गर्भस्थ शिशुको उल्टो बसाइ

डा. सुमनराज ताम्राकार

जेष्ठ १, २०७१

गर्भस्थ शिशुहरूको गलत बसाइ नै उल्टो बसाइ हो। करिब ३ देखि ४ प्रतिशतसम्म हुने उल्टो बसाइका कारण महिना नपुगेको (अपरिपक्व), शिशुमा विशेषतः स्नायु प्रणालीसम्बन्धी जन्मजात खराबी, महिलाको पाठेघरमा जन्मजात खराबी, शिशुवरिपरि पानीको मात्रा बढी, साल पाठेघरको तल्लो भागमा रहने, जुम्ल्याहा गर्भ, पहिलो गर्भ र ढल्कँदो उमेर, साल घाँटीमा बेरिने आदि समस्या देखा पर्छन्।

उल्टो बसाइका कारणले नवजात शिशुमा समस्या आउने तथा मृत्यु हुने सम्भावना तीन गुणा बढी हुनसक्छ। शिशुलाई पुग्ने चोटहरूमा नीलो टाटो बस्ने, आन्तरिक अङ्गमा चोट, स्नायुमा असर परी पक्षघात, मेरुदण्डभित्रको सुषुम्ना नली चुँडिने, हड्डी भाँचिने आदि प्रमुख छन्।

टर्म ब्रीच ट्रायल

टर्म ब्रीचको अर्थ महिना पुगेर पनि गर्भस्थ शिशु उल्टो बस्नु हो। महिना पुगेका ३ देखि ४ प्रतिशत गर्भवती महिलामा यो समस्या देखिन्छ। यसरी महिना पुगेका महिलामा शिशुको बसाइ उल्टो हुँदा योनिद्वारबाट सुत्केरी गराउनु राम्रो कि सिजेरियन गरेर बच्चा निकालेको राम्रो भन्ने प्रश्नमा बृहत् अनुसन्धान पनि भएको छ। यसअघिका साना अनुसन्धानहरूले सिजेरियन राम्रो भन्ने निष्कर्ष निकाले पनि त्यसमा विश्वास गरिहाल्ने परिस्थिति थिएन।

साना अनुसन्धानमा खुट्टा पहिले निस्किएको अवस्थामा अनुभवी प्रसूति रोग विशेषज्ञबाट सुत्केरी नगराइएका कारण योनिद्वारबाट सुत्केरी गराउँदा बढी समस्या देखिएको हुनसक्छ। टर्म ब्रीच ट्रायल अनुसन्धानमा करिब २ हजार ८८ गर्भवती महिला समावेश गरिए। त्यसमध्ये १ हजार ४२ गर्भवती महिलामा महिना पुगेपछि योजनाबद्ध तवरले सिजेरियन गर्ने योजना बनाइए पनि त्यसमध्ये ९० प्रतिशत सिजेरियनबाट नै सुत्केरी भए भने १० प्रतिशत महिला योनिद्वारबाट भए। तिनीहरूमध्ये कतिपयमा प्रसव व्यथा निकै छिटो भयो भने कतिपय गर्भवती महिलाले योनिद्वारबाट नै बच्चा पाउने चाहना गरे। कतिपयमा सिजेरियन अप्रेसनको समय कुरुन्जेल शिशु सुल्टोमा परिणत भयो।

अर्को समूहमा पनि १ हजार ४२ गर्भवती महिलालाई समावेश गरिएको थियो। गर्भस्थ शिशु उल्टो नै भए पनि तिनीहरूलाई नियोजित तवरले योनिद्वारबाट सुत्केरी गराउने योजना बनाइएको थियो। त्यसमध्ये पनि केवल ५६ प्रतिशतले योनिद्वारबाट उल्टो शिशु जन्माउन सफल भए भने बाँकी ४४ प्रतिशतमा सिजेरियन अप्रेसनको आवश्यकता पर्‍यो। यसरी अकस्मात् सिजेरियन गर्नुपर्ने कारणहरूमा पुट्ठाको हड्डी साँगुरो हुनु, प्रसव व्यथाका क्रममा आशातीत सुधार नआउनु, शिशुलाई सकस भै मुटुको चाल तलमाथि हुनु, खुट्टा पहिले आउनु, गर्भवती महिलालाई डर लागी सिजेरियन अप्रेसनको अनुरोध गर्नु, मेडिकल समस्या वा प्रसूति व्यथाको आफ्नै कारण देखा पर्नु, नाल पहिले निस्कनु प्रमुख रहे।

टर्म ब्रीच ट्रायल (अनुसन्धान) का सिलसिलामा प्राथमिक रूपमा नवजात शिशुमा सुस्तपन, पाइप राख्नुपर्ने, शिशुलाई भेन्टिलेटरमा राख्नुपर्ने, पाइपबाट ख्वाउनुपर्ने जस्ता परिणामहरू देखिए भने यो अनुसन्धानका अन्य परिणामहरूमा आमा तथा सुत्केरी महिलामा देखा पर्न सक्ने स्वास्थ्य समस्या (पिसाब चुहिने, दिसा रोकिने समस्या तथा मृत्यु हुने जस्तै बढी रक्तस्राव डेढ गुणा बढी), सुत्केरी महिलालाई रगत चढाउनुपर्ने, सालको टुक्रा निकाल्न क्युरेट गर्नुपर्ने, पाठेघरको मुख च्यातिने, पाठेघर निकाल्नुपर्ने समस्या, योनिद्वार तथा पाठेघरको साइडमा च्यातिने सम्भावना, योनिद्वारमा रगत जम्ने समस्या, सुत्केरी महिलाको पिंडौलामा रगत जम्ने समस्या, सास फुल्ने, निमोनिया हुने, घाउ पाक्ने, पिसाब थैली तथा पिसाब नलीमा चोट पुग्ने सम्भावना आदिको पनि विश्लेषण गरिएको थियो।

माथि उल्लेखित समस्या योजनाबद्ध तवरले गरिएको सिजेरियन अप्रेसनमा कम देखियो। यो अमेरिका, युरोपजस्ता नवजात शिशुको मृत्यु कम हुने विकसित देशहरूमा भन्दा नवजात शिशु भने मृत्यु बढी हुने नेपालजस्ता कम विकसित देशहरूका लागि कम फाइदाजनक देखियो किनभने उच्च शिशु मृत्युदर भएका देशमा यी समस्या पहिचान गर्न ढिलो भैरहेको हुन्छ भने नवजात शिशु अन्य कारणले पनि मरिसकेका हुन्छन्। सारांशमा बढी शिशु मृत्युदर भएका विकासोन्मुख देशमा एउटा शिशुको मृत्यु घटाउन वा गम्भीर खालको मातृ समस्या घटाउन ३९ वटा सिजेरियन अप्रेसन चाहिन्छ भने न्यून मृत्युदर भएका देशमा ७ थप वटा सिजेरियन अप्रेसनले मात्र पुग्छ। त्यसैले विकासोन्मुख देशमा योनिद्वारबाटै सुत्केरी बढी फाइदाजनक हुन्छ कि ? भन्ने बहस नभएको पनि होइन।

गर्भस्थ शिशुको बसाइ उल्टो हुँदा, योनिद्वारबाट सुत्केरी गराउँदा, नाल बाहिर निस्कने एवं शिशुलाई अक्सिजनको अभाव भै मुटुको चालमा गडबडी आउने सम्भावना सामान्यतया १२ गुणा बढी (३ दशमलव ७ प्रतिशत र ० दशमलव ७ प्रतिशत) देखियो भने पछि स्कुलमा राम्रो पर्फमेन्स गर्न नसक्ने समस्या पनि देखा पर्‍यो। योजनाबद्ध तवरले गरिएको सिजेरियन अपे्रसनबाट यस्तो चोट ० दशमलव ००९ प्रतिशतमा झरेको पाइयो। यही नै उक्त अनुसन्धानको प्रमुख उपलब्धि भयो। यसरी प्रसूति चिकित्सामा टर्म ब्रीच ट्रायल एउटा कोशेढुंगा साबित भयो। टर्म ब्रीच ट्रायलअनुसार गम्भीर खालका मातृ समस्या उत्तिकै भए पनि योनिद्वारबाट गराइएको सुत्केरीमा प्रसव वरिपरि शिशुको मृत्यु हुने तथा गम्भीर समस्या देखापर्न सक्ने सम्भावना ५ प्रतिशत रहेकोमा सिजेरियन अपे्रसन गरेको खण्डमा यो समस्या केवल १ दशमलव ६ प्रतिशत मात्र पाइयो।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्