सिजेरियन अप्रेसनबाट बालकको जन्म बढी

  • भ्रम कि यथार्थ ?
सिजेरियन अप्रेसनबाट बालकको जन्म बढी
फाल्गुन १, २०७०

सम्बन्धित विशेषज्ञहरूको जमघटमा अनौपचारिक छलफलका क्रममा सिजेरियन अपे्रसनका क्रममा जन्मिने शिशु प्रायः बालक नै हुने विषयमा बिरलै छलफल भएको पाइन्छ। लेखककै अनुभवमा अर्थात् सिजेरियन अपे्रसनका क्रममा धेरैजसो बालकको जन्म भएको पाइन्छ। त्यसैले पनि सिजेरियनका बेला सघाउन आउने अपरेटिङ सिस्टर तथा बाल रोग विशेषज्ञहरू पनि छक्क पर्छन्।

अपे्रसनबाट जन्मने  शिशुमा बालक नै किन बढी हुन्छन् र अन्यत्र पनि यस्तै हो कि भन्ने कारण थाहा पाउन मेडिकलसम्बन्धी रिसर्च आर्टिकल (अनुसन्धानात्मक लेख) हरू ख्ाोतल्दा कतिपय कारण प्रस्टिए। अल्ट्रासाउन्डबाट लिङ्ग छुट्याएर छोरी नै भएको तथा अनुरोधका आधारमा गरिएको सिजेरियन अपे्रसनमा बाहेक साँच्चिकै आवश्यक भएर अर्थात् प्रसव व्यथाका क्रममा कुनै समस्या आउनाले गरिने सिजेरियनमा भने धेरैजसो बालक नै जन्मिएको पाइयो।

एउटा अनुसन्धानको नतिजा यस प्रकार छ-सन् २००७ मा इटालीको युनिभर्सिटी अफ पेरुजियामा 'के गर्भे शिशु बालक वा बालिका के छ भन्ने कुराले गर्भावस्था अनि प्रसव व्यथा तथा त्यसको परिणामलाई प्रभाव पार्छ ?' भन्ने विषयमा गरिएको अनुसन्धानबाट थुप्रै तथ्य प्रकाशमा आए। उक्त अनुसन्धानमा सन् १९८५ देखि २००६ सम्मको तथ्यांक एवं गर्भावस्थादेखि शिशु जन्मसम्मका कुराहरू विश्लेषण गरिएको थियो। उक्त अनुसन्धानअनुसार गर्भावधिको सुरुतिर गर्भाशयमा बालिकाभन्दा बालकको अनुपात बढी पाइए पनि गर्भावधिको २० औं हप्तादेखि उक्त अनुपात घटेर शिशु पाउने मिति (महिना) पुग्दा स्थिर (बराबरी हुने गरेको) पाइयो। यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने गर्भाशयमै विभिन्न कारणले गर्दा बालकको मृत्यु हुने सम्भावना बढी छ। अर्को अर्थमा प्राकृतिक रूपमा प्रतिकूल वातावरणमा बालिका धेरै बाँच्ने रहेछन्। महिना पुगेपछि योनिद्वार वा सिजेरियनबाट बालिका वा बालक बराबर जन्मिए पनि बच्चा पाउने महिना अर्थात् नौ महिना पूरा भएपछि सिजेरियन अप्रेसनबाट जन्मने शिशुमा किन बालक धेरै त ?

गर्भाशयमा बालक हुँदा तुलनात्मक रूपमा बालिकाको भन्दा बढी तौल हुन्छ र शिशुको तौल बढी हुँदा अर्थात् शिशु ठूलो हुँदा शिशु वरिपरि हुने पानीको मात्रा पनि बढी हुन्छ। छोटकरीमा बालक धारण गरेकी गर्भवती महिलामा तुलनात्मक रूपमा बालिका धारण गरेकीमा भन्दा बढी तौल हुने र शिशु वरिपरि पानीको मात्रा पनि बढी भएको पाइयो। प्रसूति चिकित्सा विज्ञानको नियमअनुसार ठूलो शिशु वा बढी पानी आदि अन्य कुनै कारणले गर्भावधिभन्दा पाठेघरको आकार ठूलो भयो भने महिना नपुग्दै गर्भस्थ शिशु वरिपरिको पानीको थैलो फुट्ने (सानो सूतक हुने) र प्रसव व्यथा लाग्ने सम्भावना बढी हुन्छ। यसरी महिना नपुग्दै जन्मन लागेका शिशुमा प्रसव व्यथाका क्रममा अनेकौं समस्या आइपर्छन् अनि अप्रेसनको आवश्यकता पर्छ।

बालक धारण गरेकी महिलामा शिशुको बढी तौलबाहेक गर्भावस्थाका कारण देखिने कतिपय स्वास्थ्य समस्या मधुमेह, उच्च रक्तचाप हुने सम्भावना पनि बढी हुन्छ। त्यसैगरी प्रसव व्यथाको प्रथम तथा दोस्रो चरणको प्रगतिमा सुस्तता, शिशुको घाँटी वरिपरि बेर्ने सम्भावना, नाल निस्कने सम्भावना पनि बढी हुन्छ। गर्भाशयमा बालक हुँदा नालको गाँठो बन्ने सम्भावना पनि बढी हुन्छ। यी सबै कारणले गर्दा प्रसव व्यथाका क्रममा शिशुको मुटुको धड्कन तल-माथि भएर सिजेरियन अप्रेसन गर्नुपर्ने सम्भावना बढ्छ। यसरी सिजेरियन अप्रेसनबाट बालक नै बढी जन्मिने गरेको देखिन्छ।

सिजेरियन अप्रेसनबाट बालक बढी जन्मिए पनि महिना नपुगी जन्मिएका अपरिपक्व शिशुहरूमध्ये बालिका बाँच्ने सम्भावना बढी हुन्छ। महिना पुगेर जन्मिएकामा भन्दा विशेषतः महिना नपुगी जन्मिएका अपरिपक्व शिशुमा पहेंलोपन (जन्डिस) हुने, शारीरिक तापक्रम नियन्त्रण गर्न नसक्ने, रगतमा ग्लुकोज र क्याल्सियमको मात्रा घट्ने, स्याँ-स्याँ हुने, छातीको संक्रमण बढ्ने, आन्द्रा कुहिने, कम्पन छुट्ने सम्भावना बढी हुन्छ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्