नारी आवाज

महिला हिंसा अन्त्यको प्रश्न

 पाँच वर्षीया बालिकादेखि लिएर सय वर्ष नाघेका वृद्धासमेत यौनपिपासुहरूको गिद्धेदृष्टिबाट बच्न सक्दैनन् । परपुरुषसँग अवैध यौन सम्पर्क गरेको आरोप लगाई एउटी अबला नारीलाई  महिलाहरू नै मिली समाजबाट बहिस्कार गर्छन् । त्यति मात्र होइन बोक्सीको आरोपमा बूढी महिलालाई महिलाहरूले नै कुटपिट गर्ने, शारीरिक यातना दिने काम हुने गरेका छन् जसबाट पीडितको ज्यानैसम्म जाने गरेको छ । केही समय पहिले महिला हिंसा अन्त्यका लागि भन्दै पाँच तारे होटलमा भएको एउटा अन्तक्र्रिया कार्यक्रममा सहभागी हुने अवसर मिल्यो जहाँ महिला हिंसा र सबलीकरणका लागि चर्को स्वरमा वकालत गर्ने तथा महिला मुद्दाका विषयमा विशेष चासो राख्ने व्यक्ति एवं संघसंस्थाको बाक्लै उपस्थिति थियो । कार्यक्रममा महिला हिंसा अन्त्यका लागि भन्दै सामाजिक व्यवहारका विषयमा गुलिया कुराहरूले हल नै गुञ्जायमान पारियो । अहिले यस्ता कार्यक्रम सयौंको संख्यामा संचालन हँुदै आएका छन् । तारे होटलमा यस्ता कार्यक्रम गरेर महिला हिंसा अन्त्य भएको र समाजमा महिलाहरू पुरुषसरह भएको भनेर जति नै भाषण गरे पनि महिला हिंसाका घटनाहरूमा कमी आउन सकेको छैन । दैनिकजसो महिला हिंसाका घटना सञ्चार माध्यमहरूमा आइरहेका छन् । समाजले महिलाहरूप्रति गर्ने व्यवहार, सदियौंदेखि जरो गाडेको पुरातन मान्यता तथा पुरुषले महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसक्दा महिला हिंसा अन्त्यको कुरा आकाशको फल भएको छ । अहिले समाजमा महिला हिंसाका घटना दैनिकजसो सार्वजनिक हुँदै आएका छन् । समाज जति विकसित र चेतनशील हुँदै गएको छ त्यसको प्रत्यक्ष नकारात्मक असर समाजमा देखा पर्दै गएको छ । पहिलेका महिला हिंसाका घटनाको प्रकृति एवं तथ्यांकमा समेत परिवर्तन हुँदै आएको छ ।कतै महिलालाई बोक्सीको आरोपमा मलमूत्र कोच्याइन्छ भने कतै परपुरुषसँग लागेको भन्दै समाजबाट नै बहिष्कार गरिँदै आइएको छ । महिलाहरू विभेदकारी सामाजिक मान्यताको अनुशरण गर्ने, घरपरिवार संचालन गर्ने, बच्चा जन्माउने तथा परिवार र पुरुषका आवश्यकता पूर्ति गर्ने साधनका रूपमा प्रयोग हुँदै आएका छन् । आफ्नै सन्तानलाई बाबुले बलात्कार गरेको घटना होस् वा रक्षक मानिने व्यक्तिले नै महिलाहरूको चरम शोषण गरेको कुरा पत्रपत्रिकामा बाक्लै समाचार बनेका छन् । कागजमा महिला हिंसा अन्त्यका लागि जति प्रतिबद्धता जाहेर गरिए पनि महिला हिंसाका घटनाहरू बढ्दै गएका छन् । महिला हिंसालाई नेपालको कानुनले दण्डनीय अपराधका रूपमा व्याख्या गरेको भए पनि महिला हिंसाको शृंखलामा कुनै कमी आएको छैन । नागरिकको जिउधनको रक्षा गर्ने, मानव अधिकार हनन् र हिंसाबाट नागरिकलाई जोगाउने दायित्व बोकेको प्रहरी कार्यालयभित्रै महिला प्रहरीसमेत बलात्कारको सिकार बन्न पुग्छन् । ग्रामीण इलाकामा व्याप्त बोक्सीको आरोप सहरमा पनि बढ्न थालेको छ । महिलाविरुद्ध हुने सबै प्रकारका विभेद एवं हिंसा उन्मूलनसम्बन्धी महासन्धीलगायत विभेद विरोधी विभिन्न अन्तर्राष्ट्रिय कानुनमा नेपालले हस्ताक्षर गरे पनि र देशभित्रै महिला अधिकारको रक्षाका लागि भन्दै धेरै कानुन बने पनि व्यवहारमा धेरै महिला हिंसाले थिचिएका छन् । यद्यपि दोषीलाई कानुनको दायरामा ल्याएर कारबाही गरेको तथा पीडितलाई न्याय दिलाएर कानुनको राज र अन्धविश्वासको चिरफार गरेको कुरा शून्यप्राय: छ । महिला हिंसा  अन्त्यका लागि संचालन हुने गोष्ठी र सेमिनारमा सरकार र सरोकारवालाहरूले जति गुलिया प्रतिबद्धता जाहेर गरे पनि महिला हिंसा अन्त्यको कुरा ‘आकाशको फल आँखा तरी मर’ जस्तै भएको छ । सामाजिक कुप्रथा, परम्परा अनि अशिक्षाका कारण महिलाहरू सदियौंदेखि शारीरिक एवं मानसिक रूपमा हिंसाको सिकार हुँदै आएका छन् । कतिपय हिंसा वा दुराचारका घटना घरपरिवार, समाज र यौनपिपासुको डर–धम्कीका कारण पीडितले सार्वजनिक गर्न सकिरहेका छैनन् । धार्मिक ग्रन्थहरूले पनि महिलामाथि विभेद गरेको पाइन्छ । पुस्तौंदेखि नै महिलालाई समाजमा पुरुषको अधीनमा राखिएको पाइन्छ । यद्यपि अहिले भने केही आशाका किरण झुल्किएका छन् । अब हाम्रो सामाजिक एवं सांस्कृतिक प्रक्रिया वा सोचमा परिवर्तन ल्याई पीडकलाई सजाय र पीडितलाई न्याय दिलाउन प्रभावकारी नीति–नियमको तर्जुमा गर्नु आवश्यक छ । जबसम्म हाम्रो समाजमा जकडिएको पितृसत्तात्मक व्यवहारमा परिवर्तन आउन सक्दैन तबसम्म समानतामूलक नेपालको निर्माण हुन सक्दैन । दोषीलाई कानुनको दायरामा ल्याएर कारबाही गर्न सकियो भने मात्र हिंसाले थिचिएका महिलाले न्याय पाउने मात्र होइन महिला हिंसा निराकरणका पक्षमा बलियो पहल हुन सक्नेछ । हिंसाले थिचिएकी महिलालाई न्याय दिलाउने कार्यक्रम मात्र नभई हिंसारहित सभ्य समाजको निर्माणतर्फ पनि राज्य एवं स्वयं महिलाको पनि ध्यान केन्द्रित हुनु आवश्यक देखिन्छ ।junagulmeli@gmail.com

नारी संवाददाता , पुस १४, २०७३

-- पुरै पढ्नुहोस् --

जादु झैं निस्किए, उन्मुक्त भएर नाचे, क्षणभरमै बिलाए

शनिबारको कुरा हो, ललितपुरको पुल्चोकस्थित लबिम मलाको ग्राउन्ड फ्लोरमा एकाएक आफ्नो हिसाबले रमाइरहेका मानिसहरूको ध्यान भंग गर्दै एक हूल युवती नाच्न थाले ।

सरस्वती कटुवाल, मंसिर २५, २०७३

-- पुरै पढ्नुहोस् --

घरमा बिजातीय बुहारी भित्रिँदा

हिजो जुन कुरा वा घटना असामान्य र असम्भव थिए, आज ती कुरा सामान्य र सम्भव भएका छन् ।

नारी संवाददाता , श्रावण २५, २०७३

-- पुरै पढ्नुहोस् --

महिला हिंसाको कारण छाउपडी प्रथा

जिल्लामा व्याप्त महिला हिंसा एवं लैंगिक विभेदको प्रमुख कारण छाउपडी प्रथा रहेको सरोकारवालाहरूले बताएका छन् । गत महिना मुगुको गमगढीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको आयोजनामा सम्पन्न लैंगिक हिंसाविरुद्धको

नारी संवाददाता , जेष्ठ ६, २०७३

-- पुरै पढ्नुहोस् --