सुरक्षा

महिलाका लागि आत्मसुरक्षा

 महिलामाथि हुने हिंसा संसारकै जल्दोबल्दो विषय हो । दक्षिण एसियाली मुलुकमा अझ बढी महिला हिंसा हुने विविध अध्ययनले सार्वजनिक गरेका छन् । हाम्रो जस्तो मुलुकमा महिलामाथि हुने विविध किसिमका हिंसा घटाउन थुप्रै सरकारी तथा गैरसरकारी संस्था लामो समयदेखि प्रयासरत छन् र पनि हिंसाको आँकडा दिनप्रतिदिन बढ्दो क्रममा देखिन्छ । यससँग सम्बन्धित नीति तथा रणनीतिको प्रभावकारी कार्यान्वयन नहुँदा महिला हिंसा कम हुन नसकेको सम्बन्धित विशेषज्ञहरूको तर्क छ ।  त्यसो त रेडियो, टेलिभिजन तथा राष्ट्रिय स्तरका समाचारपत्रहरूमा बलात्कार एवं घरेलु हिंसाका घटनाले प्राथमिकता नपाएका होइनन् । महिला हिंसाको क्षेत्रमा कार्यरत महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले भदौ महिनाभरि गरेको अध्ययनअनुसार उक्त महिनामात्र महिलामाथि २ सयभन्दा बढी हिंसाका घटना दर्ता भएका देखिन्छन् । त्यसमध्ये सयभन्दा बढी महिला घरेलु हिंसाको सिकार भएका छन् भने २६ जना बलात्कृत भएका छन् र ५ जनामाथि बलात्कारको प्रयास भएको देखिन्छ । २ वटा घटना सामूहिक बलात्कारसम्बन्धी छन् भने २ वटा हत्यासम्बन्धी । त्यसैगरी १३ जना महिला तथा बालिका यौन दुराचारको सिकार भएका छन् । यस्ता यौन अपराध र बलात्कारका घटनाहरूको विश्लेषण गर्दा के देखिन्छ भने धेरैजसो दोषी आफ्नै परिवारका सदस्य, साथीभाइ, सहपाठी, शिक्षक, धार्मिक गुरु, मालिक, नातेदार अथवा आफन्तहरू नै हुन्छन् । सामान्यतया बलात्कारी भन्नेबित्तिकै झाडीमा लुकेर बाटोमा हिँड्दै गरेका महिला वा बालिकालाई झम्टने व्यक्तिको कल्पना गरिन्छ तर वास्तविकता अलि फरक छ । धेरैजसो घटना पीडितको घरमै वा वरिपरि कुनाकाप्चामा हुने गरेका छन् । ओरेकका अनुसार महिलामाथि हुने हिंसामध्ये सबैभन्दा धेरै अर्थात् झन्डै ५० प्रतिशत श्रीमान्बाट भएको देखिन्छ । त्यसपछि नजिकका आफन्त एवं छिमेकी, शिक्षकहरूबाट महिला असुरक्षित छन् ।  महिला हिंसा रोक्न कानुन, कार्यशाला गोष्ठी, फिल्ड भिजिट आदिबाट मात्र सम्भव होला त ? सर्वप्रथम त महिला हिंसा कम गर्न महिला आफैले आफ्नो रक्षा गर्न सक्नुपर्छ । अझ भन्ने हो भने महिलामा त्यो आत्मबल, जसले उनीहरूमा अदम्य आँट र साहस जगाइदिन्छ त्यो अत्यावश्यक छ । त्यसका लागि विभिन्न खालका विधि आत्मसुरक्षाअन्तर्गत सिकाइन्छ । विगत २५ वर्षदेखि मार्सल आर्टमा रहेर यही कला सिकाउँदै आएका बाग्लुङका गिरिबहादुर सुनारले महिला हिंसा कम गर्न आफ्नो सानो प्रयास भन्दै १० वर्षअघि महिलालाई आत्मसुरक्षा कला सिकाउन थाले । मार्सल आर्ट फोर्थ डिग्री ब्ल्याक बेल्ट (तेक्वान्दो डब्ल्युटिएफ) सुनार यो क्षेत्रमा लागेको २५ वर्ष पूरा भैसकेको छ । नेपालको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण–२०११    झन्डै आधाजति महिला (४७ प्रतिशत) १५ वर्ष नपुग्दै उनीहरूको इच्छाविपरीत वा जबर्जस्ती यौन सम्पर्क राख्न बाध्य हुन्छन् ।    झन्डै २१ प्रतिशत महिला अथवा ५     मध्ये १ जनाले १५ र ४९ वर्षभित्रमा शारीरिक यातना भोगिसकेका हुन्छन् । जुन उमेरलाई प्रजनन्को दृष्टिले महत्वपूर्ण मानिन्छ ।    महिलाविरुद्ध हुने हिंसाको कारण तथा परिणामकारण    बेरोजगारी, अश्लील चलचित्र, तनाव, लागूऔषध, बदलाको भावना आदि ।परिणाम    इच्छाविपरीत गर्भधारण, सम्भोगबाट सर्ने रोगको जोखिम, मानसिक स्वास्थ्यमा असर, पुरुष जातिप्रति घृणा, डिप्रेसन, आत्महत्या आदि ।को हुनसक्छन् आक्रमणकारी ?    परिवारकै सदस्यहरू ।    केटा साथी ।    शिक्षक, हाकिम ।    आध्यात्मिक गुरु ।    सैनिक तथा प्रहरी ।    सवारी चालक ।    लागूऔषध प्रयोगकर्ता ।    तनावबाट गुज्रिरहेका मानिसहरू, चोर, अपरिचित व्यक्ति आदि । महिलाविरुद्ध हुने हिंसाका प्रकार    घरमा हुने हिंसा अर्थात् घरेलु हिंसा ।    निकट साथीहरूबाट हुने हिंसा ।    घुम्न जाँदा हुने हिंसा ।    कार्यस्थलमा हुने हिंसा ।    स्थानान्तरण अथवा शरणार्थीमाथि हुने हिंसा ।    शारीरिक एवं मानसिक असक्षममाथि हुने हिंसा ।    दाइजोसम्बन्धी हिंसा    बदला ।    मानव बेचबिखन ।    करियरको सुरुमा हुने हिंसा ।    कथित पारिवारिक इज्जतका लागि गरिने हिंसा (अनर किलिङ)यौन हिंसा    छेडखानी ।    संवेदनशील अंगमा स्पर्श ।    अश्लील श्रव्य तथा दृश्य सामग्री ।    अश्लील शब्द तथा आपत्तिजनक व्यवहार ।    अंग प्रर्दशन ।    आशय करणी ।    बलात्कार । पछिल्लो समय महिलालाई होच्याउने, दबाउने, कमजोर पार्ने हतियारका रूपमा लिने प्रवृत्ति बढ्दो छ । सार्वजनिक स्थलमा मात्र नभएर घरभित्र आफन्तसँगै रहेका महिला एवं बालिकाहरू पनि असुरक्षित हुँदै गएको विभिन्न तथ्यांकले देखाउँछन् । एउटी सात वर्षीया बालिका आफ्नै हजुरबुवाट लगातार बलात्कृत भएको होस् वा वृद्ध महिला कुनै हट्टाकट्टा युवाको सिकार भएको घटना नै किन नहोस् यस्ता घटना सुन्दा हामी सामाजिक विकासको कुन अवस्थामा छौं भनेर सोच्न बाध्य हुन्छौं । यस्ता घटना घर, स्कुल, कलेज, आध्यात्मिक केन्द्रलगायत कार्यालयहरूमा बारम्बार भैरहन्छन् । यद्यपि घटनाका पीडितहरू सामाजिक बदनामीका कारण मौन रहन्छन् । कतिपय परिवारका सदस्यहरूले बलात्कारीहरूलाई नै संरक्षण गर्दै आएको पाइन्छ । यस्तो खालको सामाजिक परिवेशले महिलाहरूलाई अझ जोखिमपूर्ण अवस्थामा पुर्‍याएको छ । धेरैजसो यौनजन्य अपराध एवं बलात्कारका घटनाको उजुरी प्रहरीमा गरिँदैन । तथ्यांकअनुसार नेपालमा सबैभन्दा कम उजुरी हुने अपराध यौन अपराध हो । बलात्कार र यौनजन्य अपराधको उजुरी गर्न ढिलासुस्ती हुनुले पनि यस्ता घटनामा वृद्धि हुँदै गएको छ भने बलात्कारीहरू सजिलै उम्किरहेका छन् । त्यसो त दिनहुँजसो कार्यस्थल, सार्वजनिक सवारी, शैक्षिक संस्था, चलचित्र भवन, सडकलगायतका स्थानमा यौन दुव्र्यव्यहार/उत्पीडन हुने गरेको गुनासो सुनिन्छ । अश्लील शब्द, हाउभाउ, गुप्ताङ्ग वा स्तनको स्पर्श, अश्लील तथा यौनसम्बन्धी सामग्रीको प्रदर्शन आदि कुराहरू यौन उत्पीडनअन्तर्गत पर्छन् । यौन उत्पीडन भन्नाले जबरजस्ती करणी वा उक्त प्रयासबाहेक पीडितको इच्छाविपरीत गरिएका यौनसँग सम्बन्धित क्रियाकलापहरू पर्छन् । यौन उत्पीडन वा यौन दुव्र्यवहारको प्रतिरोध गर्न नसक्दा त्यसले बलात्कारको रूप लिनसक्छ । अर्को व्यक्तिको सहमतिबिना शरीरको कुनै अङ्ग वा कुनै वस्तु यौनाङ्ग, मुख वा गुदद्वारमा जबर्जस्ती प्रवेश गराउने कार्य नै बलात्कार हो । बलात्कारीहरूले सामान्यत: शारीरिक बल वा धम्की प्रयोग गर्छन् । कहिलेकाहीँ पीडितको मानसिक वा शारीरिक दुर्बलताको फाइदा लिँदै बलात्कार गरिएको पनि पाइन्छ ।  हाल विश्वमा सूचना प्रविधिले फड्को मारेसँगै प्रविधिको प्रयोग गर्दै महिलामाथि गरिने हिंसामा पनि बढोत्तरी भैरहेको यस क्षेत्रमा कार्यरत महिलाहरूले अनुभव गरेका छन् । विश्व प्रेस स्वतन्त्रा दिवसको सन्दर्भमा केही समयअघि आयोजित कार्यशालामा मञ्जु थापाद्वारा प्रस्तुत ‘मिडियामा लैङ्गिक संवेदनशीलता र पत्रकार महिलाको सुरक्षा’ विषयक कार्यपत्रमा नजिकका व्यक्तिले गर्ने हिंसा र यौन दुव्र्यवहारमा साइबर अपराध, अनलाइनमार्फत हुने दुव्र्यवहार, तस्बिरको गलत प्रयोगबाट भयादोहन तथा गोप्यता भङ्ग गरेर गरिने हिंसा थपिँदै गएको उल्लेख छ । थापाका अनुसार यसबाट महिला एवं बालिकाहरूको सुरक्षाको स्थिति कमजोर हुँदै गएको छ भने मनोवैज्ञानिक एवं भावनात्मक नोक्सानी, पूर्वाग्रहहरूको निरन्तरता, इज्जतमा धक्का, आर्थिक क्षति, सार्वजनिक जीवनमा सहभागितामा अवरोध जस्ता प्रतिकूलताहरू सिर्जना भैरहेका छन् । यसरी महिलामाथि भर्चुअल हिंसा बढ्दो छ । अनलाइनको माध्यमबाट हुने दुव्र्यवहार, गालीगलौजपूर्ण भाषा तथा अपमानजनक तस्बिरहरूको ९५ प्रतिशत महिलाविरुद्ध लक्षित छन् ।  आत्मसुरक्षाका लागि के आवश्यक छ ?    आत्मसुरक्षाका लागि ब्ल्याक बेल्ट नै लिनुपर्दैन । मानसिक एवं शारीरिक रूपले तयार भए मात्र पुग्छ ।आत्मसुरक्षा किन ?    आत्मसुरक्षा भन्नेबित्तिकै महिला तथा बालबालिकाका लागि डरलाग्दो विषय हुनसक्छ तर यो साधारण अनि समयको माग हो ।     केही नगर्नु वा प्रतिक्रिया नजनाउनु समर्पण हो, त्यसैले प्रतिरक्षा गर्न मानसिक एवं शारीरिक रूपले हरदम तयार रहनुपर्छ ।    आत्मसुरक्षा तालिमको उद्देश्य महिलाको आत्मबल बढाउनु एवं शारीरिक तथा मानसिक रूपले प्रतिरक्षाका लागि तयार बनाउनु हो । आत्मसुरक्षामा के–के पर्छन् ?आत्मसुरक्षा सैद्धान्तिक तथा व्यवहारिक तालिमबाट प्रदान गर्न सकिन्छ, जुन ५ प्रकारका हुन्छन् ।१. सचेत आत्मसुरक्षा    शारीरिक हाउभाउमा ध्यान पुर्‍याउने ।    पेयपदार्थमा केही मिसाइएको हुनसक्छ, सचेत रहने ।    छोटो बाटो हिँड्दा होस पुर्‍याउने ।    रात्रिकालीन यात्रा वा घुमाइमा सावधानी अपनाउने ।    सकेसम्म एक्लै नहिँड्ने । समूहमा हिँड्ने ।    बाटोमा इयर फोन प्रयोग गर्दा होस पुर्‍याउने ।    आफूले प्रयोग गर्ने यातायातको साधनमा होस पुर्‍याउने ।    रात्रि भोज एवं कार्यक्रमहरूमा सावधानी अपनाउने ।    समय–परिस्थितिअनुरूप पोसाक प्रयोग गर्ने ।     मित्र चयनमा होस पुर्‍याउने ।    आत्मसुरक्षासम्बन्धी सामान्य जानकारी लिने । २.मौखिक आत्मसुरक्षा    कतै घुम्न जानुअघि अभिभावक तथा साथीभाइहरूलाई जानकारी गराउने ।    घरको ढोका राम्रोसँग लगाउने ।    घरमा एक्लै भए छिमेकीलाई एक्लो भएको आभाष हुन नदिने ।    घरमा एक्लै हुँदा दुई वा दुईभन्दा बढी कोठामा बत्ती बाल्ने ।    अपरिचित व्यक्तिले दिएको खानेकुरा वा सहयोग ग्रहण गर्नुअघि सचेत रहने ।    सधै चाबी तयार राख्ने ।    साथमा परिचयपत्र बोक्ने बानी बसाल्ने । ३.कूटनीतिक आत्मसुरक्षा    बलात्कारीलाई अर्को स्थानमा जान वा लान प्रयास गर्ने ।    कन्डमको माग गर्ने ।    महिनाबारी भएको बहाना बनाउने ।    पिसाब लागेको अथवा ट्वाइलेट जाने बहाना बनाउने ।    सरुवा रोग अथवा एचआईभी एड्स लागेको छ भन्ने ।    फोनबाट अति आवश्यक काम आइपरेको जानकारी गराउने ।    घुम्न जानुअघि सुरक्षित पूर्वयोजना बनाउने ।४.शारीरिक आत्मसुरक्षा    हतियार    मोबाइल फोन, चाबी, झोला, पत्रिका, कलम, छाता, लाइटर, भान्सामा प्रयोग हुने सामानहरू, खुर्सानीको धूलो, परफ्युम, सिठ्ठी आदिलाई यथासम्भव यथोचित प्रयोग गर्ने ।    बिनाहतियार    पकडबाट उम्कने विधि, कुहिनाले हान्ने विधि, संवेदनशील अंगमा हान्ने विधि, बिन्दुहरूमा दबाब दिने विधि, थुक्ने, चिथोर्ने, टोक्ने आदि । ५.कानुनी आत्मसुरक्षा    प्रहरीमा निवेदन दर्ता गराउने ।    अपराधी चिन्ने प्रयास गर्ने ।    बलात्कृत भएको अवस्थामा महिलाले प्रहरीमा उजुरी गर्नुभन्दा पहिले ननुहाउने ।    बलात्कृत महिलाको मनोबल बढाउने ।    अझ के गर्नुपर्ला ?    गोष्ठी, वकालत र प्रशस्त सामाजिक सचेतनासम्बन्धी कार्यक्रम ।     महिलाहरूलाई प्रहरीमा निवेदन गर्दा असजिलो हुनसक्ने भएकाले बयान सुन्न महिला प्रहरीको व्यवस्था ।     प्रहरी चौकीमा महिला प्रहरी एवं मनोचिकित्सकको माग ।    २४ घन्टा नि:शुल्क टेलिफोन सुविधाको प्रयोग । १०४ टोल फ्रि नम्बरमा फोन ।    प्रभावित वा बलात्कृतप्रति माया दर्शाउने । बलात्कृत हुनु गल्ती होइन भन्ने आभाष गराउने । गिरिबहादुर सुनार, मार्सल आर्ट फोर्थ डिग्री ब्ल्याक बेल्ट (तेक्वान्दो डब्ल्युटीएफ)महिलामाथि हुने यौन अपराधलाई कम गर्ने सन्दर्भमा एउटा सामाजिक कार्यकर्ताका रूपमा मैले महिलाहरूलाई यौन उत्पीडन र बलात्कारको वास्तविकताका सम्बन्धमा जनचेतना एवं आत्मरक्षासम्बन्धी तालिम प्रदान गर्दै आएको छु । यो तालिमले कस्तो ठाउँमा बलात्कार हुनसक्छ, कस्ता व्यक्ति बलात्कारी हुनसक्छन् र बलात्कारीहरूले के–कस्ता हत्कन्डाहरू अपनाउन सक्छन् भन्ने कुराको जानकारी दिने गरेको छ । यौन उत्पीडन र बलात्कारलाई पूर्णरूपमा रोक्न नसकिए पनि आत्मरक्षासम्बन्धी जनचेतनामूलक तालिमले यौन दुव्र्यवहारबाट धेरै हदसम्म जोगिन सकिन्छ । बलात्कारीहरूबाट गरिने कुनियतपूर्ण शारीरिक स्पर्शका सम्बन्धमा ज्ञान प्रदान गरेर महिला तथा बालिकामाथि हुने यौन उत्पीडनका घटनामा उल्लेख्य कमी ल्याउन सकिन्छ । प्राय:जसो महिला एवं बालिकामाथि शोषणका दोषीहरू नजिकका व्यक्तिहरू नै हुन्छन् । यौनिकता र यौन दुव्र्यवहारका सम्बन्धमा खुला रूपमा कुराकानी गर्दा पनि यस्ता कुराहरू लामो समयसम्म गोप्य रहन सक्दैनन् भन्ने शिक्षा बालबालिकाहरूले पाउँछन् । महिला तथा बालिकाहरूले कुनियतपूर्ण स्पर्शलाई इन्कार गर्न सक्नुपर्छ । वक्षस्थल, जननेन्द्रिय, ओठजस्ता अङ्गहरूमा गरिने स्पर्श कुनियतपूर्ण हुनसक्छन् ।

लक्ष्मी भण्डारी थापा, फाल्गुन २, २०७३

-- पुरै पढ्नुहोस् --

वातावरण जोगाउन

वातावरण स्वस्थ एवं स्वच्छ राख्नु हामी सबैको प्रमुख कर्तव्य हो ।

नारी संवाददाता , माघ ६, २०७२

-- पुरै पढ्नुहोस् --

महिला प्रशिक्षार्थीहरूलाई आत्मरक्षा सम्बन्धी तालिम

ग्लोबल विंग्सले दिएको आत्मरक्षा सम्बन्धी तालिम लिँदै महिला प्रशिक्षार्थीहरू । अहिले आत्मरक्षाको तालिम लिन निकै आवश्यक छ ।

नारी संवाददाता , मंसिर ९, २०७२

-- पुरै पढ्नुहोस् --