फिचर

पछिल्लो पुस्ताका लोकदोहोरी गायिका

 हरेक क्षेत्रमा एकपछि अर्को पुस्ताको आगमन भैरहेको हुन्छ । यही सिलसिला नेपाली लोकदोहोरी क्षेत्रमा पनि देखिएको छ । यतिबेला लोकदोहोरीमा नयाँ–नयाँ गायिका स्थापित हुने क्रममा छन् । कतिपय गायिका सीधै एल्बम सार्वजनिक गरेर यो क्षेत्रमा प्रवेश गरेका छन् भने धेरैजसो दोहोरी गायिका लोकदोहोरी साँझमा गाएर आफ्नो कलाकारितालाई अघि बढाएका छन् । जुनसुकै क्षेत्रमा पनि बिनामेहनत स्थापित हुन असम्भव छ । त्यसो त दोहोरी गायिकाका रूपमा आफूलाई अगाडि ल्याउने पछिल्लो पुस्ताका लोकदोहोरी गायिकाहरूका पनि आ–आफ्नै अनुभव तथा कथा छन् । गायिका सम्झना भण्डारी विगत ५ वर्षयता लोकदोहोरी क्षेत्रमा सक्रिय छिन् । लमजुङको सामान्य परिवारमा जन्मिएकी भण्डारीमा सानैदेखि गायिका बन्ने धोको थियो । त्यसो त उनी घाँस–दाउरा गर्न जाँदा विभिन्न गीत गुनगुनाउँथिन् । उनको स्वरलाई सबैले मन पराउँथे । स्कुलका विभिन्न कार्यक्रममा उनी प्रथम वा द्वितीय हुन्थिन् । सम्झना भन्छिन्–ममा गायिका बन्ने धोको सानैदेखि थियो, विद्यालयमा हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउँथें । सानैदेखि गायिका बन्ने धोको भए पनि आफूलाई परिवारको भने सपोर्ट नभएको उनी बताउँछिन् । यद्यपि उनलाई आमाले भने सहयोग गर्थिन् । यही क्रममा लमजुङ लोक तारा कार्यक्रम भयो । त्यसमा सहभागी हुने उनको ठूलो रहर थियो । परिवारका सदस्यहरूले रोक्ने प्रयास गरे पनि आफू झ्यालबाट भागेर उक्त कार्यक्रममा सहभागी भएको भण्डारी बताउँछिन् । लमजुङ लोक तारामा टप टेनभित्र परेपछि आफूलाई गीत–संगीतमा लाग्न थप हौसला मिलेको गायिका भण्डारीले बताइन् । पछि उनी गायिका बन्ने सपना बोकेर काठमाडौं आइन् । काठमाडौं आउनु पनि उनका लागि एउटा सपना पूरा गरेजस्तै थियो । सम्झना काठमाडौं आएर सानीआमाको घरमा बस्न थालिन् । त्यहाँ केही समय बसेपछि उनले नयाँबजारमा छुट्टै कोठा लिइन् । काठमाडौं आउनेबित्तिकै उनले केही समय कान्तिपुर मलको एउटा कपडा पसलमा काम गरिन् । त्यही क्रममा उनको भेट गायिका मञ्जु महतसँग भयो । त्यतिबेला गायिका महतले पुतलीसडकमा बाग्लुङ कालिका दोहोरी साँझ सञ्चालनमा ल्याएकी थिइन् । सम्झना त्यहाँ गीत गाउन थालिन् । केही समयपछि उक्त दोहोरी साँझ बन्द भयो । त्यसपछि उनी ठमेलस्थित गाउँबेसी दोहोरी साँझमा गाउन थालिन् । उनको स्वरले बिस्तारै दोहोरी साँझको स्टेज तताउन थाल्यो । दोहोरी साँझमा गीत गाउने क्रममै उनले सपना सजाइन् आफ्नै स्वरमा गीत निकाल्ने । यही क्रममा उनले गायक प्रकाश सपूतको लय, शब्द तथा पृथ्वी इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘तोरी भएछ’ गीत बजारमा ल्याइन् । उक्त गीतले राम्रै चर्चा पायो । त्यसपछि उनले ०७३ सालको तीजमा गायक पशुपति शर्मासँग बत्ती बाल्नै पर्दैनमा स्वर दिइन् । यो गीतले सर्वत्र चर्चा पायो अनि गायिका भण्डारीलाई लोकदोहोरीको क्षेत्रमा स्थापित गरायो । त्यसयता उनले थुप्रै गीतमा स्वर दिएकी छिन् । केही समययता देश–विदेशका स्टेज कार्यक्रममा व्यस्त गायिका भण्डारीले अस्ट्रेलिया, जापान, दुबई आदिका स्टेज कार्यक्रममा प्रस्तुति दिइसकेकी छिन् ।  पछिल्लो पुस्ताकी चर्चित लोकदोहोरी गायिका हुन्–शान्ति श्री परियार । विगत ६ वर्षयता औपचारिक रूपमा सांगीतिक क्षेत्रमा लागेकी परियारले पनि करिब ९ वर्ष लोकदोहोरी साँझमा गीत गाएरै बिताइन् । रोल्पामा जन्मिएकी गायिका परियार ११ वर्ष पहिले लोकदोहोरी गायिका बन्ने उद्देश्य लिएर काठमाडौं झरेकी थिइन् । यद्यपि आफूलाई कसरी अघि बढ्ने भन्ने केही थाहा नभएको परियार बताउँछिन् । उनी भन्छिन्–ममा सानैदेखि गायिका बन्ने चाहना थियो । त्यही चाहना बोकेर काठमाडौं आएँ तर कसरी यो क्षेत्रमा पाइला चाल्ने केही थाहा थिएन । उनी काठमाडौंमा गायिका गीता खड्कासँग बस्न थालिन् । त्यही क्रममा उनको भेट गायक राजेश क्षेत्रीसँग भयो । राजेशले उनलाई बालाजुस्थित त्रिवेणी त्रिशूली दोहोरी साँझमा काम मिलाइदिए । त्यसपछि उनी दोहोरी साँझमा गीत गाउन थालिन् तर उनलाई दोहोरी साँझका बारेमा केही थाहा थिएन । सुरुसुरुमा उनलाई दोहोरी साँझमा गीत गाएबापत पाइने टिप्स लिनसमेत लाज लाग्थ्यो । शान्ति भन्छिन्–मलाई दोहोरी साँझमा गीत गाएबापत टिप्स पाइन्छ भन्ने थाहा थिएन । पहिलोपटक २ सय रुपैंयाँ टिप्स पाउँदा म लजाएकी थिएँ । यसरी दोहोरी साँझमा एक महिना काम गरेपछि उनी छुट्टै कोठा लिएर बस्न थालिन् । दोहोरी साँझमा गीत गाइरहेकै बेला उनले २०६८ सालमा शम्भु थापाको संगीतको अरुभन्दा फरक म किन लोकदोहोरी गीत बजारमा ल्याइन् । उक्त गीतले खासै चर्चा पाएन तर आफूलाई गीत–संगीतमा लाग्न हौसला प्रदान गरेको परियार बताउँछिन् । त्यसपछि उनले दोहोरी साँझमा गीत गाएबापत पाएको टिप्सले घर त तीन तले एकल गीत बजारमा ल्याइन् । त्यो गीतले पनि खासै चर्चा पाएन । यही क्रममा उनले ०७१ सालमा एकतर्फी मायाले कति पीडा दिन्छ गीत सार्वजनिक गरिन् । यो गीत निकाल्न आफूलाई पृथ्वी थकालीले ठूलो सहयोग गरेको उनी बताउँछिन् । यो गीतले सर्वत्र चर्चा पायो । यही गीतले उनलाई स्थापित गरायो । यो गीत हिट भएपछि उनलाई देश–विदेशका सांगीतिक कार्यक्रमबाट निम्तो आउन थाल्यो । यसबीच उनी करिब १२ वटा देशका सांगीतिक कार्यक्रममा सहभागी भैसकेकी छिन् । पछिल्लो समय बोलमाया गीतबाट थप चर्चामा आएकी गायिका परियारका एकतर्फी माया, माछीलाई फुर्लुङ, सात्तो फुक झाँक्री बा, बुहारी सुत्केरी भैछ, छोरा दुई नम्बरी गर आदि गीत हिट छन् ।  गायिका सुशीला गौतम पछिल्लो पुस्ताकी गायिका हुन् । सानैदेखि गीत–संगीतमा रुचि राख्ने गौतम आफूलाई मन परेको गीतको थेगो लिएर गीतका शब्दसमेत कोर्थिन् । उनलाई यो क्षेत्रमा स्थापित हुने रहर सानैदेखि थियो, तर उनको परिवार भने गीत–संगीतमा लागेको मन पराउँदैनथ्यो । गौतम आफूलाई लोकदोहोरी गायिकाका रूपमा स्थापित गर्ने उद्देश्यले २०६६ सालमा काठमाडौं आइन् । यही क्रममा उनको भेट गायक हेमन्त कान्छासँग भयो । त्यसपछि उनले केही समय कान्छासँग सुर ताल र दोहोरी गाउने कला सिकिन् । केही समय संगीत सिकेपछि उनलाई कान्छाले नै बसपार्कस्थित कालिञ्चोक दोहोरी साँझमा काम मिलाइदिए । यसरी दोहोरी साँझमा गीत गाउँदा–गाउँदै गायिका बन्ने आँट आएको गौतम बताउँछिन् । गायिका बन्ने धोकोले दोहोरी साँझमा गीत गाउन थालेकी सुशीलाले राजधानीका करिब ६ वटा दोहोरी साँझमा घन्काइन् । यही सिलसिलामा उनले ०६७ सालमा भूपेन्द्र यात्रीको ‘बस्छु तिमीलाई कुरी’ शीर्षकको गीत बजारमा ल्याइन् । उक्त गीतले खासै चर्चा नपाए पनि उनी त्यही गीतलाई आफ्नो करियरको टर्निङ प्वाइन्टका रूपमा लिन्छिन् । त्यसपछि उनले ०६८ सालमा दोहोरी साँझको कमाइबाटै दसैं आयो तिहारै आयो शीर्षकको गीत सार्वजनिक गरिन् । त्यो गीतले पनि सोचेजस्तो सफलता हासिल नगरेको उनी बताउँछिन् । त्यसपछि उनले करिब ५ वर्षअघि चर्चा धेरै भो तीज गीत बजारमा ल्याइन् । उक्त गीतले सर्वत्र चर्चा पायो । यही गीतबाट आफूले नवगायिका अवार्डसमेत पाएको गौतम बताउँछिन् । गीत–संगीतको क्षेत्रमा पाइला चाल्ने क्रममै गत सालको तीजमा उनले ‘माइतीको माया’ शीर्षकको गीत बजारमा ल्याइन् जसले पनि प्रशस्तै चर्चा पायो । यो गीतले उनलाई लोकदोहोरीको क्षेत्रमा थप स्थापित हुन सघाउ पुर्‍यायो । लगातार आफ्ना सिर्जनाले चर्चा पाउन थालेपछि गायिका गौतमलाई देश–विदेशका विभिन्न स्टेज कार्यक्रमबाट निम्तो आउन थाल्यो । उनले हालसम्म मलेसिया, बेलायत आदि देशका सांगीतिक कार्यक्रममा प्रस्तुति दिइसकेकी छिन् ।  विगत ४ वर्षयता लोकदोहोरीमै सक्रिय छिन्–गायिका अनिता चलाउने । सानैदेखि गीत–संगीतमा रुचि राख्ने अनिताले २०६८ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिइन् । उक्त परीक्षामा छनोट भएपछि आफूलाई यो क्षेत्रमा अघि बढाउन हौसला मिलेको अनिता बताउँछिन् । रेडियो नेपालको स्वर परीक्षामा छनोट भएपछि उनलाई रेडियो नेपालका संगीतकारहरूले संगीत सिक्न सल्लाह दिए । गायिका चलाउने भन्छिन्–मैले उहाँहरूको सल्लाहअनुसार गान्धर्व म्युजिक विद्यालयमा चन्दन श्रेष्ठसँग संगीत सिकें । यही क्रममा तीज नजिकिँदै थियो । उनलाई आफ्नै स्वरमा गीत निकाल्ने इच्छा भयो । त्यसपछि उनले २०७२ सालको तीजमा गायक पशुपति शर्मासँग ‘नाचिदेऊ झिल्के भाँचिदेऊ कम्मर’ शीर्षकको गीत बजारमा ल्याइन् । त्यो पहिलो गीतले नै उनलाई यो क्षेत्रमा स्थापित गरायो । त्यही वर्ष अनिताले देशका विभिन्न स्टेज कार्यक्रम पाइन् । पहिलो गीतले सफलता पाएपछि उनले त्यही वर्ष रामजी खाँडसँग मिलेर ‘आहा मेरो मायालाई कति साह्रो सुहायो चट्ट टोपी ढाकाले’ गीत बजारमा ल्याइन् । यो गीतले पनि रामै्र चर्चा पायो । त्यसपछि उनलाई विदेशका सांगीतिक कार्यक्रमहरूबाट समेत निम्तो आउन थाल्यो जुन क्रममा उनले माल्दिभ्स, कतार, जापान आदि देशको सांगीतिक भ्रमण गरिसकेकी छिन् । ४० भन्दा बढी गीतमा स्वर दिएकी गायिका चलाउनेका अधिकांश गीत हिट छन् ।  स्याङ्जामा जन्मिएकी गायिका भिमु गुरुङ सानैदेखि गीत–संगीत भनेपछि हुरुक्कै हुन्थिन् । गाउँघरका मेलापात तथा विद्यालयका विभिन्न कार्यक्रममा सहभागिता जनाउँदै काठमाडौं आएर लोकदोहोरी साँझमा गीत गाउँदा–गाउँदै स्थापित भएकी हुन्–भिमु गुरुङ । उनले राजधानीका लोकदोहोरी साँझमा करिब १० वर्ष बिताइन् भने औपचारिक रूपमा विगत ५ वर्षयता लोकदोहोरी गायिकाका रूपमा सक्रिय छिन् । उनले २०७० सालमा ‘टिपांै कि फूल ट्याप्पै’ शीर्षकको पहिलो गीत सार्वजनिक गरिन् । उक्त गीतले आफूलाई आंशिक रूपमा चिनाएको गुरुङ बताउँछिन् । यसपछि उनले एकपछि अर्को गीत सार्वजनिक गर्दै गइन् । यही क्रममा २०७२ सालमा उनको ‘भेटौं रोधी घरमा’ लोकदोहोरी गीत बजारमा आयो । उक्त गीतले चर्चा मात्र पाएन गायिका गुरुङलाई स्थापितसमेत गरायो । गुरुङले त्यसपछि रामजी खाँडसँगको ‘अमिलो रसैले’ गीत बजारमा ल्याइन् । यो गीतले पनि उत्तिकै चर्चा पायो । यसरी लगातार गीत हिट भएपछि उनलाई देश–विदेशका सांगीतिक कार्यक्रमको निम्तो आउन थाल्यो । ९० भन्दा बढी लोकदोहोरी गीतमा स्वर दिएकी गुरुङले करिब ८ वटा देशको सांगीतिक कार्यक्रममा प्रस्तुति दिइसकेकी छिन् ।  गायिका मञ्जु विश्वकर्मा पनि पछिल्लो पुस्ताकी लोकदोहोरी गायिका हुन् । ९ वर्षको उमेरदेखि नै गीत–संगीतमा रुचि राख्ने यी गायिका लोकदोहोरी क्षेत्रमा औपचारिक रूपमा विगत ६ वर्षयता सक्रिय छिन् । उनी ९ वर्षको उमेरदेखि नै महोत्सवहरूमा दोहोरी गाउँथिन् । लमजुङको सुन्दरबजार महोत्सवमा गीत गाएर आफूले एक वर्षको छात्रवृत्तिसमेत पाएको विश्वकर्मा बताउँछिन् । उनी भन्छिन्–९ वर्षकै उमेरमा सफलता प्राप्त गरेपछि गीत–संगीतमा अघि बढ्न हौसला मिल्यो । एसएलसीपछि उनी गायिका बन्ने सपना बोकेर पोखरा झरिन् । सानैदेखि लोकदोहोरी क्षेत्रमा लागेकी हुनाले उनलाई पोखरामा आएपछि अग्रज कलाकारहरूसँग घुलमिल हुन खासै कठिन भएन । त्यसपछि उनलाई गायिका निशा पोखरेलले दौंतरी दोहोरी साँझमा काम मिलाइदिइन् । यसरी दोहोरी साँझमा गाउने क्रममै उनले २०६९ सालमा ‘चढेको जवानी’ गीत बजारमा ल्याइन् । उक्त गीतले खासै चर्चा पाएन । यही क्रममा ०७२ सालमा प्रकाश सपूतसँगको ‘मीठो बोलीले’ शीर्षकको गीत बजारमा आयो । मञ्जु भन्छिन्–यो गीतले मलाई चिनायो । त्यसपछि उनले गत वर्षको तीजमा गायक पशुपति शर्मासँग ‘भविष्यवाणी’ गीत गाइन् । यो गीत निकै चर्चामा आयो । यही गीतले आफूलाई लोकदोहोरी क्षेत्रमा स्थापित गराएको गायिका विश्वकर्मा बताउँछिन् । हालसम्म १२ वटाभन्दा बढी गीतमा स्वर दिइसकेकी मञ्जुले देश–विदेशका थुप्रै सांगीतिक कार्यक्रममा सहभागिता जनाइसकेकी छिन् । नौरङ्गी सपना, मीठो बोलीले, भविष्यवाणी, सालैजो वनैको चरी आदि मञ्जुका हिट गीत हुन् ।

महेश तिमल्सिना , पुस ४, २०७५

-- पुरै पढ्नुहोस् --

केशमा नारीत्व

केशलाई महिलाको नारीत्वसँग जोडेर हेरिने इतिहासले बताउँछ । विश्वयुद्धताका हजारौं महिला आफ्नो केश खौरिएर पुरुषभेष धारण गरी सेनामा प्रवेश गरेका थिए । सन् १९४० मा फ्रान्समा भएको युद्धताका जर्मन लडाकुसँग यौन सम्बन्धमा रहनुको सजायस्वरूप फ्रेन्च महिला तथा युवतीहरूको मुण्डन गरिएको थियो ।

नारी संवाददाता , असार २४, २०७५

-- पुरै पढ्नुहोस् --

सपनाको उडान र बेस्वादिलो स्वदेश मोह

एक सांस्कृतिक कार्यक्रमको सिलसिलामा अमेरिका पुगेका सरोज खनालमा देश छोड्ने क्रममा अमेरिकाप्रति उति सारो मोह थिएन तर जब उनी अमेरिका पुगे उनको मन अमेरिकामा यसरी गढ्यो, उनी नेपाल फर्कनै सकेनन् । अमेरिकाको समृद्ध जीवन हेरे, आफ्ना दुई सन्तानको भविष्य सम्झिएर उतै बसे ।

राधिका अधिकारी, चैत्र ९, २०७४

-- पुरै पढ्नुहोस् --

जसलाई विदेशले तान्यो फेरि छोडेन

नेपाली चलचित्रमा राम्रो स्थान बनाएर विदेश भासिने अभिनेतृहरूको सूची लामै छ । धेरै अभिनेतृहरूले अमेरिकाका विभिन्न सहरलाई आफ्नो कर्मथलो बनाएका छन् । कुनै समय ठूलै चर्चा कमाएका अभिनेतृहरू नेपाली चलचित्रमा अपेक्षाकृत प्रगति गर्न नसकेपछि विदेश भास्सिएका छन् ।

राधिका अधिकारी, पुस १८, २०७४

-- पुरै पढ्नुहोस् --

महिलाहरूका प्रिय गायक

गीत–संगीत धेरैको सुख–दु:खको साथी हो । भनिन्छ–गीत–संगीत एक प्रकारको औषधि नै हो । आधुनिक उपचार प्रणालीबाट सम्भव नभएका कतिपय रोग गीत–संगीतले निको पार्ने खबर पनि बेलाबेलामा सार्वजनिक भैरहेका हुन्छन् । गीत–संगीत मन नपराउने मानिस पनि बिरलै होलान् तर सबैलाई सबै प्रकारका गीत–संगीत तथा सबै गायक–गायिकाको स्वर उत्तिकै मन पर्छ भन्ने छैन ।

राधिका अधिकारी, मंसिर ११, २०७४

-- पुरै पढ्नुहोस् --

सामाजिक क्षेत्रमा सेलिब्रेटीहरू

नेपाली सेलिब्रेटीहरूमा पनि आफूले कमाएको केही रकम समाजका लागि खर्च गरौं भन्ने सोच देखिन्छ । व्यस्त समय तालिकामा केही समय निकालेर सामाजिक क्षेत्रमा योगदान पुर्‍याइरहेका कलाकारहरूको संख्या भूकम्पपछि अझ बढेको देखिन्छ ।

सिर्जना दुवाल श्रेष्ठ, चैत्र ४, २०७३

-- पुरै पढ्नुहोस् --

लेडी बाइक स्टन्ट राइडर

समयले यति छिटो फन्को मारिसकेको छ कि डेढ दशकअघिसम्म पनि केटी मान्छे घरबाट निस्कँदा ठूला आँखाले हेर्ने समाज अहिले उनीहरूप्रति गर्व गर्छ ।

सिर्जना दुवाल श्रेष्ठ, फाल्गुन २७, २०७३

-- पुरै पढ्नुहोस् --

ब्यागले बताउँछ महिलाको स्वभाव

चिटिक्क परेको, राम्रो र स्टाइलिस पर्सले लुक्सलाई पूर्णता मात्र प्रदान गर्दैन, बरु त्यसले आफ्नो पर्सनालिटी र स्वभावका विषयमा समेत धेरै कुरा भनिरहेको हुन्छ । विभिन्न ब्याग बोक्ने महिलाहरूको ब्यागसँगै झल्कने व्यक्तित्व र स्वभाव फरक–फरक हुन्छ ।

नारी संवाददाता , पुस २४, २०७३

-- पुरै पढ्नुहोस् --

डब्लु डब्लु एफले बसन्तपुरमा आयोजना गरेको अर्थ आवरका केहि झलकहरु

डब्लु डब्लु एफले बसन्तपुरमा आयोजना गरेको अर्थ आवरका केहि झलकहरु ....

नारी संवाददाता , चैत्र ७, २०७२

-- पुरै पढ्नुहोस् --

आकर्षक व्यवसाय : ब्युटिपार्लर

भनिन्छ– ब्युटिपार्लरको सुरुवात १४औं शताब्दीमा टर्कीमा भएको थियो ।............

नारी संवाददाता , फाल्गुन ४, २०७२

-- पुरै पढ्नुहोस् --

मुम्बई मेहन्दी, डिल्ली बजार चारखाल

विगत आठ वर्षदेखि सञ्चालनमा आएको मुम्बई मेहन्दी सेन्टर अहिले नेपालमै मेहन्दी तथा नेल आर्टका लागि लोकप्रिय मानिन्छ ।

नारी संवाददाता, मंसिर २५, २०७२

-- पुरै पढ्नुहोस् --