दै राजधानी रियादमा प्रदर्शन गरेका थिए । पैगम्बर मोहम्मदको जन्मस्थानमा यस्तो कुराका लागि कुनै ठाउँ नभएको उनीहरूले तर्क गरेका थिए ।

खेलकुदमा उत्साहजनक सहभागिताले उक्त मुलुकका महिलाको बदलिँदो समयअनुरूप अघि बढ्ने मनोकांक्षालाई झल्काउँछ । सन् २०१२ मा दुई सउदी महिलाले पहिलो पटक ओलम्पिकमा भाग लिएका थिए । गत वर्षदेखि त्यहाँ महिलाका लागि सञ्चालित निजी स्पोर्टस क्लबलाई लाइसेन्स दिन थालिएको छ । महिला कप्तान लिना अल माइनाले सन् २००६ मा पश्चिम सहर जेद्दाहमा कम्पनीका रूपमा महिला बास्केटबल टिम दर्ता गराउने क्रममा यस विषयमा चर्को आवाज उठेको थियो । यही नै त्यहाँको पहिलो स्पोर्टस कम्पनी थियो ।

अझै पनि यस दिशामा अनुदार राजधानी रियादको उकुसमुकुसपूर्ण वातावरणमा परम्परागत पहिरनमा बहिनीहरूले दाजुभाइहरूसँग फुटबल खेलिरहेको देख्न थालिएको छ । यति र उति प्रतिशतमा नभए पनि त्यहाँ छोरीचेलीको पक्षमा स्वर गुञ्जन थालेको छ । परिवर्तनका लागि दिदीबहिनीहरूले यसअघि पनि बोल्दै आएका थिए । त्यही भएर सन् २००५ तिर नै जबर्जस्ती विवाहजस्तो गलत परम्परामाथि नियन्त्रण लगाइयो । उनीहरू अहिले स्पष्ट सोचका साथ निर्णयकर्ताको भूमिकामा आउन थालेका छन् । हुन त अझै पनि साउदी अरब चर्को लैंगिक विभेदका कारणले अन्तर्राष्ट्रिय समुदायमाझ आलोचित नै छ ।  

सन् २००५ मा राजा अब्दुल्लाहले सत्ता सम्हालेपछि महिलालाई सार्वजनिक जीवनमा ठूलो भूमिका दिए । सन् २००९ मा नोराह अल फैजलाई शिक्षा राज्यमन्त्रीमा नियुक्त गरियो, यो त्यो मुलुकमा कुनै महिलाले प्राप्त गरेको सबैभन्दा उच्च सरकारी ओहोदा थियो । १ सय ५० जना परामर्शदातृ भएको अंग सुरा काउन्सिलमा गत वर्ष ३० जना महिलालाई नियुक्त गरियो । नोराहले मुलुकमा पहिलो सह-शिक्षा विश्वविद्यालय खोलिन् । इस्लामिक समाजको अभिन्न अंग बन्दै गएको घरेलु हिंसाविरुद्ध उनले कानुन पारित गराईन् । उनले सुरुदेखि नै महिलाको मत हाल्ने र सवारी चलाउने अधिकारको वकालत गरिन् ।

निजी क्षेत्रमा पनि यसको प्रभाव देखिएको छ । यही वर्ष स्वतन्त्र पत्रकार सोमाया जाबार्तीे सउदी ग्याजेट दैनिकको सम्पादक पदमा पुग्ने प्रथम महिला भइन् । महिला बेरोजगार दर निकै बढी ३२ प्रतिशत भए पनि बढीभन्दा बढी महिला जागिर एवं व्यापारतर्फ उन्मुख छन् । सरकारले महिला कानुन व्यवसायीहरू माथि लगाएको अदालती अभ्यासको प्रतिबन्ध हटाएपछि त्यहाँ यही वर्ष महिलाद्वारा संचालित पहिलो ल र्फम खुलेको छ । महिलाहरू आफूलाई धर्मभिरु भन्ने कट्टरपन्थी मुस्लिमहरूको वर्चस्व रहेको रियादका गल्लीहरूमा पनि निस्कन थालेका छन् ।

महिलालाई कामकाज गर्न नदिने खालका अवरोधहरू हटाउँदै लगिएपछि फर्निचर पसलदेखि अन्तरवस्त्र बिक्री गर्ने शोरुमसम्ममा उनीहरूको उपस्थिति छ । अहिले उनीहरू ट्याक्सीमा एक्लै हिँड्नुका साथै सपिङ मलहरूमा खोलिएका स्पाको समेत आनन्द लिन थालेका छन् । शाही परिवारका महिला सदस्यहरू पनि सामाजिक एवं व्यापारिक कार्यमा अघि आउँदैछन् । राजकुमारी रिमा बिन्ट बान्दार अल साउदले रियादमा हार्भे निकाल्स डिपार्टमेन्ट स्टोर चलाएकी छिन् । रिमा क्यान्सरविरुद्ध अभियान संचालन गर्दै सगरमाथाको आधार शिविरसम्म पुगेको महिला टिमकी नेतृ पनि हुन् ।

हालैका वर्षमा निकै चर्चित उपन्यास

'गल्र्स अफ रियाद' एक महिला रजा अल सानियाको कृति हो । हाइफा अल मनसुरले मुलुकमा पहिलो फिचर फिल्म 'बादज्दा' बनाइन् । उक्त चलचित्र छिमेकी केटासँग प्रतिस्पर्धा गर्न उसले चढेजस्तै हरियो साइकलको चाहना राख्ने एक केटीको कथामा आधारित छ । उक्त चलचित्रले विश्वभरका फिल्म फेस्टिबलमा थुप्रै पुरस्कार हात पार्‍यो ।

अहिले साउदी महिलाहरूले अदालतले लादेको धार्मिक ग्रन्थ कुरानमा आधारित कठोर कानुन सरियामा परिवर्तनका लागि पनि दबाब दिइरहेका छन् । त्यहाँ सन् २०२० देखि महिलाका लागि अनिवार्य रूपमा स्वतन्त्र परिचय कार्ड जारी हुँदैछ । यसअघि पुरुष अभिभावककै कार्डमा उनीहरूको नाम हुन्थ्यो । त्यहाँ अझै पनि परिवारका निकट पुरुष सदस्यको अनुमति वा संरक्षणमा मात्र महिलाले घुमफिर, उपचार र कामका लागि अवसर प्राप्त गर्छन् । त्यहाँ महिलालाई अन्य पुरुषसँग सार्वजनिक थलोमा बस्ने वा घुमफिर गर्ने अधिकार छैन । बैंकहरूमा महिला शाखा छन् । एक-दुई अपवादलाई छाडेर नर्सरीदेखि विद्यावारिधिसम्म पुरुष र महिलालाई बेग्लाबेग्लै शिक्षा दिने प्रबन्ध गरिएको छ ।

पुरुषको वर्चस्व रहेको पसलमा महिलाका लागि 'पहिरन रुम' राख्ने अनुमति समेत हुँदैन । अझै पनि त्यहाँ महिलालाई कार चलाउन प्रतिबन्ध छ, उनीहरूले कार हाँके कोर्रा हानिनुका साथै महिनौं जेल सजाय हुन्छ । राष्ट्रसंघको लैंगिक अन्तर सूचकांकका १ सय ३६ मुलुकमध्ये सउदी अरब १ सय २७ औं स्थानमा छ । त्यहाँ महिलालाई विभिन्न खालका छेकबार लगाउने कट्टरपन्थी धर्मगुरुहरूद्वारा सञ्चालित धार्मिक कानुनमा संशोधन नभएसम्म महिलाका लागि गरिएका सुधारहरू देखावटी मात्र हुने देखिन्छ ।

महिलाहरूद्वारा सञ्चालित सामाजिक मिडियाले यस दिशामा परिवर्तनकारी भूमिका खेलिरहेको छ । बेबलोग, ट्वीटर र युट्युबमा अभियानकर्ताहरूले महिलाको पक्षमा अधिकारका लागि लगातार आवाज उठाइरहेका छन् । महिलाले आफैले कार चलाएको भिडियो युट्युबमा राखिएको छ । पुरुषले तीन पटक 'तलाक' भन्दा  हुने पारपाचुके एवं इस्लाम धर्मले पुरुषलाई किन चार वटी श्रीमती राख्ने अनुमति दिएको छ भन्ने विषयमा सामाजिक सञ्जालमार्फत सचेत महिला समूहले च्याट शो चलाउन थालेको छ । यो सब सम्भव हुनुमा शिक्षाले अकाट्य भूमिका खेलिरहेको छ । शिक्षामा पुरुषभन्दा महिला अघि बढ्दैछन् । सबैतिर महिला विश्वविद्यालय खुलिरहेका छन् । अल्यसंख्यक भनिए पनि विदेशमा अध्ययनरत साउदी महिलाको संख्या उल्लेखनीय छ । महिला साक्षरता ८१ प्रतिशत पुगेको छ । सन् १९७० मा यो २ प्रतिशतमा सीमित थियो । कामकाजी महिलामा ५० प्रतिशतले कलेज शिक्षा पाएका छन् । पश्चिमा मुलुकका महिलाको तुलनामा स्नातक गर्ने साउदी महिलाको संख्या बढी छ ।

स्वदेश बाहिर र भित्र उनीहरूले गृहविज्ञानदेखि इन्जिनियरिङसम्म पढिरहेका छन् । आर्थिक स्वावलम्बनले पनि यो परिवर्तनलाई प्रोत्साहित गरेको छ । धेरै दशकपछि परे पनि त्यहाँ अहिले द्रुत गतिले परिवर्तन भैरहेको छ । साउदी महिलाहरू पश्चिमा शैलीको जीवनभन्दा पनि त्यहीँको संस्कृति र पहिरनलाई अपनाएर समानता, स्वतन्त्रता र न्यायको उपभोग गर्न चाहिरहेको बताउँछन् । यद्यपि अझैंसम्म राजनीतिक सशक्तीकरणमा शून्य प्राप्तांक पाउने साउदी अरबमा जरैदेखि परिवर्तन आवश्यक छ । यसमा विस्तारै सुधार आए पनि अगाडि थुप्रै चुनौती छन् । परम्परावादीहरूले आफ्नो संस्कृतिसँग जोडिएको परम्परागत लंैगिक भूमिका जोगाउन खोजिरहेका छन् । उनीहरू इस्लामको केन्द्र भएकाले साउदी अरबमा परम्परागत मान्यताको आवश्यकता देख्छन् । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्