अर्थतन्त्र

पैसा लगानी  पैसै आम्दानी

बैंकमा थोरै पैसा झिक्न र राख्न मिल्दैन तर यहाँ भने सहज हुन्छ । आवश्यक पर्दा पैसा लिन आफै धाउनु नपर्दा पनि उनी सहकारीलाई नै सजिलो मान्छिन् । संकलनकर्ताहरू आफै पैसा लिन आउँछन् र चेकमा साइन गरिदिएपछि चाहिएको पैसा घरमै ल्याइदिन्छन् ।अनामनगरकी सुनीता गौतमका दिन घरमै बसेर बित्छन् । जागिर नभएपछि दैनिक जीवनमा उनले पैसाको अभाव महसुस गर्न थालिन् । दुई छोराछोरीकी आमा गौतम श्रीमान्को कमाइबाट पनि खुसी हुन सकिनन् । घरमै बसेर कसरी आम्दानी बढाउने भन्ने सोच्दासोच्दै उनले थोरै रकम एक सहकारीमा मासिक रूपमा बचत गर्न थालिन् । सुनीता भन्छिन्–‘सुरुमा १ हजारबाट बचत गर्न थालेकी हुँ । अहिले ५० हजार रुपैंयाँ पुगेको छ । सहकारीले हामीजस्ता गृहिणीहरूको आर्थिक पक्ष बलियो बनाउँछ, कुनै बेला आर्थिक संकट परे यस्तो बचतले ठूलो सहयोग पुर्‍याउँछ ।’ गौतम भन्छिन्–‘सहकारीको माध्यमबाट थोरै रकम लगानी गरेर धेरै आम्दानी गर्न सजिलो छ । म त्यही बचतबाट आर्थिक कारोबार गर्छु ।’ बबरमहलकी कमला दाहालले एक फाइनान्समा पैसा जम्मा गर्न थालेको दुई वर्ष भैसकेको छ । सुरुमा महिनामा ५ सय रुपैंयाँबाट बचत सुरु गरेकी दाहाल अहिले महिनामा २ हजार बचत गर्छिन् । उनी सानो बचतले पनि ठूलो काम गर्न सकिने बताउँछिन् । अहिले उनको सहकारीमा करिब ८० हजार रुपैंयाँ छ । कतिपय समयमा सहकारीबाट ब्याजमा पैसा चलाएर आर्थिक संकट टार्छिन् । ‘देख्दा सानो रकम भए पनि नियमित बचतले आर्थिक क्षेत्रमा निकै सहयोग मिल्छ ।’ दाहाल भन्छिन्–आफूलाई आवश्यक परेका बेला अरूको आशा गर्नु नपर्ने उनको अनुभव छ । सहकारीको यही बचतबाट उनले आवश्यक सामग्री खरिद गर्दै आएकी छिन् । बुद्धनगरकी सुनीता भण्डारी फाइनान्स र सहकारी गरी करिब पाँच ठाँउमा पैसा जम्मा गर्छिन् । उनी थोरै पैसा धेरैतिर जम्मा गर्दा आवश्यक परेको समयमा कुनै ठाउँबाट सजिलै निकाल्न सकिने बताउँछिन् । एकै ठाउँबाट निकाल्न र झिक्न कठिन हुन्छ । धेरैतिर भयो भने जहाँबाट मिल्छ त्यहीँबाट निकाल्न सजिलो हुने उनको अनुभव छ । कारोबारका लागि फाइनान्स र सहकारीको ठूलो महत्व रहेको भण्डारी बताउँछिन् । ‘बैंकमा थोरै पैसा झिक्न र राख्न मिल्दैन तर यहाँ भने सहज हुन्छ ।’ आवश्यक पर्दा पैसा लिन आफै धाउनु नपर्दा पनि उनी सहकारीलाई नै सजिलो मान्छिन् । संकलनकर्ताहरू आफै पैसा लिन आउँछन् र चेकमा साइन गरिदिएपछि चाहिएको पैसा घरमै ल्याइदिन्छन् । ‘यसले गर्दा उनको समयको समेत बचत हुन्छ भने सानो रकमबाट ठूलो रकमसमेत प्राप्त गर्न सकिन्छ ।’ भण्डारी भन्छिन् । स्वयम्भूकी रञ्जिता नेपाली हरेक दिन १ सय रुपैंयाँ फाइनान्समा बचत गर्छिन् । घर नजिकै फाइनान्स भएर पनि उनी बचततर्फ आकर्षित भइन् । नेपाली भन्छिन्–‘थोरै पैसाले पनि सहयोग पुग्ने हुँदा हरेक दिन बचत गर्छु ।’ घरमा त्यसै पैसा सकिन्छ, बचत गर्दै गए आर्थिक समस्या पर्दा यसले ठूलो सहयोग गर्छ । ‘पैसाको आवश्यकता पर्दा सापटी दिने, ब्याजमा पैसा चलाउन पाइने भनेकै सहकारी मात्र हो’ उनी बताउँछिन् । रामेछापकी सुस्मिता अर्याल गाउँमा छँदा आमा समूहमा हरेक महिना १ हजार बचत गर्थिन् । त्यही बचतले नै उनी घरको आवश्यकता पूरा गर्थिन् । गाउँदेखि नै बचत गर्ने बानी परेकी अर्याल राजधानी आएपछि अहिले सहकारीमा पैसा जम्मा गर्छिन् । यस्तो कामले गृहिणीलाई घर चलाउन सहज बनाएको अर्याल बताउँछिन् । मैतीदेवीकी कमला ढुंगानाले घरमै बसेर शेयर कारोबार गर्न थालेको दुई वर्ष बितिसकेको छ । सानो रकम न घर किन्नु, न जग्गा किन्नु भन्दै ५० हजार शेयरमा लगानी गरिन् । सुरुमा शेयर कारोबारका बारेमा खासै नबुझेर धेरै घाटा खाएको उनको अनुभव छ । ‘बिरानो ठाउँमा सानो रकम जम्मा गरेर पैसा चलाउन सहज बनाउँछ सहकारीले’ ढुंगाना भन्छिन् । सहकारी, शेयर र फाइनान्सलाई नेपालको कानुनले समेत मान्यता दिएको छ । पैसाको कारोबार गर्ने अर्को माध्यम ढुकुटीलाई भने कानुनले पनि मान्यता दिएको छैन । ढुकुटी खेलाउनुलाई कानुनले बैंकिङ कसुरका रूपमा परिभाषित गरेको छ । ढुकुटीकै कारणले घरबार बिग्रिएका, ऋणमा डुबेका महिला प्रशस्तै छन् । ढुकुटीको नाममा समूहको ठूलो रकम लिएर भाग्ने चलन बढ्दै गएपछि नेपालमा ढुकुटीमाथि कडाइ गरिएको हो । ढुकुटी अनौपचारिक रूपमा हुने आर्थिक कोराबार भएकाले नेपालको कानुनले गैरआर्थिक कारोबारका रूपमा परिभाषित गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेल बताउँछन् । पौडेल भन्छन्–‘हरेक आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत हुनुपर्छ, ढुकुुटी अनौपचारिक रूपले हुने आर्थिक कारोबार हो । अनौपचारिक रूपले हुने आर्थिक कारोबारबाट कुनै पनि राष्ट्रको उन्नति हुँदैन ।’ढुकुटीले बिग्रियो घरबारस्वयम्भूकी माया शर्मा (नाम परिवर्तन) ले करिब तीन वर्षअघि ढुकुटी खेलेर तीन लाख डुबाइन् । साथीहरूको लहैलहैमा ढुकुटी खेल्न थालेकी शर्मा साथीहरूकै कारण डुबेको बताउँछिन् । ‘केही हुँदैन बचत गर्ने हो, आफ्नै पैसा हो भनेर साथीहरूले फकाए । राम्रै होला भनेर खेल्न थालें तर नराम्रोसँग फसें’ विगत सम्झदै उनी भन्छिन्–‘बीस जनाको समूहमा ढुकुटी खेलेका थियौं । साथीको विश्वासमा पर्दा अहिले डुबें ।’ उनको समूहमा धेरैको पैसा डुबेको थियो कतिले फिर्ता लिए पनि उनले भने आफ्नो पैसा फिर्ता लिन सकिनन् । पैसा डुबेकाले उनको घरमा आर्थिक संकट पर्‍यो । त्यसपछि आर्थिक रूपमा सबल हुन निकै कठिन भएको बताउँदै शर्मा भन्छिन्–‘ढुकुटी गैरकानुनी काम रहेछ, यसमा कसैको विश्वास हुँदोरहेनछ । त्यसैले अहिले म ढुकुटी खेल्दिन ।’ नयाँबानेश्वरकी कमला रिजाल (नाम परिवर्तन) ढुकुुटीकै कारणले आफ्नो घर लथालिङ्ग भएको बताउँछिन् । घरको आर्थिक अवस्था सुधार गर्न साथीको सल्लाहमा ढुकुटी खेल्दा करिब ६ लाख रुपैंयाँ गुमाएको उनी बताउँछिन् । ‘हेर्दा वरिपरिका आफ्नै साथी हुन्छन्, विश्वास सबैको हुन्छ, कसले पैसा लिन्छ, कसले पैसा लिएर भाग्छ केही थाहा हुँदैन’ रिजाल भन्छिन्–‘पैसा लिएर भाग्नेलाई त राम्रो हुँदो हो तर हामीलाई भने नराम्रो झट्का लाग्छ ।’ 

प्रकृती दाहाल, फाल्गुन २४, २०७५

-- पुरै पढ्नुहोस् --

क्रेडिट कार्डसँग जोडिएका केही गलत तथ्य

कार्ड हरायो भने पनि सहज तरिकाले ब्लक गर्न सकिन्छ । कुनै चोरी–डकैती वा धोका दिने व्यक्तिका लागि पनि यो कार्डको अनलाइन प्रयोग कठिन छ । यसका लागि एकपटक प्रयोग गर्न सकिने खालको पासवर्डको आवश्यकता पर्छ । बैंकले तुरुन्तै क्रेडिट कार्ड बोक्ने व्यक्तिको मोबाइलमा म्यासेज पठाइहाल्छ । ट्रन्जेक्सन पूरा गर्न सेक्युरिटी कोडसमेत चाहिन्छ ।

नारी संवाददाता , मंसिर २०, २०७५

-- पुरै पढ्नुहोस् --

पैसासँगको दैनिकी

अहिले वित्तीय क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दै गएको छ । वित्तीय क्षेत्रमा राम्रो पारिश्रमिकका साथै सामाजिक प्रतिष्ठासमेत हुुुने भएकाले पनि यो महिलाहरूको रोजाइको क्षेत्र भएको छ । वित्तीय क्षेत्रलाई करियर बनाउने राम्रो प्लेटफर्मका रूपमा समेत लिइन्छ ।

प्रकृति दाहाल, कार्तिक २८, २०७५

-- पुरै पढ्नुहोस् --

पैसा, पर्व र दक्षिणा

मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा जान थाले । सहजताका लागि तरल माध्यमको खोजी हुन थाल्यो । फलस्वरूप अहिले कागजी पैसाबाट डेबिड, क्रेडिट कार्ड प्रयोगमा आउन थालिसकेको छ ।

सलोनी सिंह, सामाजिक अर्थशास्त्रीकार्तिक २०, २०७५

-- पुरै पढ्नुहोस् --