विशेष

उच्चपदस्थ महिला

 अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्रमा समेत महिलाको स्थान अग्लिँदै गएको छ । मुलुकका सम्मानित पदमा महिलाको उपस्थितिले महिला मात्रका लागि होइन समग्र मुलुकका लागि आशाको ढोका उघारेको छ । महिला मुलुकको उच्च पदमा पुग्नु आफैंमा गर्वको कुरा मात्र नभई समग्र राज्यका लागि आशाको किरण उदाउनु हो । सानो संघर्षले यति उच्चस्थानमा पुग्न नसकिने कुरा राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक रूपमै अभिव्यक्त गर्दै आएको कुरा हो । महिलाका लागि छुट्टै स्वतन्त्र, स्वायत्त तथा सबल किसिमको निकाय माग गर्दै विगतमा थुप्रै बहस, छलफल, सभा तथा आन्दोलनहरू भए र तिनमा जति महिलाहरूको योगदान रह्यो त्यसको परिणाम नै अहिलेको अवस्था हो भन्दा फरक नपर्ला । महिलावादी संघसंस्था एवं महिलाको मुद्दा बुझेकाहरूले गरेको आन्दोलन र वकालतको फलको केही अंश अहिले देखिएको छ जसको श्रेय ती तमाम महिला, यसका अभियन्ता, सम्बन्धित संघसंस्थालगायत सरोकारवालाहरू सबैलाई जान्छ । सानै प्रयास र संघर्षले महिलाहरू मुलुकको उच्चपदमा पुगेका होइनन्, ठूलो त्याग, तपस्या एवं बलिदानबाट मात्र यो सफलता सम्भव भएको हो । विद्यार्थी जीवनदेखि नै सक्रिय राजनीतिमा होमिएकी विद्यादेवी भण्डारी संघर्ष र निरन्तरको क्रियाशीलताले मुलुकको उच्चपदमा पुगेकी हुन् । विद्यादेवी भण्डारी राष्ट्रपति पदमा नियुक्त भएको खबरले महिला मुद्दामा चासो र चिन्ता व्यक्त गर्नेहरूमा खुसीको सीमा रहेन । अब महिलाहरूका दिन आए, महिलाले न्याय पाउने भए, नेपालमा पनि अब महिला सशक्तीकरणको ठोस सुरुवात भयो, महिलाहरू अझ उत्प्रेरित हुने भए भन्ने कुरा मुलुकभर गुञ्जिए । त्यसले एक किसिमको तरङ्ग पैदा गर्‍यो फलस्वरूप आममहिला पनि गरे के हुँदैन भन्ने आँट र विश्वास नजिक पुगे । इटहरीकी महिला अधिकारकर्मी राधिका थापाले राष्ट्रपतिसँगको एक भेटमा सुनाएकी थिइन्–‘हजुर राष्ट्रपति भएदेखि जुनसुकै संघसंस्था, सरकारी निकायमा काम विशेषले पुग्दा ओहो राष्ट्रपति आउनुभयो उहाँलाई बस्ने ठाउँ छोडिदिनुहोस् भन्दै बसिरहेका मानिसलाई उठाउँछन् । त्यति मात्र होइन काम पनि प्राथमिकतामा राखी अघि नै गरिदिन्छन् । त्यसलाई म सकारात्मक रूपमा लिन्छु ।’ न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका, नेपाल दूरसंचार संस्थान, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय आदि स्थानमा महिलाहरू नेतृत्वमा पुग्नु चानचुने कुरा पक्कै होइन । धर्म, संस्कार एवं परम्पराका कारण पुरुषको तुलनामा महिलालाई कम अवसर प्राप्त हुने हाम्राजस्तो मुलुकमा राष्ट्रपति पदमा विद्यादेवी भण्डारीको आगमनसँगै सभामुखमा ओनसरी घर्ती मगर, न्यायपालिका प्रमुखमा सुशीला कार्की, नेपाल दूरसंञ्चार संस्थानमा नलिनी राजभण्डारी, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा श्रीमती भूषण श्रेष्ठजस्ता महिला पदासीन भए । मुलुकका शक्तिशाली निकायका उच्च पदमा महिला पुग्नु विश्व इतिहासमा नेपालको नाम उँचो हुनु मात्र नभई महिलाका हकमा बलियो संयन्त्र तयार हुनु पनि हो किनभने उक्त निकायमार्फत बन्ने नीति–नियम महिलामुखी हुन सघाउ पुग्छ । पक्कै पनि ती निकायबाट बन्ने नीति महिलालाई अहित गर्ने खालका हुँदैनन् भने महिला भएका नाताले महिलाका मुद्दामा गम्भीर भएर लाग्नसक्ने वातावरण निर्माण हुन्छ । यहाँ उल्लेख गरिएका व्यक्तित्वबाहेक पनि राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाइरहेका थुप्रै नेपाली महिला छन् ।संयुक्त राष्ट्रसंघको उच्च ओहोदामा लामो समय बिताएकी चाँदनी जोशी, अन्तर्राष्ट्रिय श्रम संगठनको जेनेभास्थित मुख्यालयकी डा.ज्योति तुलाधर, अफ्रिकामा काम गरिरहेकी युएन एड्सकी नर्वदा आचार्य, फक्स न्यूजकी किरण क्षेत्री, बीबीसीकी सुम्निमा उदास, कूटनीतिक नियोगकी सलिना जोशी, सैनिक तथा प्रहरी संगठनकी राधा शाह तथा गीता उप्रेती, निजामती सेवाकी मधु आचार्यजस्ता महिलाहरू आ–आफ्नो क्षेत्रको नेतृत्व तहमा कार्यरत छन् जसले सामाजिक परिवर्तनको उज्यालो छटा देखाउँछ ।विद्यादेवी भण्डारी (राष्ट्रपति, नेपाल)    जन्म : वि.सं. २०१८ साल असार ५ गते (५६ वर्ष)    राजनीति प्रवेश : वि.सं. २०३५ साल ।    संगठन : नेकपा (एमाले) सम्बद्ध युवा लिग ।    विवाह : वि.सं. २०३९ साल ।    श्रीमान् : मदनकुमार भण्डारी(सन् १९८२–१९९३)राष्ट्रपतिको कार्यभार : वि.सं. २०७२ कात्तिक ११ गते ।कार्यालय : राष्ट्रपतिको कार्यालयशीतल निवाससन्तान : उषाकिरण भण्डारी तथा निशाकुसुम भण्डारी । भोजपुरको गुराँसेमा सन् १९६१ जून महिनाको १९ तारिखमा जन्मिएकी विद्यादेवी भण्डारीले सन् १९७० को सुरुवातदेखि नै विद्यार्थी राजनीतिमार्फत क्रान्तिकारी यात्रा तय गरिन् । उनले सन् १९८०–८१ मा पार्टीको सदस्यता लिएकी थिइन् । त्यसको २ वर्षपछि कम्युनिस्टका तत्कालीन नेता मदनकुमार भण्डारीसँग उनको विवाह भयो । मदन जनताको बहुदलीय जनवादका पवर्तक थिए जुन सिद्धान्तकै कारण नेकपा एमाले हालसम्म टिकिरहेको छ । सन् १९९३ मा मदन भण्डारीको मृत्युपछि उनी राजनीतिको मैदानमा उत्रिइन् । पहिलो निर्वाचनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएर निर्वाचित भएपछि उनले पछाडि फर्केर हेर्नुपरेन । राजनीतिक रेसमा भण्डारीको संघर्ष र प्रयास उदाहरणीय छ । उनले दुईवटा निर्वाचनमा सफलता प्राप्त गरेपछि सन् १९९४ मा प्रतिनिधि सभाका सभामुख तथा नेपाली कांग्रेसका नेता दमननाथ ढुंगानालाई हराइन् । उनी सन् २००६ को जनआन्दोलन–२ पछिको अन्तरिम सरकारमा सदस्यका रूपमा स्थान जमाउन पुगिन् । सन् १९९० को दशकमै माधवकुमार नेपालको एमाले सरकारमा वातावरण तथा जनसंख्या मन्त्री भैसकेकी भण्डारीको दुई दशकभन्दा लामो समय नेकपा एमालेको भ्रातृसंगठन नेपाल महिला संघको नेतृत्वमा बितिसकेको थियो । सन् २००९ र २०१४ गरी दुईपटक पार्टी उपाध्यक्षमा निर्वाचित विद्यादेवी भण्डारी सन् १९९८ मा पार्टी केन्द्रीय कमिटीमा प्रवेश गरेकी थिइन् । ओनसरी घर्ती (सभामुख)जन्म : वि.सं. २०३४ साल कात्तिक २८ गते (४० वर्ष), जंकोट–१, माडीचौर, रोल्पाश्रीमान् : वर्षमान पुनपार्टी : नेकपा माओवादी (केन्द्र)कार्यालय : प्रतिनिधि सभा, सभामुखको कार्यालयसन्तान–दुई रोल्पा जस्तो शिक्षा, चेतना, विकास आदि हरेक दृष्टिबाट पछि परेको स्थानमा जन्मिएर मुलुकको सम्माननीय पदसम्म पुग्नु सभामुख ओनसरी घर्ती मगरका लागि सानो चुनौती थिएन । सफलताका लागि शिक्षा मात्र नभएर कामप्रतिको दृढता र अथक परिश्रमको पनि ठूलो भूमिका हुन्छ भन्ने कुरा ओनसरीको जीवनकथाबाट प्रमाणित हुन्छ । खेती–किसानीबाट जीविकोपार्जन गर्नुपर्ने परिवारमा जन्मिएकी घर्ती सानैदेखि क्रान्तिकारी स्वभावकी थिइन् । घाँस–दाउराको डोकोसँगै गराकान्लामा हुर्किएकी ओनसरीले जीवनको यो गन्तव्यका बारेमा सायदै कल्पना गरेकी थिइन् ।विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिएकी घर्ती मगरले भूमिगत जीवनमा निक्कै लामो र कठोर संघर्ष गर्नुपर्‍यो । सानैदेखि निडर र हक्की स्वभावकी ओनसरीले जनयुद्धमा लाग्दा विश्व अभ्यासलाई नजिकबाट नियाल्ने मौका पाइन् । उनी दासत्व र विभेद कसरी अन्त्य गर्ने भन्ने कुरामा केन्द्रित थिइन् । भूमिगत हुँदै राजनीतिको मैदानमा उत्रिएको माओवादी पार्टी सरकारमा गएपछि अनुभवको लेखाजोखा हुन थाल्यो । तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङले ओनसरीलाई सभा–सम्मेलन तथा अन्तर्वार्ताहरूमा प्राथमिकता दिएर सक्रिय हुने अवसर प्रदान गरे । नयाँ संविधान जारी भएपछि नयाँ नेतृत्व चयन गर्ने प्रक्रियाबीच दलहरूको साझा सहमतिमा नेपाली जनताले निर्विरोध मुलुकको प्रथम महिला सभामुखका रूपमा ओनसरी घर्ती मगरलाई प्राप्त गरे । सुशीला कार्की (सुवेदी), प्रधानन्यायाधीशजन्म : वि.सं. २००९ जेठ २५ गते (६५ वर्ष)जन्मस्थान : शंकरपुर वडा नं.–३, विराटनगरहालको ठेगाना : धापासी–५, काठमाडौं ।प्रधानन्यायाधीशको कार्यभार : १३ अप्रिल २०१६सन्तान : प्रशान्त सुवेदीनेपालका उच्च स्थानमा महिलाहरूको नाम अग्रस्थानमा आउने क्रममा मुलुकको शक्तिशाली निकाय न्यायालयमा महिला नेतृत्वको उदय भयो जुन नेपाली न्यायालयको इतिहासमै नौलो र फरक कदमका रूपमा देखा पर्‍यो । स्वदेशी तथा विदेशी संचारमाध्यममा समेत हेडलाइन समाचार बनेको यो विषयले नेपाली न्यायालयलाई एकपटक फेरि थप उचाइमा पुर्‍यायो । रोलक्रमअनुसार कार्की नै प्रधान न्यायाधीशको प्रबल दावेदार भए पनि तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको कार्यकालको केही समय बाँकी थियो जुन बेला कार्कीको नाम सार्वजनिक भएको थियो । सुशीला कार्की अभिभावकका सात सन्तानमध्ये सबैभन्दा जेठी हुन् । कृषक परिवारमा जन्मिएकी कार्कीले त्रि.वि. बाट कानुनमा स्नातक तथा बनारस हिन्दू विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी छिन् ।बनारस बसाइका क्रममा परिचित नेपाली कांग्रेसका तत्कालीन युवानेता दुर्गाप्रसाद सुवेदीसँग वैवाहिक जीवनमा बाँधिएकी कार्कीका एक छोरा (प्रशान्त सुवेदी) छन् । सन् १९८५ मा महेन्द्र मल्टिपल क्याम्पस धरानमा सहायक शिक्षकको काम गर्दा उनलाई मुलुकको उच्चस्थानमा पुगिएला भन्ने लागेको थिएन तर समय र भाग्य मात्र होइन उनको संघर्ष र मेहनत अनि निरन्तरताले आज राष्ट्रको शक्तिशाली निकायको प्रमुखमा पुर्‍यायो । विगतमा दर्जनौं संघ–संस्थामा सक्रिय कार्कीले सन् १९७९ मा परिचयपत्र प्राप्त गरी वकालत पेसा सुरु गरिन् । क्षेत्रीय अदालत, पूर्वाञ्चलमा सन् १९८८ देखि १९८९ सम्म उनले बार अध्यक्षका हैसियतले काम गरिन् भने सन् २००२ देखि २००४ सम्म उनी जिल्ला अदालत मोरङको बार अध्यक्ष भइन् । नेपाल बार एसोसियसनको बरिष्ठ अधिवक्ता घोषित भएपछि उनको करियरमा नयाँ मोड आयो । सर्वोच्च अदालतमा नियुक्त भएको दुई वर्ष नपुग्दै उनी स्थायी न्यायाधीश भइन् । लो प्रोफाइलमा बसेर काम गर्न रुचाउने कार्कीको चर्चा त्यतिबेला चुलियो जतिबेला उनलाई संविधान ड्राफ्ट कमिटीमा राखियो । उनको क्षमता तथा योगदान सबैका लागि चासोको विषय बन्यो । कुनै एक अन्तर्वार्ताका क्रममा कार्कीले भनेकी थिइन्–न्यायका अगाडि कोही धनी–गरिब, सानो–ठूलो, महिला–पुरुष, चिने–नचिनेको हँुदैन । संवैधानिक परिषद्को सिफारिसमा अप्रिल १० सन् २०१६ का दिन संसदीय विशेष समितिले उनलाई प्रधानन्यायाधीश पदमा नियुक्ति गरेको थियो । श्रीमती भूषण श्रेष्ठ (उपकुलपति, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय)शैक्षिक क्षेत्रमा महिलाको संख्या शिक्षिकाका रूपमा बढी देखिन्छ तर उच्चपदमा भने नगण्य । प्रोफेसर भूषण श्रेष्ठ नेपालकै प्रथम महिला उपकुलपति हुन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकी उपकुलपति श्रेष्ठ शिक्षामन्त्री चित्रलेखा यादवको अध्यक्षतामा गठन भएको कमिटीको सिफारिसमा परेकी थिइन् । उनलाई तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले नियुक्त गरेका थिए ।लामो समयसम्म रिक्त रहेको उक्त पदका लागि कसैको मनोनयन समेत नपरेको तथा श्रेष्ठबाहेक अर्को उपयुक्त व्यक्ति नभएकाले शैक्षिक क्षेत्रमा उनको लामो योगदान एवं निरन्तरताको मूल्यांकन गर्दै यो नियुक्ति भएको बताइन्छ । शैक्षिक क्षेत्रमा मुलुककै उच्च पदमा पुग्न पाउँदा ठूलो चुनौती र जिम्मेवारी महसुस भैरहेको बताउँदै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकी उपकुलपति भूषण श्रेष्ठले भनेकी छिन्–यो चुनौतीलाई म आफ्नो काममार्फत प्रमाणित गर्नेछु । कामिनी राजभण्डारी(महाप्रबन्धक, नेपाल टेलिकम)राष्ट्रको स्वामित्व रहेको मुलुककै ठूलो नागरिक कम्पनीको उच्चतहमा पुग्ने प्रथम नेपाली महिला कामिनी राजभण्डारीले सन् १९८५ मा इन्जिनियरका रूपमा नेपाल टेलिकममा प्रवेश पाएकी थिइन् । उनले लामो समयसम्म नेपाल टेलिकम भित्रै नेटवर्क प्लानिङ, जिएसएम प्लानिङ प्रोजेक्ट म्यानेजमेन्ट, अनुगमन र मूल्यांकन विशेषज्ञका रूपमा काम गरिन् । पंजाव इन्जिनियरिङ कलेज, चण्डीगढ, भारतबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल कम्युनिकेसनमा स्नातक राजभण्डारीले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी बैंककबाट म्यानेजमेन्ट अफ टेक्नोलोजीमा स्नातकोत्तर गरेकी छिन् ।२२ सेप्टेम्बर २०१६ मा नेपाल दूरसंचार कम्पनी लिमिटेडको महाप्रबन्धक पदमा नियुक्त भएपछि राजभण्डारीले भनेकी थिइन्–कम्पनीको गुणस्तर तथा सेवा–सुविधा बिस्तारमा मेरो पहल रहनेछ । त्यसका अतिरिक्त म संस्थागत विकास एवं प्रभावकारी सेवाका लागि कटिबद्ध रहनेछु भने संचार सम्बद्ध अन्य निकायहरूसँग बलियो संयोजनमा समेत मेरो क्रियाशीलता रहनेछ । २२ सेप्टेम्बर बुधबारका दिन संसदीय निर्णयबाट तत्कालीन सरकारले राजभण्डारीलाई दूरसंचार कम्पनी लिमिटेडको महाप्रबन्धक पदमा नियुक्त गरेको हो । दूरसंचार कम्पनी लिमिटेड भित्रैबाट सर्टलिस्टमा परेका तीन जना कामिनी राजभण्डारी, मदन खरेल र सुनील पोखरेलमध्ये संचार मन्त्रालयद्वारा गठित विशेष समितिले संसदीय निर्णयका आधारमा राजभण्डारीलाई महाप्रबन्धक पदमा नियुक्त गरेको थियो । जोली अमात्य(अध्यक्ष, संसदीय युवा समिति, संयुक्त राष्ट्रसंघ)ललितपुरकी जोली अमात्य संयुक्त राष्ट्रसंघअन्तर्गतको संसदीय युवा समितिकी अध्यक्ष हुन् । संयुक्त राज्य अमेरिकाको वासिङटन डी.सी. मा बस्ने जोलीले अब ९७ मुलुकका हजारौं युवाको नेतृत्व गर्दैछिन् । नियुक्त भएसँगै उनले भनेकी थिइन्–यति ठूलो नेतृत्वमा जिम्मेवारी बहन गर्न पाउँदा खुसी छु । यसले मेरो मात्र नभएर सारा नेपाली युवाको नेतृत्वदायी क्षमतालाई उजागर गर्नेछ । ललितपुरका जगदीशमान तथा कृष्णा अमात्यकी जेठी सन्तान जोली संयुक्त राष्ट्रसंघको इतिहासमै, युवा परिषद्को अध्यक्ष पदमा पुग्ने प्रथम तथा सबैभन्दा कम उमेरकी नेपाली हुन् ।मुख्यतया संसारभरका युवाबीच संवाद र अन्तरक्रियामा जोड दिने परिषद् युवाहरूका लागि विश्वकै विशाल तथा नवीन शैलीको अत्यन्तै प्रभावकारी प्लेटफर्म हो । सन् २०१२ देखि नै परिषद् सम्मेलनमा सहभागी भैसकेकी जोलीले सन् २०१५ मा परिषद्को को–चियरको भूमिका निर्वाह गरेकी थिइन् । सन् २०१६ अगस्त १० देखि १२ तारिखसम्म चलेको संयुक्त राष्ट्रसंघीय युवा परिषद्को अध्यक्षता गरेकी जोलीले माध्यमिक तहसम्मको शिक्षा सेन्ट मेरिज स्कुल ललितपुरबाट पूरा गरेकी थिइन् भने स्नातक तह बोस्टनस्थित हावर्ड विश्वविद्यालयबाट उत्तीर्ण गरेकी हुन् । विश्वका समग्र युवाहरूका लागि प्रेरणाको स्रोत बन्न सक्ने ठूलो जिम्मेवारी आफूमाथि आएको भन्दै जोलीले यसलाई गम्भीरताका साथ निर्वाह गर्न कुनै कसर बाँकी नराख्ने बताएकी छिन् । विगतमा समेत विभिन्न संघसंस्थामा आबद्ध रही नेतृत्वदायी भूमिका निर्वाह गरेकी जोलीले संयुक्त राज्य अमेरिकास्थित संयुक्त राष्ट्रसंघीय महिला विकास कोषका लागि आर्थिक समितिको एक्ज्युकेटिभ तथा अमेरिकास्थित स्थानीय स्तरको महिला सम्बद्ध संस्था हिल अ वुमन टु हिल तथा नेसनको एम्बेसडरको कार्यभार समेत सम्हालिसकेकी छिन् । शिक्षाद्वारा महिलाको सबल र सरल जीवन एवं पारिवारिक विकासका लागि कार्यरत अभियानमा समेत काम गरेकी जोलीले त्यसबाहेक एक्सनएड, ह्याबिट्याट फर ह्युम्यानिटिज, डब्ल्युएफयुएनए, वल्र्ड बैंक आदि संस्थामा आबद्ध रही काम गरिसकेकी छिन् । अमेरिकास्थित ह्वाइट हाउसमा युवा फोरमको प्रतिनिधित्व गर्दै पुगेकी जोली योङ ग्लोबल लिडर अचिभमेन्ट अवार्डबाट समेत सम्मानित व्यक्तित्व हुन् । विगत ३ वर्षदेखि संयुक्त राष्ट्रसंघीय युवा परिषद्मा रहँदै आएकी अमात्यले सन् २०१५ मा को–चियरको भूमिकापछि २०१६ मा अध्यक्षता गर्ने अवसर प्राप्त गरेकी थिइन् । जोलीले भनेकी छिन्–युवाहरूले परिवर्तनको संवाहक बन्न सक्नुपर्छ । हामी भोलिका मात्र होइनौं आजैका लागि पनि नेतृत्वकर्ता हौं । को के भन्छन् ? महामहिम राष्ट्रपति ज्यूलाई मैले अत्यन्तै सरल, धैर्यशाली एवं साहसी व्यक्तित्वका रूपमा बुझेको छु । कुनै पनि विषयमा निर्णय गर्नुपर्दा सामूहिक छलफल गर्ने, सधै गहिरोसँग ध्यान पुर्‍याई निर्णय लिने र निर्णित विषयवस्तु कार्यान्वयनमा गए–नगएको कुरामा ध्यान दिने स्वभाव छ । उहाँ संवैधानिक दायित्व र जिम्मेवारी पूरा गर्न सदा दत्तचित्त पाइनुहुन्छ, प्रकृति र संस्कृतिको संरक्षणमा जोड दिन तथा मुलुकको सामाजिक एवं आर्थिक विकासमा शिक्षाको महत्वपूर्ण भूमिका निर्वाह गर्न कटिबद्ध हुनुहुन्छ । नेपाली महिलाहरूको सामाजिक तथा आर्थिक विकासका निम्ति मुलुकको नीति, कार्यक्रम, बजेट, योजना आदिमा महिलाहरूको सहभागिता कहाँ रहन्छ भन्नेमा उहाँ गम्भीर हुनुहुन्छ । महिलाका दु:ख एवं पीडाप्रति संवेदनशील हुँदै त्यसलाई कसरी यथाशीघ्र सम्बोधन गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिने स्वभाव छ । त्यसैले महिला उत्थान कार्यक्रमलाई नेपाल सरकारले नीति तथा कार्यक्रममार्फत अघि सारेको छ । यसलाई सफल पार्न उहाँ हरक्षण जागरुक हुनुहुन्छ । भेषराज अधिकारी (प्रमुख स्वकीय सचिव, राष्ट्रपतिको कार्यालय)मुलुकका उच्चस्थानमा महिलाको उपस्थितिले हामीलाई हौसला प्रदान गरी उत्साहित बनाएको छ । हिजोको संरचनाबाट हामी नयाँ संरचनामा प्रवेश गरेका छौं । अहिले धेरै कुरामा सकारात्मक परिवर्तन देखिएको छ । उच्चपदस्थ महिलाको संख्या बढ्नुले हामी समग्र महिलालाई उत्तिकै उत्प्रेरणा मिलेको छ । राष्ट्रप्रमुखलगायत अन्य निकायका प्रमुखका हैसियतले सारा नेपालीको संरक्षण गर्नुपर्ने दायित्व त छँदैछ अझ त्यसमाथि पनि महिला भएका नाताले महिलाका सामाजिक, आर्थिक, राजनीतिक, कानुनीलगायत सम्मानित नागरिकका रूपमा बाँच्न पाउने अधिकार संरक्षण गर्दै हामी महिलामा स्वस्थ, खुसी र सशक्त जीवनयापन गर्न सक्ने वातावरण सिर्जना होस् भन्ने आमनेपाली जनताको चाहना छ । सपना प्रधान मल्ल (न्यायाधीश)मुलुकका शक्तिशाली निकायमा महिलाहरू पुग्नु हामी सबैका लागि गौरवको कुरा हो । राष्ट्रप्रमुख, सभामुख, न्यायपालिका, शिक्षा, संचार आदि प्रमुख निकाय महिलाले हाँक्नु चानचुने कुरा होइन । हामी महिला त्यहाँसम्म त पुग्यौं, हाम्रो क्षमता, दक्षता र आफूभित्र भएका खुबी प्रस्तुत गरी आफैंलाई प्रमाणित गर्नु अबको चुनौती एवं जिम्मेवारी हो । अब महिलाले नेतृत्व गरेको मुुलुकको आमूल परिवर्तन कत्तिको प्रभावकारी र फलदायी हुन्छ परिणाम हेर्नुपर्ने हुन्छ । यो हामी महिलाका लागि अझ चुनौतीपूर्ण कुरा हो । त्यसैले अब नेतृत्वमा पुगेकाहरूले गम्भीर भएर परिणाममुखी कार्यमा लाग्नुपर्ने भएको छ । वन्दना राणा (सदस्य, सिड कमिटी संयुक्त राष्ट्रसंघ)महिलाहरू यी पदसम्म पुग्नु कुनै पनि मुलुकका लागि उदाहरणीय हो । नेपालजस्तो मुलुकका लागि त यो थप सकारात्मक एवं प्रेरणादायक सन्देश हो । महिला ती प्रमुख पदमा पुग्नेबित्तिकै समग्र महिलाको अवस्थामा तत्काल सुधार हुन्छ भन्न सकिँदैन किनभने यो राज्यको नीति–नियम, कार्यान्वयन, समग्र समाज र संरचना तथा सोचको कुरा हो । महिलाहरू उच्चपदमा पुग्नेबित्तिकै समग्र महिलाहरूको उन्नति हुन्छ भन्न सकिँदैन । उहाँहरू उक्त पदमा पुगेपछि सम्बद्ध संस्थाहरूमार्फत बन्ने नीति–नियम महिलामुखी हुन्छन् र त्यसको कार्यान्वयन पक्ष महिलामैत्री हुन सहयोग पुग्छ । विश्व इतिहास र परिवेशमा हाम्रो मुलुकको उचाइ अगाडि हुन्छ । उहाँहरूले आफूले पाएको यो अवसरलाई सदुपयोग गर्न थप संवेदनशील भएर अघि बढ्नुपर्छ ।

लक्ष्मी भण्डारी थापा, फाल्गुन १४, २०७३

-- पुरै पढ्नुहोस् --

टिनएजमा डिप्रेसन

अहिलेको व्यस्त समय तथा त्यससँगै आउने विभिन्न समस्याले मानिसमा डिप्रेसन बढ्दो छ जसबाट किशोर–किशोरीदेखि वृद्धवृद्धासम्म कोही अछुतो छैनन् ।

नारी संवाददाता , माघ २५, २०७३

-- पुरै पढ्नुहोस् --

महिनावारी बार्नु कति उचित ?

महिनावारी प्राकृतिक नियम हो । यससम्बन्धी उचित ज्ञानको अभावमा धेरैका लागि महिनावारी समस्या बनिरहेको छ । यसले गर्दा महिलाहरू शारीरिक तथा मानसिक पीडा खेप्न बाध्य छन् । महिलाको निश्चित उमेर (९ देखि १६ वर्ष ) पुगेपछि यो प्रक्रिया प्रारम्भ हुन्छ ।

उपासना पाण्डे, माघ २३, २०७३

-- पुरै पढ्नुहोस् --

कुष्ठपीडित आमाको सरकारसँग आग्रह: ‘सय रुपैयाँ त देऊ’

तीन जना छोरा पालैपालो संसार छोडेर जानु सोही समयदेखि शरीरमा लाटोफुस्रो दाग देखा पर्नु उनका लागि झनै अभिशाप वन्यो ।

भिषा काफ्ले, माघ २१, २०७३

-- पुरै पढ्नुहोस् --

मिस युनिभर्सको ६५ औं संस्करणको विजेता फ्रान्सेली सुन्दरी आइरिस मिटेनाएरी

आफ्ना ८५ जना ग्लोबल सुन्दरीहरुलाई पछि पार्दै सोमबार जनवरी ३० मा सम्पन्न मिस युनिभर्स सौन्दर्य प्रतियोगिताको ६५ औं संस्करणको विजेता ताज पहिरिन फ्रान्सेली सुन्दरी आइरिस मिटेनाएरी सफल भएकी छिन् ।

एजेन्सी, माघ १८, २०७३

-- पुरै पढ्नुहोस् --

युवा आशा

भनिन्छ, युवापुस्तामा जोस, जाँगर अनि कामप्रतिको लगाव बढी हुन्छ । केही नयाँ सिकौं र गरौं भन्ने सोच पनि युवापुस्तामै हुन्छ । अहिले नेपाली युवा जमातमा एक किसिमको निराशा एवं विदेशी भूमिप्रतिको मोह पनि देखिन्छ । भ

सिर्जना दुवाल श्रेष्ठ, माघ १७, २०७३

-- पुरै पढ्नुहोस् --

महिलामैत्री छैन महिनावारी

चाबहिलकी ३० वर्षीया रश्मि श्रेष्ठले विवाहअघि महिनावारी बार्ने गरेकी थिइनन् । विवाहपछि घरमा चार दिनसम्म छुन नहुने चलन थियो । उनलाई त्यो सब गर्न निकै गाह्रो भयो । सुरुवातका केही समय उनले चुपचाप ती सबै नियम पालना गरिन् ।

उपासना पाण्डे, माघ १७, २०७३

-- पुरै पढ्नुहोस् --

‘मिस एन्ड मिस्टर ग्ल्यामर्स आईकन’ भए सब्बु र आकृष

मिस एण्ड मिस्टर ग्ल्यामर्स आईकन – २०१६ को उपाधि काठमाडौंकी सब्बु शाही र आकृष महर्जनले जितेका छन् । उपाधिसँगै आकृष र सब्बुले जनही २५ हजार रुपैयाँ र विभिन्न उपहार प्राप्त गरे । यसैगरी, मिस्टर र मिस तर्फ फस्ट रनर अप शिब थपलियाा एवं अप्सरा सुवेदी र सेकेन्ड रनर अपमा आर्यन बिष्ट एवं सोना बज्राचार्य छानिए । काठमाडौंको थापाथलीस्थित मुड्स लञ्जमा आयोजित सो प्रतियोगिताको उद्घाटन जनसंख्या तथा वातावरण मन्त्री जयदेब जोशीले गरेका थिए ।

नारी संवाददाता , पुस १८, २०७३

-- पुरै पढ्नुहोस् --

आईईसी फेसन कलेज र नेपाली फेसनलाई ‘फेसन एसिया एवार्ड –२०१६’

आईईसी फेसन कलेज र नेपाली फेसनमा अहोरात्र खट्ने फेसन कलाकार यही पुष १५ गते चिनको चोङ्गगोङ्गमा आयोजना हुने फेसन एसिया एवार्ड–२०१६ बाट सम्मानित हुँदै छन् ।

सरस्वती कटुवाल, पुस १२, २०७३

-- पुरै पढ्नुहोस् --

जाडोका लागि उपयोगी स्किन केयर

जाडो महिना बढ्दै जाँदा अनुहार सुख्खा हुने, हलुका चाउरी देखिने तथा केशमा चायाँ पर्ने जस्ता समस्या देखा पर्छन् । हावामा आद्र्रता कम हुने भएकाले बाहिर हिँड्दा अनुहार सुख्खा भएर चाउरिन थाल्छ ।

झरना नहर्की, पुस ६, २०७३

-- पुरै पढ्नुहोस् --

द स्टोरी किचेनलाई 'टुमारो पिस बिल्डिङ' एवार्ड

सशस्त्र द्वन्द्वका बेला हिंसा भोगेका महिलाका आवाजलाई बाहिर ल्याउन र उनीहरूलाई सशक्तिकरण गर्न योगदान पुर्‍याएकोमा द स्टोरी किचेनले सन २०१६ को \'टुमारो पिस बिल्डिङ\' एवार्ड जितेको छ ।

नारी संवाददाता , मंसिर २८, २०७३

-- पुरै पढ्नुहोस् --