नेवारी खाना
काठमाडौंमा चलेका नेवारी रेस्टुराँ
होनचा, मंगलबजार
चटामरी छें, चिकमुंगल
दयारामको हाँसको छ्वेला, खोकना
नेवा म्हसिका, कीर्तिपुर
जगातीको छ्वेला पसल, सल्लाघारी
हारती रेस्टुरेन्ट, नयाँ बजार
नेवाः नसा, बीआईडी गेट, बालाजु
अन्य परिकारका साथ नेवारी पनि पाइने रेस्टुरेन्ट
नेपाली चुल्हो, रानीवारी
एम्बिएन्स रेस्टुरेन्ट, पाटन दरबार स्क्वायर
लजना रेस्टो एण्ड बार, लाजिम्पाट
उत्सव, दरबारमार्ग
विङवेल, हात्तीसार
भोजन गृह, डिल्लीबजार
तामा, गैरीधारा
स्ट्रिट फुड
स्ट्रिट फुडले हरेक वर्गका मानिसलाई एउटै थलोमा उभ्याएको छ। मानिसको बढी आवतजावत हुने फुटपाथ, विद्यालयको वरपर तथा विभिन्न सार्वजनिक स्थलमा स्ट्रिट फुड राख्ने चलन बढ्दो छ। आफूले भन्नेबित्तिकै खान पाइने तथा स्वादिलो हुने हुँदा यो अरूको तुलनामा बढी रुचाइएको छ। यसका साथै आफ्नो बजेटअनुसार हरेक प्रकारका स्वादिला खाना खान पाउनु यसको अर्को विशेषता हो। सडकको किनारामा भुइँमा ओछ्याइएको सुकुलमा बसेर आफ्नो इच्छाअनुसार शाकाहारी तथा मांसाहारी खाना खानुको आनन्द अरू ठाउँमा पाइँदैन। हरेक वर्गका मानिस सँगै बसेर खाने यो उपयुक्त ठाउँ हो। बाहिरको रमाइलो हेर्दै खानाको मज्जा लिनुको आनन्द यहाँ जति अरू ठाउँमा सायदै होला। मोमो, ससेज, तोफु, आलु, योमरी, बारा, चटपटाजस्ता मुख रसाउने यहाँको परिकार सबैलाई आफूतिर तान्न सफल छ। विद्यार्थीदेखि व्यापारी, अफिसर तथा विभिन्न पेसाकर्मी यहाँका ग्राहक हुन्। कम बजेटमा मीठो तथा धेरै खान पाइने हुनाले यसले तल्लो वर्गका मानिसलाई एउटै थलोमा भेला पार्न सफलता पाएको छ। त्यसमा पनि विशेष गरी विद्यार्थी यसका ग्राहक हुन्। यसले सबैलाई आफूतिर लोभ्याएको छ। न्युरोड, वसन्तपुर, बानेश्वर, कलंकी आदि ठाउँमा स्ट्रिट फुड पाइन्छ। यी ठाउँमा नेपाली तथा नेवारी परिकारका साथमा चाइनिज परिकारसमेत समेटिएको हुन्छ। स्ट्रिट फुडबाहेक राजधानीमा सुलभ मूल्यमा खाजा खान सकिने केही रेस्टुराँसमेत छन्। यस्ता ठाउँमा मःम, फ्राइड राइस, पिज्जा, वर्गर, सलामी, फ्राई आलु, तोफु आदि विभिन्न खाद्य सामग्री उपलब्ध छन्।
सस्तो मूल्यमा मीठो तथा विभिन्न परिवारका खाना पाइने केही ठाउँ
एस चाइनिज रेस्टुरेन्ट, पाको न्युरोड
स्टिक हाउस, न्युरोड
चाइनिज फुड
आधुनिकीकरणसँगै पहिले घरको दालभातमा सन्तोष मान्ने नेपालीहरू अहिले लन्च वा डिनरका लागि रेस्टुराँ चहार्न थालेका छन्। बढ्दो देश-विदेश भ्रमण एवं संचार माध्यमको प्रभावका कारण नेपालीहरूको सोच पनि फराकिलो हुँदैछ। आधा दशकअघिसम्म खानपानमा कट्टर नेपालीहरू अहिले उदार भएका छन्। फलस्वरूप राजधानीमा विदेशी स्वादका थुप्रै रेस्टुराँ खुलेका छन्। काठमाडौंमा संसारमै सर्वाधिक लोकप्रिय चाइनिज फुडका केही चेन तथा अन्य चाइनिज रेस्टुराँ पनि प्रशस्तै छन्। चाइनिज फुडका लागि प्रायः खाद्य सामग्री चीनबाटै आयात गरिने बताइन्छ। बेइजिङ रोस्ट डकका रोम ढकाल भन्छन्-'नेपालीहरूको सोचमा निकै परिवर्तन आइसकेको छ। झ्वाट्ट देख्दा चाइनिज पाहुनाले खाने ठाउँ होला भने पनि हामीकहाँ चिनियाँ परिकारको स्वादका पारखी नेपाली ग्राहक प्रशस्त भेटिन्छन्।' नेपालीहरूमाझ बेइजिङ रोस्ट डक नामक चाइनिज सिंगो हाँसको परिकार प्रख्यात भएको ढकालले बताए। त्यसबाहेक मटन इन चेन, ग्रेनी सुप, ब्रेस्ट होल फिस, चिकेन सेस्मी चिल्ली, मापो बिन कट तथा चाइनिज फ्राइड कर्न नेपालमा लोकप्रिय चाइनिज परिकार हुन्। काठमाडौंका अधिकांश चाइनिज रेस्टुराँ कोजी, वार्म तथा रातो रंगले इन्टेरियर डिजाइन गरिएका छन्। चाइनिज फेंगसुइ, आर्टिफिसियल फ्लावर तथा रातो कपडाले सजिएका चाइनिज रेस्टुराँ भित्र छिर्दा न्यानो तथा चीनमै पुगेको महसुस हुन्छ। काठमाडौंका मुख्य स्थानहरू दरबारमार्ग, थापाथली, बानेश्वर, ठमेल आदिमा ठूला लगानीका चिनियाँ रेस्टुराँ तथा मलभित्र रहेका फुड कोर्ट यत्र-तत्र देखिन्छन्। बेइजिङ रोस्ट डक, बेइजिङ गार्डेन, सी.डब्ल्यु. आदि उपत्यकामा चलेका चिनियाँ रेस्टुराँ हुन्।
काठमाडौंका नाम चलेका चाइनिज रेस्टुराँ
बेइजिङ रोस्ट एण्ड डक रेस्टुराँ,
नयाँबानेश्वर (बीआइसीसी हलसँगै)
बेइजिङ गार्डेन रेस्टुराँ, नयाँबानेश्वर
सी डब्ल्यु रेस्टुराँ, काष्ठमण्डप, कमलादी
च्याङ चेङ रेस्टुराँ, स्वयम्भू
राइस एण्ड बोल, त्रिपुरेश्वर
रोयल सिंहे होटल, कमलादी
थाई फुड
भित्र प्रवेश गर्दा एक प्रकारको मीठो सुगन्ध नाकमा ठोक्किन्छ। करिडोरलगायत भर्याङका सिंढीपिच्छे देखिने थाई हब्र्सका स-साना हरिया बुट्यानबाटै त्यहाँको सौन्दर्यको आँकलन गर्न सकिन्छ। नीलो तथा हल्का पहेंलो रंगलाई प्राथमिकता दिने थाईहरूको चलनलाई नेपालका थाई रेस्टुराँले पनि पछ्याएका छन्। विभिन्न परिकारका स्वादमा रम्न मन पराउने आधुनिक नेपालीहरूका लागि रेस्टुराँहरूले एक दशकयता थाई फुड सुलभ मूल्यमा उपलब्ध गराउँदै आएका छन्। सबै थाई परिकारमा थाई हब्र्स प्रयोग गरिन्छ र ती स्वादिष्ट एवं स्वास्थ्यवर्द्धक भएको रोयल थाई रेस्टुराँका अपरेसन म्यानेजर नीरज विष्ट बताउँछन्। विष्टका अनुसार थुप्रै नेपाली साताको एकपटक थाई फुडको स्वाद लिन थाई रेस्टुराँ पुग्छन्। नेपालमा प्रचलित प्लाराड पि्रक, कुङतोड कार्तिम, प्लानुङ माना ओ, सोमताङ थाई, काई याङ, तोमयाम कुङ, पात थाई, पाक चाई, मसरुप सात्ते आदि थाई फुडमध्ये सोमताङ थाई नेपालीहरूले सर्वाधिक रुचाएका छन्। त्यसबाहेक सुगर फ्री थाई परिकारहरू डाइबिटिजका बिरामीहरूका लागि उपयुक्त छन्। ब्लुवर्ड मल थापाथली, सिटी सेन्टर कमलपोखरी तथा नयाँबानेश्वर चोक गरी ३ वटा शाखा रहेको रोयल थाई, हिम थाई, कुरुवा थाई, डेलिमा गार्डेन क्याफे, यिङ याङ काठमाडौंका नाम चलेका थाई रेस्टुराँ हुन्। परिकारको मात्रा हेरी २ सय ५० देखि ९ सय रुपैंयाँको हाराहारीका परिकार पाइने थाई फुड सबै वर्गका नेपालीमाझ प्रिय छन्।
काठमाडौंमा थाई फुड पाइने केही ठाउँ
रोयल थाई रेस्टुरेन्ट नयाँबानेश्वर, थापाथली, कमलपोखरी
हिम थाई, लाजिम्पाट
कुरुवा थाई, ठमेल
डालिमा गार्डेन क्याफे, पकनाजोल
यिङ याङ, ठमेल
थकाली परिकार
थकाली परिकार टिपिकल नेपाली फुड हो। प्रायः उच्च पहाडी तथा हिमाली भेगमा बस्ने थकालीहरूको परिकारको छुट्टै स्वाद र विशेषता छ। थकालीहरू आफ्नो मौलिकतालाई परिकारमार्फत संसारभर लोकप्रिय बनाउन लागिपरेका छन्। फलस्वरूप अहिले काठमाडौंका विभिन्न ठाउँमा थकाली परिकारको व्यावसायिकता मौलाउँदो छ। थकाली भान्सा घर एण्ड सेकुवा क्याफे, नयाँबानेश्वर, रोयल थकाली भान्सा, सुन्धारा, चाँदीको थाली दरबारमार्ग, हिल्टन थकाली भान्सा घर, सुन्धारा, टुकुचा, गैरीधारा, डी.डी.एस. थकाली भान्सा, सिनामंगल, गामबेसी थकाली भान्सा घर, महाराजगंज, थासाङ थकाली भान्सा घर, जावलाखेल, मुस्ताङ थकाली लाजिम्पाट अहिलेका सर्वाधिक लोकप्रिय थकाली भान्सा घर हुन्। चाँदी, ढलोट वा चरेसका थालमा विभिन्न स्वादिष्ट परिकारका साथ च्यांग्राको सुकुटी, दही, मोही, घिउ, हिमाली कालो दाल थकाली परिकारका विशेषता हुन्। पलेटी कसेर बस्न मिल्ने गरी राखिएका चकटी अनि होचा टेबुलमा डेकोरेटिभ थकाली फुडको स्वाद लिनुको मज्जा बेग्लै हुन्छ। थकाली खाना सेट, च्यांग्राको सुकुटी, फापरको रोटी, फापरको ढिंडो, झ्वाइँखट्टे, किन्टिह, काटुङ, टुङ प्रसिद्ध थकाली खाना हु्न्। थकाली भान्सा घर एण्ड सेकुवा क्याफेका प्रबन्ध निर्देशक दुर्गामान शेरचन भन्छन्-'लोप हुन लागेको मौलिकतालाई जोगाउनुपर्छ भन्ने मान्यताले परिकारका लागि चाहिने आवश्यक सामग्री दुर्लभ भए पनि यसलाई निरन्तरता दिइरहेका छौं। हामीकहाँ पाइने परिकार सुलभ हुनुका साथै स्वादिष्ट पनि छन्।' १ सय ७० रुपैंयाँदेखि ५ सय रुपैंयाँसम्म पर्ने थकाली परिकार पाइने रेस्टुराँमा भीड बढ्दै गएको पनि उनले बताए। नेपालीहरू घरको खानाबाट दिक्क भएर स्वाद परिवर्तनका लागि रेस्टुराँ धाउने प्रवृत्ति बढ्दै गएकाले पनि यस्तो भएको उनको अनुमान छ।
काठमाडौंका नाम चलेका थकाली भान्सा
थकाली भान्सा घर एण्ड सेकुवा क्याफे, नयाँबानेश्वर
रोयल थकाली भान्सा, सुन्धारा
चाँदीको थाली दरबारमार्ग
हिल्टन थकाली भान्सा घर, सुन्धारा
टुकुचा, गैरीधारा
डी.डी.एस. थकाली भान्सा, सिनामंगल
गामबेसी थकाली भान्सा घर, महाराजगंज
थासाङ थकाली भान्सा घर, जावलाखेल
मुस्ताङ थकाली, लाजिम्पाट
भारतीय परिकार
सन् १९३३ मा बेतियाबाट काठमाडौं आएका एक व्यक्तिले मखनमा अमृत भण्डार नामको हलुवाई पसल खोलेपछि भारतीय परिकारले राजधानीमा प्रवेश पाएको हो। त्यसयता नेपाली बजारमा भारतीय परिकारको वर्चस्व छ। भारतीय र नेपाली परिकारमा राखिने सामग्री उस्तै-उस्तै हुने भएकाले पनि यसलाई रुचाइएको हुन सक्छ। साना हलुवाई पसल हुन् अथवा आकर्षक ढंगले सजाएर राखिएका ठूला पसल, विभिन्न प्रकारका भारतीय परिकार जताततै उपलब्ध छन्। आफन्त भेटघाट, सभा-समारोह वा खुसी आदिमा भारतीय मिठाईं अथवा अरू परिकार ख्वाउने चलन नै छ। मिठाईंसँगै नेपाली बजारमा अन्य भारतीय परिकारले पनि स्थान लिएका छन्। अमिलो वा पिरो मन पराउने नेपालीहरूमा भारतीय चाट, पानी पुरी, छोला बटुरा, दहीबडा, ढोकला, डोसा, कचौरी, पुचका आदि नुनिला परिकारहरू पनि उत्तिकै लोकप्रिय छन्। अहिले काठमाडौंका चोक-चोकमा खुलेका भारतीय रेस्टुराँहरूमा नेपालीहरूको भीड देखिन्छ। राजधानीमा साउथ इन्डियन, गुजराती, पंजावी, मुगल, राजस्थानी तथा बंगाली परिकारका रेस्टुराँहरू खुलेका छन्। साउथ इन्डियन परिकारमा डोसा, साम्बर, इडली र उत्पम बढी रुचाइएको छ। नरिवलको अचार र साम्बरले डोसालाई निकै स्वादिलो बनाउँछ। त्यसैगरी पंजावी परिकार तन्दुरी रोटी, तन्दुरी चिकेन तथा मोही पनि नेपालीहरूको मुखमा झुन्डिएको छ। राजसी परिकारका लागि बिरयानी, रोटी रोल, कबाब चिकेन टिक्का पनि अहिले रेस्टुराँहरूमा सहज छन्। केही हेभी भारतीय परिकार स्वाद तथा विविधताका हिसाबले निकै धनी मानिन्छन्। त्यसैले पनि ठेलामा राखिएका चाट तथा पानी पुरीदेखि बुुखारा रेस्टुराँसम्म नेपालीहरूको मन उत्तिकै लोभिएको पाइन्छ। फलस्वरूप आँगन, रामेश्वरम्, कन्हैया, दूधसागरजस्ता भारतीय परिकार पाइने रेस्टुराँहरूले ग्राहकको सुविधाका लागि आफ्ना आउटलेट विस्तार गर्दैर् लगेका छन्।
भारतीय परिकारका लागि प्रख्यात रेस्टुराँ
बुखारा
दूधसागर
राम भण्डार
सजन गोठ
संगम स्वीट्स
अनमोल
कन्हैया
स्वीट केभ
मसला डाइनिङ
मिस्टी
बेगम
बादशाह
दि ढावा
राजघराना
ताजमहल
सेकुवा रोड
नेपालीहरूको स्न्याक्सका रूपमा प्रख्यात सेकुवाको वासना एयरपोर्टदेखि गैरीगाउँसम्मको बाटोमा पुग्ने जोकोहीले सडकबाटै लिन सक्छन्। त्यसैले यो रोडलाई सेकुवा रोडभन्दा फरक नपर्ला। सबैका माझ उत्तिकै लोकप्रिय सेकुवा पसलमा ग्राहकको भीड उत्तिकै देख्न सकिन्छ। अहिले राजधानीका एयरपोर्ट, सिनामंगल, गैरीधारा, पुतलीसडक, अनामनगर, बल्खु आदि ठाउँमा पनि बगे्रल्ती सेकुवा पसल देख्न सकिन्छ।
सेकुवाका लागि प्रख्यात बाजेको सेकुवामा ग्राहकको भीड लाग्ने गरेको छ। दीनानाथ भण्डारीले २०३५ सालमा पहिलेको डोमेस्टिक एयरपोर्टमा तीन-चारवटा टेबुल राखेर सेकुवा पोल्न सुरु गरेका थिए । अहिले ग्राहकको भीडलाई थेग्न नसकेर बाजेको सेकुवाले आफ्ना शाखाहरू सोह्रखुट्टे, नयाँबजार, गैरीगाउँ, अनामनगर तथा गैरीधारामा विस्तार गरिसकेको छ। बाजेको सेकुवा, नयाँ बजार शाखाका कर्मचारी होमनाथ घिमिरेका अनुसार सेकुवा खान बेलुका ग्राहकहरूको भीड बढी लाग्छ। घिमिरेका अनुसार बाजेको सेकुवाका सबै शाखामा बाजेले आफ्नै हातले मसला मोलेर बनाएको सेकुवा पुग्छ। नयाँ बजार शाखामा मात्र दिनमा एउटा खसीको मासुको सेकुवा खपत हुन्छ। यसैगरी सिनामंगलमा केही महिनाअघि खुलेको चितवन तास घर एण्ड सेकुवा कर्नरमा पनि सेकुवा तथा तास पाइन्छ। चितवनमा पाइने प्रख्यात तास आफूकहाँ बन्ने तास घरका संचालक कृष्णप्रसाद न्यौपाने बताउँछन्। सेकुवा र तास पाइने उक्त कर्नरमा ३ बजेपछि ग्राहकको बढी भीड लाग्छ। तास मसला मोलेको मासुलाई डिप फ्राई गरी बनाइन्छ भने सेकुवा मोलेर राखेको मासुलाई आगोमा पोलेर बनाइन्छ। तासमा राखिने मसला र सेकुवामा राखिने मसला फरक हुने कृष्णप्रसाद बताउँछन्।
सिनामंगल चोकमै अवस्थित टाउनटप लामा सेकुवा कर्नरमा भने धेरैजसो ग्राहक बफ सेकुवा खान आउने गरेका छन्। मटन तथा चिकेनको सेकुवा पाइए पनि लामाकहाँ बफ सेकुवा बढी बिक्री हुन्छ। सेकुवा सेटमा सेकुवाको साथमा चिउरा, भुजा, दालमोठ, सलाद, मुलाको अचार एवं अदुवाको अचार दिइन्छ। यसैगरी दुर्गा बाजेको सेकुवामा २ बजेपछि ग्राहकहरू सेकुवा खान आउने म्यानेजर अशोक अधिकारी बताउँछन्। अधिकारीका अनुसार दिनमा २२ किलो मासुको सेकुवा बिक्री हुन्छ। सेकुवा खान जाडोको तुलनामा गर्मीमा बढी ग्राहक आउँछन्। सेकुवा कर्नरहरूमा सेकुवाका अतिरिक्त ह्याकुला, टाउको साँधेको, चुस्ता (खसीको बोसे आन्द्रा), खसीको सुप, कलेजो आदि परिकारहरू पनि पाइन्छन्। यसैगरी रेस्टुरेन्टमा पाइने मःम, चाउमिन, थकाली खानाजस्ता अन्य परिकार पनि सेकुवा कर्नरमा उपलब्ध छन्।
सेकुवाका लागि प्रख्यात गन्तव्य
बाजेको सेकुवा
एयरपोर्ट सेकुवा
दुर्गा बाजेको सेकुवा
टाउन टप लामा सेकुवा कर्नर
चितवन तास घर एण्ड सेकुवा कर्नर
किशोरकुमारको सेकुवा
घलेदाइको सेकुवा
टाउन डाउन सेकुवा
सेकुवा कर्नर
लामाको सेकुवा पसल
पुष्कर सेकुवा
बँढाको सेकुवा
कुमार दाइको सेकुवा
नेपालगन्ज सेकुवा
स्वास्थ्यमैत्री जापानी परिकार
स्वास्थ्यप्रति सजग हुनेहरूले खानाको शैली तथा स्वाद फेर्नु उपयुक्त हुन्छ। यसका लागि जापानी परिकार उत्तम विकल्प हुनसक्छ। जापानी परिकारले स्वास्थ्यमा नकारात्मक असर गर्दैन बरू शरीर र दिमागलाई तन्दुरुस्त राख्न मद्दत पुर्याउँछ। हिजोआज जापानी परिकार नेपालमा पनि लोकप्रिय हुँदैछ। पहिलो पटक चाख्नेहरूलाई जापानी परिकारको स्वाद त्यति मन नपर्न सक्छ तर एक-दुईपटक खाएपछि भने अन्य परिकार फिका लाग्न थाल्छन्।
जापानी परिकार भन्नासाथ धेरैको मुखमा सुसी, मिसो सुप, टेम्पुराको नाम आइहाल्छ तर जापानी परिकारको सूचीमा धेरै कुरा समावेश हुन्छन्। टेरिकाईको चिकेन संसारभरि मन पराइएको जापानी परिकार हो। नेपालमा पनि यो परिकार निकै रुचाइएको दानराम रेस्टुरेन्टकी संचालिका तथा सेफ जुनको नाइतो बताउँछिन्। नाइतोका अनुसार ३० प्रतिशत नेपाली ग्राहक आउने उक्त रेस्टुरेन्टमा टेरिकाई चिकेन, टेम्पुरा, सुसी, डोनबुरी एवं तोफुका परिकार अधिकांश नेपालीले रुचाएका छन्। चिल्लो, नुनिलो, पिरो नरुचाउने तथा सफ्ट टेस्ट मन पराउनेहरूले जापानी परिकार रुचाउने उनको अनुभव छ। त्यसमा पनि भात खान रुचाउने नेपालीहरूमाझ डोनबुरी निकै लोकप्रिय परिकार हो। यो परिकारमा गहिरो भाँडोमा भात राखेर त्यसमा आफूलाई मनपर्ने चिकेन, अण्डा, भेजिटेबल, प्राउन, टेम्पुरा आदि माथिबाट राखेर खान सकिन्छ जुन मिसो सुपसँग सर्भ गरिएको हुन्छ।
मिसो सुप एउटा यस्तो जापानी परिकार हो जुन हरेक खानासँग अनिवार्य खाइन्छ। मिसो सुपको एउटा पुरानो कथा पनि छ। दोस्रो विश्व युद्धपछि जापानमा मानिसहरूलाई मिसो सुप ख्वाएर दिमाग र शरीर दुवै पक्षबाट सबल बनाइएको थियो। भनिन्छ, मिसो सुपबिना जापानी परिकार अधूरो हुन्छ। ठमेलस्थित लोटस रेस्टुरेन्ट पनि जापानी परिकारका लागि चर्चित छ। त्यहाँको जापानी करी राइस निकै लोकप्रिय छ। यो परिकार फिस, चिकेन, भेज आदि करीका साथ सर्भ गरिन्छ र भात थप्ने चलन पनि छ। त्यहाँको नुडल्स र जापानी अम्लेट पनि निकै रुचाइएको पाइन्छ।
जापानी परिकारमा बढी चल्ने सलादमा याक्को, तोफु सलाद, राइस नुडल्स सलाद, र्याडिस सलाद, एगिदासी तोफु, ग्रार्लिक पोटेटो, रोस्ट चिकेन विंक विथ साल्ट, ग्याउजा, डोनवुरी, जापानी करी राइस, कोरेक्के, निक्कुजागो आदि हुन्। कापा रोल, उम् रोल, चिकेन कटलेट रोल, टुना मायोनेज रोल, प्राउन टेम्पुरा रोल, एभोकाडो रोल आदि रुचाइएका सुसी रोल हुन्। जापानी परिकारमा वान पट डिसेज पनि धेरै छन्। योजनेब माछा, सिफुड, मासु, भेजिटेबल एकै ठाउँमा राखेर सर्भ गरिने परिकार हुन्। जापानी परिकारमा सुप पनि धेरै थरिका छन्। जसमध्ये मिजुताकी, क्लाइम सुप, एग ड्रप सुप, मिसो सुप विथ तोफु एण्ड ग्रीन ओनियन, सोया मिल्क सुप, जोनी सुप, हाकुसाई क्याबेज सुप आदि प्रमुख मानिन्छन्। जापानी रेस्टुराँमा लञ्च वा डिनरको स्वाद लिन प्रतिव्यक्ति ४ सयदेखि ५ सय रुपैंयाँसम्म खर्च लाग्छ।
नाम चलेका जापानी रेस्टुराँ
दानराम, पुल्चोक
लोटस जापानिज रेस्टुरेन्ट, ठमेल
इजर बुक क्याफे, सानेपा
कोतो, दरबारमार्ग
सोगोन रेस्टुरेन्ट, बबरमहल रिभिजिटेड
चाई चाई क्याफे, झम्सिखेल
डेजर्टमा केक
पहिले पाश्चात्य जगत्मा मात्र प्रचलित केक हिजोआज पूर्वीय समाजमा पनि रुचाइएको पाइन्छ। केही समययता नेपालमा केकको प्रयोग विभिन्न तरिकाले हुन थालेको छ। फलस्वरूप नेपालीहरूमाझ पनि केकले महत्त्वपूर्ण स्थान पाएको छ। आधुनिकताको विकाससँगै फेरिएको खानपानको शैलीका कारण डेजर्टका रूपमा समेत प्रयोग गरिने केक लोकप्रिय परिकार बन्न पुगेको छ। हिजोआज वर्थ डे, विवाह, नयाँ वर्ष, आमाको मुख हेर्ने दिनमा पनि केकको प्रयोग सामान्य भएको छ। सफलताको उत्सव वा खुसीको अवसरमा केक अनिवार्य भएको छ। केक भन्नेबित्तिकै हाम्रो मनमा मीठो वा गुलियो स्वाद आउँछ। खाना खाएपछि मुखको स्वाद अझ मीठो बनाउन यसको प्रयोग बढ्दो छ। केक मन नपर्ने मानिस सायदै होलान् तर हरेक मानिसलाई फरक-फरक स्वाद मन पर्छ। स्ट्रबेरी, चकलेट, भ्यानिला, हनी आदि स्वादमा उपलब्ध हुने क्रिम, बेकिङ पाउडर, सोडा, अण्डा तथा रुचिअनुसारका स्वाद राखेर बनाइन्छ। अहिले शाकाहारी मानिसका लागि अण्डा नहाली बनाइएको केक पनि उपलब्ध छ। ब्ल्याक फरेस्ट, ह्वाइट फरेस्ट, पाइनापल पेस्ट्री, मार्बल केक, हनी केक, चीज कोल्ड केक, भ्यानिला केक, चकलेट केक, कोकोनट ड्राइ पेस्ट्री तथा चोको नट पेस्ट्री नेपाली बजारमा रुचाइएका केक हुन्।
केकका लागि नाम चलेका केही गन्तव्य
एन्डिज, महाबौद्ध, बानेश्वर
कृष्ण ब्रेड तथा बेकरी, हात्तीसार
नाङ्लो बेकरी क्याफे, दरबारमार्ग
द केक सप, दरबारमार्ग
जुलिज केक एण्ड बेकरी सप, कुपन्डोल
रोयल एलिनाज बेकरी क्याफे, बानेश्वर, न्यूरोड, लाजिम्पाट, कान्तिपथ
स्काउट विल्डिङ, लैनचौर तथा कुपन्डोल
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्