संस्कृति

नयाँ वर्ष : एक उत्सव

एक वर्ष पूरा भएर अर्को वर्ष थालनी हुने समयलाई नयाँ वर्ष भन्ने प्रचलन छ । नयाँ वर्ष विश्वमा अलग–अलग तिथिमितिमा फरक–फरक तरिकाले मनाइन्छ । हाम्रो देशमा पनि विभिन्न नयाँ वर्ष मनाइन्छ । तीमध्ये विक्रम संवत्को नयाँ वर्षको सुरुवात वैशाख एक गतेदेखि हुन्छ ।  नयाँ वर्ष फरक प्रकारको उत्साह एवं विश्वासको क्षणका रूपमा मनाइने नेपाली संस्कृति रहिआएको छ । लहरा तथा रुख–बिरुवामा देखिने नयाँ पालुवा एवं फूलहरूको सुगन्धयुक्त सिरसिर हावा अनि कोइलीको कुहुकुहु र अन्य चराहरूको चिर्बिरले सजिएको वसन्तऋतुको  मनोरम दिनहरूसँगै नवीन उमङ्ग, उल्लास एवं आशा लिएर विक्रम संवतकोनयाँ वर्षको आगमन हुन्छ ।संस्कृतिका ज्ञाता प्रा.डा. मुकुन्द अर्याल भन्छन्–‘विश्वमै समय गणनाका विभिन्न आधार प्राचीन कालदेखि नै चलिआएको पाइन्छ । पश्चिममा विभिन्न एरा तथा भारतवर्षमा युगको चलन छ । तिनै युगहरूभित्र पनि समयका विभिन्न चक्रका रूपमा संवत्लाई लिइन्छ । संवत्को अर्थ वर्ष, साल, इयर आदि हुन् । कालगणनाअनुसार तिनै फेरिने क्रममा अर्थात् पुरानो वर्ष पूरा भएर नयाँ वर्ष लाग्ने क्रममा त्यसलाई विशेष उत्साह एवं उमङ्गका साथ मनाइने विश्वव्यापी चलन छ । अहिलेसम्म विश्वमा कहिलेदेखि नयाँ वर्ष मनाउन थालियो भन्ने कुनै स्पष्ट प्रमाण छैन तैपनि पृथ्वीमा जहिलेदेखि समयको गणना वर्षमा गन्ने चलनको विकास भयो, त्यहीँबाट नयाँ वर्ष मनाउने चलन चलेको हो भन्न सकिन्छ । नेपालमा विभिन्न किसिमका नयाँ वर्ष मनाइन्छन् । तीमध्ये विक्रम संवत् पनि एक हो ।विक्रमादित्यले चलाएको मानिने यो संवत् कहिलेदेखि, किन र कसले चलायो भन्ने विषयमा विद्वान्हरूबीच मतैक्य छैन । विक्रमको अर्थ पराक्रम भएको हुँदा यो उज्जैनका विक्रमादित्यले चलाएका हुन् कि गुप्त शासकहरूमध्ये कसैले चलाएका हुन् कुनै टुङ्गो छैन । कतिपयले यो संवत् नेपालकै एक राजाबाट चलाइएको हो समेत भनेका छन् तर त्यसको पनि पर्याप्त आधार पाइँदैन । यसमा पनि अलि भरपर्दो के देखिन्छ भने भारतको मालवा राज्यमा गणतन्त्र आएपछि विक्रम संवत् त्यहीँबाट ईशापूर्व ५७ देखि सुरु भएको हो । विक्रम संवत् सौरमानअनुसार सूर्य मेष आदि १२ राशिमा प्रवेश गर्दै जाँदा मीनपछि फेरि मेष राशिमै प्रवेश गरेपछि एक चक्र पूरा हुन्छ र नयाँ वर्ष फेरिन्छ । नेपालमा भने विक्रम संवत् लिच्छवि कालतिरदेखि नै चलिआएको पाइन्छ । यो दिनलाई नेपालमा धर्म एवं संस्कृतिसँग पनि जोडिएको पाइन्छ । नयाँ वर्षका दिन उपत्यकामा विभिन्न जात्रा एवं पर्व मनाइन्छ । बालाजु बाइसधारामा स्नान गरी नागार्जुनको डाँडास्थित जामाचो बौद्ध स्तूपाको दर्शन, विष्णुमती नदीको मुहान सपनतीर्थ स्नान गरिन्छ । त्यस्तै भक्तपुरको बिस्केट जात्रा तथा ठिमीको जिब्रो छेड्ने जात्रा आदि पनि नयाँ वर्ष फेरिने परम्परासँगै सम्बन्धित छन् । यसरी नेपालीको नयाँ वर्षका रूपमा प्रचलित मेष संक्रान्ति अर्थात् वैशाख संक्रान्तिलाई हर्षोल्लासपूर्वक मनाइन्छ । यसले नयाँ आशा सञ्चार गराउने भएकाले पुरानो कुरा छाडेर नवीनतातर्फ पाइला चाल्ने सुअवसरका रूपमा नेपालीहरूले नयाँ वर्ष मनाउने संस्कृतिलाई पछ्याएका हुन् ।यसैगरी ज्योतिषीय विश्वासका आधारमा नयाँ वर्षको विशेष महत्व हुने कुरा ज्योतिषाचार्य शालिग्राम ढकाल बताउँछन् । यो परम्परा संस्कृतिकै अभिन्न अङ्ग बनिसकेको छ । नयाँ वर्ष वैशाखमै किन त भन्ने प्रश्नमा ढकाल भन्छन्–‘वैशाख, जेठ आदि महिना मेष, वृष आदि १२ राशिसँग सम्बन्धित छन्। सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गर्ने कार्यलाई संक्रान्ति भनिन्छ । नयाँ वर्षको दिन सूर्य मीन राशिबाट मेष राशिमा सर्छ । मेष सूर्यको उच्च राशि पनि हो । फेरि मेष राशिको स्वामी मंगललाई ज्योतिष शास्त्रमा सूर्यको मित्र राशि मानिन्छ । यी दुई प्रक्रियालाई हेर्दा के भन्न सकिन्छ भने जसरी मित्रको घरमा गएर बस्दा आनन्द र खुसी प्राप्त हुन्छ, उच्च पदमा पुग्दा उत्सव मनाइन्छ त्यसरी नै सूर्यको अवस्थिति विचार गरेर नयाँ वर्षका दिन उत्सव एवं मांगलिक कार्य गर्ने चलन चलेको हो । सूर्य चराचर जगत्को जीवनको आधार भएकाले मानव जातिको पनि प्रत्यक्ष सम्बन्ध सूर्यसँग हुन्छ । त्यसैले नयाँ वर्षको दिन रमाइलो गर्ने चलन चलेको हो । धार्मिक हिसाबले हेर्दा ग्रहजन्य पीडा हटाउन गरिने सानो कार्यबाट पनि ठूलो फल मिल्ने भएकाले यज्ञ–अनुष्ठान आदिका लागि यो दिन शुभ मानिन्छ ।’डा. नारायण गौतमका अनुसार हामीकहाँ नयाँ वर्षले धार्मिक स्वरूप मात्र ग्रहण नगरी सामाजिक प्रचलनलाई समेत अँगालेर समाजमा नयाँ उत्साह सञ्चार गराउँदै आएको छ । आफ्नो परम्परा, धर्म, संस्कृति एवं सभ्यताको रक्षाका लागि नयाँ वर्ष मनाउनु त छँदैछ त्यसबाहेक वर्षभरिका तीतामीठा पलहरूलाई बिसाएर नवीन उत्साहका साथ नयाँ दिन थाल्ने र सुरुको दिन राम्रो बनाएपछि वर्षभरि नै राम्रो हुने विश्वास बोकेर नयाँ वर्ष मनाउनुपर्ने गौतमको भनाइ छ ।  प्राचीनकालमा नेपालमा नयाँ वर्ष मनाउन विभिन्न मठ–मन्दिरमा पूजाआजा गरिन्थ्यो भने अहिले शुभकामना आदान–प्रदान गरेर तथा नयाँ कपडा लगाएर नयाँ वर्ष मनाउने चलनको विकास भएको छ ।  आम मानिसमा पनि नयाँ वर्ष भन्नासाथ खुसी र उमङ्ग सञ्चार हुन थाल्छ । उत्सवका रूपमा मनाइने भएकाले नेपाली लोक जीवनमा नयाँ वर्षको विशेष स्थान छ । नयाँ वर्ष मनाउने सबैको आ–आफ्नै तरिका भए पनि यो उत्सव शुभ होस् भन्ने साझा उद्देश्यका साथ मनाइन्छ । यो मानव वा कुनै पनि संघसस्थाले गरेका वर्ष दिनको कामको समीक्षा पनि हो । त्यसैले यो दिन विगतबाट पाठ सिक्दै वर्तमान राम्रो बनाउन प्रयत्न गर्नुपर्छ  ।तस्वीर :  नवराज वाग्ले 

दीपक वत्स, वैशाख ५, २०७३

-- पुरै पढ्नुहोस् --

शुभको प्रतीक रंगोली

एक दशकयतादेखि लक्ष्मीपूजाको दिन घर–आँगनमा रंगोली बनाउने चलन निकै बढिरहेको छ। रंगोलीलाई शुभको प्रतीक मानिन्छ।

झरना नहर्की, कार्तिक २०, २०७२

-- पुरै पढ्नुहोस् --

दीपको पर्व दीपावली

शुभ दीपावली झिलिमिलीको महापर्व हो । नेपाली संस्कृतिमा तिहारको निकै महत्व छ । हामी परम्परागत तरिकाले आफ्नो सभ्यतालाई निरन्तरता दिन यो पर्व मनाउँछौं । तिहारमा के वृद्ध के बालक हरेकको मनमा अलग उत्साह एवं उमंग हुन्छ । हाम्रो सामाजिक संरचना नै यसरी तयार गरिएको छ जहाँ पर्वहरूको आ–आफ्नै महत्व छ ।

झरना नहर्की, कार्तिक १७, २०७२

-- पुरै पढ्नुहोस् --