सेलिब्रेटिङ वुमनहुड

जुम्ल्याहा अनुभव

हामी अरूभन्दा फरक छौं, हामीसँगै हिँड्दा सबैले अनौठो तरिकाले हेर्छन् कहिले सहजै फेस गर्छौं, कहिले भने एकदमै अप्ठ्यारो लाग्छ ।   भनिन्छ–मान्छे एक्लै जन्मिन्छ, तर यो पृथ्वीमा यस्ता पनि पात्र छन् जसले आफू जन्मदादेखि नै साथी लिएर आएका छन् । यसलाई हामी जुम्ल्याहा भन्छौं । कोख एउटै । जन्मिने समय उही । अझ जन्मिएपछि शरीरको बनावट पनि दुरुस्तै । विस्तारै हुर्कने क्रममा उनीहरूको आनीबानी पनि मिल्दोजुल्दो । प्रकृतिले यसलाई अद्भुत चमत्कार मान्छ भने वैज्ञानिक दृष्टिले पनि यो चमत्कार नै हो । गर्भवती महिलाको पाठेघरमा दुई शिशु भए त्यसलाई मल्टिपल प्रेगनेन्सी र तीनवटा भए ट्रिपलेट भनिन्छ । जुम्ल्याहाको आनीबानी, उनीहरूको हाउभाउ अनि उस्तै देखिने उनीहरूका रूपका केही किस्सा : गड्डा र जमुनागुल्मी, आँपचौरका गङ्गा–जमुना भट्टराई जुम्ल्याहा हुन् भनेर कसैले विश्वास गर्दैनन् । उनीहरूको अनुहार एक–अर्कासँग मिल्दैन । बाल्यकालमा उस्तै भए पनि उमेर बढ्दै गएपछि भने उनीहरूमा परिवर्तन देखिएको हो । ‘तिमीहरू सानामा उस्तै थियौ, हामीलाई आमाले भनेको मात्र थाहा छ’ गङ्गाले बताइन् । गङ्गा भन्छिन्–तर हामी एक–अर्कामा भने उस्तै छौं भन्ने नै लाग्दैन । उनीहरूको अनुहारमा समानता नभए पनि व्यवहार एवं रुचिमा भने एकरूपता छ । सबैभन्दा ठूलो कुरा, उनीहरूको विचारमा समानता छ । खाने, घुम्ने, रमाइलो गर्ने विषयमा एउटै विचार हुन्छ । उनीहरूको ड्रेसअप पनि उस्तै हुन्छ । जन्म सँगै, विद्यालय सँगै, हरेक कुरा सँगसँगै गर्ने उनीहरू कहिल्यै छुट्टिएर बस्न सक्दैनन् । ‘हामी एक–अर्कासँग छुट्टिएर बस्न सक्दैनौं’ जमुनाले भनिन् । यतिसम्म कि विद्यालय स्तरको पढाइपछि गङ्गाले मात्र नर्स पढ्ने अवसर प्राप्त गरिन् तर उनीहरू टाढा हुन नसक्ने भएकाले दुवै जना फरक विषय पढ्न काठमाडौं आए । अहिले उनीहरू बीबीएको पाँचौं सेमेस्टरमा अध्ययनरत छन् । उनीहरू एउटै बेन्चमा बस्छन् । अरू जुल्याहालाई देख्नेबित्तिकै चिन्न सकिन्छ तर हामीले भने हामी जुल्याहा हौं भनेर चिनाउनुपर्छ । जमुना भन्छिन्–सबैले किन अनुहार फरक ? भनेर सोध्छन् तर खै हामीले के जवाफ दिनु र ? आफूहरूलाई देखेर भुक्किने किस्सा भने कहिल्यै नघटेको उनीहरू बताउँछन् । १५ मिनेटको फरकमा जन्मिएका गङ्गा–जमुना एकसाथ बिरामी हुन्छन् । उनीहरूलाई सामान्य रुघाले पनि एकसाथ छुन्छ । भोक, प्यास, निद्रा पनि एकसाथ लाग्छ । अचम्मको कुरा के छ भने उनीहरूलाई शौचालय पनि एकसाथ लाग्छ । रजस्वला हुने क्रम पनि उस्तै छ, उनीहरू एकसाथ रजस्वला हुन्छन् । दुवै जनालाई एउटै कुरा मन पर्छ । प्रेमका सम्बन्धमा पनि उनीहरूको रोजाइ एउटै हुन्छ । ‘हामीलाई बाहिरी प्रेमको आवश्यकता नै छैन जुल्याहा हुनुको यही एउटा फाइदा छ । हाम्रो एक–अर्कासँग गहिरो प्रेम छ’ गङ्गा भन्छिन् । सबै कुरामा एउटै रोजाइ हुने र छुट्टिन नसक्के अवस्थामा रहेका उनीहरू विवाह गरेर त एक–आपसमा छुट्टिनुपर्ला नि ? भन्ने प्रश्नमा जवाफ दिन्छन्–जुल्याहा नै खोजेर विवाह गर्छौं अथवा एउटै घरमा विवाह गरेर जान्छौं, छुट्टिएर त कसरी बस्न सकौंला र खोइ ?राम–लक्ष्मणओखलढुंगा देवीटारमा जन्मिएका जुम्ल्याहा हुन्–राम र लक्ष्मण कार्की । पाँच मिनेटको फरकमा जन्मिएका उनीहरू अग्लो कदका छन् । हरेकलाई आफू जन्मिएको पल सुन्न रमाइलो लाग्छ । त्यसमा अझ जुम्ल्याहाको । राम–लक्ष्मण जन्मिएको संयोग यस्तै रमाइलो छ । आमाले भनेअनुसार राम जालो बाहिर जन्मिएका थिए भने लक्ष्मण जालो भित्र । उनीहरूको रमाइलो पक्ष के छ भने एकजनाले केही बोल्दा अर्काले पनि त्यही कुरा सोचिरहेको हुन्छ । लक्ष्मण भन्छन्–कहिलेकाहीँ एउटै बोली हामी सँगै बोलिरहेका हुन्छौं, सम्भवतः हाम्रो सोच एउटै भएर होला । उनीहरू उस्तै हुनुको दुःख भने सधैं विद्यालयमा भोग्थे । शिक्षकले एकपटक उठाएर एक जनासँग प्रश्न सोधेपछि अर्को पटक फेरि उसैलाई प्रश्न दोहोरिन्थ्यो । लक्ष्मण विगत सम्झदै भन्छन्–एउटा कक्षामा एकैपटक तीन पटकसम्म शिक्षकले प्रश्न सोध्नुभएको छ । उनीहरू आफ्नो पहिचानका लागि केशको स्टाइल भने फरक–फरक बनाउँथे । रामको केश देब्रे साइडमा हुन्थ्यो भने लक्ष्मणको दाहिने साइडमा । बाल्यकालमा उनीहरू नबाँडी केही खाँदैनथे । ‘एकदिन विद्यालयमा शिक्षकले मलाई मात्र खानेकुरा दिनुभयो’ राम भन्छन्–तर मैले लक्ष्मणलाई दिएर मात्र खाएँ, त्यसपछि शिक्षकले पनि हामीलाई हरेक कुरा सँगै दिनुहुन्थ्यो । घरमा पनि उनीहरूप्रति समान व्यवहार हुुन्थ्यो । उनीहरूबीच झगडा परिरहन्छ तर त्यस्तो झगडा क्षणिक हुन्छ । उनीहरू लामो समयसम्म एक–अर्कासँग नबोली बस्न सक्दैनन् । अहिले भने उनीहरूबीच धेरै कुरामा भिन्नता देखिने गरेको छ । अहिले उनीहरू बाल्यकालको जस्तो उस्तै पहिरनमा हिँड्दैनन् । अध्ययनको क्षेत्र पनि फरक छ । उनीहरू एउटै लेभलमा अध्ययनरत भए पनि विषय फरक–फरक छ । राम ल्याब असिस्टेन्ट पढ्छन् भने लक्ष्मण सिभिल ओभरसियर । ‘एउटै गन्तव्यमा हिँडिरह्यो भने कहिलेकाहीँ अवसर गुमाउनुपर्ने हुन्छ अथवा दुवैलाई एउटै अवसर नआउन सक्छ । यही सोचले हामीले फरक विषय रोज्यौं,’ लक्ष्मण भन्छन् । पहिले छुट्टिनै नसक्ने उनीहरू पढाइका कारण फरक बाटोमा लागेपछि दुवैमा आत्मविश्वास पलाएको छ । बानी पर्दै गएपछि फरक बाटो पनि हिँड्न सकिँदो रहेछ ।’–लक्ष्मण बताउँछन् । प्रज्ञा र प्रेक्षा झापा बिर्तामोडका प्रज्ञा र प्रेक्षा बराल करिब तीन मिनेटको फरकमा जन्मिए । केही मिनेटअघि मात्र जन्मिएकी प्रज्ञा दिदी भइन् भने प्रेक्षा बहिनी । जुम्ल्याहा छोरीहरूको नाम गङ्गा–जमुना राख्ने चलन भए पनि उनीहरूको नाम भने प्रज्ञा र प्रेक्षा राखियो । ‘सबैको समान नाम हुने भएकाले हाम्रो फरक नाम राखिएको हो’ प्रज्ञाले बताइन् । उनीहरू जुम्ल्याहाको स्वभाव एकै किसिमको हुन्छ भन्ने कुरा स्वीकार गर्दैनन् । उनीहरूबीच केही कुरामा समानता छन् भने धेरै कुरामा भिन्नता । ‘हाम्रो धेरै कुरामा फरक विचार छ’ प्रज्ञा भन्छिन् । उनीहरू एक–अर्कालाई चिन्न सजिलो बनेको छ ‘कालो कोठी’ । प्रेक्षाको बायाँ अनुहारमा कोठी छ भने प्रज्ञाको आँखा नजिक । ‘यही कोठीले हामीलाई छुट्याउन सजिलो बनाएको छ ।’ प्रज्ञाले बताइन् । यति हुँदाहुँदै पनि कतिपय अवस्थामा मानिसहरू भुक्किएको अनुभव सुनाउँदै प्रज्ञा भन्छिन्–‘कहिले बहिनीलाई भनेर मलाई बोलाउँछन्, कहिले मलाई भनेर बहिनीलाई । हामी अरूभन्दा फरक छौं, सबैले हामीलाई अनौठो तरिकाले हेरेको महसुस हुन्छ । कहिले सहज लाग्छ कहिले असहज, यस्तो चलिरहन्छ ।’ ‘हाम्रो आनीबानी, एक–अर्काबीचको माया अनि मिलनसार स्वभाव देखेर घरमा सबै जना दंग पर्नुहुन्छ–प्रज्ञाले बताइन् । जन्मदेखि हरसमय सँगै हुने दिदीबहिनीबीच हरेक कुरा सेयर हुन्छ । अहिले भने उनीहरूको अध्ययनको गन्तव्य फरक छ । पढाइको सिलसिलामा प्रज्ञा भैरहवामा छिन् भने प्रेक्षा झापामा । प्रज्ञा ‘आई असिस्टेन्ट’ पढ्दैछिन् । प्रेक्षा बीबीएस दोस्रो वर्षमा अध्ययनरत छिन् । पढाइको विषय फरक भए पनि उनीहरूको मनोरञ्जन गर्ने सौख मिल्दोजुल्दो छ । संगीत र नृत्यमा दुवैको समान रुचि छ । सँगै जन्मिएर हुर्किएका उनीहरू एक–अर्काका परिपूरक हुन् । सँगै खाने, बस्ने एवं खेल्ने बानी बसेको छ । पढाइका सन्दर्भमा अहिले टाढा बस्नुपर्दा यी दुई जुम्ल्याहा दिदीबहिनी खिन्न छन् । ‘सुरुमा बहिनीलाई निकै मिस गरें । अहिले बानी पर्दैछ’ प्रज्ञाले भनिन् । राम र लक्ष्मणसोलुखुम्बुका जुम्ल्याहा राम–लक्ष्मणबहादुर बस्नेत कति समयको फरकले जेठा–कान्छा हुन् थाहा छैन । आमाले हामीलाई जन्माउँदा वरिपरि कोही थिएनन् रे । बेथाले छटपटिएकी आमाले समय ठम्याउने कुरै भएन । दुई जनाको जन्म आधा घन्टाजति फरक भएको आमा बताउनुहुन्छ । यही आधारमा राम–लक्ष्मण दाजुभाइ अनुमान लगाउँछन्–त्यस्तै फरक होला । बाल्यकालमा लव–कुश नाम पाएका उनीहरूको स्वभाव एकै प्रकारको थियो । हाँस्दा, बोल्दा, हिँड्दा कसैले उनीहरूमा भिन्नता देख्दैनथे । बाहिरका त झुक्किए–झुक्किए, बाहिरबाट घर आउँदा आफ्नै बुवा पनि कुन छोरा सानो कुन ठूलो छुट्याउन नसकेर झुक्किनुहुन्थ्यो । त्यसैले एउटालाई बोलाउँदा दुवैको नाम लिनुहुन्थ्यो, राम–लक्ष्मण भन्छन्–‘यस्तै समस्या विद्यालय, छिमेकी एवं साथीभाइमा पनि थियो ।’रोचक कुरा । उनीहरू पढाइमा समान थिए । सेक्सन फरक थियो, तर रोल नम्बर भने दुवैको एउटै थियो । राम गीत गाउन सिपालु थिए । उनले गीत सुनाउँदा त्यसको श्रेय लक्ष्मणले पाउँथे । कहिलेकाहीँ लक्ष्मणलाई गीत गाउन अनुरोध आउँथ्यो । ‘फसादै पर्थ्यो,’ लक्ष्मण भन्छन्–उनीहरूलाई के थाहा गीत गाउने राम हो भनेर ।समयको क्रमसँगै उमेर बढ्दै गएपछि भने एक–अर्कामा फरकपन आउन थालेको लक्ष्मण बताउँछन् । उनी भन्छन्–उमेर बढ्दै गएपछि बाल्यावस्थाको जस्तो हरेक कुरामा समान भने नहुने रहेछ, विस्तारै हाम्रो शारीरिक बनावटका साथै सोचमा समेत फरकपन आउन थाल्यो । पढाइ सँगै, काम सँगै, विद्यालय सँगै भए पनि विद्यालय स्तरको पढाइपछि उनीहरू छुट्टिए । लक्ष्मण गाउँमै बसे भने राम अध्ययनको सिलसिलामा काठमाडौं आए । समयको चक्रसँगै उनीहरू अहिले भने विवाह गरेर आ–आफ्नो कर्मक्षेत्रमा छन् । राम सहकारीमा आबद्ध छन् भने लक्ष्मण सशस्त्र प्रहरी निरीक्षक हुन् । कहिले रामले लक्ष्मणको सलामी खान्छन् भने कहिले लक्ष्मणले रामको सहकारीको गुनासो सुन्छन् । लक्ष्मण आफ्नो अनुभव सुनाउँदै भन्छन्–दाइको सहकारीको समस्यादेखि गुनासो सुनेका थुप्रै घटना छन्, म होइन भन्दा पनि विश्वास गर्दैनन् । रामसँग भने लक्ष्मणलाई भेट्न जाँदा बाटोमा थुप्रै सलामी खानुपरेको अनुभव छ । 

प्रकृती दाहाल, फाल्गुन ३०, २०७५

-- पुरै पढ्नुहोस् --

सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान–२०७२)

वैशाखको पहिलो साता सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान–२०७२) को तेह्रौं संस्करण भव्यताका साथ सम्पन्न भएको छ।

लक्ष्मी भण्डारी थापा, जेष्ठ ६, २०७२

-- पुरै पढ्नुहोस् --

नवदेवी सम्मान २०७० सम्पन्न

हरेक वर्ष क्रियटिभ स्टेटमेन्ट्सका नाममा सञ्चालित सेलिब्रेटिङ वुमनहुड, नवदेवी सम्मान यो वर्ष सिर्जना सिंह योञ्जनको प्रस्तुतिमा सम्पन्न भएको छ ।

लक्ष्मी भण्डारी थापा, चैत्र २, २०७०

-- पुरै पढ्नुहोस् --