खेलकुद

मिनी वल्र्डकपमा मुगुका किशोरी

- जनक तिमिल्सिना, काठमाडौं



मुगुको छायाँनाथ नगरपालिका–१४, बामकी उर्मिला बडुवालका साथै उनकै गाउँका उनका ६ जना साथी स्पेनमा हुने डोनोस्टी कप फुटबलमा भाग लिने अन्तिम तयारीमा थिए । भिसा हात परिसकेको थियो । कागजी तयारी, टिकट तथा बन्दोबस्तीको सम्पूर्ण तयारी पूरा भैसकेको थियो । १३ देखि १४ वर्षका मुगेली किशोरीहरूका लागि स्पेनमा फुटबल खेल्ने यो अनुपम अवसर थियो ।

यद्यपि अन्तिम खड्को अझै बाँकी थियो । अभिभावकहरू झाँक्रीसँग जोखना नहेराई ती किशोरीलाई बाहिर पठाउन तयार थिएनन् । शुभ–अशुभ हेरेर झाँक्रीले दिने अन्तिम निर्णयमै उनीहरूको स्पेन यात्राको भविष्य अडिएको थियो । त्यसैले साइत र दशा हेराउन झाँक्री बसालियो । गाँजा भरिएको चिलिम लिएर झाँक्रीले जोखना हेर्न थाले । किशोरीहरू साइत जुरोस् भनेर हात जोर्दै भगवान्लाई पुकार्न थाले ।

झाँक्रीले उनीहरूको यात्रा शुभ हुने घोषणा गरे । झाँक्रीलाई घेरेर बसेका गाउँलेले ताली पिटे । किशोरीहरू निकै खुसी भए । बामका ६ सहित अन्य १४ जना मुगेली किशोरीका अगाडि डोनोस्टी कपमा भाग लिन स्पेन पुग्नुपूर्व यस्ता थुप्रै समस्या आए । कतिका आमाबुवा तयार थिएनन्, कोही छोरी बेचिने चिन्ता प्रकट गरिरहेका थिए, तर ती सबै झन्झट सामना गर्दै टिम रारा मुगुबाट काठमाडौं आयो । काठमाडौंस्थित एन्फा मैदानमा केही दिनको प्रशिक्षणपछि टिम रारा डोनोस्टी कप खेल्न स्पेन उड्यो ।

मिनी विश्वकपजस्तै डोनोस्टी कपमा यु–१२, यु–१४, यु–१६ तथा यु–१८ उमेर समूहका संसारभरका ६ सय ३० टिम जम्मा भएका थिए । खेलाडी मात्र ७ हजारभन्दा बढी । त्यसमा मुगेली किशोरीहरूको टिम राराको २२ सदस्यीय टोली पनि थियो । त्यसमा १७ जना मुगेली किशोरीसहित यो अवसर जुराउने सुनकली डकुमेन्ट्रीका निर्देशक भोजराज भाट, टिम म्यानेजर प्रकाश शाही, प्रशिक्षक भगवती रानामगर, किशोरीहरूका अभिभावकका रूपमा मुगुका सांसद गोपाल बम तथा मुगु जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णबहादुर सेजुवाल पनि थिए ।

मुगुका किशोरीहरूले स्पेनमा प्रसिद्ध म्याड्रिड सिएफएफको यु—१९ टोलीसहित अन्य दुई वटा टिमसँग पनि फुटबल खेले । खेल नजिते पनि उनीहरूले धेरैको मन जितेका थिए । उनीहरूले त्यहाँको खुल्ला समाज देखे, आधुनिक जीवनशैलीलाई नजिकबाट नियाले । विकट मुगुका किशोरीहरूले पहिलो विश्वलाई आफ्नै आँखाले देख्ने अनुभव सँगाले । ‘बालविवाह, बहुविवाह हुने, छोरीहरूलाई स्कुल नपठाउने मुगेली समाजमा यी किशोरीहरूको स्पेन यात्राले ठूलो परिवर्तन ल्याउनेछ,’ निर्देशक भाट भन्छन्–‘यसले स्थानीय समाजमा परिवर्तन ल्याउन ठूलो भूमिका खेल्नेछ ।’

स्कुल बन्यो स्पेन
रिता रोकाया कर्णाली मावि टोप्ला रारामा १० कक्षामा अध्ययनरत छिन् । छायाँनाथ–५ की १४ वर्षीया रोकायालाई फुटबलका सम्बन्धमा केही थाहा थिएन । डोनोस्टी कपका लागि मुगुको बाममा छनोट प्रतियोगिता आयोजना गरिएको थियो । स्कुलको छनोट टिममा परेपछि उनी बुवाआमासँग जिद्दी गरेर बाम सेलेक्सनमा गएकी थिइन् । त्यतिबेला उनी लज्जालु थिइन्, धक फुकाएर बोल्नसमेत सक्दिनथिन् ।

स्पेन पुगेर फर्किएपछि रितामा विश्वास र साहस भरिएको छ । फुटबलसमेत नछोएकी रोकाया अहिले मेसी, रोनाल्डो, पेले र म्याराडोनालाई समेत चिन्ने भएकी छिन् । ‘म आफूलाई निकै भाग्यशाली मान्छु,’ उनले भनिन्–‘मुगुका हामीजस्ता किशोरीहरूका लागि यो सपनाकै कुरा हो ।’ रोकाया गाउँ फर्किएपछि आफूजस्तै साथीहरूलाई खेलकुदमा भाग लिन र स्कुल जान प्रेरित गर्ने बताउँछिन् । रिता भन्छिन्–‘१७ वर्षमा विवाह गरिसक्ने हाम्रो ठाउँमा बालविवाहविरुद्ध चेतना फैलाउने काम गर्नेछु ।’

हिमाली शाह १४ वर्षकी भइन् । उनको कथा पनि रिताको भन्दा फरक छैन । कर्णाली माविमा कक्षा १० मा अध्ययनरत शाह छायाँनाथ नगरपालिका–७, पिनाकी स्थायी बासिन्दा हुन् । टिम रारामार्फत डोनोस्टी कप खेल्न स्पेन पुगेका १७ भाग्यमानी किशोरीमध्ये उनी पनि एक हुन् । हिमालीलाई पनि स्पेनका धेरै कुरा नयाँ र फरक लागे । पहिलो विदेश यात्रा वर्णन नै गर्न नसकिने भयो । मेसीले खेल्ने रियलको दूबोको ग्राउन्ड, बिलबाओ, बार्सिलोना उनले कुरा गर्ने नयाँ विषय भएका छन् । त्यसमाथि जीवनमै पहिलो पटक देखेको समुद्र, जमिनमुनिबाट हिँड्ने रेल, ठूला–ठूला घर, चिल्ला गाडीदेखि पिज्जा र बर्गरले पनि उनलाई फरक अनुभूति गराइरहेका छन् । नृत्यकी सौखिन हिमालीमा अब खेलबाट पनि ठूलो परिवर्तन ल्याउन सकिँदो रहेछ भन्ने छाप परेको छ । ‘नेपालगन्ज देख्दा अचम्म लाग्यो, काठमाडौं त झनै ठूलो,’ उनले भनिन्–‘स्पेन त स्वर्गै रहेछ ।’

विकट मुगु, त्यसमा पनि दलित भनेपछि छुवाछूतको परम्परागत प्रचलन अहिले पनि उस्तै छ । त्यहीँको विपन्न समुदायबाट डोनोस्टी कपका लागि छानिइन्–१३ वर्षीया रोशनी । छायाँनाथ रोवाकी रोशनी महाकाली नमुना उच्च माविमा कक्षा ६ मा अध्ययनरत छिन् । स्पेनमा फुटबल खेलेर फर्किएकी रोशनी आफ्ना साथीहरूलाई जमिनमुनिबाट कुद्ने ट्रेन, बोइङ तथा समुद्रका कथाहरू सुनाउन आतुर छिन् । ‘मैले सिकेका धेरै कुरा म आफूजस्तै सानै उमेरमा विवाह गरेर जाने साथीहरूलाई भन्नेछु,’ रोशनी भन्छिन्–‘मेहनत गरेर पढ्ने हो भने राम्रा अवसरहरू प्राप्त हुँदा रहेछन् ।’ भाइलाई स्कुल पठाउने, भाँडा माझ्ने आदि सबै घरायसी काम गर्ने रोशनीले स्पेनमा टिम राराको मिडफिल्डरको भूमिका निर्वाह गरेकी थिइन् ।

उर्मिला महाशुद्ध डायनामिक बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत छिन् । स्टाफ नर्स बन्ने लक्ष्य लिएकी उर्मिलालाई गर्भवती महिला तथा रोगीहरूको सेवा गर्ने मन छ । स्पेनमा फुटबल खेल्न गएपछि भने उनको यो पुरानो लक्ष्यमा केही परिवर्तन आएको छ । रोशनी फुटबल र खेलकुदबाटै पनि समाजमा परिवर्तन ल्याउन सकिने कुरामा विश्वास गर्न थालेकी छिन् । उनलाई स्पेनदेखि काठमाडौं र मुगुदेखि नेपालगन्जसम्मका सबै कुराहरू नयाँ र भिन्न लागे । ‘वातावरण, बोलाइ, हिँडाइ, घर सबै चीज नयाँ,’ उर्मिलाले भनिन्–‘समुद्र तथा जमिनमुनिबाट कँुद्ने रेल, ठूला–ठूला घर, सफा सडक सबै अचम्म–अचम्म लाग्ने ।’ अब बालविवाह नगर्न, खेलकुद र शिक्षामा मेहनत गर्न आफ्ना दौंतरी एवं छरछिमेकीहरूलाई सिकाउने उनको अठोट छ ।

गाउँको अवरोध
१४ वर्षीया यमुना चौलागाईंका लागि पनि डोनोस्टी कपका लागि छनोट भएपछिको अवस्था भनिसाध्य छैन । गाउँका धेरैले उनी कुनै राजनीतिक दलसँग नजिक भएकाले छनोटमा परेको आरोपसमेत लगाए । कतिले त उनलाई धारे हात लाए भने कतिपयले सरापे पनि । यतिसम्म त ठीकै थियो, मानिसहरू उनको घरमा रक्सी पिएर आएर हुलइज्जत गर्नसमेत तम्सिए । ‘पावर लगाएर सेलेक्ट भयौं भनेर गर्नसम्म गरे,’ चौलागाईंले भनिन्–‘मेरी हजुरआमालाई पनि धम्की दिए ।’

रामदेवी बडुवाललाई त गाउँका कतिपयले ‘तँ चढेको प्लेन खसोस्’ समेत भनेर सरापे । कतिले हातखुट्टा भाँचियोस् भनेर सरापे । गाउँका महिलाहरूले आँखा फर्काए । यस्ता श्राप दिएपछि सबैले देवताको पूजा गरेर डोनोस्टी कप खेल्न आएको बडुवाल बताउँछिन् । सुरुमा उनीहरू १२ वटा टिमबीचको छनोटमा सहभागी भएका थिए । ती टिमका १ सय ४० जनाबाट उनीहरूको प्रदर्शनका आधारमा १७ जना छनोट गरिएको थियो ।

रोशनी कामी साथीसँग २ सय ५० रुपैंयाँ मागेर छनोट खेल्न बाम पुगेकी थिइन् । उनी डोनोस्टी कपका लागि छानिइन्, तर सापटी दिने साथी भने असफल भइन् । त्यसपछि उनलाई पैसा सापटी दिने ती साथी नै बोल्न छाडिन् । ‘मेरै पैसाले त छानिइस्, मेरो भाग्य फुट्यो भनेर मसँग बोल्नै छाडी,’ रोशनी भन्छिन् । उनका बुवाआमाले समेत पत्याएनन् । ‘सुरुमा बुवाले नै विश्वास नै गर्नुभएन,’ रोशनीका अनुसार ‘आमाले कतै बेच्न सक्छन् भनेर मानिनन् ।’ यद्यपि उनका शिक्षक तथा रोशनी स्वयंले सम्झाएपछि भने उनका अभिभावकहरू तयार भए । कामीको छनोटलाई उच्च वर्गका मानिसहरूले समेत रुचाएका थिएनन् । फरक कथा र प्रवृत्ति भए पनि स्पेन जान छानिएका ती सत्रै जना किशोरीले समाज एवं परिवारका यस्ता थुप्रै अवरोध छिचोल्नुपरेको थियो ।

 

प्रकाशित: भाद्र ७, २०७५