श्रद्धाञ्जली

विदा सिस्टर निर्मला

दुनियाँले उहाँलाई मानव सेवामा आजीवन समर्पित साधिकाका रूपमा चिन्यो । प्रतिष्ठित एवं उचाइमा पुगेकी एक नेपाली चेलीका रूपमा चिन्यो । मैले पनि उहाँलाई पहिले त्यसरी नै चिनें तर जब मेरो विवाह विश्वप्रकाश शर्मा (नेपाली कांग्रेसका युवा नेता) सँग भयो, तब मैले उहाँलाई आफ्नो परिवारको अभिभावकका रूपमा चिनें । त्यसपछि म अत्यन्त गौरवान्वित भएँ । मैले उहाँका बारेमा थप जानकारी पाउने र भेट्ने अवसर पनि प्राप्त गरें । मैले आफ्नो जीवनमा उहाँसँग तीन पटक भेट्ने मौका पाएँ तर जुनीजुनीका लागि आत्मसन्तुष्टि प्राप्त गरें । पहिलो भेट २०६२ सालमा उहाँ नेपाल आएका बेला आफ्नै डेरामा भएको थियो । दोस्रो भेट उहाँको जन्मदिनको शुभकामना दिन दार्जीलिङ गएका बेला भएको थियो भने उहाँको स्वास्थ्य अवस्था कमजोर भएको सुनेर दसैंमा सपरिवार भेट्न गएका बेला हाम्रो अन्तिम भेट भएको थियो । त्यतिबेला उहाँसँग पूरै दिन बिताउने अवसर मिल्यो । उहाँसँगको त्यही तीन पटकको भेट र उहाँकी काहिँली बहिनी सावित्री शर्मा जो मेरी सासू आमा हुनुहुन्छ बाट मैले पनि उहाँका बारेमा थप जानकारी प्राप्त गर्ने मौका पाएँ । स्याङ्जाको रेग्मी गाउँबाट एक वर्षकी छोरी कुसुमलाई च्यापेर मुग्लान जाने क्रममा कुनै दिन ती बच्ची सिस्टर निर्मलाका रूपमा प्रसिद्ध हुनेछिन् भन्ने उहाँका बुवाआमाले सोच्नुभएको पनि थिएन होला । महानन्द जोशी रेग्मी तथा मोहिनी जोशी रेग्मीको पहिलो सन्तान सिस्टर निर्मलाको अध्ययन पटनाको वुमन्स कलेजमा सम्पन्न भयो । बी.ए., बी.एल. सकेर थप अध्ययनका लागि आफ्ना बुवाआमासँग कोलकाता जाँदा सिस्टर निर्मलाले बाटोमा रेल दुर्घटना भएको देख्नुभएछ । त्यही दुर्घटनामा परेका घाइतेहरूलाई मदर टेरेसासहितको टोलीले सेवा गरेको देख्नुभएछ । त्यसपछि उहाँ त्यही संस्थाबाट प्रभावित भएर आफूले पनि समाजसेवा गर्ने सोच बनाउनुभएछ । उहाँले त्यतिबेलै आफ्ना बाबालाई आफू सेवा गर्न उक्त संस्थामा जाने प्रस्ताव राख्नुभयो भने बाबाले सुरुमा उक्त प्रस्ताव अस्वीकार गर्नुभयो । यद्यपि छोरीले अत्यन्त जिद्दी गरेपछि जाऊ न त भनेर पठाउनुभयो ।केही महिनापछि सिस्टर निर्मला घरमा आउँदा सबैजना खुसी भए । यद्यपि जब उहाँले सधैंका लागि घरपरिवार त्यागेर सिस्टर बन्न जाने निर्णय सुनाउनुभयो, तब घरमा सन्नाटा छायो । आमाबुवा, भाइबहिनी सबैजना स्तब्ध हुनुभयो । तैपनि छोरीले गरिसकेको निर्णयमा केही प्रतिक्रिया नजनाई बुवाआमा आफै पुर्‍याउन जानुभयो । त्यहाँ उहाँहरूले मदर टेरेसालगायत थुप्रै सिस्टरले असहाय, अनाथ, गरिब–दु:खीहरूको सेवा गरेको देख्नुभयो । सम्भवत: बुवाआमामा छोरीले राम्रो काममा जीवन समर्पित गर्ने कुराको खुसी जति थियो त्यो भन्दा बढी छोरी सधैंका लागि आफूबाट अलग भएको दु:ख थियो । थोरै खुसी र धेरै आँसु लिएर छोरीलाई त्यहीँ छाडेर उहाँहरू घर फर्कनुभयो । त्यसपछि कुसुम रेग्मी सधैंका लागि सिस्टर निर्मला बन्नुभयो ।     भारतीय गोर्खा सैनिकका एस.पी. महानन्द जोशीका नौ सन्तानमध्ये जेठी सन्तान सिस्टर निर्मलाकी माहिली बहिनी राधा जोशी धूलाबारी माध्यमिक विद्यालयकी पूर्वशिक्षिका हुनुहुन्थ्यो । हाल उहाँ यो संसारमा हुनुहुन्न । जेठा भाइ सुरेन्द्रप्रसाद जोशी धूलाबारी मा.वि.का पूर्वप्रधानाध्यापक तथा पाटन क्याम्पसका प्रोफेसर हाल काठमाडौंको बागडोलमा बस्नुहुन्छ । साहिँली बहिनी विन्दु जोशी पनि दिदीको प्रेरणाले सिस्टर बन्नुभएको छ । हाल उहाँ कोलकातामा मारी तेरेसका रूपमा चिनिनुहुन्छ । काहिँली बहिनी सावित्री शर्मा धूलाबारी मा.वि.की पूर्वप्रधानाध्यापक हुनुहुन्थ्यो, उहाँ हाल यो संसारमा हुनुहुन्न । अन्तरी बहिनी मञ्जु जोशी कोलकातामा स्कुल निरीक्षक हुनुहुन्छ । हाल उहाँ पश्चिम बंगाल, भारतको सालबारीमा बसोबास गर्नुहुन्छ । जन्तरी बहिनी कान्ता रिमाल भक्तपुरमा स्थानीय विकास अधिकारी हुनुहुन्थ्यो, हाल उहाँ नयाँबानेश्वरमा बस्नुहुन्छ । मन्तरी बहिनी शान्ता रिमाल कृषि विकास बैंकको शाखा अधिकृत हुनुहुन्थ्यो हाल उहाँ बानेश्वरमा बस्नुहुन्छ । कान्छो भाइ राजेन्द्रप्रसाद जोशी भारतको धनवाद क्याम्पसमा प्रोफेसर हुनुहुन्थ्यो । उहाँ हाल धनवादमा बसोबास गर्नुहुन्छ । कान्छी बहिनी विजयालक्ष्मी जोशी बैंग्लोरमा बसोबास गर्नुहुन्छ । यति ठूलो परिवारको माया पाएकी, सुख–सुविधाको जीवन यापन गरिरहेकी सिस्टरले सारा माया, खुसी र सुख–सुविधालाई त्यागेर मानवताको सेवामै जीवन समर्पित गर्नुभयो । मदर टेरेसा जब आफू अशक्त हुनुभयो तब आफ्नो सारा जिम्मेवारी सिस्टर निर्मलालाई हस्तान्तरण गर्नुभयो । विश्वले गौरव गर्ने मदर टेरेसाले आफ्नो सम्पूर्ण जिम्मेवारी दिएकी एक नेपाली चेली अनि हामी नेपालीको गौरव सिस्टर निर्मला अविवाहित भए पनि लाखौं असहायकी आमा हुनुहुन्थ्यो । असार आठ गते भएको उहाँको निधनप्रति हामी सारा नेपाली दु:खी छौं । हामीले हाम्रो गौरव अनि एउटा अभिभावक गुमायौंं । सिस्टर निर्मलाप्रति हार्दिक श्रद्धा सुमनसहित श्रद्धाञ्जलि अर्पण गर्दछु ।

कविता शर्मा, श्रावण १०, २०७२

-- पुरै पढ्नुहोस् --